माधव नारायण मेला

भक्तपुरको हनुमान घाटमा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म (एक महिनासम्म) श्री स्वस्थानी व्रत तथा माधव नारायण मेला लाग्ने गर्दछ । साँखुमा माधव नारायण मेला शुरु हुने दिन देखि नै भक्तपुरमा पनि नारायण मेला सुरु हुन्छ ।
भक्तपुरको हनुमानघाटको मेलाको आफनै महत्व छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ । माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्खजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ । पूर्णिमाको बिहान माघ स्नान गरी मध्याह्नमा महादेवको पूजा गरिन्छ ।
बेलुकी स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । माधव नारायण भगवान विष्णुको अर्को नाम हो । विष्णुलाई १२ महिनामा १२ वटा नामले पुकारिन्छ र पूजा गरिन्छ । माघ महिनामा नारायणको नाम माधव हुने भएकाले स्वस्थानीसँगै माधव नारायणको व्रत, पूजा र उपासना गरिन्छ ।
स्वस्थानी देवीको विधिपूर्वक ब्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । रोग व्याध लागेको भए ठीक हुने ,परिवारमा सुख समृद्धि र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ । भक्तपुरको हनुमानघाट माधव नारायणको मन्दिरमा कठोर पूजामा विशेषतः केटा मानिसहरु व्रत बस्ने गर्दछन्। उनीहरुले पल्टिमार्दै धार्मिक यात्रा पूरा गर्नुपर्ने कठोर क्रियाकलाप हुने गर्दछ ।
यसलाई स्थानीय नेपालभाषामा ‘सिलमन तुलेगु (म्ह दुन्न दैगु)’ भनिन्छ । मेला महिनाभरिनै माधव नारायणको पूजा गर्नेहरुको हनुमान घाटमा घुइँचो लाग्छ । नेपाल सम्वत ७२२ मा राजा रणजित मल्ल आफैले व्रतको व्यवस्थापन गरेको कुरा शिलालेखमा उल्लेख छ ।
शब्द/तस्विर : सुनिल शर्मा

















