स्विट्जरल्यान्ड क्वाटरफाइनलमा, फ्रान्स बाहिरियो

काठमाडौं, असार १५ : विश्व विजेता फ्रान्स युरो कपको अन्तिम १६ बाटै बाहिरिएको छ। सोमबार राति भएको खेलमा स्विटरल्यान्डसँग पेनाल्टी सुटआउटमा ५–४ ले पराजित हुँदै फ्रान्स अन्तिम १६ बाटै बाहिरिएको हो।

फ्रान्स बाहिरिएसँगै अघिल्लो सिजनका दुवै फाइनलिस्ट नकआउट चरणबाटै बाहिरिएका छन्। आइतबार राति डिफेन्डिङ च्याम्पियन्स पोर्चुगल बेल्जियमसँग १–० ले पराजित भएको थियो।

निर्धारित समय र त्यसपछि थपिएको समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा स्विट्जरल्यान्डका पाँचै खेलाडीले गोल गर्दा फ्रान्सका लागि अन्तिम पेनाल्टी प्रहार गर्न आएका केलियन एम्बप्पेको प्रहार स्विट्जरल्यान्डका किपर यान सोमरले रोकेका थिए।

त्यसअघि स्विटरल्यान्डका मारियो गभ्रानोभिच, फावियन सचार, म्यानुअल अकान्जी, रुवेन भार्गास, एडमिर मेहमेदिरले गोल गर्दा फ्रान्सका पाउल पोग्बा, ओलिभर जिरुड, मार्कस थुराम र पेर्सनल किम्पेम्बेले गोल गरेका थिए।

निर्धारित समयमा पनि अग्रता स्विट्जरल्यान्डले नै लियो। उसका ह्यारिस सेफेरोभिचले १५औं मिनेटमा हेडिङमा गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए। 

५५ औं मिनेटमा स्विट्जरल्यान्डले पेनाल्टीमा गोल गर्ने अवसर पायो। तर, स्विट्जरल्यान्डका रिकार्डो रोड्रिगेजले पेनाल्टीमा गोल गर्न सकेनन्। उनको पेनाल्टी प्रहार फ्रान्सका गोलकिपर ह्युगो लोरिसले बचाए।

दोस्रो हाफमा २ मिनेट अन्तरमा करिम बेन्जिमाले २ गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। उनले ५७औं र ५९औं मिनेटमा गोल गरेका थिए। जारी प्रतियोगितामा बेन्जिमाले गोल संख्या ४ पु¥याएका छन्।

त्यस्तै, ७५औं मिनेटमा पाउल पोग्बाले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै फ्रान्सलाई ३–१ को अवस्थामा ल्याए। तर, ८०औं मिनेटमा सेफेरोभिचले पुनः हेडिङमै गोल गर्दै स्विट्जरल्यान्डलाई खेलमा फर्काका थिए। ९०औं मिनेटमा गभ्रानोभिचले गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए। 

अब स्विट्जरल्यानडले सेमिफाइनल प्रवेशका लागि स्पेनको सामाना गर्नेछ। स्पेन सोमबार राति नै भएको खेलमा क्रोएसियालाई ५–३ ले हराउँदै क्वाटरफाइनलमा पुगेको हो।