त्रिकोणात्मक टी-२० सिरिज नेपालले नेदरल्यान्ड्सलाई १४२ रनको फराकिलो अन्तरले हराउदैं जित्यो उपाधि

त्रिकोणात्मक टी-२० सिरिज नेपालले नेदरल्यान्ड्सलाई १४२ रनको फराकिलो अन्तरले हराउदैं उपाधि जितेको छ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले पहिलो पटक टी-२० सिरिजको उपाधि जितेको हो। यो नेपालले रनको आधारमा हात पारेको अहिलेसम्मकै ठूलो जितसमेत हो। यसअघि नेपालले भुटानलाई १४१ रनले पराजित गरेको थियो। नेपालले घरेलु मैदानमा पहिलो टी-२० सिरिज जित्दा ११ वर्षपछि घरेलु मैदानमा पहिलो उपाधि जितेको हो। यसअघि नेपालले सन् २०१० मा घरेलु मैदानमा आइसिसी विश्व क्रिकेट लिग डिभिजन-५ को उपाधि जितेको थियो। 

त्यसपछि नेपालले डिभिजन-४ र डिभिजन-३ को उपाधि विदेशी भूमीमा जितेको थियो। नेपालले सन् २०१९ पहिलो पटक टी-२० सिरिज जितेको थियो। घरेलु टिम युएईविरुद्धको तीन खेलको सिरिज नेपालले २-१ ले जितेको थियो।शनिबार नेपालले दिएको २३९ रनको विशाल लक्ष्य पछ्याएको नेदल्यान्ड्स १७.२ ओभर ९६ रनमा अलआउट भयो। नेदरल्यान्ड्सका लागि म्याक्स ओ’डाउडले  २० रन, कप्तान पिटर सीलारले १३ रन र सेबास्टियन ब्रातले नटआउट २६ रन जोडे। अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए। 

बलिङमा नेपालका करण केसीले ३ विकेट लिए। सन्दीप लामिछाने र कमलसिंह ऐरीले २-२ विकेट लिए। अभिनास बोहराले १ विकेट हात पारे। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नेदरल्यान्ड्सले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २३८ रन जोड्यो। 

यो नेपालको टी-२० अहिलेसम्मकै सर्वाधिक स्कोर हो। यसअघि भुटानविरुद्ध काठमाडौंमा भएको साग गेममा बनाएको २३६ रन नेपालको उच्च स्कोर थियो।नेपालका लागि ओपनर कुशल भुर्तेल र कुशल भुर्तेलले अर्धशतक प्रहार गरे। भुर्तेलले ५३ बलमा ७७ रन जोड्नेक्रममा  ८ चौका र ३ छक्का हिर्काए। 

उनको नेपालका लागि चौथो अर्धशतक हो। उनी नेपालका लागि एकै सिरिजमा चार अर्धशतक प्रहार गर्ने पहिलो खेलाडीसमेत बने। यस्तै कुशल मल्लले आक्रमक ब्याटिङ गर्दै नटआउट ५० रन जोडे। उनले २४ बलमा २ चौका र ५ छक्कासहित अर्धसतक पूरा गरे।

अन्तिममा आक्रमक ब्याटिङ गरेका दीपेन्द्रसिंह ऐरीले नटआउट ४८ रन जोडे। उनले मात्र १८ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै नेपाललाई विशाल योगफलसम्म पुर्‍याए।यसअघि कप्तान ज्ञानेन्द्र मल्लले ३३ रन जोड्दा ओपनिङ ब्याट्सम्यान आशिफ शेखले १६ रनको योगदान दिए।

ज्ञानेन्द्रले १९ बलमा  ३ चौका र २ छक्का हिर्काए भने आशिफले ८ बलमा १ चौका र २ छक्का प्रहार गरे।