निबन्ध

        ऊ जाँच दिन घरबाट हतारहतार निस्क्यो । चोकमा उसले देख्यो एकाघरका दुई दाजुभाइ घरको साँध मिचेको विषयमा कराइरहेका थिए ।

        बाहिर गल्लीमा उसले देख्यो, छिमेकीहरु बाटोको विषयमा विवाद गरिरहेका थिए । उनीहरु गल्लीको बाटो भएर बाहिरको मान्छेलाई हिंड्न दिन्न भन्दै गलफत्ती गरिरहेका थिए ।

        बजारमा चुनावको चहलपहल थियो । सार्वजनिक स्थलमा पोष्टर टाँस्ने विषयमा दुई पक्षका व्यक्तिहरु आआफ्नो क्षेत्र भन्दै झगडा गरिरहेका थिए ।

        मूल सडकमा जुलुस र आमसभाको तयारीले बाटै बन्द जस्तो अवस्थामा थियो ।

        बसपार्कमा गाडी कम थियो । त्यसैले छिटो पुग्न ऊ झुण्डिएर यात्रा गर्न बाध्य भयो । भित्र सिटमा बसिरहेका भलादमीहरु पत्रिका हेर्दै राजनीतिक बहस गरिरहेका थिए । एउटाले यो सरकारले केही गर्न सक्दैन भन्दै कमजोरी कोट्याइरहेको थियो भने अर्कोले प्रतिपक्षले सरकार ढाल्न खोजिरहेकोप्रति अभिमत प्रकट गरिरहेको थियो ।

        ऊ परीक्षाकेन्द्रमा पुग्यो । परीक्षाकोठामा बस्नासाथ उसको हातमा आइपरेको प्रश्नपत्रमा फुलमार्कको पहिलो प्रश्न थियो – नेपाल सुन्दर, शान्त र विशाल छ’ यस विषयमा निबन्ध लेख ।