नाग पञ्चमी – लोपोन्मुख हस्तलिखित तस्विर
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी पर्व परम्पराअनुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरेर मनाइँने गरिन्छ । यस दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने धार्मिक विस्वास रहिआएको छ । परापूर्वकाल देखि नै नाग पञ्चमीको लागि अति आवश्यक सामग्री नागको चित्र नै हो भन्दा अनुचित नहोला ।
अहिलेको आधुनिक समाजमा पनि यस पर्व मनाउन चित्र नै चाहिन्छ । तर आजभोली हस्त लिखितलाई भन्दा चमकधमक भएका प्रिन्ट फोटोहरुलाई प्राथमिकता दिन थालेको महसुस हुन्छ । भक्तपुरमा गत ४७ वर्ष देखि हस्त लिखित देवताहरुको तस्वीर बनाउँदै आएकी ६८ बर्षीया चेत कुमारी चित्रकार आजभोली देवताका तस्वीर लेख्ने निकै कम भएको बताउनुहुन्छ । उनीले नाग पञ्चमी मात्र नभई चथापुजा (गँणेश चतुर्थी) , सापारु (गाईजात्रा), बडा दशैं र भाईटीका का लागि पनि देवताको तस्वीर लेख्नु हुन्छ, यी पर्वहरुमा नेवाः समुदायले हस्त लिखित तस्वीर राखेर पूजा गर्ने चलन छ । उनका अनुसार विदेशी फोटोहरु सस्ता, राम्रा र पानीले नभिजिने गरि बनाएको अवश्य हुन्छन् तर कुनै पनि देवतालाई पूजा गर्नेबेला देवतासँग साथमा हुनुपर्ने चिजहरु समावेश गरिएको हुदैँन जसका कारण पूजा बिधि अपूर्ण पनि हुन्छ ।
करिब १० बर्ष अगाडि ५००० प्रति भ्याई नभ्याइ तस्वीरहरु तयार गर्ने उनी अहिले आएर ५०० प्रति मात्र तयार गर्छिन । काठमाडौंस्थित असन बजारमा नागका हस्त लिखित तथा प्रिन्ट फोटोहरु विक्री गरिरहेका व्यापारीहरु अनुसार स्थानीयहरु खोजी खोजी महंगो नै भए पनि हस्त लिखित नागका तस्वीर नै किनेर लैजान्छन् तर पनि राजधानीमा बाहिरका मानिसहरुको वस्ती बाक्लो हुंदै जांदा र उनीहरुलाई हस्त लिखित तस्वीरको महत्व कम थाहा हुंदा प्रिन्ट फोटोहरुको माग नै बढी छ। यस्तो हुंदा हुंदै पनि कोही व्यापारी हस्त लिखित तस्वीरहरु मात्र बेच्न रुचाउंछन ’cause पुजाहरुमा बिधि पुर्याएर पूजा गर्नेहरुले मात्र यस्तो हस्त लिखित तस्वीर नै किनेर लाने गरेका छन् भने कोही चित्रकारहरुको मिहिनेतको कदर गर्न हस्त लिखित चित्र प्रयोग गर्दछन।
नाग पञ्चमीमा पूजा हुने मन्दिरहरुमा पनि अहिले नागका प्रिन्ट फोटोहरुको नै विगविगी छ । आजको समयमा सांस्कृतिक तथा पौराणिक कलालाई जर्गेना गर्न हस्त लिखित देवताका तस्वीरहरुलाई उचित सम्मान दिन जरुरी छ । पछिल्लो समय बढ्दो कोभिड कहरका कारण विगत वर्षहरुमा हर्षेल्लासका साथ मनाइने नाग पञ्चमीको यस बर्ष खासै रौनक रहेन ।
शब्द / तस्विर: सुनिल शर्मा













