संगीतमय गुँला पर्व (तस्विरहरु)
नेवार समुदायले चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदा एक महिनासम्म धर्म, कर्म एवं राम्रो काम गरेर गुँला पर्व मनाईन्छ । काठमाडौंको बौद्ध परम्पराअनुसार यसको अलगै ठूलो महत्व छ ।
खासमा यो त्यही महिना हो, जुन महिनामा गौतम बुद्धले वर्षावास बिताएका थिए । यही सम्झनामा गुँला पर्व मनाइन्छ । गुँको अर्थ गुण गर्ने, राम्रो एवं गुनिलो काम, अरुको उपकार गर्ने कामलाई जनाउने गरिन्छ । यस पर्वका अवसरमा जुन नियमले जीवनलाई राम्रो गर्छ, त्यसलाई पालना गरिन्छ । अर्को परम्परा अनुसार यो महिनामा धेरै पानी पर्ने मात्र होइन्, बाढी पहिलो पनि धेरै आउने हुनाले त्यसले धेरै क्षति नपुगोस भनेर पनि गुँला मनाइन्छ । प्राकृतिक प्रकोप यही महिनामा बढी हुने गर्छ, त्यसैले त्यस्तो नहोस भनेर गरिने कामना पनि यही महिना गरिन्छ ।
भित्री काठमाडौं भने यो पूरा महिना मीठो संगीतसँगै उठ्ने छ र यसले सबैलाई ताजा तथा फुर्तिलो बनाउने छ ।आ–आफ्नो टोल टोलमा भेला भएर बाजागाजासहित बिहानै स्वयम्भू जाने गर्छन् । यसक्रममा जुन बाजा बजाइन्छ, त्यसलाई गुँला बाजं भनिन्छ । त्यसैले बौद्ध धर्मालम्बी गुँला महिना भरी स्वयम्भू चैत्य घुम्ने गर्छन् र यसक्रममा पवित्र ग्रन्थ पाठ गर्ने गर्छन् । अनि चैत्य घुम्ने क्रममा परम्परागत बाजा बजाउने पनि गर्छन् ।
विभिन्न मौलिक बाजागाजासहित गुँला पर्व मनाउने प्रचलनमा वृद्धि भएको छ । जसअनुसार धाः बाजा, बाँसुरी बाजा, धिमे बाजा, भुस्या बाजा बजाएर पनि चैत्यका साथै स्थानीय इष्टदेवता, गणेश, भीमसेन भैरवलगायतका देवी देवताको समेत परिक्रमा गर्ने प्रचलन बढेको पाइन्छ । साथै बौद्ध धर्मावलम्बी बाहेकका समुदायसमेत गुँला पर्वको अवसरमा चैत्यहरूको परिक्रमा गर्न जान थालेका छन् ।
गुँलाः बाजा भन्दा धेरै फरक एउटा बाजा पनि बजाइन्छ र यो अरू केही नभएर त्यही राँगाको सिङबाट बनेको बाजा । सिङलाई नेपाल भाषामा न्यकु भनिन्छ । यसलाई फुक्दा विशेष खाले स्वर निस्कन्छ । गुँलाः पूरा महिना यही न्यकु बजाउने गरिन्छ । वर्षभर निधन भएका व्यक्तिको नामबाट श्रृङ्गभेदीअर्थात् भैँसीको सिङबाट बनेको बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजन पनि धेरै हुन्छन् ।
ललितपुरका स्थानीयवासी भने पाटन र चोभारस्थित मत्स्येन्द्रनाथ मन्दिर, मन्जुश्री, गोल्डेन टेम्पल लगायत पाटनका विभिन्न विहार,महाविहारमा पूजा गर्न पुग्छन । यो महिनाभर स्वयम्भू महाचैत्यमा विशेष मेला लाग्ने गरेकामा यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहेका कारण भक्तजन प्रवेशमा निषेध गरिएको काठमाडौँ महानगरपालिकाले जनाएता पनि केही समूहहरु बाजागाजाका साथ तथा भक्तजनहरुको उपस्थितिमा कमी भने रहेन भने कुनै समूहले सुरक्षाका कारण आफनै बहाल ’round बाजा बजाएर परिक्रमा गरेका थिए ।
धार्मिक दृष्टिकोणले यस पर्वसँगै नाग पञ्चमी, पञ्चदान, रक्षाबन्धन जनैपूर्णिमा, गाईजात्रा, मतःयाः, देवपत्तनमा खड्गजात्रा, कृष्णाष्टमी, बाबुको मुख हेर्ने पर्व आउँछन् ।
शब्द /तस्विर : सुनिल शर्मा