सबै मदनका ‘मुना’ हुँदैनन्

 

सबै मदनका ‘मुना’ हुँदैनन् । मदनकी ‘मुना’ हुनको लागि त्याग र समर्पण चाहिन्छ । मदनको जस्तो सादगीपन, जनताप्रतिको अगाध प्रेम र लगाव चाहिन्छ ।

भर्खर बहुदल आएको थियो । २०४७ सालको जेठ १ गते हुनुपर्छ । हामी केही साथी परोपकार स्कुलनजिक प्रजातान्त्रिक राष्ट्रिय युवा सँघले आयोजना गरेको एउटा कार्यक्रममा पुगेका थियौं, जहाँ पहिलोपटक नेकपा मालेका तत्कालिन महासचिवले पहिलो पटक खुला सभामा सहभागि हुँदै थिए ।

हामी पुगेको केही बेरमै तत्कालिन मालेका नेता मदन भण्डारी साइकल चढेर कार्यक्रममा आए । आखिर, सामान्य सर्ट, पाइन्ट र कालो टोपी लगाएका भण्डारी कार्तिक २०४७ कार्तिक २३ गते प्रवक्ताको रुपमा सार्वजनिक भएका उनी पछि मालेका महासचिव रहेछन् भन्ने थाहा भयो । झलनाथ खनाललगायतका नेताहरु त्यतिबेलै सुटेट बुटेड र चिल्ला चाप्ला देखिन्थे, तर भण्डारीमा भने सादगिपन थियो ।

२०४९ सालतिर ‘नेपाल आवाज’का लागि मदन भण्डारीको अन्तर्वार्ता लिन पत्रकार जिवेन्द्र सिम्खडा र म नक्सालस्थित भण्डारी निवासमा गएका थियौं । त्यतिबेलासम्म भण्डारीको राष्ट्रिय अन्र्तराष्ट्रिय ख्याति चुलिइ सकेको थियो । भण्डारीकै ’boutमा न्यूजविकले ‘जहाँ कार्लमाक्र्स जिवतै छन्’ भन्ने लेख प्रकाशित गरिसकेको थियो ।

उनको पार्टीले ६९ स्थानमा जितेको थियो र प्रमुख प्रतिपक्षीका रुपमा विरोध र आन्दोलनका कार्यक्रम चलाइरहेको थियो ।

चर्चित नेताको डेरामा जाँदा हामी चकित परेका थियौं । नक्सालको एउटा सामान्य पुरानो घर, एकतलामाथि दुई तिनवटा साँघुरा कोठामा उनी बस्थे । बेतका केही पुराना कुर्ची ।

एउटा चौध इन्चको ब्ल्याक एन्ड ह्वाइट टिभी । न त त्यहाँ कुनै भडकिलो सोफा थियो, न डेढ दुइ लाख पर्ने पलङ । सामान्य काठको दराजमा मार्क्स, लेनिन र माओका पुस्तक देखिन्थे । मदन र उनकी जीवनसँगीनी विद्या भण्डारीको लवाई खवाई बडो सामान्य थियो ।

विद्याले सामान्य सुतिको साडी लगाएकी थिइन् । उनको मुहारमा एउटा क्रान्तिकारी नेताकी सहयात्रीको झल्को पाउँन सकिन्थ्यो ।

उनले त्यतिबेला हामीलाई खुवाएको कालो चियाको स्वादमा नैतिकता, इमानदारिता र जनपक्षधरताको परिशुद्ध गुलियो घोलिएको थियो । हृदयदेखि नै लाग्यो, हामी एउटा सच्चा कम्युनिष्ट नेताको निवासमा पुगेका छौं ।

केही समयपछि २०५० साल जेठ २ गते दासढुँगा दुर्घटनामा मदन भण्डारी र जीवराज आश्रितको निधन भयो । षडयन्त्र थियो कि सामान्य दुर्घटना, त्यो अझै रहष्यमय नै छ । तर, तत्कालिन एमालेले मदनको ‘शोकलाई शक्तिका बदल्ने’ निर्णय गर्दै आन्दोलन चर्काउँन थाल्यो ।

तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई नै ‘मदनको हत्यारा’ भन्नेसम्मका आरोप लगाइयो । सडकका रेलिङ भाँचिए, टेलिफोन बुथहरु फुटाइयो । टायर बालेर पुरै शहर प्रदुषित पारियो । तत्कालिन एमालेले लासमाथि राजनीति थाल्यो ।

मदनको ख्याति र उनको निधनपछिको शोकको ‘मास सेन्टीमेन्ट’लाई भजाउँने र सहानुभूतिको भोट बटुल्ने हिसाबले एमालेले प्रतिनिधिसभामा मदनले जितेको तत्कालिन काठमाडौं क्षेत्र नम्बर एकमा उनकै विधवा विद्या भण्डारीलाई उम्मेदवार बनायो । ति प्रारम्भिक दिनहरुमा बिद्यालाई भाषण गर्नसमेत राम्ररी आउँदैनथ्यो।

यस’boutमा विद्यासँग नजिक काठमाडौंका सक्रिय अगुवा नेता नेपालजीत लामाले आफ्नो हालै प्रकाशित पुस्तक ‘मन्थन’मा लेखेका छन्, ‘२०५० सालमा उपनिर्वाचन हुँदा बिद्या भण्डारीलाई काठमाडौं क्षेत्र नम्बर–१ बाटै उठाइयो । ‘जनताकी छोरी बिद्या भण्डारी’ नाराका साथ हामी उहाँको प्रचार प्रसारमा व्यापक रुपमा जुटयौं । पार्टी सदस्य भए पनि विद्याले पार्टीमा त्यतिबेलासम्म खासै काम गर्नु भएको रहेनछ । श्रीमानको शोकका साथै निर्वाचनको बोझ । मदनकी बिधवालाई जसरी पनि जिताउँनै पर्ने हाम्रो चुनौति थियो । जिल्ला कमीटीका साथीहरुले नै विद्यालाई भाषण गर्न सिकाउँथे । हाम्रो क्षेत्रमा त्यसताका प्रदीप नेपाल, युक्त भेटवाल, नारायण ढकाल र हिमाञ्चल भट्टराई सक्रिय थिए हुनुहुन्थ्यो । सार्वजनिक कार्यक्रम हुनुअघि उहाँलाई भाषणको रिहर्सल गर्न लगाउँथ्यौं । हामी दर्शक हुन्थ्यौं, उहाँ भाषणको अभ्यास गर्नुहुन्थ्यो ।’

उपनिर्वाचनमा विद्याका प्रतिस्पर्धी नेपाली काँग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराई थिए । उनी विद्यासँग पनि हारे । किशुनजीलाई हराउँन त्योबेला कांग्रेस पार्टी भित्रैबाट अन्तर्घात भएको कुरा किशुनजी निकट पत्रकार रेवतीरमण सुवेदीले तत्कालिन जनमञ्च साप्ताहिकमा लेखेका थिए ।

किशुनजीको पराजयका कारण मुलुकको राजनीति ओरालो लाग्दै गयो । किनकी, त्यसले काँग्रेसमा कलह र विभाजन उत्पन्न गर्यो । छत्तिसे र चौहत्तरेको जन्म भयो, मुलुक मध्यावधि निर्वाचन र सत्ता समिकरणको दुश्चक्रमा फँस्यो ।

यता मदनको ‘लिगेसी’ या उत्तराधिकारको लाभ बिद्याले पाउँदै गइन् । सरकार र पार्टीमा उनको बढोत्तरी हुँदै गयो । र छोटो समयमै उनी पार्टीकी सशक्त नेतृ कहलिन थालिन् र अन्ततः उनी दुइ दुइ पटक राष्ट्रपति बन्न सफल भइन् ।

यो सबै जननेता मदनको लिगेसीबाटै उनलाई प्राप्त भएको हो । विद्या यदि मदनकी विधवा हुँदैनथिन भने आज उनी यो स्थानसम्म पुग्ने थिइनन् । किनकी, पार्टीमा लामो समयदेखि कार्यरत रहँदै आएका धेरै महिला नेतृहरु पाखा परेका छन् । स्वयं जीवराज आश्रितकी पत्नीको कुनै खोजखबर छैन । भूमिगत कालदेखि भिडेका त्यागी महिला नेतृको ठाउँमा टाठाबाठा, चल्तापुर्जा र सुन्दर नेतृ हावी भइरहेका छन् । कोमल वलीहरुको जगजगी छ । कम्युनिष्ट नेताहरु रेखा थापासँग नाच्ने युग आएको छ । कम्युनिष्ट पार्टीमा बुर्जुवा राजनीतिक सँस्कार हावी भइरहेको छ ।

यस्तो बेलामा मदनकी जिवनसँगीनी भएकै कारण मात्र विद्याप्रति सबै जनता र पार्टीको सहानुभूति भएको हो । उनको नेतृत्व सबैले स्वीकारेको हो र राष्ट्रपतिजस्तो गरिमामय पदसम्म पुर्याएको हो । वैचारिक, राजनीतिक र साँगठनिक रुपमा उनीभन्दा अग्रज नेतृ अरु थुपै्र थिए, तर भावनात्मक हिसाबले उनी सबैकै सहानुभूतिकी पात्र भएकी न हुन् ।

ठिक छ, मदनको उत्तराधिकारी हुने पुरापुर अधिकार विद्यालाई छ । तर, मदनको उत्तराधिकार या लिगेसी ग्रहण गर्ने भनेको पद र प्रतिष्ठा प्राप्तिका लागि मात्र त हैन होला । मदनको लिगेसी बोक्ने भनेको उनको आचरण, सँस्कार र विचार पनि त होला ।

मदन साइकल चढथे, उनमा कुनै भडकिलोपन थिएन । मदन कुन हदसम्म मितव्ययी थिए भने खामसमेत किन्दैनथे । पुराना पत्रिकालाई फोल्ड गरेर स्टीच मार्थे र खामको रुपमा प्रयोग गर्थे ।

यस्ता सरल र सादगीपूर्ण नेताकी विधवालाई आज किन चाहियो १८ करोडको विलासी गाडी ? किन चाहियो आँगनमै हेलिप्याड र किन सार्नुपर्यो प्रहरी तालिमकेन्द्र ? रगतको टिका र ल्याप्चे लगाएर कम्युनिष्ट पार्टीको सदस्य भएको त्यो गौरवमय इतिहास भुलेर आज किन राजा महाराजाले झैं राज्यका निकायका प्रमुखहरुलाई घुँडा टेकाएर दशैंको टिका लगाइ दिनुपर्यो ?

धर्मनिरपेक्ष राज्यको राष्ट्रप्रमुख किन छठमा अर्घ दिन जानुपर्यो ? किन तिजमा पशुपति जानुपर्यो ? जाने नै हो भने अब उधौली उभौली, क्रिसमस, हेल्मो ल्होसार, तमु ल्होसार, तामाङ ल्होसार, बकर इद, माघीमा पनि सहभागी हुने कि नहुने ? मदन भण्डारी त धर्मलाई अफीम नै भन्नुहुन्थ्यो, उहाँको लिगेसीको दुहाइ दिँदा उहाँको विचार र दर्शनलाई तिलाञ्जली दिने कि अपनाउँने ?

प्रश्नहरु धेरै छन् । मदनको रहष्यमय दुर्घटनालाई हत्या नै ठहर गरी मुलुकमा उपद्रव मच्चाउँने केपी ओली प्रधानमन्त्री छन् । खै त हत्यारा पत्ता लगाएको ? दुई तिहाइ बहुमतवाला सरकारलाई मदनका हत्यारा पर्दाफास गर्न केले रोकेको छ ?

हो, यही अनुत्तरित प्रश्नले जोड जोडले भनिरहेको छ, सबै मदनका ‘मुना’ हुँदैनन् । मदनकी ‘मुना’ हुनका लागि त्याग र समर्पण चाहिन्छ । मदनको जस्तो सादगीपन, जनताप्रतिको अगाध प्रेम र लगाव चाहिन्छ । कसैको लिगेसी भजाएर उच्च पदमा पुग्नु र त्यो लिगेसीको इमानदारीपूर्वक सम्मान गर्नु फरक कुरा हो । मदन भण्डारीको लिगेसी भजाएर नेकपाका नेताले राज्यको ढुकुटीमा ब्रम्हलुट मच्चाउँनु भनेको मदनको अपमान हो, उनको सपनाको उपहास हो ।

(कुसुम भट्टराईको यो लेख आज पनि त्यत्तिकै सान्धर्भिक भएकोले पुन प्रकाशित गरेकाछौं – सम्पादक )