माधव नारायण जात्रा (फोटो फिचर)
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने माधव नारायण मेला यस बर्ष समाप्त भएको छ । साँखुमा माधव नारायण मेला शुरु हुने दिन देखि नै अन्य स्थानमा पनि नारायण मेला लाग्ने गर्दछ ।
यसै गरि ललितपुरको ठेचोमा मनाइने एक महिने माधव नारायणको जात्रा पनि समाप्त भएको छ । पौष शुक्ल त्रयोदशीबाट हरेक दिन विहान भजन र्कितन गर्दै टोल घुमिन्छ तथा माघ शुक्ल द्वादशी र त्रयोदशीमा विशेष जात्रा हुने गर्दछ । जात्राको दिन केही समूहलाई हात काँध टाउकोमा दियो वालेर टोल घुमाइन्छ भने कोही माधव नारायणको स्वरुप सरी घैंटामा छ्वालीको पाइप राखेर स्थानीयलाई पवित्र जल छ्यापी टोल परिक्रमा गर्दछन् ।
कोही खटमा खड्कुलोमा पानी राखेर शंख फुक्दै स्थानीयले चढाएको जलले नुहाउदै घुम्ने गर्दछन् । साथै भगवानको मूर्ति खटमा राखेर भजन र्कितन गर्दै टोल घुमाइन्छ । यसै गरि माधव नारायण जात्राको क्रममा माघ शुक्ल द्वादशीका दिन निकालिने काठमाडौंको वटुको माघे यात्राले पनि विशेष महत्व राखेको छ । बालबालिकालाई राम,सीता,लक्ष्मण र हनुमानको रुपमा श्रृगांर गराई नगर परिक्रमा गराईन्छ ।
स्थानीयको भनाई अनुसार काठमाडौं, ललितपुर तथा भक्तपुरका टोलहरुमा एक महिनासम्म माघ यात्राको क्रममा भक्तजनहरु शंख फुक्दै हरेक दिन विहान भजन र्कितन गर्दै टोल घुम्ने गर्दथ्यो । बदलिंदो परिवेश संगै केही स्थानमा सानो समूहले मात्र यो माघे यात्रा सञ्चालन गरेको छ । ठेचोमै ३÷४ वटा मंका खलले पहिला जात्रा निकाल्ने गर्दथे । तर अहिले एउटा मात्रै समूहले यो जात्रा धानिरहेको छ ।
स्थानीयहरुको अनुसार ठेचोमा नवदुर्गाको स्थापना श्रीनिवास मल्लको पालामा भएको थियो र त्यही बेलादेखि नै माधव नारायणको जात्रा मनाउन थालिएको हो भन्ने किंवदन्ती छ । माघ महिनामा माधव नारायणको व्रत, पूजा र उपासना गरेमा रोग व्याधा लागेको भए ठीक हुने तथा परिवारमा सुख समृद्धि कायम हुने विश्वास छ ।
















