उहिलेका ओली र खुइलिएका ओली

कूटनैतिक अनुमति लिएर एयरपोर्टमा उतारिएका र ठूलै तामझामका साथ बालुवाटार भित्र्याइएका र मध्येरात सम्म कुटनैतिक वार्तामा समकक्षी बनाइएका भारतीय गुप्तचर प्रमुख सामन्त गोयलको मकसद वहाँले पूरा गर्दिनु भयो।  भारतले २००७-२००८पछि क्रमशः गुमेको आफ्नो हैसियत ओली मार्फत फर्कायो।

नेपालमा कम्युनिष्टको बीऊ बङ्गाली नेताले रोपे पनि मल हालेर हुर्काउने नेपालको दरवार र दिल्ली दरवार हुन, यो नाङ्गो तथ्य नै हो। त्यसैले कम्युनिष्ट नेताको सम्बन्ध दुई खाले छ, जनतासँग भावनात्मक र दिल्ली र दरवारसँग रणनैतिक।

राजनीतिमा थोरै चाख हुने १६-१७ वर्षको ठिटोलाई राम्रो याद छ प्रधानमन्त्री ओलीको नेतृत्त्वको मोर्चावन्दी तीन साल अघि के कारणले झण्डै दुई-तिहाइ बहुमत सहित सत्तामा आयो। न ओलीको मधुर भाषणले मुग्ध भएर जनताले भोट हाले न वहाँको मोर्चाको चुनावी घोषणापत्रले प्रभावित भएर, न वहाँका विगतका कामको “कुलमानी” छवीका कारण । नेकपाले घोषणा-पत्र त निकाल्दै निकालेन भने पनि हुन्छ, अन्तरराष्ट्रिय “कम्युनिष्ट मेनिफेस्टो”नै आफ्नो घोषणा-पत्र हो र चुनाव मार्फत क्रान्ति गर्ने हो, सरकार परिवर्तन होइन। यही सन्देश दियो ओली-प्रचण्ड गठबन्धनले। एकदुई दिन अघि एउटा प्रतिवद्धता-पत्र त आयो ९९प्रतिशत मतदाताकामा त्यो पुग्दै पुगेन।

अहिले हजार जिब्रा भएका कथित हिन्दुवादी-राजावादी पुरातनवादी शेषनाग द्वारा स्तुती गरिएको “गोर्खाली राष्ट्रियता” ओलीले अत्यन्त राम्रोसँग जगाउनु भयो । अहिले युवा पुस्तामा खुबै चलेको एउटा शब्द छ ल्याङ-ल्याङ । नेपाली राजनीतिको ११ वर्षको ल्याङ-ल्याङ र राजनीतिका हरेक विषयमा “विदेशी प्रभु”को सूक्ष्म-व्यवस्थापनका गफ सुनेर आजित त्यो नयाँ पुस्ताले त्यस्तो ल्याङ-ल्याङबाट मुक्त्तिको एउटा उपाय त्यो नवजागृत “राष्ट्रियता”मा देख्यो। 

नेपाली राजनीतिको सूक्ष्म व्यवस्थापक हुँ भनेर देखिन चाहने भारत र भारतका बफादार  नोकर हुँ भनेर सीमामा देखाइदिने मधेशको राजनीतिका केही ठेकेदारहरूले गोर्खाली राष्ट्रवादलाई नयाँ बोतलमा हालेर बजारीकरण गर्न ओलीलाई भरमग्दुर सहयोग गरे।  काठमाण्डुका घरानीया दर्वारियाले कसलाई भोट हाले? राजाका जर्नेलले कसलाई हाले? सानो सर्भे गरे हुन्छ र सैनिक ब्यारेकको मत परिणाम हेरे हुन्छ।

माओवादीलाई चाट्न कागतीको चूक लगाएको ओलीको जीब्रो चुनाव नजिकिएपछि मधेशका मसिहाहरूका बिरुद्ध परीक्षण गरियो, र  संविधान निर्माण पछिको भारतीय नाकाबन्दीले यसलाई सही तरिकाले फड्कार्न मौका दियो। तीनै भारतीयको हल्का-फूल्का नून लुकाएर चाटेका माओवादी र महाकाली सन्धीताका देखाएरै त्यस्तो नून चाटेको आरोप ब्यहोरेका ओलीबीच अप्रत्यासित गठबन्धन बन्यो बामपन्थी गठजोड अर्थात लेफ्ट अलाइन्सका नाममा। भारत नेपाली राजनीतिको पीलो हो, सबै जसो पहाडे र आधाउधी मधेशी समुदायको बुझाई यस्तै छ।

नेपालमा कम्युनिष्टको बीऊ बङ्गाली नेताले रोपे पनि मल हालेर हुर्काउने नेपालको दरवार र दिल्ली दरवार हुन, यो नाङ्गो तथ्य नै हो। त्यसैले कम्युनिष्ट नेताको सम्बन्ध दुई खाले छ, जनतासँग भावनात्मक र दिल्ली र दर्वारसँग रणनैतिक। त्यसैले  भारतको दादागिरीले प्रवर्द्धन गर्ने या त दरवारवाद हो कि मार्क्सवाद-लेनिनवाद-माओवाद नै हो।  नेपाली राजनीति जनताका भन्दा रणनीतिक मुद्दाले बढि प्रभावित छन। त्यसैको अंशका रुपमा नेपाली जनताका लागि छनौटका लागि दुई बिकल्प थिए -“नाकाबन्दी”लाई नाकाबन्दी हो कि “भाखाबन्दी” हो नबुझेका भुत्ते जीब्रोका धनी काङ्ग्रेस सभापति  शेरबहादुर देउवा रोज्ने कि चूक लगाएर जीब्रो तिखारेर बसेका खड्गप्रसाद शर्मा ओली। जनताले देउबा भन्दा ओलीमा केही गुण पाए, ओलीमा भविष्य देखे भलै त्यो “तावा रोज्ने कि भुङ्ग्रो?”भन्ने अवसर मात्रै थियो।  जनताले तावा रोजे कि भुङ्ग्रो भन्ने चाहिँ बैठास्थानको डाम हेरेर मात्रै जनताले थाहा पाउनेछन, अहिले सम्म आफ्नै बैठास्थान तिर हेर्न थालेका छैनन् ।

एकै अनुच्छेदमा ओली-सत्तारोहण पुराणको अन्तर्य यति नै हो। ओली कसरी चुनावबाटै शिकन्दर बन्नु भयो, यति कुरा त्यो १६-१७ वर्षे किशोरले सजिलै बुझेको छ।

नौरथा लागेपछि नेपालमा “दुर्गा” भन्दा “मूर्गा”को बढि चर्चा भयो। “सुधीर शर्माको ‘प्रयोग शाला’ किताब छ?” भनेर एक नातेदार र एक मित्रले सोधे, किन्नलाई पसल बन्द थियो रे। सेतोपाटीमा अमीत ढाकालको लेख पढेर “प्रयोगशाला” पढ्ने इच्छा पलाएको रे।  मैले त “भारतीय कोही आउँदैछ, एयरपोर्टमा कुटनैतिक उडानको अनुमति” भन्ने समाचार देखेको थिएँ, भेट भयो भन्ने समाचार आएपछि भुइँमान्छेको विचार पोख्ने मञ्च,फेसबूकमा चुस्स लेखेँ  नेपालीहरू भ्रममा बाँचेको र ओली’bout त सबैमा भ्रम कायम रहेको आशय सहित।

 मान्छे कि भ्रमका कारण बाँच्छ,  कि आशाका कारण बाँच्छ, कि डरका कारण बाँच्छ । यी तीनै तत्त्व  नहुने हो भने मान्छेले पहिलो प्रयोग आफ्नै जीवन माथि गर्छ।  मान्छेको  नेता प्रतिको हाम्रो सम्बन्ध पनि यीनै तीन तत्वका कारण बन्छ, टिक्छ र टुट्छ।

“ओलीवाद” आफैँमा एउटा भ्रम हो। जसले वहाँलाई कुनै बखत “कम्युनिष्ट” मानेर नेता माने ति सबैको भ्रम टुटि सकेको छ, वहाँका हरुवा-चरुवाको आर्थिक साम्राज्य देखेर । भलै अर्को जनवादी युद्धको तयारीका लागि स्रोत संकलन गरेको भन्ने ब्याख्या आइसकेको छैन। जसले “भारतीय दलाल” भन्दै पार्टी तोडे ति मध्ये अधिकाँशको भ्रम टुटिसकेको छ, वहाँकै नेतृत्त्वमा उपाध्यक्ष बनेर, गोलबद्ध भएर तिनीहरू पार्टीमै फर्किसकेका छन।  प्राविधिक कारणले भ्रम टुट्न बाँकि सिपी मैनाली लगायतका एकाध नेता अपवादमा पर्छन। र जसले राष्ट्रवादी भन्दै दुई-तिहाइ मत खन्याए तिनको भ्रम तीब्र गतिमा टुट्ने क्रममा छ।

यी भ्रम टुटेर नेपालीलाई केही फरक पर्दैनथ्यो तर ति भ्रमसँगै आशा  टुटेका छन। एउटा बलियो सरकारले जनताका जीविकाका सवालको सम्बोधन गर्छ भन्ने आशा सँधैकालागि टुटेका छन। बलियो सरकार भनेको छाडा हुन्छ र जनतालाई बेवास्ता गर्दै राज्यस्रोतमा नाङ्गो कब्जा जमाउँछ भन्ने अमीट छाप “ओलीवाद”को प्रयोगले दिएको छ। जनतामा आशा टुटाए पनि राज्यका संयन्त्रमा भने भय-तत्व सिर्जना मार्फत सरकार बलियो बनेको छ।  नियुक्तिको आशाले केही चाकरी सिर्जित छ, खारेजीको डरले केही चाकरी सिर्जित छ ।  भारतीय गुप्तचर प्रमुखको राजकीय भ्रमण र कुटनैतिक कुराकानी ’bout पोखरेल बन्धुहरू (एक मुख्य मुख्यमन्त्री र एकमात्र उपप्रधानमन्त्री)को हालैको  बचाऊ हेर्दा आशा र डरको सम्मिश्रण देखिन्छ।

यीनै निशाचर रुपी गुप्तचरको भेट नेकपाका सहचालकसँग वा काँग्रेस सभापतिसँग भएको भए खासै चर्चा हुन्नथ्यो। वहाँहरूको छबी नै “लचकदार” भएको हुँदा आज उतातिर लच्किएछन भन्ने हुन्थ्यो, जनताले वास्ता गर्दैनथे जसरी एउटा भारतीय मिडियामा आएको बाबुराम भट्टराईसँग समेत भेट भएको कुराले कोही तरङ्गित छैन । तर ओलीको  ताजा पहिचान राष्ट्रवादी “चट्टानी अडान”ले बनाएको हो।  वहाँले नाकाबन्दीलाई नाकाबन्दी हो भन्नु भयो,  मधेशमा अघोषित युद्ध नै छेड्नु भयो, मलेठ घटना’bout अलिकति जानकारी राख्नेले बुझ्छ किन मधेशको राजनीतिमा मधेशवादी दलको एकाधिकार तोड्न ओली आफैं` अघि सर्नु भयो भन्ने कुरा। त्यही दुई नम्बर प्रदेशमा हल्का-फुल्का खेलकूद गरेर झण्डै सरकार बनाउने हैसियतमै पार्टीलाई पुऱ्याउनु भयो, “चीनसँग नचुक्ने भारतसँग नझुक्ने” नीति मात्रै लिनु भएन, दुई ढुङ्गाबीचको तरूलमै  टुसा उमारेर नयाँ नक्सा नै तयार गर्दिनु भयो । तरूलको टुसामात्रै पलाएन, संविधान संसोधन नै गरेर मधेशवादी दलको समेत समर्थनमा त्यो नक्सालाई संवैधानिक मान्यता दिलाउनु भयो ।

ओलीलाई बाहिरबाट बुझ्नेले त्यसरी बुझ्छन, बुझ्थे “उहिलेका ओली” भनेर ।

तर भित्री कथा अर्कै रैछ। कूटनैतिक अनुमति लिएर एयरपोर्टमा उतारिएका र ठूलै तामझामका साथ बालुवाटार भित्र्याइएका र मध्येरात सम्म कुटनैतिक वार्तामा समकक्षी बनाइएका भारतीय गुप्तचर प्रमुख सामन्त गोयलको मकसद वहाँले पूरा गर्दिनु भयो।  भारतले २००७-२००८पछि क्रमशः गुमेको आफ्नो हैसियत ओली मार्फत फर्कायो। वहाँका हरूवा-चरूवा, हुक्के-बैठके,  भक्त-पूजारीले आफ्नै ब्याख्या गरून तर भारतले नेपाललाई आफ्नो परराष्ट्र मन्त्रालाय होइन गुप्तचर बिभागको एउटा डेस्कले ह्याण्डिल गर्छ भनेर प्रमाणित गर्नु थियो, गऱ्यो, ओलीलाई अलि बढि औषधी सेवन गरेको मौका पारेर, झुक्याएर, छक्याएर।  आफ्ना केही हरूवा चरूवाले झुक्याएर लट्ठ पार्ने औषधी नखुवाएको भए ओली त्यसरी गुप्तचरलाई आधारातमा भेट्ने मान्छे नै होइन। बिगत पाँच वर्षको ओलीको व्यतित्व र वक्तृत्त्व दुवै हेर्नेले सजिलै बुझ्छ।

गत पाँच वर्षको अवधिको ओली हुनुहुन्थ्यो भने वहाँले भन्नु हुन्थ्यो, “परराष्ट्रको बरू उपसचिव पठाऊ।” होइन राजाले भेखबहादुर थापा जस्तै “सीमाबिहीन दूत” बनाएरै गुप्तचर पठाएको भए भारतमै लामो समय बसेका परराष्ट्रका वरिष्ठ सह-चचिव कालीप्रसाद पोखरेललाई तोक्नु हुन्थ्यो होला, भएन अलि उच्च स्तरको समकक्षी खोजे  अनुभवी सचिव भरत पौडेल हुनुहुन्थ्यो, त्यो भन्दा माथिको खोजे मुख्य सचिव शंकरदास बैरागी हुनुहुन्थ्यो र त्यसले पनि नपुगे मृदुभाषी आफ्नै बफादार मन्त्री प्रदीप ज्ञवाली नै हुनुहुन्थ्यो। होइन गुप्तचर-स्तरीय सम्बन्ध नै हो भने गृहबाट तानेर आफ्नै नेतृत्त्वमा राखेका राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुँदै हुनुहुन्थ्यो।

उप-प्रधानमन्त्रीले आफ्नो ओली-प्रतिरक्षा आलेखमा उल्लेख गरे जस्तो आधारातको “कूटनैतिक भेट”का सबै टिपोटहरू सुरक्षित छन र त्यो राष्ट्रहितमै भएको हो भने हामीले सङ्का गर्नु हुन्न तर देशको फाइदाका लागि देशकै हैसियतलाई गिराएर परराष्ट्र मन्त्रालयको ठाउँमा गुप्तचरको एउटा डेस्कले हेर्ने  देशको हैसियतमा पुऱ्याएकोमा ओलीलाई आत्मग्लानी भएको छ कि गौरवको महसूस भएको छ? यती जान्न पाए हामी जनतालाई आफ्नो हैसियत थाहा हुन्थ्यो।

मैले देखेका अधिकाँस सामाजिक सञ्जालमा आएका ओली’boutको जिज्ञाशाको सार छ, “उहिलेका ओली” र “खुइलिएका ओली” उही हुनुहुन्छ त?