त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले ९ विकेटले पराजित गर्यो मलेसियालाई

काठमाडाै‌ं, वैशाख ६ : ओपनरद्वय कुशल भुर्तेल र आसिफ सेखले उत्कृष्ट ब्याटिङ गरेपछि त्रिकोणात्मक सिरिजनमा नेपालले सानदार जित निकालेको छ। सोमबार कीर्तिपुरस्थित टियू मैदान भएको खेलमा कुशल र आसिफले लागतार दोस्रो खेलमा शतकीय साझेदारी गरेपछि नेपालले मलेसियामाथि ९ विकेटको सानदार जित निकाल्यो ।

शतकीय साझेदारी गर्ने क्रममा कुशल र आसिफले ११ ओभरमा १०२ रनको साझेदरारी गरे। यअसघि उनीहरुले डेब्यू खेलमा नेदरल्यान्ड्सविरुद्ध ११६ रनको कीर्तिमानी ओपनिङ पार्टनसिप गरेका थिए।

पहिला ब्याटिङ गर्दै मलेसियाले दिएको ११० रनको सामान्य लक्ष्य नेपालले १२.१ ओभरमा १ विकेट गुमाउँदै भेट्टायो। नेपालको एकमात्र विकेट अनवर रहमानले लिए।

लगातार दोस्रो खेलमा कुशलको अर्धशतक

त्रिकोणात्मक टि–२० सिरिज अन्तर्राष्ट्रियमा डेब्यू गरेका ओपनर कुशल भुर्तेलले लागतार दोस्रो अर्धशतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित टियू मैदानमा कुशलले मलेसियाविरुद्ध कुशलले २६ बलै अर्धशतक बनाए ।

कुशलले अर्धशतक बनाउने क्रममा ३ चौका र ५ छक्का प्रहार गरे। नटआउट रहेका कुशलले आक्रामक इनिङ खेल्दै ४१ बलमा ६१ रन बनाए । यअसघि कुशलले नेदरल्यान्ड्विरुद्ध पनि ६४ रनको उत्कृष्ट इनिङ खेलेका थिए।

यस्तै, आसिफ सेख आसिफले २८ बलमा ४ चौका र १ छक्का ४२ रन बनाएर आउट भए । आसिफले पनि नेदरल्यान्ड्सविरुद्ध डेब्यू खेलमा अर्धशतक बनाएका थिए ।

बलिङमा चम्किए करण र सन्दीप

यअसघि टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको मलेसियाले १६.५ ओभरमा अलआउट हुँदै १०९ रनमै अलआउट भयो । मलेसियाका लािग सेयद अजिजले सर्वाधिक २७ रन बनाउँदा सर्विन मुनियन्डीले २० र सकिफ सरिफले १५ रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा स्कोर बनाउन सकेनन् ।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा करण केसी र सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । करणले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए भने सन्दीपले ३.५ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । यस्तै, साहब आलम, कुशल मल्ल र सोमपाल कामीले समान १ विकेट लिए ।

नेपाल तालिकाको शीर्ष स्थानमा

लगातार दोस्रो जितसँगै नेपाल त्रिकोणात्मक सिरिजको शीर्ष स्थानमा रहेको छ। दोस्रो खेलमा पनि फराकिलो जित निकालेकाले नेपाल फाइनल नजिक पुगेको छ। नेदरल्यान्ड्स १ जितसहित दोस्रो स्थानमा छ भने मलेसिया जितबिहीन छ।

यसअघि नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले ने हराएको थियो भने मलेसिया नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको थियो।

अब नेपालले मंगलबार नेदरल्यान्ड्ससँग खेल्ने छ।