दक्षको शरीरमा बोकाको टाउकोः नेकपाको म्यानुफ्याक्चरिङ्ग डिफेक्ट
सबै झण्डै समान उमेरका, समान योगदान भएका र एकैखाले पृष्ठभूमिबाट आएका नेतामा सबैले एउटालाई “महान” भन्दै केहीले बा ! बा! भन्दै पछि लाग्लान भन्ने भ्रम धेरैमा देखियो। नेकपा आफैँमा ‘बा’वादी हुन सक्दैन।

विशेषगरी पहाडीमूलका हीन्दू महिलाबीच एउटा प्रसिद्ध ब्रत छ, स्वस्थानी । माघ महिनामा दैनिक चिसोपानीले स्नान गरेर एक छाक खाएर बसिने यो ब्रत आफैँमा एउटा हठयोग त हो नै, यस भित्रका कथाले कतिपय पूर्वी पहाडका गाउँलाई हीन्दू धर्मको मूल प्रवाहमा समेटेको हुँदा र पठन संस्कृतिको विकास गरेको हुँदा केही वर्ष अघिसम्म यो एउटा संस्कृति कै अङ्ग थियो; पठन संस्कृति र पूजा संस्कृतिको । चिसो महिनामा दैनिक चिसोपानीले नुहाउने भएकोले यो आफैँमा एउटा तपस्या हो; स्वास्थ्य सम्बन्धी र ज्ञानशास्त्रीय महत्त्व बोकेको।
त्यसबेलाको कथाका अहिलेको समाजमा देखिने अनगिन्ती असङ्गति छन तर ति ’bout गन्थन गर्नु यो लेखोटको उद्देश्य होइन, मात्र दुईटा प्रसङ्ग कोट्याएर नेपालको राजनीतिको बिडम्बनामा म घोत्लिन चाहन्छु।
हुनत सन १९६०-७०को दशकमा जन्मेको पुस्ता कर्मकाण्डी ब्रत, पूजा-आजा र नैतिकताको धर्म-सम्बन्धबाट बिस्तारै टाढिएर वैज्ञानिकताको कसीमा समाज बुझ्ने भएको छ, म जस्तै। कति भौतिकवादी छौँ, कति द्वन्द्वात्मक भौतिकवादी । तिनै ६०को दशकमा जन्मेको द्वन्द्वात्मक भौतिकवादीहरूको एउटा ठूलो समूह अहिले शासक वर्ग भएर निस्केको छ, पुरानो समाजको संरचना फेर्न, नयाँ र वैज्ञानिकतामा आधारित समाजको स्थापित गर्ने प्रणका साथ।
कसैको शरीरमा अर्कै कसैको शीर जोडियो भने त्यो पूर्ण मानवको अपनत्व कसमा जान्छ? शरीर टाउकाको मालिक बन्छ कि टाउको शरीरको मालिक? शरीरलाई टाउकोले अपनाउँछ कि टाउकोलाई शरीरलाई?
प्रायः स्वस्थानी नुहाउने ऋतु हिउँद र महिना माघमा झोसिएको झिल्को चैत-बैसाखमा दन्किन्छ, हाम्रो राजनीतिक आन्दोलनको समयसारिणी यही हो। स्वस्थानी ब्रत र हाम्रो राजनीतिको सम्बन्ध भनेको यही ऋतु मात्रै हो । तर स्वस्थानी कथामा आउने दुईटा प्रसङ्गले मेरो मथिङ्गल भने वर्षौँदेखि घुमाएको घुमायै छन् । एउटा प्रसङ्ग पार्वतीका छोरा गणेशको शीरच्छेदन गरी हात्तीको टाउको जोडेको र अर्को दक्ष प्रजापतीको गीँडमा बोकाको टाउको जोडेको र त्यसपछि पनि ति दुई प्राणीको अस्थित्व कायम रहेको प्रसङ्ग।
मैले ती शीरच्छेदनलाई दार्शनिक दृष्टिकोणले हेर्न धेरै पटक प्रयत्न गरेको छु, र सँधै समाधान होइन अनगिन्ती प्रश्न लिएर विषयान्तर भएको छु। एउटा सामान्य दार्शनिक (फिलोशोपिकल) प्रश्न नि- कसैको शरीरमा अर्कै कसैको शीर जोडियो भने त्यो पूर्ण मानवको अपनत्व कसमा जान्छ? शरीर टाउकाको मालिक बन्छ कि टाउको शरीरको मालिक? शरीरलाई टाउकोले अपनाउँछ कि टाउकोलाई शरीरलाई? शीर प्रत्यारोपण पछि गणेश हात्ती भए कि हात्ती गणेश भयो? दक्ष प्रजापति बोको भए कि बोको दक्ष प्रजापति भयो?
हो यही दार्शनिक प्रश्नको सेरोफेरोमा नेपालका प्रमुख दल घुम्या घुम्यै छन।
अहिले नेकपा भित्र आन्तरिक विवाद तीब्र भएकोले नेकपाको मात्रै चर्चा गर्छु। अहिले झाङ्गिएको नेकपा नामको विशाल रुख कुनै एक्लो मूल वा जराबाट पलाएको होइन। मैले नेपालको साम्यवादी आन्दोलनकै विषयमा विद्यावारिधी गरेकाहरू समेत बीच बीचमा अल्मल्लिएको देखेको छु, शुरुदेखिका गूट-उपगूटका चिरफार गर्न लगाउँदा। त्यसैले नेकपा आफैँमा एउटा बहुदलीय, बहुगूटीय, बहुमूलीय, बहुध्रुबीय पार्टी हो , फगत एउटा पार्टीमात्रै होइन।
नेपालमा अरू कुनै पनि राजनीतिक दलको भन्दा पहिला आन्तरिक लोकतन्त्रको अभ्यास गर्ने दल हो नेकपा, भलै त्यसको संरचनाले नै बाध्य पारेकोले किन नहोस, र राम्रैसँग त्यस्तो लोकतन्त्र अभ्यास गरेको पार्टी समेत हो। आफ्ना सदस्यको ठूलो पङ्ति कोरा सैद्धान्तिक नारामात्रै न अलापेर कुन उचित हुन अनुचित भन्ने व्यवहारिक बहसमा हामीसँगै उत्रिएको दल समेत हो नेकपा। त्यसैले अहिले यसका कार्यकर्ताको मूलभूत चरित्र भनेको काङ्ग्रेसका आम कार्यकर्ताको भन्दा खासै फरक छैन, एकादुई हाऊभाऊ जन्य र शैलीगत भिन्नता बाहेक।
बहुदलीय, बहुगूटीय, बहुमूलीय, बहुध्रुबीय पार्टी भएकैले सोच बुझका साथ यो दल बहुपदीय प्रणालीमा प्रवेश गरेको हो। एकै उमेर समूहका, आफ्नो आफ्नो प्रभाव क्षेत्र भएका र आफ्नो आफ्नो व्यक्तित्व त्यहीँ भित्र बनाएका नेता भएकोले सबैलाई एक शूत्रमा बाँध्न नै नेताहरू बहुपदीय प्रणालीमा पसेका हुन, अरूले व्याख्या जस्तो सुकै गरे पनि। करीव करीव एउटै उमेर समूहका नेता भएको र सबैको योगदान करीव करीव उत्तिकै भएकोले गोडा छएक सचिव, गोडा छएक उपाध्यक्ष बनाएर भए पनि पार्टी भित्र एकता कायम गर्न प्रयत्न गरेको दल हो नेकपा। उमेरमा पहिलो, दोस्रो देखि दशौँ वरियतासम्मका नेताको उमेर दशवर्ष फरक भए पनि यति समस्या हुन्नथ्यो तर त्यो नेकमा देखिएन, एउटा नेताले अर्कोको सर्वोपरि नेतृत्व रहन सक्ने अवस्था नभएकैले स्थायी समिति, सचिवालय आदि बनाएर सामुहिक नेतृत्वको आभास दिने काम भएको हो नेकपामा । यो रुपमा सोभियत सङ्घको वा चीनको स्थायी कमिटीको रुपमा नक्कल भए पनि सारमा बिल्कूल होइन।
मैले युवा नेता भनेका योगेश भट्टराई जस्ता नेतानै ५५ वर्ष काटिसकेका हुनाले एकछिनलाई ओलीले केटा भनेको सहन्छन तर भित्र देखि रिस उठेको हुन्छ देखाउँदैनन। आन्दोलनमा आफू भन्दा कम खटेकोले करोडौँको डील गर्ने सरकारी नुयुक्ति पाउँदा चुप नै बस्छन। यसको अर्थ केटा भनाइँदा खुशीले गदगद भएर बसेका नि होइनन र आफू जस्तै अर्कोले चाकरी मार्फत नियुक्ति पाउँदा यो प्रभुको निगाहा हो भन्ने मानिदिएर चुप लागेका पनि होइनन। संगठिक शक्ति प्रतिको भरोशा र आफ्नो पनि पालो आउने आशले मात्रै हो।
मैले माथि उल्लेख गरेको बहुलतायुक्त संरचना पार्टीको शरिरको बनोट वा प्रकृति वा नेचर हो। तर अव टाउको हेरौँ । सबै झण्डै समान उमेरका, समान योगदान भएका र एकैखाले पृष्ठभूमिबाट आएका नेतामा सबैले एउटालाई “महान” भन्दै केहीले बा ! बा! भन्दै पछि लाग्लान भन्ने भ्रम धेरैमा देखियो। नेकपा आफैँमा ‘बा’वादी हुन सक्दैन। यसको संरचनाले नै त्यस्तो बन्न दिँदैन। प्यानल बनाएर लड्दा केही कनिष्ठ नेता उपाध्यक्ष बने होला, केही सचिव बने होला तर २०२४-२०२५ साल देखि सक्रिय रुपमा खटेको नेता अझै जीवित छन र भूमिका खोजि रहेका छन।
एमाले मात्रै हुँदा त त्यस्तो थियो अहिले त सिङ्गो नभए पनि एउटा ठूलो माओवादी हिस्सा यो पार्टीमा गाँसिएको छ । माधव नेपाललाई मात्र ५६ भोटले जितेका ओलीले मणी थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी र राम बहादुर थापालाई लिएर गए पनि तराजु माधव नेपाल र प्रचण्डकै तर्फ ढल्किन्छ, हामी जस्ता लाटाको दृष्टिमा समेत। तिनको यथोचित व्यवस्थापन नै पार्टीको एकता अक्षुण्ण राख्ने एकमात्र अस्त्र हो, एमाले भित्र । यस अर्थमा एउटाको शरिरमा अर्कैको टाउको गाँसे जस्तो छ नेकपा एक जना व्यक्तिलाई चक्रवर्ती सम्राट मानेर जाने प्रकृतिको पार्टी भए एमाले त उहिल्यै माओवादी बनिसक्थ्यो नि ! यति साधारण कुरा नेताहरूले नबुझेका भन्न त मिलेन तर बुझ पचाएको भन्न चाहिँ पक्कै मिल्छ।
सबैलाई उचित मान्यता र उचित स्थान दिएर पार्टी भित्रै राम्रो व्यवस्थापन गर्नु पर्नेमा गूट निर्माण तीब्र रुपमा भयो। सत्ताको आडमा सुनिएको गूट प्रयोग मार्फत पार्टीको आन्तरिक प्रतिस्पर्धामा आफ्नो अस्थित्व सिध्याउने खेल हुँदैछ भन्ने डर नै नेपाल-दहालको बिभाजन तर्फ जाने एउटा प्रमुख कारण हो भलै माओवादीको नेकपा भित्र मूलप्रवाहिकरण अगावै निकाल्नुका आर्थिक कारण फरक छन र दल नफुटाइ नहुने निष्कर्ष सहितको विदेशी खेलकूद समेत भएका हुन सक्छन।
नेकपाको शरिरको बनोट अनुरुपको नेतृत्व भएन त्यसैले यो पार्टी चलेन भन्ने प्रमाणित तथ्य हो। बोकाको टाउको पछितिर फर्काएर गाँसेको किन नहोस दक्ष प्रजापतिको शरीरलाई त्यही बोकाको टाउकोले चलाउनुपर्छ किनकी ब्रेन त्यही टाउको भित्र छ भन्ने ओलीवादीहरूको तर्क छ । पार्वतीका छोरा गणेशमा पनि प्रत्यारोपित टाउको हात्तीको छ। अव गणेशलाई हात्तीको टाउकोले चलाएको छ कि गणेशले हात्तीको टाउकोलाई चलाएका छन भन्ने अर्को प्रश्न समेत टड्कारो छ। नेपाल-दहाल गुटको तर्क चाहिँ गणेश र दक्ष प्रजापतिको टाउको फेरेपछिको पहिचानलाई हेरेर गरिएको छ। गणेश र दक्ष दुबैको गीँडले टाउको काटिनु पूर्वको पहिचानलाई निरन्तरता दिएकोले नेपाल-दाहाल पक्षको तर्क बलियो भएको हो।
जे होस नेकपा भित्र अरू कुनै राजनैतिक, विचारधारगत र विदेशी कम्युनिष्ट नेताकि श्रीमतिलाई र अर्को देशको आन्दोलनलाई हेर्ने दृष्टिकोणमा पहिला जस्तो मतभिन्नता देखिन्न । त्यसो भए बिभाजनको कसरतलाई एउटा दार्शनिक धारमा किन नढाल्ने? यो फूटलाई वैचारिक किन नबनाउने? । अव बहस शुरु गरौँ नेकपामा टाउको प्रधान कि शरीर?