बेलविवाह : नेवार समुदायको विशेष संस्कार (फोटो फिचर)
नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा विभिन्न भूधरातलीय विशेषताले भरिएको राष्ट्र हो । यहाँ बसोबास गर्ने विभिन्न जाति, जनजाति र उपजातिहरुमध्ये नेवार पनि एक हो ।
नेवारहरु नेपालमा नेपाल राज्यको उत्पत्तिकालदेखि नै बसोबास गर्दै आएको प्रमाण र जनश्रुति नेपालको ऐतिहासिक वर्णनहरुको अध्ययनबाट प्रमाणित छ । इहिँ (बेल विवाह) नेवारहरुलाई अरु जाति जनजातिमाझ पहिचान गराउने एक विशेष संस्कार हो ।
यो संस्कार अरु जाति जनजातिले अपनाउँदैनन् । नेवार कुलमा जन्मेकी छोरीको तीनपटक विवाह हुन्छ , तीनैपटक वर (पुरुष)सँग बिहे हुने होइन । नेवार संस्कारअनुसार कन्याहरु रजस्वला नहुँदै बिजोर वर्ष (५ देखि ११ वर्ष) को उमेरभित्र भगवान् विष्णुको प्रतीक सुवर्णकुमारसित इहिँ (बेलसँग विवाह) गराउने परम्परा छ । इहिपछि बाःराः तयेगु (गुफा राख्ने) गरिन्छ।
यस क्रममा सूर्यदर्शन अर्थात् सूर्यसँग विवाह हुन्छ भने तेस्रोपटक वर (पुरुष) सँग विवाह हुन्छ। इहिँ गर्ने बालिका दिनभरी व्रत बसेर बेल लगायत कलश, बज्र, चक्रआदिको पूजाआजा गर्दछन् । विधिवत रूपमा पूजाआजा गरी विवाह गर्ने बालिकाका बुवाले कन्यादान दिएपछि यो विवाह सम्पन्न हुने गर्दछ । नेवार जातिमा बेल जस्तो भयो दुलहीको वर पनि उस्तैहुने विश्वास छ ।
नेवार समाजमा बेलविवाह अर्थात इहिँ प्रायः सामूहिक रूपमा गर्ने चलन छ, त्यसैले विशेषतः बहालहरूमा सामूहिकतामा जोड दिने चलन छ । तर कोरोनाको संक्रमणका कारण सानो समूहमा भए पनि नेवार समुदायले आफनो संस्कारलाई निरन्तरता दिएका छन् ।













