कोरोनाविरुद्धको भेरोसेल खोप अभियान
नेपाल सरकारले कोभिड–१९ विरुद्धको खोप अभियान अन्तर्गत चीनबाट अनुदान सहयोगमा प्राप्त भेरोसेल खोप पहिलो चरणमा लगाउन शुरु गरेको छ । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका २३ वटा खोप केन्द्रबाट दिन थालिएको हो ।
नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको उपस्थिति खोप कार्यक्रमको सुरुवात गरिएको थियो । चिनियाँ अनुदानको खोप १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययनमा जाने तयारीमा रहेका व्यक्ति, हिमालय सीमा पार व्यापार गर्ने नेपाली व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, व्यक्ति होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, फलफूल, तरकारीलगायतका व्यापारी, यसअघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिने जनशक्तिलाई यो खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकाका विभिन्न १४ वटा स्वास्थ्य संस्थाबाट खोप लगाउन सुरु गरिएको हो ।
वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल मेडिकल कलेज अत्तरखेल र काठमाडौ मेडिकल कलेज सिनामंगलमामा रहेका केन्द्रबाट खोप लगाउन सुरु गरिएको छ । त्यस्तै त्रिवि शिक्षण अस्पताल, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, वीरेन्द्र अस्पताल छाउनी, नेपाल सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताल, ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबाट पनि यो खोप लगाउन सुरु भएको छ । यसै क्रममा क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा खोप लगाउन आउनेहरुलाइ अरनिको समाजका पदाधिकारीहरु तथा स्वयंसेवकहरुले सहजीकरणको वातावरण बनाइदिएको छ । नेपालको विभिन्न परियोजनाहरुमा संलग्न चिनियाँ नागरिकहरुले पनि यसै अस्पतालमा खोप लगाएका छन् ।
कोभिसिल्डको खोप अभियानअन्तर्गत समूहमा नपरेका पर्यटन व्यवसायीहरु भेरोसेल खोप अभियानअन्तर्गत खोप लगाउन पाएकोमा बढि उत्साहित देखिन्छन् । “हाम्रो प्रमुख ग्राहक नै पर्यटक भएकाले उनीहरु हामी प्रति विश्वस्त हुन पनि हामीले खोप लगाएर सुरक्षित हुन जरुरी छ” पहिलो डोज खोप लगाउन आएका नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज(नारा)का महासचिव शिशिर खनाल बताउंछन् । नेपालमा कोभिसिल्डको दोस्रो डोज परिपुर्तिं हुन्छ कि हुदैंन भन्ने असमन्जस बातावरण रहेको बेला भेरोसेल खोपका दोस्रो डोज प्रति भने मानिसहरु अलि विश्वस्त देखिए । खनालले पनि चीन नेपालको हीतैषी मित्र भएका कारण आफू तथा अन्य नेपालीहरुले समयमा नै भेरोसेल खोपको दोस्रो डोज पनि लगाउन पाउने आशा व्यक्त गरेका छन् ।
कोभिसिल्डको पहिलो डोज लगाएको ८ देखि १२ हप्तामा दोस्रो डोज लगाउनुपर्छ तर भेरोसेल खोपको पहिलो डोज लगाएको ४ हप्तापछि दोस्रो खोप लगाउनुपर्छ। कोभिसिल्डभन्दा भेरोसेलको प्रभावकारिता केही बढी रहेको दावी गरिएको छ । चीन सरकारले नेपाललाई आठ लाख डोज भेरोसेल खोप सहयोग गरेको थियो जसअनुसार करिब ४ लाख नेपालीलाई भेरोसेल खोप दिन थालिएको छ।















