राप्रपाको नारा एमालेले खोस्दैछ, ‘अल्छी घोडा’ भिडदैछन्

काठमाडौं । हिन्दु राष्ट्र र राजतन्त्र फर्काउने मूल उद्देश्य बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकिकृत महाधिवेशन अन्ततः ‘विभाजन महाधिवेशन’मा परिणत हुने त हैन भन्ने आशंका बढदै गएको छ । 

विसं २०४८ मा गठन भएको राप्रपाको छोटो इतिहास नियाल्ने हो भने यो पार्टी कुनै वैचारिक या सैद्धान्तिक भन्दा पनि सत्ता स्वार्थका कारण फुटने र जुटने गरेको देखिन्छ । यसपाली राप्रपा अध्यक्ष कमल थापा र अन्य अध्यक्षहरुविचको मतभेदको चुरो पनि सत्ता नै हो । 

अध्यक्ष कमल थापा राप्रपालाई केपी ओली नेतृत्वको सरकारमा सहभागि गराउन चाहन्थे । ओलीसँग गठबन्धन गर्ने थापाको चाहनालाई अध्यक्षद्वय पशुपतिशमसेर राणा र डा. प्रकाशचन्द्र लोहनीले अस्वीकार गर्नुमा चाहिँ केही तार्किक आधार थियो । 

कम्युनिष्टको दुइ तिहाइ बहुमतको सरकार अलोकप्रिय भइरहेको, गणतन्त्रमाथि नै जनतामा वितृष्णा फैलिएको र धर्म निरपेक्षता र संघियता देशमा ‘घाँडो’ भइरहेको बेला राप्रपाले सत्तामा जानुको साटो जनतामाझ गएर हिन्दु राष्ट्र र राजतन्त्र पुनस्थापनाको नारा बुलन्द पार्नुपर्ने पाका अध्यक्षहरुको सुझाव राजावादीका आँखामा मनासिवै थियो । 

हुन पनि, आफ्नै अलोकप्रियता, बदनामी र अन्तरविरोधले ढल्नै लागेको कम्युनिष्ट सरकारमा उतिबेला सहभागि हुँदा राप्रपाले जनतामाझ जाने आधार गुमाउनसक्थ्यो । अध्यक्षद्वयको असहमतिका कारण सत्तामा साझेदारी गर्ने थापाको मनसुवा पुरा भएन । 

पंचायतकालदेखि बहुदल, शाही शासन र गणतन्त्रसम्म अनेक तिकडम गरेर सत्ताको सयर गर्दै आएका अध्यक्ष थापालाई सत्ताबाहिर रहनु एकखालको असहज परिस्थिति नै हो । सायद, उनलाई सत्तामै रजगज गर्दा आनन्द आउँछ, टेनिस खेलमा भन्दा । तर, सत्तारोहणको उनको मनसुवामा अध्यक्षद्वयले भाँजो हाले, जुन उनका लागि अप्रिय थियो । 

बस, झगडा यहींबाट प्रारम्भ भयो ।  दुइ वर्षअघि पार्टी एकिकरणका बेला गीतामा हात राखेर ‘अबदेखि नफुटने कसम’ खाएका अध्यक्ष थापाले यसविचमा बारम्बार सामाजिक संजालमा अध्यक्षद्वय राणा र डा. लोहनीमाथि कटाक्ष गर्न थाले, जसले पार्टीभित्रको अन्तरविरोधलाई छताछुल्ल पारिदियो । 

केही महिनाअघि मात्र अध्यक्ष थापाले अध्यक्षद्वय राणा र लोहनीलाई ‘अल्छी घोडा’को संज्ञा दिदै संगै हिंडन नसकिने आसयको स्टाटस सामाजिक संजालमा लेखे । उनले लेखेका थिए, ‘दुइ वा दुइभन्दा बढी घोडाले तानेको रथले तिब्रगति लिन सक्दैन । यो नैसर्गिक सत्य हो । यो सत्य नबुझेको होइन, तर तिव्र गति लिन नसके पनि सामान्य गतिमा हिंड्ला भन्ने आशा थियो । गतिहिन नै होला भन्ने सोचिएन । दुइ अल्छी घोडाको बिचमा च्यापिएको तिव्रगतिको घोडाको हालत के होला ? च्यापिएर थला पर्न बेर छैन ।’

यो स्टाटसमार्फत अध्यक्ष थापाले आफुलाई ‘तिब्र गतिको घोडा’ दाबी गरेका थिए । अर्थात आफु बेगवान भए पनि अल्छी नेताहरुका कारण पार्टीको रथ गतिहीन भएको भन्ने उनको दाबी थियो । 

थापाको यो छुच्चो टिप्पणीको पार्टीभित्र चर्को विरोध भयो । यसै पनि थापाको नेतृत्वमा पार्टी निकै कमजोर भएको गुनासो भित्रभित्रै सल्किदै थियो । थापाको कार्यशैलीको विरोध चर्किदै गयो । तर, थापाले असन्तुष्ट पक्षलाई समेटनुको साटो उनीहरुलाई उल्टै ‘भाइरस’को संज्ञा दिए । 

अध्यक्ष थापाको अर्को स्टाटसले उनलाई फेरी पार्टीभित्र विवादमा ल्यायो । उनले लेखेका थिए, ‘लोभीपापी र अवसरवादीहरुलाई बोकेर हिंडदा सन्तोष नहुने र गन्तब्यमा पनि नपुगिने रहेछ । विगतमा धेरै गल्ती गरियो । अब मसँग गल्ती गरेर सच्याउने समय छैन । मेरो पछि कति छन् भनेर हेर्दिन, बरु म एक्लै हिंडछु, नकारात्मक सोच भएकाहरुसँग टाढै बस्छु, नो कम्प्रोमाइज विथ भाइरस् ।’

एकिकृत महाधिवेशनमा यतिबेला अध्यक्ष थापालाई तिनै ‘अल्छी घोडा र भाइरसहरु’ले चुनौती दिएका छन् । अध्यक्ष पदमा पशुपतिशमसेर राणा नउठने भएपछि डा. लोहनीले युवा नेता राजेन्द्र लिङदेनलाई समर्थन गरेका छन् । 

कमल थापालाई चुनौती दिने लिङदेन राप्रपाका एकमात्र साँसद हुन्, जसलाई मेयरमा जितेका धवलशमसेर राणा समूहको पनि समर्थन छ । अध्यक्ष थापाको हालसम्मको व्यक्तित्व, पार्टीमा पकड र आर्थिक पक्ष पनि सुदृढ होला, तर बदलिदो परिस्थितिमा राप्रपालाई जुझारु ढँगले अघि बढाउन चाहनेहरु चाहिँ लिङदेनको पक्षमा देखिन्छन् । 

एमालेले खोसेको राप्रपाको नारा 


kamal-thapa-kp-oli

यद्यपी, विचारका हिसाबले लिङदेन र अध्यक्ष थापाबिच कुनै भिन्न मत देखिदैन । हुन त परम्परागत शक्ति राप्रपामा विचारको बहस खासै हुने पनि गर्दैन । हिन्दु राष्ट्र र राजतन्त्र फर्काउने नारा थापा र लिङदेन दुबैको हो । थापाले यो नारा सार्थक बनाउने अभियानलाई प्रभावकारी ढंगले संचालन गर्न सकेनन् भन्ने लिङदेन पक्षको दाबी हो, जसमा सत्यता छ । 

राजा फर्काउनुपर्छ भन्नेहरुको पँक्ति नेपालमा कम सानो छैन । तर, राप्रपाले त्यसलाई नेतृत्व दिन सकेन । केही महिनाअघि सडकमा राजावादीहरुको स्वस्फुर्त रुपमा प्रदर्शन भयो । त्यसमा विभिन्न नामका राजावादी समूहहरु थिए । राप्रपाको भन्दा पनि व्यापक जनशक्ति ‘राजा आउ देश बचाउ’ नाराका साथ सडकमा उर्लिएको थियो । राप्रपा अध्यक्ष थापा चाहिँ त्यो माहौललाई ‘क्यास’ गर्नुको साटो ओली नेतृत्वको सरकारमा जाने दाउ हेरिरहेका थिए । लिङदेन पक्षमा आपत्ति यहींनेर हो । 

अहिले राप्रपाले टेकिरहेको बैचारिक आधार भनेको ‘राष्ट्रियता र प्रजातन्त्र’ हो । राप्रपाले यी दुबै मोर्चामा आफुलाई खरो उतार्न भने सकेन । प्रजातन्त्र या लोकतन्त्रको वैचारिक आधारमा नेपाली कांग्रेसलाई जित्नसक्ने कुनै दल नेपालमा छैनन् । जहाँसम्म ‘राष्ट्रियता’को नारा छ, त्यसलाई नक्कली रुपमा भए पनि भजाउन राप्रपाभन्दा नेकपा(एमाले) नै अगाडि देखिएको छ । 

राप्रपाको ‘हिन्दुत्व’को नारा पनि एमालेले खोस्दैछ । एमाले अध्यक्ष केपी ओलीले पशुपतिमा सुन चढाएर हिन्दुवादीहरुको भोट आफुतिर तान्ने जमर्को गरिसकेका छन् भने चितवनमा राम मन्दिर बनाउन लगाएर हिन्दुबादी राजनीतिको आड लिइसकेका छन् । राप्रपाको भोट बैंकमाथि यसरी एमालेले धावा बोलिरहेको बेला एमालेको हिन्दुत्वप्रतिको नक्कली आशक्तिको भण्डाफोर गर्ने काम अध्यक्षका नाताले कमल थापाको हो, तर थापाले उल्टै एमाले महाधिवेशनको उदघाटन सत्रमा ओलीको प्रशँसा गरिदिए, जुन राप्रपाका नेता कार्यकर्तालाई पटक्कै पचिरहेको छैन । 

आगामी चुनावमा राप्रपाले एमाले र काँग्रेससँग केही सीटमा तालमेल गरेर आफ्नो अस्तित्व रक्षाको कोशीस गर्नुबाहेक अर्को विकल्प देखिदैन । यस्तो बेला राप्रपालाई साँच्चै नै प्रतिश्पर्धी शक्तिका रुपमा अघि सार्ने उदघोषका साथ मैदानमा उत्रिएका राजेन्द्र लिङदेनको चुनौती त्यति कमजोर देखिदैन । 

यो महाधिवेशनमा लिङदेन हारे भने पनि राप्रपामा उनको दरिलो समूह खडा हुनेछ, जसलाई बाइपास गरेर जान अध्यक्ष थापालाई हम्मेहम्मे पर्नेछ । या त राप्रपा फुटनेछ या अध्यक्ष थापाले ‘अल्छी बुढा र भाइरसहरुसँग कम्प्रोमाइज’ गर्नैपर्नेछ । एमाले अध्यक्ष ओलीले झैं पेल्न खोजेको खण्डमा आगामी चुनावमा राप्रपाको हालत चौपट हुनेछ । 

कहिले सूर्य, कहिले चन्द्र 


Lokendra-bahadur-chand-pashupati-shumsher-rana

राप्रपाको इतिहास तिन दशकको भए पनि यो अनेक आरोह अवरोहले भरिएको छ । विसं २०४७ को परिवर्तनपछि नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीका विभिन्न घटकहरुको जगजगी भएको बेला पंचायती व्यवस्थामा खाइखेलि हुर्किएका नेताहरुको राजनीतिक अस्तित्वमाथि नै प्रस्न चिन्ह खडा भएको थियो । 

बहुदल आएपछि पनि कतिपय पंच नेताहरुको जनतामा राम्रै पकड थियो । पंचायतका सर्वेसर्वा राजा नै बहुदल मानेर संवैधानिक भएर बस्न राजी भइसकेपछि राजाका बफादार पंचहरु पनि बहुदलमा समाहित हुनुको विकल्प थिएन । हो, राजतन्त्रप्रति भित्रैदेखि मोह थियो भने, उनीहरुले उतिबेलै ‘राजतन्त्र पुनस्थापना’को माग गर्दै आफ्नो अलग धार स्थापित गर्नेथिए ।

तर, त्योबेला पूर्व पंचहरुलाई कांग्रेस र कम्युनिष्टभन्दा बढी प्रजातन्त्रबादी हौं भनेर देखाउनु परेको थियो, किनकी देशभर प्रजातन्त्रकै लहर चलेको थियो । प्रजातन्त्रका लागि तिस वर्षसम्म संघर्ष गर्दै आएका शक्तिहरुले समेत आफ्नो पार्टीको नाममा ‘प्रजातन्त्र’ शब्द उल्लेख नगरेको परिस्थितिको लाभ लिंदै पूर्व पंचहरुले एकै दिन सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’ गठन गरेका थिए । 

पंचायतकालमा थापा उदारवादी र चन्द अनुदारबादी खेमाको नेतृत्व गर्थे । यी दुइ नेताविच पंचायतकालमै प्रतिश्पर्धा हुन्थ्यो, बहुदल आएपछि पनि कायमै रह्यो । विसं २०४८ सालको आम निर्वाचनमा राप्रपा (चन्द)ले ३ सीट जित्यो भने राप्रपा (थापा)ले जम्मा एक सीट मात्र जितेको थियो । भर्खर बहुदल आएको परिवेशमा पूर्व पंचहरु फुटेर लडेकाले पनि यस्तो परिणाम आउनु स्वभाविकै थियो । 

विसं २०५१ को मध्यावधि निर्वाचनसम्म आइपुग्दा दुबै राप्रपाविच एकिकरण भइसकेको थियो । सो निर्वाचनमा राप्रपा एकैपटक मुलुकको तेश्रो शक्ति बन्न पुग्यो र प्रतिनिधिसभामा २० सीट जित्न सफल भयो । त्रिसंकु संसदको सोही कालखण्डमा राप्रपाले सत्तामा चाँदी कटाइ गरेको थियो । राप्रपाबाट कहिले सूर्यबहादुर थापा त कहिले लोकेन्द्रबहादुर चन्द पालैपालो प्रधानमन्त्री बने । 

बहुदल आएको चार वर्ष नबित्दै राजावादीहरुले सत्तामा रजगज गर्न थाले भने यही कालखण्डमा संसदीय व्यवस्थामा अनेक विकृती र विसंगति पनि देखिए । साँसद खरिदविक्रीदेखि सत्तासमीकरणका अनेक खेल भए । कांग्रेस र एमालेले झैं राप्रपाले आफुमाथि जनताले गरेको अपार विश्वासको कदर गर्न सकेन । यो शक्तिलाई उसले बचाउन सकेन । 

विसं २०५६ को तेश्रो आम निर्वाचनमा एमाले विभाजित थियो । यस्तोबेला राप्रपाले आफुलाई एकढिक्का बनाएर चुनावमा सफलता पाउनसक्थ्यो । तर, राप्रपा आफ्नै अन्तरविरोधको दुश्चक्रमा फँस्यो । राप्रपाबाट चन्द समूह फेरी अलग्गीयो । अन्ततः यो चुनावमा राप्रपाको मुलधारले जम्मा ११ सीट जित्यो । राप्रपा चन्द समूहले त एक सीट पनि जितेन । काँग्रेसको एकमना सरकार बनेकाले यसपटक राप्रपाले सत्तासमीकरणको खेलबाट लाभ प्राप्त गर्न पनि सकेन । यसै बिन्दुबाट राप्रपा विस्तारै खुम्चीदै गएको देखिन्छ । 

राजा ज्ञानेन्द्रले शासन हातमा लिएपछि सूर्यबहादुर थापादेखि लोकेन्द्रबहादुर चन्द पुनः पटक पटक प्रधानमन्त्री भए । संवैधानिक राजतन्त्र र बहु्दलीय प्रजातन्त्रको वैचारिक धारमा समाहित भइसकेको र आफुलाई ‘प्रजातन्त्रबादी’ बनाइसकेको राप्रपाका विभिन्न घटकले फेरी आफुलाई ‘पूर्व पंचहरुको पार्टी’मै फर्काए । नेपाली कांग्रेस र एमालेले झैं राप्रपाले पनि ज्ञानेन्द्र शाहको निरंकुश राजतन्त्रबादी कदमको विरोध गरेको भए राप्रपाको लोकतन्त्रप्रतिको प्रतिबद्धता अझ गाढा हुने थियो, तर राप्रपाले ‘संवैधानिक राजतन्त्र’प्रतिको प्रतिबद्धतालाई भुलेर पुनः ‘निरंकुश राजतन्त्र’कै लाइनमा आफुलाई उभ्यायो । 

राप्रपाले त्यतिबेलादेखि नै आफुलाई संवैधानिक राजतन्त्रको पक्षमा उभ्याएको भए र मुलुकमा गणतन्त्र स्थापना हुँदासमेत आफुलाई यही धारमा खडा गरेको भए राप्रपाको विश्वसनियतामाथि अहिले झैं प्रश्न उठने थिएन । राप्रपालाई कसैले पनि ‘अवसरवादी’को विल्ला भिराउने थिएनन् । 
पहिलो संविधानसभा निर्वाचनमा राप्रपाका विभिन्न घटकको पक्षमा खासै जनमत देखा परेन । कमल थापाको राप्रपा नेपालले समानुपातिकतर्फ ४ सीट जित्यो भने सूर्यबहादुर थापाको जनशक्ति पार्टीले ३ सीट जित्यो । पशुपति समशेर राणको राप्रपाले ८ सीट मात्र ल्यायो । ६०१ सदस्यीय संविधानसभामा राप्रपाको कुल १५ सीट मात्र थियो । 

जोगाउन नसकेको शक्ति र साख 

दश वर्षे हिंशात्मक विद्रोह र क्रान्तिका अनेक सपनाबिच स्थापित गणतन्त्रमा पनि जनताले खासै परिवर्तनको स्वाद चाख्न पाएनन् । विस्तारै पुरानै प्रवृत्तिको पुनरावृत्ति हुन थाल्यो । विदेशीको एजेन्डा बमोजिम हिन्दु राष्ट्रको ठाउँमा धर्म निरपेक्षता लादने काम भएको भन्दै जनताको एउटा पँक्ति निरास थियो । पश्चिमा बाह्य शक्तिहरुको बढदो प्रभावका कारण नेपालका मौलिक धर्म, संस्कृति र परम्परामाथि आक्रमण तिब्र भइरहेको थियो । 
यो मौकामा विसं २०७० मा भएको दोश्रो संविधानसभा निर्वाचनमा राप्रपाले ‘एक भोट दाइलाई, एक भोट गाइलाई’ भन्ने नारा ल्यायो, जुन निकै लोकप्रिय भयो । यो निर्वाचनमा कमल थापा अध्यक्ष भएको राप्रपा नेपालले २४ सीट जितेर संविधानसभामा आफुलाईै दरिलो शक्तिका रुपमा उभ्यायो । राणा नेतृत्वको राप्रपाले पनि प्रत्यक्षतर्फ ३ सहित कूल १३ सिट जित्यो । 

यसरी राप्रपाका दुबै समूहले संविधानसभामा कूल ३७ सीट ल्याए, यो चाहिँ राप्रपाको इतिहासमै सबैभन्दा ठूलो उपलब्धी थियो, तर यसलाई सदुपयोग गर्दै शक्ति विस्तार गर्न राप्रपाका दुबै नेता थापा र राणाले सकेनन् । यसको मु्ख्य कारणका रुपमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजावादी र आफ्ना समर्थक जनतामाथि गरेको धोखाधडीलाई अघि सारिएको छ । 

राजतन्त्र पुनस्थापना र हिन्दु राष्ट्रको नाराको जगमा संविधानसभामा चौथो शक्ति बन्न पुगेको राप्रपा नेपाल आफ्नो अडानमा अडन सकेन । बरु, गणतन्त्र र निरपेक्षतालाई संस्थागत गर्ने संविधान मान्दै सरकारमा कमल थापा उपप्रधानमन्त्री बन्न हतारिए । राप्रपा नेपालले राजावादीहरुको भावनामाथि खेलवाड गरेको, राजावादीको संवेदनालाई सत्तामा जाने सिंढी बनाएको र अवसरवादी चरित्र देखाएको भन्दै कमल थापाको राजावादी कित्तामै व्यापक आलोचना भयो । यसपछि भने राप्रपाको अवस्था ‘ओराली लागेको गाई’कै चाल भो । 

नयाँ संविधान निर्माणपछि २०७४ सालमा सम्पन्न संघीय निर्वाचनमा राप्रपा दिउसै टर्च बालेर खोज्नुपर्ने अवस्थामा पुग्यो । यो चुनावमा राप्रपा नेपालले देशभरीबाट जम्म १ दशमलव १७ प्रतिशत मात्र मत पाएको थियो । धन्न, अहिले अध्यक्षमा उम्मेदवारी दिएका राजेन्द्र लिङदेनले पार्टीको इज्जत धानिदिए, जसले एमालेको सहयोगमा झापाबाट चुनाव जिते । 

कमल थापाको नेतृत्वमा रसातलमा जाकिएको पार्टीको सँसदीय बिउ जोगाइदिने काम राजेन्द्रले नै गरेका हुन् । यदि अब पनि थापाकै नेतृत्वको भरमा एकिकृत राप्रपालाई छाडिदिने हो भने पार्टीको अस्तित्व नै समाप्त हुने खतरा औंल्याउँदै राजेन्द्रले उम्मेदवारी दिएका हुन् भने यसलाई जायज नै मान्नुपर्ने माथिको इतिहासले छर्लङग पार्छ ।

साभार: drishyatv.com