उल्लास विना सकियो श्रावण महिना

नेपालीहरु श्रावण महिनालाई बर्षको पवित्र महिना तथा शिवको प्रिय महिनाको रुपमा मानन्छन् । विशेष गरी श्रावणको सोमवारका दिन महिलाहरूले भगवान् शिवको विशेष आराधना गर्छन् । साथै सोमबारको व्रत बस्दा अविवाहिताहरूले असल र सुन्दर पति पाउने र विवाहिताहरूले श्रीमानको दीर्घायु तथा खुसीका साथै मनले चिताएको कुरा पुग्ने जनविश्वास रहिआएको छ ।

तर यस बर्ष कोरोना भाइरसको जोखिम बढेसंगै श्रावण महिनामा विगत बर्षहरुमा झैं खासै चहलपहल रहेन । श्रावण महिनाभरि महिलाहरु हरियो, पहेलो चुरा र मेहन्दी लगाउन्छन् । देशैभरका शिवालयमा हरियो चुरा, पोते र हरियो,पहेँलो,रातो पहिरनमा सजिएका युवती तथा महिलाहरुको भीड लाग्ने गर्दछ ।

त्यसैगरी श्रावण महिनाका सोमबार बोलबम भन्दै महिला तथा पुरुष भक्तजनले पवित्र जल शिवालयहरुमा अर्पण गर्ने परम्परा पनि छ । यस बर्ष कोरोना भाइरसको संक्रमणका कारण धार्मिक स्थलहरुमा सरकारले भीडभाड नगर्न अनुरोध गरेकाले देशैभरका शिवालयमा भक्तजनहरुको उति चहलपहल रहेन ।

बजारमा चुरा, पोते पसलहरु लगभग शून्य देखिन्थे भने मेहन्दी लगाउन आउनेको पनि कमी थियो । यो बर्ष अरु महिना झैं पवित्र श्रावण महिना उल्लास विना नै सकियो ।