शिल, समाधि र प्रज्ञाको अभ्यास

-दिपकराज जोशी

बुद्ध जो पनि हुनसक्छ । जो बुद्ध हुन्छ उ अरुलाई बुद्ध बनाउन सक्दैन । तर, बुद्धत्व प्राप्त गर्न सक्ने मार्ग देखाउन भने सक्छ । मार्ग पनि यसरी देखाउँछ कि सरल शुद्ध रुपमा त्यसको परिणाम र अनुभव सहित देखाउँछ । बुद्धलाई बुझ्नेले श्रद्धापूर्वक भगवान बुद्ध भनी सम्बोधन गर्छन् । गर्नु पनि पर्छ किन भने उनको दुःखबाट बाहिर निस्किने मार्गको अभ्यास त धेरै ऋषिमुनिले गर्नु भयो तर सम्यक् तरिकाले सिकाउन सबैले सकेनन् । भगवान बुद्धले आफुले खोज गरी निकालेको शिक्षालाई सम्यक रुपमा सिकाउन सफल हुनु भयो । त्यसबाट लाभ लिँदै लाखौ करौडौ व्यक्तीहरु बुद्ध हुन सफल भए । कसैको आर्शिवादले हुने भएको भए तथास्तु भन्दै सबैलाई बुद्ध बनाउन सक्थे तर विभिन्न व्यक्तिका आफ्ना कर्म हुन्छन् । कर्म केवल शरीरका कामलाई भनिदैन । कर्म भनेको मन, आँखा, नाक, जिब्रो, छाला र कानबाट बनाइने पनि कर्म हुन् । मनको आदेशलाई मान्ने काम शरीरले गर्ने भएको हुँदा शरीरले गरेको कर्म भन्दापनि मनको चेतनाले गरेको कर्मको महत्व बढि हुन्छ । भगवान बुद्धलाई नवांै अवतार मान्नु गलत भन्दिन तर जसले ज्ञानप्राप्त गरेपछि जीवनभर संसारमा दुःख छ, दुःखको कारण छ, दुःख निरोध गर्न सकिन्छ र दुःख निवारण गर्ने उपाय पनि छ भनेर यसैका विषयमा रातको एकप्रहर मात्र सुतेर भएपनि बुद्ध शासनलाई अगाडि बढाउँदै जानु भयो ।

भगवान बुद्धका जीवनसँग जोडेर अनेक कथा बनाइएपनि सफल व्यक्तिका पछाडि कथा कहानी जोडिनु सामान्य हो तर पनि यस्ता सम्यक कथाले साधनापथमा लागेका साधकहरुलाई उत्प्रेरणा नै मिल्छ । भन्नेले भगवान बुद्धलाई आलोचनाको रुपमा हेरेर अनेक टिकाटिप्पणी गरेपनि बुद्ध शासन नबुझेको समाजले दक्षिण एशियाको ज्योतीको रुपमा पनि चिनाए । त्यो पनि सकारात्मक पक्ष नै हो तर यसबाट पनि हामीलाई खासै फाइदा हुने होइन । भनिन्छ भगवान बुद्धको जन्म, ज्ञान प्राप्ती र मृत्यु एकै तिथिमा भएको भएपनि यसबाट पनि हामीले लाभ लिन सक्ने केही कुरा रहँदैन । भगवान बुद्धको मूर्ती अगाडि बसेर टिलपिलाएका आखाँले बुद्धं शरणं गच्छामी, धम्मं शरणं गच्छामी संघं शरणं गच्छामी भने मात्र मुक्ती पाइने पनि होइन । धर्म सार्वजनिन हुन्छ । धर्म जस्तो विशाल विषय कुनै एक तप्काको मात्र हुनै सक्दैन । यो सनातन हुन्छ । धर्मले जोड्ने काम गर्छ । फुटाउने सम्प्रदाय जस्तो यसको स्वभाव हुँदैन । सार्वजनिन धर्ममा लीन हुन सबैको लागि सदा खुल्ला रहन्छ । भगवान बुद्धले पनि दुःखी, गरीव, धनी, दलित, ब्राह्मण तथा राजा कसैलाई भेदभाव नभनि सबैलाई दुःखबाट मात्र छुट्कारा दिलाउनु भएन कि मुक्त हुने शिक्षा दिनु भयो । जजसले यो शिक्षा पाए भलै ढिला चाँडो भयो होला वहाँले सिकाएको शिक्षाको जीवनकाल अनुशरण गर्नेले मुक्ती अवस्था पाए ।

मुक्ती के हो ?

यो मानव शरीर जीवित रहँदै मुक्त अवस्थामा पुग्न सक्नु मुक्ती हो । बुद्ध शिक्षा (सम्यक) जस्तो सिकाइएको छ, त्यस्तै धारण गर्ने कोही यहि जन्ममा कोही जन्मजन्मातरमा मुक्त भएका धेरै उदाहरण छन् । जुन बुद्ध शिक्षासँग सम्बन्धित साहित्य पढ्दा सहजै बुझ्न सकिन्छ । मुक्तीलाई निर्वाण पनि भनियो । निर्वाण भन्नाले जीउँदै मृत्युको अनुभूति प्राप्त गर्नु । यसको सार यहि हो, मैले बुझेसम्म । निर्वाणमा अनेक किताव, लेख रचना लेखिएपनि सार कुरा बुझे हुन्छ । मनमा शरीरमा हुने अनेक हलचलबाट बाहिर निस्किन को चाहँदैन हो ? त्यसबाट निस्किन कसैले रक्सी, सूर्ती, व्यभिचार, झुठो, हत्या हिंसा, गाँचा चरेस, लागु औषधको साहारा लिएका हुन्छन् । जसले तत्काललाई क्षणभरको लागि आनन्द देला तर कालान्तरमा मन र शरीर यति रुग्ण भइसक्छ कि जीवन र जगत भन्दा धेरै पर पुगेर वेहोशी अवस्थामा प्राण त्याग गर्न पुग्दछ । आफैं गए त हुन्थ्यो उसँगै समाजमा अनेक विकृति विसंगति तथा अपराधको विजारोपण भएर जान्छ । चित्त यस न कम्पति पालि भाषाको यस वाक्यको अर्थ हो मनमा कम्पन हुनु हुँदैन । कतिखेर भन्दा धन नासियोस् कि आफ्नो कसैको मृत्यु होस् वा धन आओस् कि कुनै अमूल्य चिजवस्तुको प्राप्ती होस् वा पारिवारिक खुशी प्राप्ती होस् । जुनसुकै अवस्था भएपनि चित्तमा कुनैपनि कम्पन नहुनु भन्ने अवस्थालाई चित्त यस न कम्पति भनिएको हो । गीतामा पनि भगवान श्रीकृष्णले अर्जुनलाई स्थितप्रज्ञ बन भनेर आदेश दिनु भएको हामी सबैलाई थाहै छ । हो, हामी जीउँदो हुँदै स्थितप्रज्ञ अर्थात प्रज्ञा (ज्ञान) मा स्थापित हुन सक्नु नै निर्वाणीक अवस्था हो । यसैलाई मुक्ती भन्न सकिन्छ । स्थितप्रज्ञ हुँदा राग (माया, मोह, लगाव, आसक्ती तर्फ) र द्वेष (रिस, घृणा, दुर्भावना, दोर्मनस्य तर्फ) रहित हुन सक्नु पर्दछ । यस्तो अवस्था आउनको लागि कुनैपनि किताब, अर्ती उपदेश वा कुनैपनि किसिमको प्रवचनले कुनैपनि काम गर्ने अवस्था हुँदैन । यसले केवल उत्प्रेरणा दिन्छ । कसलाई दिन्छ भन्दा जो सम्यक साधनामा साधनारत छन् । तिनको लागि मात्र । 

शिल के हो ?

शिल भनेको नियम हो । यसलाई विनय (नियम) पनि भन्न सकिन्छ । जो भगवान बुद्धले सिकाउनु भएको शिक्षालाई अभ्यास गर्नु हुन्छ वहाँहरुको लागि बनाइएको नियमको संग्रहलाई शिल भनिन्छ । भगवान बुद्धले आफुले बुद्धत्व पाउँदा यस्ता नियम बनाउनु भएको थिएन तर जबजब भगवान बुद्धका शिष्यहरुको बढोत्तरी हुन थाल्यो त्यस्तै खराब आचरण पनि देखिन थालेपछि भगवान बुद्धले विभिन्न नियम बनाउनु भयो । यी नियमहरु हचुवाको आधारमा बनाइएका होइनन् । यिनको प्रयोग सम्पूर्ण रुपमा बैज्ञानिक छ । बुद्ध शासनमा भिक्षु हुने व्यक्तिले २२८ वटा शिल (नियम) हरु पालना गर्नै पर्छ । शिल भंग हुँदै जाँदा साधनामा पनि अगाडि बढ्न सक्ने अवस्था हुँदैन । बुद्ध शिक्षाको जग (घरको जगभए जस्तै) भनेकै शिल हो । अनिवार्य शिलमा चोरी नगर्नु, झुठो नबोल्नु, हत्या हिंसा (जीव) नगर्नु, व्यभिचार नगर्नु (परस्त्रीगमन समेत) र धुम्रपान मद्यपान नगर्नु रहेका छन् । यी त बुद्ध शासनमा रहेका सबै साधक साधिकाहरुले पालना गर्नुपर्ने अनिवार्य शिल हुन् । जसले एउटा शिल पनि भंग गर्छ उसको साधना कमजोर हुँदै जान्छ । जस्तो घर बनाउनु भयो र त्यसको तीनतिरको जग बलियो तर एकतिरको जग कमजोर भयो भने घर कसरी बलियो होला ? अर्थात त्यस्तो घरमा कोही बस्छ होला ? पक्कैपनि कोही बस्दैन । शिलको अवस्था पनि त्यही हो । शिललाई दृढ भएर जस्तोसुकै लाभ होस् वा व्यय त्यसलाई पालना गर्ने हो भने त्यसैले हाम्रो रक्षा गर्छ । नियममा रहने अनुशासित व्यक्ति जहिले सफल हुन पुगेको कुरालाई विर्सन हुँदैन । थोरै भएपनि गहिरो साधना गरेका व्यक्तिहरुले अष्ट (आठ) वटा शिलको पालना गर्छन् । जो गृहस्थ हुन्छन् तिनको लागि हो । त्यो भन्दा बढि पनि गर्नलाई रोक लगाइएको छैन । त्यसमा १२ बजेपछिको भोजन नगर्नु (तरल औषधिको रुपमा खान मिल्ने बाहेक), नाच, गाना, बजाना लगायतका क्रियाकलाप नगर्नु, एकदमै उच्च खाटमा डसना लगाएर नसुत्नु रहेका छन् । माथिका ५ र यी ३  गरेर ८ वटा शिल पालना गर्छन् । शिललाई इमान्दार भएर पालना गर्न सकिएन भने जतिसुकै आफुलाई ध्यानी ज्ञानी भनेपनि पुग्ने भने कहि होइन । शिल पालना गरे नगरेको उसको व्यवहारबाट देखिन्छ । आर्य अष्टांगिक मार्गका तीन मार्ग सम्यक वाचा, सम्यक कर्मन्तो र सम्यक आजिवो यस अन्र्तगत पर्दछन् ।

समाधी के हो ?

शिल पछिको अंग समाधीको हो । केवल समाधी नियमित अभ्यास । अभ्यास केको भन्दा स्वास त्यसमा पनि नैसर्गिक स्वासको अभ्यास गर्नु र अर्को हो शरीरमा उत्पन्न हुने (जनुसुकै मौसमको कारण होस वा अन्य केहीले) समवेदना (दुख्ने, आनन्द दिने, सुख दिने वा अन्य जुनसुकै खालको हुन सक्छ) लाई साक्षी भावले हेर्ने । जसरी फुटवलमा रेफ्रिले आफ्नो भूमिका निभाउँछ त्यसरी शरीरका समवेदनाको अवलोकन गर्ने । यसैलाई समाधि भनियो । आर्य अष्टांगिक मार्गका तीन अंग यसअन्तरगत पर्दछन् । जसमा सम्यक स्मृति, सम्यक व्यायाम र सम्यक समाधि रहेका छन् । यसको अभ्यास खाँदा बस्दा उठ्दा, सुत्दा स्मृतिवान भएर यसको अभ्यास गर्नु । भगवान बुद्धले यसैलाई सजग रहनु भनेर भनेका हुन् । हामीले दैनिक जीवनमा पनि सजगको धेरै कुरा गर्दछौ । तर, अभ्यास गर्न जानेका हुँदैनौ । यसरी अभ्यास गर्दा स्मृति बढ्नुका साथै साधना प्रगती हुँदै जान्छ । समाधि मात्रैले पनि मुक्ती अवस्थामा पुग्न सकिँदैन । सिद्धिफल प्राप्त हुन सक्ला । जस्तो कसैले ४० जन्म अगाडि वा पछाडिको कुरा समेत थाहा पाउला तर मुक्ती हुन सक्दैन । मुक्तीको लागि प्रज्ञा चाहिन्छ नै । प्रज्ञा भएन भने मुक्त अवस्था असम्भव नै छ । 

प्रज्ञा के हो ?

प्रज्ञा ज्ञान हो । मन र शरीरमा उत्पन हुने समवेदना (माथि उल्लेख गरिएको) लाई साक्षी, तटस्थ वा प्रतिक्रियारहितको भावले अवलोकन गरी ज्ञान जागृत गर्नुलाई प्रज्ञा भनिन्छ । प्रज्ञामा स्थित हुनेलाई स्थितप्रज्ञ भनिन्छ भनेर माथि नै लेखिएको छ । मनको विचलन र शरीरको दुखाव वा सुखानुभूती जता पनि जस्तो पनि हुन सक्छ । यसको स्वभाव अनुसार लोटपलोट लगाउन थालियो भने न त समाधि भयो न प्रज्ञा नै तर यस्ता विचलनलाई प्रज्ञाको दृष्टिले हेरियो भने जस्तोसुकै दुखाव वा सुखानुभूति होस् त्यो केवल प्रज्ञामा परिणत हुन्छ । यसैबाट मुक्तीको अवस्थामा पुग्न सकिन्छ । यस्तै भावले महात्मा गान्धी पनि कसैले एउटा गालामा थप्पड हाने अर्को गाला थाप्नु हुन्थ्यो नि यस्तै भाव ल्याएर गर्न सक्नु भएको हो । तपाईं हामीमा ’twas भने हामी तुरुन्त प्रतिक्रियामा उत्रिन्छौ । यसैका कारण समाजमा विसंगती बढ्दै गएको   पाइन्छ । आर्य अष्टांगिक मार्गका दुइ अंग यसमा आउँछन् । जसमा सम्यक दृष्टि र सम्यक संकल्प पर्दछन् । आर्य अष्टांगिक मार्गलाई बुझ्न त्यती सहज छैन । प्रज्ञावान हुनको लागि यो संसार केहीपनि होइन भने जस्तै यो शरीरमा उत्पन्न हुने समवेदनाहरु पनि केही पनि होइनन् । यो शरीर नै क्षणभंगुर (एकैछिनमा भग्न हुने) छ भने यसमा हुने उत्पन्न व्यय त झन क्षणभंगुर हुन । यिनको स्वभावप्रति के आशक्ती (नभइ नहुने जसरी पनि चाहिने मनको स्वभाव) जगाउनु के वैरभाव (शरीर र मनमा आएको कुरालाई हटाउन खोज्न वा त्यसप्रति घृणा दव्ेष राख्नु) जगाउनु । यी त सबै अनित्य स्वभावका हुन । शरीरले त छोडेर जान्छ भने यी पनि क्षणप्रतिक्षणका पाहुना मात्र हुन भन्ने भावना आचरण गर्नुलाई नै प्रज्ञा भनिएको हो । यसैको समष्टि रुप नै विपश्यना ध्यान भावना हो ।


जसले यो विपश्यना ध्यान भावना आचरण गर्न जान्दछ । उसको लागि के जेल, के अस्पताल, के कुनै कार्यालय, के कुनै अन्य जुनसुकै स्थान नै किन नहोस्, उ पल्टिएर, बसेर, उभिएर जुन अवस्थामा पनि स्थितप्रज्ञ भई ध्यान भावना आचरण गर्न सक्दछ । कठिन मनमा हुन्छ । मनमा कठिन भन्ने शब्द नै छैन भने सबैकुरा सम्भव भएजस्तै यो ध्यान भावना आचरण गर्न जानेपछि जीवन जीउन जानिन्छ । यो मेरो अनुभूति मात्र होइन कि हाम्रा श्रद्धेय गुरु सत्य नारायण गोयन्काज्युको होस् वा वहाँका तथा हाम्रा पनि गुरु सियाजी उवा खिन (वर्मामा विपश्यना ध्यान विधिलाई अगाडि बढाउनु भयो) वा भनौ जस जसले धर्मको गंगामा डुबुल्की लगाए (एक वा दुइ विपश्यना ध्यान शिविरमा बसे) उनीहरु सबैको यस्तै अनुभूति रहेको पाइएको छ । पानी पिएपछि पानीको प्यास नबुझिने पनि हुन्छ ? भने जस्तै हो । लकडाउनको अवस्था छ । यस्तो समयमा परिवारका सबै सदस्यले यस ध्यान भावनाको आचरण गर्न सके भने पारिवारिक मात्र होइन सामाजिक शान्ति पनि पाइन्छ । यस ध्यान भावना पछि गरिने मंगल मैत्री (समवेदनाका साथ गरिन्छ) ले सारा वातावरणलाई तरंगित बनाउँछ र हजारौं लाखौं किलोमिटरसम्म रहेका सबै प्राणिलाई मंगंल मैत्रीको कामना गरिन्छ । यस्तो साधना हरेक पेशा वा गृहस्थले अपनाउने हो भने यो जीवनमात्र होइन जीवनोपरान्त पनि कल्याण हुँदै जानेछ । आफ्नो मात्र होइन सारा प्राणी जगतको कल्याण हुने पक्का छ । मानसिक सामाजिक आर्थिक अवस्थामा सुधार हुँदै जानु यस शिक्षाको मुख्य तत्व हो । साभार सरलापत्रिका