फेरिए जीवित देवता गणेश र भैरव

इन्द्रजात्रामा जीवित देवी कुमारीसँगै जीवित देव गणेश र भैरवको रथ यात्रा पनि हुन्छ। इन्दजात्राका क्रममा पहिलो र दोस्रो रथमा हुनेहरू गणेश र भैरव हुन्। उपत्यकाको महत्वपूर्ण सांस्कृतिक विरासत मानिँदै आएका जीवित देवश्री गणेश र भैरवलाई काठमाडौंका स्थानीयले प्रतिस्थापन गरेका छन् ।

नरदेवी पाछै गल्लीका साढे चार बर्षीय रोदिन शाक्यलाई जीवित देव गणेश तथा कीर्तिपुण्य महाविहार, क्वहिती बहाःका तीन बर्ष दश महिनाका कर्सनव शाक्यलाई जीवित देव भैरवका रुपमा प्रतिस्थापन भएका छन् । पछिल्ला गणेश समवेग शाक्य र भैरव रूजन शाक्य उमेरसँगै ठूला भएकाले अहिले परिवर्तन गरिएको हो । श्री गणेश समवेग शाक्यको न्यूरोडस्थित घरमा क्षमा पूजा गरेर नयाँ गणेशका लागि पूजा लगेपछि रोदिन शाक्यलाइ नयाँ गणेशका रुपमा प्रतिस्थापन गरिएको हो ।

त्यस्तै ओमबहालस्थित मञ्जुश्री नक महाविहारमा बस्दै आएका श्री भैरव रूजन शाक्यको घरबाट क्षमा पूजा गरेर नयाँ भैरवको घरमा पूजा लगेपछि कर्सनव शाक्यलाई नयाँ भैरवका रुपमा प्रतिस्थापन गरिएको हो । नयाँ गणेश–भैरव परिवर्तन गर्ने समय सामान्यतया दसैतिर हो । तर विशेष परिस्थितिका कारण अहिलेको समयमा साइत निकालेर परिवर्तन गरिएको छ। जीवित देवता भैरव र गणेश धार्मिक सहिष्णुताका प्रतीक पनि हुन् ।

गणेश र कुमारीलाई तलेजु मन्दिरका पुजारीले पुजा गर्नुपर्ने शास्त्रीय मान्यता छ । देवताहरु समवेग शाक्य र रूजन शाक्य “मान्छे” भएपछि अबका दिनहरुमा सामान्य जीवनमा फर्किनुहुने छ ।