दलाल को ?

नेपालको सन्दर्भमा राजनीति भनेको नै दलाली गर्ने लाइसेन्स भएर गएको छ, केही वर्षको अभ्यास हेर्ने हो भने।  राजनीतिमा दलाली गर्न नसकेर, नैतिकताको ख्याल गरेर, राज्यस्रोतको नाजायज निजीकरण गर्न नसकेर बसेको अन्तीम पुस्ता अझै जीवित छ।  अहिले सम्मको प्रवृत्ति हेर्दा अब त त्यस्तो जमात जन्मिँदैन भन्ने लागेर “अन्तिम पुस्ता” भनेको हुँ । त्यो “अन्तिम पुस्ता” आफ्ना साथीलाई सोझै दलाल भए भन्न नसकेर सिद्धान्तको पुनर्जागरणमा होमिएको छ। त्यही पुनर्जागरणको व्यापकिकरणलाई समेत पैसो चाहिन्छ त्यो कि विदेशीसंग छ कि स्वदेशी दलालसंग छ भन्ने बुझेर समेत बुझपचाएको त्यो पुस्ता विस्तारै असान्दर्भिक बन्दै छ, आदर्शवादको साँघुरो घेराभित्र छ, यथार्थवादको बाहुबलको मिचाइमा परेको छ।


बाह्र वर्षमा नचाहँदा नचाहँदै म चार जना दलालको सङ्गतमा परेँ, तीनजना जग्गा सम्वन्धि चौथा चाहिँ शेयर बजार हेर्ने। तीनवटा दलालमा एउटा साझा चरित्र पाएँ। अत्यन्त सम्मानपूर्वक मीठो बोल्ने र  कुनै काम हुन्न नभन्ने। चौथा दलाल चाहिँ परामर्शदाता जस्तै, शेयर बजारमा आउन सक्ने उतार चढाव र पूर्वानुमान गर्न मद्दत गर्ने अत्यन्त व्यावसायिक परामर्शदाता। इमान्दार पनि।

अघिल्ला तीन दलालको मधुच्छादित बोलीको मात्रै म प्रशंसक नै हुँ, कामको होइन। गर्छु भनेको काम कहिल्यै नगर्ने र गर्दिनँ भनेको चाहिँ गरिहाल्ने। सुन्दर सपनाका उत्कृष्ठ बजार प्रतिनिधि जस्ता एकजनासङ्ग आकर्षक डिजाइन हेरेर स्विमिङ्गपुल र शपिङ्ग सेण्टरबीचको जग्गा किनेको  ११ वर्षसम्म कागजमै सिमित भएर जग्गै नदेखी वहाँलाई नै त्यो जग्गाको धनीपुर्जा जिम्मा लगाएको समेत छु, कुनै दिन रातोमुख लाएर झगडा नगरी। वहाँले मलाई बेचेका सपना एक प्रकारले हाम्रा वर्तमान शासकको रेल र जहाजको  गगन-शयरी सपना जस्तो लाग्छ।

अर्का दलालसङ्ग बैना गरेको जग्गामा एक-डेढ फिटे पर्खाल लगाएको ७ महिना पछि हेर्न जाँदा त पर्खाल मात्रै होइन जग्गै छैन।   “सुनि बक्सियो न सर, त्यो माथिल्लो गह्राको माटोले तलको खाल्टो पुर्नुपर्ने भएर त्यो पर्खाल हटाएको हो, तलको काम सकिएपछि हजूरको जग्गा पनि अलि दक्षिण, रोडपट्टि सर्छ, त्यसपछि पास गरौँला नि”, मेरो फोनकलको जबाफमा वहाँले भनेको सम्झन्छु। पछि त मान्छे नै भेट्न गाह्रो, अर्को छ-आठ महिना लागाएर ५० हजार, १ लाख गर्दै आठ-दश किस्तामा मेरो १० लाख बैना  फिर्ता लिएको छु।

दलालको मधुच्छादित बोलीको प्रशंसक भएकोले होला मेरो चार आना जग्गा जोड्ने सपना अहिले सम्म सरकारको रेल र जहाजको सपना जस्तै थाँती रहेको छ, श्रीमति जीले त्यो साकार हुनेमा एकरत्ति विश्वास गरेकि छैनन।  तर दलालसङ्गको सङ्गतले मलाई भने दश-बीस लाखमा प्राप्त नहुने दिव्य ज्ञान दिएको छ-श्रम र पूँजी नलगाईकनै पनि बोली मीठो भए अर्काको सम्पत्तिको अंशियार हुन सकिन्छ।

दलाल, नोकरशाही, बुर्जुवा, पूँजीवादी, विस्तारवादी, साम्राज्यवादी, सामन्तवादी, संशोधनवादी, समाजवादी, साम्यवादी, आदि आदि मेरो बाल मस्तिष्कमा भरिएका सबै भन्दा बढि सुनिएका नयाँ शब्द हुन, म त्यस्तै छ वा सात कक्षामा हुँदै सुनेका। यि अमूक “वादीहरू” मध्ये धेरै राक्षसीकरण गरिएका र एका-दुई देवत्वकरण गरिएका मानव रैछन, मैले आठ-नौ कक्षामा पुगेपछि थाहा पाएँ । 

त्यसपछि त म नै अलि अलि राजनीतिक सम्पर्कमा आएँ, कलेजमा राजनीतिशास्त्र नै पढेँ, पढाएँ, पत्रकार भएपछि पनि राजनीतिमै कलम चलाएँ, राष्ट्रसङ्घको जागीरमा राजनीतिक मामिला हेरेँ, राजनीतिक व्यक्तिहरूसङ्गै द्वन्द्व व्यवस्थापनका उपाय’bout गफिएँ र अहिले पनि राजनीतिकै सेर्रोफेरोमा मेरो दिनचर्या र भान्सा चलेको छ।  तर छ-सात कक्षामा घुसेको राक्षसीकरण गरिएका शब्द अझै मेरो दिमागमा घुमि रहेका छन,   दलाल, नोकरशाही, बुर्जुवा….. आदि आदि। र अहिले मेरो दिमागले चाहिँ “नेपालको सन्दर्भमा ति को हुन?” भन्ने उत्तर मात्रै खोज्दैछ,  अमेरिका, ल्याटीन अमेरिका,  रुस, बाँकि यूरोप,  चीन, इण्डोचीन, भारतको सन्दर्भमा होइन। 

अनगिन्ती प्रश्नको सेरोफेरोमा दलाल पहिचान गर्न नसकेका वेला छ महिना, वर्षदिनमा देशको ठूलो मध्येका र गत बीस-तीस बर्षको अवधीमा सबैभन्दा बढि सत्तामा बसेकै पार्टीको दस्ताबेज हेर्छु, यो दलाल शब्द छुट्दैन। सारा देशको संयन्त्र उनको विर्ता र दुई खुट्टामा सुरुवाल लाएर हिँड्ने राष्ट्रसेवक सबै उनैको हुक्के-बैठके, कारिन्दा, खजाञ्ची भैसक्दा पनि अमुक दलाल दस्तबेजमा अझै खाँबो गाडेर बसेको देख्दा त्यो दलाल खोज्नु स्वाभाविक हो। म त्यही स्वभाविक खोजीको प्रश्नमै रुमल्लिएको छु।


नेतै पिच्छेका प्रतिष्ठान, प्रतिष्ठानै पिच्छे राज्यको लगानी ।  कुनै प्रतिष्ठानले सर्प पाल्छ विष उत्पादन गर्छ, अर्को प्रतिष्ठानले हनुमान पाल्छ र विष-बमन गराउँछ, अर्को प्रतिष्ठानले नेताको अहिलेसम्मको प्रतिष्ठामै “न” थपेर त्यसलाई धुलोमा मिसाउँछ। गिट्टि ढुङ्गा, नक्कली कृषि फार्म,  नक्कली स्वास्थ्य सामाग्री, नक्कली अस्पताल…. अनगिन्ती कर्मलाई सहजीकरण गरिदिने कर्म केमा पर्छ मलाई थाहा छैन।


नेपाली राजनैतिक वृत्तमा शब्दको रुपमा दलाल र कर्मको रुपमा दलालको उपस्थिति कस्तो छ? नेपालको सन्दर्भमा खास दलाल को हो?  नेपाली दलालको चरित्र के हो? एकपटकको दलाल सँधै दलाल रहन्छ कि सन्दर्भ अनुसार फेरिन्छ?  यस्ता हरेक प्रश्नले मैले ३५ वर्ष देखि हेरिराखेको राजनीति र त्यसका कर्मीको चरित्रमा आएको वदलाव सिनेमाको रील झैं मेरो दिमागमा घुमाइदिन्छन ।

सवै प्रश्नको उत्तर खोतल्न त गहिरो अनुसन्धान नै चाहिन्छ तर यि प्रश्नको सन्दर्भमा एउटा भुइँमान्छेको दिमागमा उब्जेका धारणाहरू र अनुभूतिहरू व्यक्त गर्न कुनै प्राज्ञिक खोज चाहिन्न। दलाल शब्द र दलाल कर्मको हाम्रो राजनीतिमाथिको प्रभाव सम्बन्धमा  अलि अलि जानकार त छु तर दलाल शब्द अङ्ग्रेजीको “ब्रोकर” हो कि, “मिडलम्यान” हो कि , “पिम्प” हो कि  वा कुनै “कम्प्रेडर” हो भन्नेमा  अझै प्रष्ट छैन?

यो कर्म कुनै लगानी बिना, कसैको बस्तु वा सेवा अर्कोमा पुर्याईदिए बापत केही रकम लिएर गुजारा गर्ने हो कि ? कसैको नहुने काम फत्ते गरिदिए बापत बक्सिस पाउने हो कि ? मजदूरलाई सस्तोमा काम गराइदिन्छु, हड़ताल रोकिदिन्छु भन्दै मालिकसङ्ग मोटो रकम लिएर  करौडौँ कमाउने, सङ्घर्षका लागि पैसा चाहियो भनेर मजदूरसङ्ग उल्टै लेबी उठाउने, आधा पार्टीमा जम्मा गर्ने आधा घरमा जम्मा गर्ने  मजदूर नेताको कर्म हो कि ? देश भित्र बिजुलीको पावर हाउस बनाउन, सिमेन्टीको फ्याक्ट्री खोल्न बिदेशी बोलाउने, कागजमा लागत बढाउन लगाएर ठूलो रकम जुटाउने मान्छे हो कि ? राजनैतिक पहुँच लगाएर उत्पादन लाइसेन्स, जङ्गल प्रयोगको लाइसेन्स र कर छुट गराई सेवा शुल्क उठाउने हो कि ? कर्मचारीलाई मालदार अड्डामा सरुवा गरिदिएर एकमुष्ठ रकम पनि लिने र मालदार अड्डाको आम्दानी किस्ताबन्दी रुपमा असुल्ने अरू कोहीको व्यावसाय हो कि ? केही दिन अघि सुचना दिएर भन्सारबाट सामान छुटाउने, केही दिन पछि भन्सार महसूल अस्वाभाविक रुपमा बढाएर कुनै खास व्यापारीलाई अर्वपति बन्न मद्दत गर्ने  कुनै कर्म हो कि ? कुनै अमूक आइल्याण्डबाट आएको स्रोत नखुलेको अर्वौ रुपियाँ छोड्ने आदेश गिराउन मद्दत गर्ने कोही हो कि ?  को हो त्यो दलाल ? के हो त्यो दलाल कर्म ?

यि माथिका कर्म हेरे पछि सरकारले तोकेको शुल्क लिएर शेयर कारोबार गर्ने माथि लादिएको “दलाल” शब्दले ति दलालमाथि ठूलो हिँसा गरेको छ जस्तो मलाई लागेको छ। सपनाका महल बेच्ने जग्गा दलाल प्रति समेत अन्याय भए झैँ लाग्न थाल्यो।  त्यसैले नेपालको सन्दर्भमा दलाल भनेको या त पिम्प हो वा कम्प्रेडर नै हो भन्ने  सोच बनाएर सत्ताधारीका दस्ताबेज पढेँ र मेरो अवधारणालाई वैधता दिलाएँ ।

यि मैले चर्चा गरेका कर्म कस्ले गर्छस, छर्लङ्गै छ। जसले अरू कोहीमाथि “दलाल” शब्द  दैनिक १०-२० पटक प्रयोग गर्छ तिनैको कर्म एक पल्ट सरसर्ती हेर्छु, आफूमा सन्देह केही रहन्न। शब्दकोश हेर्छु दलाल बुर्जुवा भन्नाले “विदेशी लगानीकर्ता, बहुराष्ट्रिय कम्पनी, बैङ्क र सैन्य हितका लागि सहयोगीको काम गर्ने स्वदेशी बिचौलिया ” भन्ने बुझ्छु। फेरि त्यस्तो कर्म कस्ले गर्दैछ भन्ने सोच्छु, म विश्वस्त हुन्छु।  एक दुई उदाहरण हेर्छु, थप निश्चिन्त हुन। एउटा चिनियाँ आयो भने कुन तहको नेता सँग-सँगै  फाइल बोकेर कुद्छ, नेताको छोराले ठेकेदारी गर्छ, छोराको ठेक्का सङ्गकटमा पर्दा उच्च राजनैतिक नेतृत्वमा पुगेको बाबु विदेश दौडिन्छ, सबै छर्लङ्गै छ। भनसून गराउँछ र आफ्ना अनुष्ठान गर्ने प्रतिष्ठानमा राज्यको सम्पत्ति  जाने कुलो खन्छ। 

जसले राजनीतिक पहूँचका भरमा विदेशीको मात्रै होइन नेपाली जनताको रगत र पसिना समेत सोसेको छ, र नेपाली जनतालाई एकछाक मासु-भात र रक्सी पिलाएर त्यो शोषणको लाइसेन्स लिएको छ। त्यसैले “दलाल” नेपालको सन्दर्भमा “ब्रोकर” भन्दा ठूलो बिचौलिया वर्ग हो ।

त्यही वर्गले अझै हामीलाई दिमागमा एउटा गहिरो भ्रम घुसाएको छ ‘दलाल पुँजीपतिवर्गलाई राज्य संयन्त्रमा पकड जमाएर बसेका उच्च तहका कर्मचारीतन्त्र र कतिपय राजनीतिक पार्टीका नेता, कार्यकर्ताहरुको एउटा हिस्साले सहयोग र सेवा गरिरहेको छ’ भन्दै। नत्र सत्तामा गएपछि २०७४ चैत्र-२०७५ वैशाख तिरको एमाले-माओवादीको  संयुक्त दस्तावेज हेरे हुन्छ। त्यसैले निष्कर्ष निकाल्छ, “दलाल पुँजीपति वर्गलाई राज्यका तर्फबाट अवसर र नाजायज छुटहरु उपलब्ध गराएर त्यसवापत विनाकुनै लगानी र श्रम आम्दानीमा ठूलो हिस्सा नोकरशाही पुँजीपति वर्गले लिइरहेको छ।”

तीन-चार दिनका पत्रिका हेरे पुग्छ, नेतै पिच्छेका प्रतिष्ठान, प्रतिष्ठानै पिच्छे राज्यको लगानी ।  कुनै प्रतिष्ठानले सर्प पाल्छ विष उत्पादन गर्छ, अर्को प्रतिष्ठानले हनुमान पाल्छ र विष-बमन गर्छ, अर्को प्रतिष्ठानले नेताको अहिलेसम्मको प्रतिष्ठामै “न” थपेर त्यसलाई धुलोमा मिसाउँछ। गिट्टि ढुङ्गा, नक्कली कृषि फार्म,  नक्कली स्वास्थ्य सामाग्री, नक्कली अस्पताल…. अनगिन्ती कर्मलाई सहजीकरण गरिदिने कर्म केमा पर्छ ? मलाई थाहा छैन।

नेपालको सन्दर्भमा राजनीति भनेको नै दलाली गर्ने लाइसेन्स भएर गएको छ, केही वर्षको अभ्यास हेर्ने हो भने।  राजनीतिमा दलाली गर्न नसकेर, नैतिकताको ख्याल गरेर, राज्यस्रोतको नाजायज निजीकरण गर्न नसकेर बसेको अन्तीम पुस्ता अझै जीवित छ।  अहिले सम्मको प्रवृत्ति हेर्दा अब त त्यस्तो जमात जन्मिँदैन भन्ने लागेर “अन्तिम पुस्ता” भनेको हुँ । त्यो “अन्तिम पुस्ता” आफ्ना साथीलाई सोझै दलाल भए भन्न नसकेर सिद्धान्तको पुनर्जागरणमा होमिएको छ। त्यही पुनर्जागरणको व्यापकिकरणलाई समेत पैसो चाहिन्छ त्यो कि विदेशी संग छ कि स्वदेशी दलालसंग छ भन्ने बुझेर समेत बुझपचाएको त्यो पुस्ता विस्तारै असान्दर्भिक बन्दै छ, आदर्शवादको साँघुरो घेराभित्र छ, यथार्थवादको बाहुबलको मिचाइमा परेको छ।

दलालको बोली सँधै मीठो हुन्छ। त्यही मिष्ठता भित्रै उसको सफलताको रहस्य छ। दलाल सँधै सपना देख्छ। त्यही सपनाले अक्सर उसलाई अति महत्त्वाकाँक्षी  समेत बनाएको हुन्छ। त्यो महत्त्वाकाँक्षा पूरा गर्न उसको वाकपटुता ठूलो औजार हो, झुठ उसको मार्गदर्शक सिद्धान्त।

कुनै काम नगरी अर्कैका कर्मको जगमा आफ्नो सपनाको महल ठड्याउने कर्म नै दलालको मूख्य कर्म हो। आफ्नो बाबु नै भए पनि दलालले एउटा क्लाइण्ट ठान्छ र साथीसंग सहज टिप्पणी गर्छ, “एउटा मुर्गा आयो भनेको त आफ्नै बाबु पर्यो यार”, तर बाबुसंग समेत असूल भने गर्छ, साथी लाएरै किन नहोस। आफ्नो श्रमको ज्याला लिनु त स्वाभाविक हो। त्यो सेवा शुल्क हो। तर त्यो तोकिएको  दरमा हुन्छ, पारदर्शी हुन्छ। तर हाम्रा दलालले अर्कैको सम्पत्ति अर्कैका हातमा जाँदा,  नहुने काम फत्ते गरिदिएर वा हुने काम रोकि दिएर समेत आफूलाई अतिरिक्त मूल्यको हिस्सेदार ठान्छ। नहुने काम गराइदिए बापत पैसा लिनु नैतिक कर्म ठान्छ।  त्यसैले अहिले दलाली गर्ने जोसुकैलाई सोध्नुस उसले त्यसलाई सगर्व लिएको पाइन्छ।  त्यो सगर्व लिईने कर्मलाई राक्षसीकरण गरेर किन केही राजनैतिक प्राणीले आफ्नो दस्ताबेजमा प्रयोग गर्छन, म बुझ्न सक्दिनँ ।  

दलाल शब्दको ब्यापकिकरणसंगै दलाल कर्मको ब्यापकिकरण समेत भएको सन्दर्भमा यसलाई गरिएको राक्षसीकरणको अन्त गर्नु नै अहिलेका राजनीतिकर्मीको  हितमा छ। यति पनि गर्न सकेनन् भने आफू दलाल हुन नसके पनि दलालको साथी भएर चीरकालपर्यन्त रहने कुरा त घाम जत्तिकै सत्य हो।  होइन भने एकपटकको दलाल सँधै दलाल हुँदैन, आफ्ना साथीहरू पनि निकट भविष्यमा “पूर्व” दलाल हुनेछन भन्ने अपेक्षा गरेर बस्नु हितकर हुनेछ। सत्ताबाट दश वर्ष वाहिर राखे पछि तपाइँका साथी पनि तपाइँ जस्तै धुलिया लागेका मार्क्सवादका पुस्तक सफा गर्न लाग्नेछन र भित्तामा दाह्री पालेका एकदुई बुढाको फोटो टाँसेर कोठे प्रशिक्षण  फेरि शुरु हुनेछन।

आजलाई यति, जय दलालवाद !