“ङातापोलको ३२० बर्ष” हेरौं तस्विरहरु
“पाँचतले मन्दिरको जन्मदिन” यो सुन्दा सबैलाई अचम्म लाग्न सक्छ तर हरेक बर्षको असार शुक्लपक्ष प्रतिपदाको दिन भक्तपुरमा “ङातापोल देयया बुँसदा” मनाईन्छ । यस बर्ष पनि असार शुक्लपक्ष प्रतिपदा आईतबारका दिन भक्तपुरको बिश्व सँम्पदामा सुचिकृत पाँचतले मन्दिर (ङातापोल) ले ३२० बर्षको वर्षगाँठ मनाएको छ ।
मन्दिरभित्र परम्पराअनुसार राजोपाध्याय, कर्माचार्य, जोशी र ताल्चाभडेल पुजारीले पूजा गरी तुछिमला टोलका अवालको टोलीले मन्दिरको टुप्पोमा सेतो कपडामा रातो चन्द्राकार भएको ठूलो झण्डा फहराउँदै वर्षगाँठ मनाइएको हो । यसलाई स्थानीय नेपाल भाषामा ङातापोल देयया बुँसदा भनिन्छ ।
नेपाल सम्वत ८२२ मा तत्कालीन भक्तपुरका राजा भूपतिन्द्र मल्लले सिद्ध अग्नी कोत्याहुती होम सु–सम्पन्न गरी श्री सिद्धीलक्ष्मी देवीलाई पाँचतले मन्दिरमा प्रतिस्थापना गरी झण्डा फहराइएको अभिलेख रहेको छ । अभिलेखमा मन्दिर निर्माण पूरा भएको असार शुक्ल प्रतिपदाका दिन ‘पहिलो वर्ष बन्धन’ पूजा गरिएको पनि उल्लेख छ । त्यही बेलादेखि नै प्रत्येक वर्ष वार्षिकोत्सवको अवसरमा झण्डोत्तोलन गर्ने प्रचलन रही आएको छ ।
मन्दिरको छाना बनाउने काम तुछिमला टोलका अवालेहरुले गरेको किंवदन्ती छ त्यसकारण मन्दिरमा झण्डा राख्नको लागि तुछिमलाको अवालबाहेक अरुलाई मन्दिरमाथि प्रवेश नदिने परम्परा चलिआएको छ ।
सर्वसाधारणलाई प्रवेश निषेध रहेको उक्त मन्दिरमा वर्ष बन्धन पूजामा मात्रै बलि दिइन्छ । मन्दिरमा बलि दिएर वर्ष बन्धन पूजासँगै झण्डोत्तोलन गरिँदा राज्यबाट विघ्न बाधा हट्ने जनविश्वास रहेको छ । मन्दिर स्थापनाको सम्झनामा प्रत्येक वर्ष गरिने पूजामा बली दिने परम्परा रहे पनि कोभिड–१९ का कारण मन्दिरमा सामान्य पूजा गरी झण्डा फहराई पाँचतले मन्दिरले जन्मदिन मनाएको छ ।
शब्द /तस्विर : सुनिल शर्मा















