हे, बुद्ध यो कुन युग हो ?

कतै यो सपनाको दृश्य त हैन ? मैले कतै कुनै अपराध विषयमा आधारित ‘थ्रिलर हरर मूभी’ हेरीरहेको त हैन ? म आफैलाई चिमोटछु । दुख्छ, थाहा पाउँछु कि यो त बास्तविक विपनाकै घटना हो । अनि तन मात्र हैन, मन पनि दुख्छ ।


-कुसुम भट्टराई

काठमाडौं । म कुन युगमा बाँचीरहेको छु ? के म आदिम गुफा युगमा बाँचीरहेको छु ? के म नियान्डरथल मानवको युगमा बाँचीरहेको छु ?

एउटा हुनेखाने पहुँचवालाले कञ्चनपुरमा एउटी अवोध निर्मलाको निर्मम बलात्कार गर्छ र क्रूरतापूर्वक हत्या गर्छ।

बलात्कारी जोगाउन राज्यको पुरै संयन्त्र लाग्छ । घटना सामसुम पार्न खोजिन्छ । स्थानिय महिला जुर्मराउँछन्, बास्तविक बलात्कारी पत्ता लगाएर पक्राउ गर्न दबाब दिन्छन् ।

प्रहरी निरिह हुन्छ । अनि उसले अर्को अनैतिक काम गर्छ । जन आक्रोश साम्य पार्ने चलखेल बमोजिम कुनै सुस्त मनस्थितिको युवालाई नै बलात्कारी करार दिदै पक्राउ गरिन्छ । नक्कली प्रमाण जुटाउने कोशीस गरिन्छ । र, यस्तो घटिया काम प्रहरीबाटै हुन्छ । प्रहरीलाई यस्तो काम गर्न राजनीतिक नेतृत्वले छुट दिन्छ ।

न्यायका लागि जनता सडकमा उत्रन्छन् । घटनाको सत्यतथ्य पत्ता लगाइ दोषीमाथि कार्वाहीको माग गर्दै सडकमा उत्रिएका जनतामाथि प्रहरी अश्रु ग्यास र गोली प्रहार गर्छ । चार जना घाइते हुन्छन् । सयौं प्रदर्शनकारीलाई चोटपटक लाग्छ । प्रहरीले महिला प्रदर्शनकारीलाई लछार पछार पार्दैै, लाठीले कुटदै लखेटेका दृश्य टिभीमा देख्दा मन कुँडीन्छ ।

म कुन युगमा बाँचीरहेको छु ? म कस्तो राजनीतिक प्रणाली भएको मुलुकमा बाँचीरहेको छु ? म हिटलरको नाजी तानाशाही युगमा बाँचीरहेको छु कि म बुद्धको देशमा बाँचीरहेको छु ?

कतै यो सपनाको दृश्य त हैन ? मैले कतै कुनै अपराध विषयमा आधारित ‘थ्रिलर हरर मूभी’ हेरीरहेको त हैन ? म आफैलाई चिमोटछु । दुख्छ, थाहा पाउँछु कि यो त बास्तविक विपनाकै घटना हो । अनि तन मात्र हैन, मन  पनि दुख्छ ।

विभत्स समाचार र दृश्य हेर्न नसकेर च्यानल चेन्ज गर्छु । नेपाल टेलिभिजनमा प्रधानमन्त्री केपी ओलीको अन्तर्वार्ता आइरहेको छ । करीब करीब राजसी हाउभाउमा उनी विस्तारै वाक्य फुटाउँदै गुरु गम्भीर पारामा भनिरहेका छन्, ‘सरकारका ६ महिनाका उपलब्धीका ’boutमा हामीले एउटा पुस्तिका निकालेका छौं।’

प्रधानमन्त्री यसरी भनिरहेका छन् कि मानौं, सरकारको ६ महिनाको एक मात्र उपलब्धी त्यही पुस्तीका निकाल्नु हो । उता, सडकमा न्यायका लागि जनता कराइरहेका छन् । राहतका लागि मर्माहत छन् । दिनहुँ बलात्कारका समाचार आइरहेका छन् । तर, राज्य संयन्त्र उल्टै बलात्कारी जोगाउन उद्यत देखिन्छ । प्रधानमन्त्रीको अन्तर्वार्ता सुन्न मन लाग्दैन, अनि च्यानल चेन्ज गर्छु, कंचनपुरमा प्रहरीले निहत्थामाथि लाठीचार्ज गरिरहेको दृश्य देखिन्छ । प्रधानमन्त्रीको बोली र सडकमा भइरहेका घटनाहरुवीच कतै तादात्म्य देखिदैन । कार्यकारी प्रमुखको दावीभन्दा ठिक बिपरीत दृश्य देखिन्छ, जगतमा ।

प्रधानमन्त्री केपी ओली १७ वर्ष जेल बसेको क्रान्तिकारी, त्यागी नेता । जेलमा बसेकै कारण खानपिन नमिलेर उनको पेटदेखि मृगौलासम्म खराब भयो । जिवनका उर्वर काल संघर्षमै बिताएकाले उनले जिवनमा धेरै दुःख पनि पाए । यस्तो त्याग, सँघर्ष र कष्टबाट उदाएका नेता आज प्रधानमन्त्री हुँदा हामीलाई लागेको थियो, अब देशमा बिगतका गल्ती दोहोरीने छैनन्, बिगतका विसंगती र बेथिती दोहोरीने छैनन् ।

ओलीले बिगतमा आशा जगाएकै हुन् । उनी गृहमन्त्री हुँदा एक जना नेपाली नागरिक पनि गोली लागेर मर्नु परेको थिएन । कत्रा कत्रा विरोध प्रदर्शन हुँदा पनि उनले प्रहरीलाई भनेका थिए, ‘सँयम अपनाउनू, सकेसम्म गोली नचलाउनू, चलाए पनि रबरका गोली चलाउनू र त्यो घुँडाभन्दा मुनी मात्र ताकेर हान्नू ।’

अल्पमतको तात्कालीन एमाले सरकारमा गृहमन्त्री हुँदा बरु ओलीले सुझबुझ देखाएका थिए । कुनै पनि बेला ढल्नसक्ने सरकारका पालामा त्यति राम्रो भूमिका निर्वाह गरेका ओली आज दुइ तिहाइ बहुमतको सरकारका प्रधानमन्त्री र सत्तारुढ बलियो कम्युनिष्ट पार्टीका अध्यक्षसमेत छन् । उनलाई यतिबेला न त सरकारबाट, न त सदनबाट अनि न पार्टीबाट कुनै अवरोधको गुञ्जाइस छ । देश र जनताको हितका पक्षमा उनले चाहे भने कसैको कुरा नसुनी एक्लै फटाफट दुरगामी निर्णय गर्न सक्छन् ।

विदेशी मिडियामा पनि ओलीलाई नेपालको इतिहासमै ‘जंगबहादुर राणापछिको शक्तिशाली प्रधानमन्त्री’ भन्न थालीएको छ । हो, शक्तिशाली पनि छन्, उनले चाहेमा जन हितका युगान्तकारी काम पनि गर्न सक्छन् । तर, बिडम्बना गरिरहेका छैनन् । इतिहासले यति सुनौलो अवसर, अधिकार र शक्ति दिदा पनि केही गर्न नसक्नु देशको दुर्भाग्य हो ।

यतिबेला सर्वत्र बेथिति मौलाएको छ । शिक्षा र स्वास्थ्यमा माफीयातन्त्र हावी छ । वैदेशीक रोजगारीमा दलालहरुको बिगबिगी छ । खाद्यान्न र तरकारीमा मिसावट छ, हाम्रो खानपिन विषाक्त हुँदै गएको छ । सरकारी सुविधा र लाभका पदहरुमा नाताबाद कृपाबाद हावी छ । केन्द्रदेखि प्रदेशसम्मका शासकहरुमा महँगो गाडी चढने र सुविधा बढाउने होड छ । निर्माण र यातायातमा सिण्डिकेट कायमै छ । सडक निर्माण, गिट्टी, बालुवा आदि ठेक्कामा डनहरुको बोलवाला छ र ति डनहरुलाई सत्तारुढ दलका नेताहरुको संरक्षण छ । मनोरंजन उद्योग, पर्यटन र अघोषित यौन बजारमा प्रहरी प्रशासन र लोकल गुण्डाहरुको दबदबा छ । आम जनतामा अभाव, भोकमरी, गरीबी, बेरोजगारी र विदेश पलायनको क्रम झन बढदैछ ।

यस्तो बेथिति पहिला पनि थियो र अहिले पनि छ । आम निर्वाचनपछि नेकपाको दुइ तिहाइको सरकार बनेकाले अब नेपालीले लामो समयदेखि भोग्दै आएका यस्ता बेथितिको अन्त्यका खातिर आशलाग्दा सुधार कार्यक्रमहरु सुरु होलान् भन्ने अपेक्षा गरिएको थियो । बेथिती उस्तै छ, झन बढ्दो  छ ।

म कुन युगमा बाँचीरहेको छु ?

भन्नलाई समाजबादतर्फ संक्रमण गर्ने भनिएको छ । समाजबादकै नारा दिएर अहिलेको सत्ता गठबन्धन बनेको हो । तर, समाजबादको नाराकै उपहास हुन थालेको छ । एउटी अबोध बालीका बलात्कृत हुँदा राज्य गम्भीर हुन सक्दैन, राज्यले उनलाई न्याय दिन सक्दैन । मेडिकल माफीयाको विरोध गरेर अनसन बसेका डा. गोविन्द केसीको मागलाई सँबोधन गर्न सरकारले २६ दिन लगाउँछ । २६ दिनसम्म सरकारले कस्को स्वार्थ हेरेर बसेको थियो ? विदेश जान लागेको सँस्कृत विश्व विद्यालयका उपकुलपतिलाई प्रधानमन्त्री निवासमा ल्याएर डेढ दुइ घन्टा थुनिन्छ । अस्पतालका चिकिस्तकलाई अपहरण शैलीमा शासकहरुले आफ्नो कार्यकक्षमा डाकेर धाक धम्की दिन्छन् । अरुले बनाएको प्रधानमन्त्रीको कार्टून फेसबुकमा शेयर गर्दा सरकारका सामान्य कर्मचारी पक्राउ पर्छन् । कुनै अपहरणकारीलाई कानूनी कार्वाहीका लागि अदालतमा उभ्याउनुको साटो इन्काउन्टरका नाममा गोली ठोकेर मारीन्छ । लोक कल्याणकारी र सामाजिक न्यायमुलक समाजको मुलभूत मर्ममाथि नै प्रहार गरेर प्रचण्ड र ओली भनिरहेका छन्, ‘अब समाजबाद ल्याउने हो ।’

२०४६ सालमा पहिलो पटक आउँदा मैले काठमाडौंमा धुलो र धुवाँ महसुस गरेको थिइन । पत्रकारिता गर्न थालेपछि म नयाँ बानेश्वरमा बस्न थालें र मेरो कार्यालय त्रिपुरेश्वरस्थित ‘जनमञ्च साप्ताहिक’मा थियो । साँझ काम सकेपछि म ट्रली बस चढेर आरामले बानेश्वर पुग्थें । त्यो बिद्युतीय बसमा चढनुको मजा नै बेग्लै थियो । ट्रली बस खासमा युरोपेली मुलुकहरुकै स्तरको सवारी साधन थियो । २०४६ सालपछिका शासकहरुले त्यसको बढोत्तरी गर्नुको साटो, भारतबाट टाटा बसको आयातमा जोड दिए । मित्र राष्ट्रहरुले बनाइदिएका ति समृद्धिका आधारहरु भत्काउन थाले । कलकारखानाहरु पनि धरासायी भए ।

मलाई लाग्छ, २०४६ सालसम्म पनि काठमाडौंको मौलिक शौन्दर्य, सुवास, मिठा परिकार (जेरी, स्वारी, मालपुवा, हलवा), नेवारी परिकार, जात्रा अनि नगरको माहौल आनन्ददायक थियो । शहरमा निस्कदा मास्क लगाउनुपर्दैनथ्यो । अचेल काठमाडौंको मौलिक हराइसकेको छ । यो धुलोमाण्डौं, धुवाँमाण्डौं र हिलोमाण्डौंमा परिणत भएको छ । राजधानी काठमाडौं यस्तो क्यानभाष भएको छ, जहाँ रंगहरु जथाभावी पोतिएको छ । न त यो क्यानभाषमा कुनै मूर्त चित्र कुँदीएको छ, न अमूर्त । एकातिर पुराना मौलिक परम्पराहरुलाई आधुनिकताले छोपेको छ, अर्कोतिर नव आधुनिक संस्कारले खर्लप्पै गाँजेको छ ।

यसको मुख्य दोषी अरु कोही हैन, २०४६ सालको आन्दोलनपछि शासन सत्तामा उदाएको नव धनाढ्य एलीट बर्ग नै हो । यो एलीट बर्गले यो राजधानीमा देशको ढुकुटी लुटेर रजगज, रजाई र रमझम त गर्दै आयो, तर यसको व्यवस्थीत विकास गर्न सकेन । बहुदल आएपछि काँग्रेस र कम्युनिष्ट इर्दगिर्दको एउटा तप्का मुलुकभरीबाट यहाँ ओइरीयो, राज्यको ढुकुटीमा तर मारेर अकुत सम्पत्ति कमायो, त्यो बर्ग यतै अड्डा जमाएर बस्यो । २०५२ सालपछि उदाएको माओवादीको ठूलो तप्का पनि शान्ति प्रकृयापछि यतै आखाडा जमाएर एलीट बर्ग भएर बस्यो ।

आजको नेकपाको सरकार २०४६ सालदेखि आजसम्मको अवधिमा उदाएका तिनै नव एलीटहरुको कब्जामा छ । काँग्रेस, कम्युनिष्ट, राप्रपा जुनसुकै दलका किन नहुन्, ति टाठाबाठाहरुले कुनै न कुनै बहानामा अहिले पनि राज्यको सुविधा र अवसरहरुबाट लाभ लिइरहेका छन् । यी एलीटहरुको हरेक क्षेत्रमा माफीया तयार भएको छ र शासकहरु तिनकै इशारामा चलीरहेका छन् । अनि आम जनता भुलभुलैमा फँसेका छन् । टाठाबाठाहरुको भुलभुलैयामा।

यत्रो दुइ तिहाइ बहुमतको सरकारमा घनश्याम भुषाल र योगेश भट्टराइहरु अटाउन सकेनन्, तर महेश बस्नेतहरुको उच्च चुरीफुरी छ । सुन काण्डका नाइकेहरु पुरस्कृत भएर माननीय नै भएका छन्, तर रामकुमारी झाँक्रीहरु निरिह छन् । इमानदार ठाकुर गैरेहरु पाखा पारिएका छन्, चतुर धुर्तहरु फेरी शासनको इर्दगिर्द छन् ।

आखिर स्थीर सरकार भएर मात्र नहुँदोरहेछ । समस्या स्थीर सरकार नुहनु मात्र पनि हैन रहेछ । मुख्य कुरा स्थीर सरकारले के काम गर्छ भन्ने हो । अहिलेको स्थीर सरकारले न त थिती बसाउन सकेको छ, न बेथिति हटाउन । जनतामा करमाथि कर थोपरेर, अभिव्यक्ति स्वतन्त्रामा अँकुस लगाएर, प्रदर्शनकारीमाथि गोली र डन्डा बर्साएर सरकारले ‘स्थीर सरकार’को आतंक सिर्जना गरेको छ । सडकमा जसले जतिसुकै हल्ला गरे पनि दुइ तिहाइ सरकारलाई कसैले हल्लाउन सक्दैन भन्ने वैधानिक र प्राविधिक शक्तिको दम्भमा रहेको यो सरकारले नभुलोस्, यस्तै दम्भ हिजो ज्ञानेन्द्रको पनि थियो । चौतर्फी समस्या समाधान हुन नसकेपछि र सरकारले डेलिभरी दिन नसकेपछि चारैतिरबाट जनता सडकमा ओर्लनेछन् । हेक्का रहोस्, विश्व विजेताको सपना देखेका हिटलरको दम्भ पनि तोडिएको थियो ।

म कुन युगमा बाँचीरहेको छु ?
प्रहरी बलात्कारीको विरोध गर्नेमाथि गोली चलाउँछ ।
म कस्तो देशमा बाँचीरहेको छु ?
जहाँ जनतामाथि करको भारी थोपरेर संकलीत रकमबाट जनप्रतिनिधिहरु चार करोडको गाडी चढ्छन् र ‘समाजबाद’को दुहाइ दिन्छन् ।
हे, बुद्ध यो कुन युग हो ?

( कुसुम भट्टराइको यो लेख अहिले पनि सान्धर्भिक भएकोले पुन प्रकाशित गरेकाछौं – सम्पादक )