प्रचण्ड भर्सेस बादलः लिनप्याओदेखि लाल गद्दारसम्म

कम्युनिष्ट नेताहरु पिपलको पात झैं पलटा फेरिरहन्छन् । अहिले देख्दै एलर्जी हुने थापा कुनै दिन दाहालका पुनः प्रिय नहोलान् भन्न सकिन्न । स्वार्थ मिले कमरेड, स्वार्थ नमिले ‘लाल गद्दार’ हुने प्रवृत्ति कम्युनिष्ट आन्दोलनको पुरानै ‘रोग’ हो । 


-कुसुम भट्टराई

काठमाडौं । एक दशकसम्म जारी हिंसात्मक विद्रोहका सहयात्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले नेता रामबहादुर थापा ‘बादल’ यतिबेला परस्पर विरोधी कित्तामा उभिएका छन् । दुबै नेतावीच विकसित कटु सम्बन्ध कस्तो भने मानौं, उनीहरु जन्मजात शत्रू हुन् । एमाले नेता थापाले आगामी निर्वाचनमा माके अध्यक्ष प्रचण्डसँग लड्ने घोषणा गर्दै भनेका छन्, ‘आगामी निर्वाचनमा प्रचण्ड भर्सेस बादल हुनसक्छ । म प्रचण्डसँग चुनाव लड्न तयार छु ।’

दाहाल र थापा दुबै चितवनका हुन् । थापाले यो घोषणा भरतपुर विमानस्थलमै सञ्चारकर्मीमाझ गरेका हुन् । माओवादीभित्र अन्तरविरोध बढ्दै गएकाले दाहालका अधिकांश नेता कार्यकर्ता एमालेमा आउने दावी पनि थापाको छ । अर्थात् दाहालको राजनीतिक वर्चस्व कमजोर पार्न थापा उद्यत छन् । उता, माके अध्यक्ष दाहाललाई पनि अचेल थापा पटक्कै मन पर्न छाडेको छ । कहाँसम्म भने थापाको नाम सुन्यो कि दाहाललाई एलर्जी हुन्छ । दाहालले हालै वाइसिएलको एक कार्यक्रममा माके छाडेर एमालेमा गएका थापालगायतका नेता देख्दा आफूलाई एलर्जी हुने बताएका छन् । 

कटुताको सिलसिलाः ‘लिनप्याओ’देखि ‘लाल गद्दार’सम्म
दाहाल र थापाले लामो समय राजनीतिक सहयात्रा गरे । दाहालले अध्ययन गरेकै चितवनको रामपुर कृषि क्याम्पसबाट थापाले पनि विसं २०३१ मा बिएससीएजी गरेका हुन् । रामपुर कृषि क्याम्पसमै थापाको भेट दाहालसँग भएको थियो । माक्र्सवादी अध्ययन समूहमार्फत दुवैले सहकार्य थालेका थिए । कालान्तरमा दाहाल र थापा दुई नेतावीच मात्र भएको एक भेटका क्रममा हिंसात्मक विद्रोहमा जाने निधो भएको थियो । विसं २०५२ सालमा विद्रोह प्रारम्भ भएपछि विभिन्न विषयमा दाहाल र थापावीच मतभेद चर्किन थाल्यो । रुकुम, रोल्पालगायत पश्चिम कमाण्डको जिम्मेवारी पाएका थापाले आफ्नो कौशल देखाए । त्यहाँ चलाइएको ‘सिज अभियान’ सफल भएपछि थापा माओवादीमा एक कुशल सैन्य कमाण्डरका रुपमा लोकप्रिय हुन थाले । 

थापाको लोकप्रियता ‘सुप्रीम कमाण्डर’ दाहाललाई मन परिरहेको थिएन । भित्रभित्रै दुवै नेतावीच अन्तरविरोध देखिन थाल्यो । लखनउ प्रवासमा रहेका थापा र नेतृ पम्फा भुसालको सम्बन्ध’bout अनेक कुरा उठ्न थाले । माओवादीको मुम्बई बैठकले ‘नैतिक पतन भएको’ आरोप लगाउँदै थापा र भुसाल दुवै नेतामाथि ‘सांस्कृतिक विचलनको कारबाही’ गर्यो । 

कहाँसम्म भने पार्टीमा उनीहरुलाई कुनै जिम्मेवारी नै दिएनन्, दाहालले । उल्टै थापामाथि ‘लिनप्याओ प्रवृत्ति’को गम्भीर आरोप लगाइयो । चिनियाँ कम्य्ुनिष्ट पार्टीका नेता लिन प्याओले अध्यक्ष माओलाई नै समाप्त गरी नेतृत्वमा पुग्ने षड्यन्त्र गरेको पुरानो इतिहासको हवाला दिँदै थापामाथि त्यस्तो गम्भीर आरोप दाहालले आफ्नो दस्तावेजमै उल्लेख गरेका थिए । 

दाहालको त्योबेलाको प्रतिवेदनमा उल्लेख छ, ‘उहाँहरू (थापा र भुसाल)बाट नेतृत्वविरुद्ध संघर्ष गर्ने जुन कसरत अगाडि आयो, त्यसले वस्तुतः राजनीतिक एवं संगठनात्मक रूपले उहाँहरूका विद्यमान अराजकतावादी व्यक्तिवादी एवं षड्यन्त्रमूलक शैलीको गम्भीर कमजोरीलाई प्रष्ट गर्दछ । उहाँहरूको चिन्तन र कार्यशैली लिन प्याओवादी प्रवृत्तितिर उन्मुख भएको कुरा प्रष्ट छ जसमा मुख्यतः बादलको चिन्तन र कार्यशैली लिन प्याओवादी प्रवृत्तितिर उन्मुख भएको प्रष्ट हुन्छ ।’

साँस्कृतिक विचलनको सोही आरोपपछि नै दाहाल र थापावीच मनमुटाव र दुरी बढ्न थालेको हो । कार्वाही फुकुवा भएपनि त्योबेला लागेको चोट थापाले भुल्नसक्ने कुरा थिएन । डा. बाबुराम भट्टराईसँगको विवादका क्रममा पनि दाहालले थापामाथि ‘बाबुरामसँग मिलेर नेतृत्व हत्याउन खोजेको’ आरोप लगाएका थिए । माओवादी पंक्तिमा थापाको उपनाम ‘लखन’ पनि हो । यो उपनाम थापाले ‘विचलन’को कार्वाहीपछि नै राखेका हुन् । अध्यक्ष दाहाल जंगबहादुर राणा र आफू उनीविरुद्ध विद्रोह गर्ने नेपालकै प्रथम शहीद ‘लखन थापा’ सरह हो भन्ने सांकेतिक अर्थ उनले दिन खोजेको चर्चा त्योबेला भएको थियो । 

राजा ज्ञानेन्द्रले ‘माघ १९’को कदम चालेपछि नयाँ परिस्थिति सिर्जना भयो । अध्यक्ष दाहालले त्योबेलासम्म डा. बाबुराम भट्टराई र हिसिला यमीमाथि पनि कार्वाही चलाइसकेका थिए । नयाँ चुनौती सामना गर्न अध्यक्ष दाहाललाई डा. भट्टराई र रामबहादुर थापाको आवश्यकता टड्कारो भो । अनि बल्ल मित्रमिलापका सिलसिला सुरु भए । विसं २०६२ असोजमा रुकुमको चुनवाङ बैठकमा डा. भट्टराइले आफू प्रचण्डमा बिलय भएको घोषणा गरे, थापाले पनि आफू प्रचण्डमा विलय भएको बताए । सोही वैठकले लोकतान्त्रिक गणतन्त्रको लाइन पास गर्यो र १२ बुँदे समझदारीतर्फ माओवादी अग्रसर भयो । 

शान्ति प्रकृया सफल भयो । पहिलो संविधानसभा निर्वाचनपछि दाहाल नेतृत्वकै सरकारमा थापा रक्षामन्त्री पनि बने । दुवै नेतावीच मतभेद नरहे पनि मनभेद थियो, जसले विस्तारै समस्या खडा गर्दै लग्यो । पालुङटार र धोबिघाट बैठकताका थापा पूर्ण रुपमा दाहालको विपक्षमा खडा । अन्ततः मोहन वैद्य र नेत्रविक्रम चन्दसँग मिलेर ४ असार, २०६९ मा नेकपा–माओवादी गठन गर्दै थापा महासचिव बने । 

नेकपा–माओबादी गठनपछि आयोजित कार्यक्रममा थापाले दाहालको चर्को आलोचना गरेका थिए । ‘लाल गद्दार’ र प्रतिक्रान्तिकारीको मतियार बनेको भन्दै दाहालको उछित्तो काढेका थापा दुई वर्ष नबित्दै विसं २०७१, मंसिरमा पुनः दाहाल नेतृत्वको माओवादी केन्द्रमा फर्किए । र, दाहालको कोटामा नेकपाको दुइ तिहाइ बहुमतको सरकारमा गृहमन्त्री पनि बने । 

नेकपाभित्र दाहाल र ओलीवीच खटपट चलिरहँदासम्म थापा दाहालकै पक्षमा थिए । पार्टी विभाजन भएमा आफू दाहालकै पक्षमा रहने वचन थापाले दिएका थिए ।  

ओलीले संसद विघटन गरेपछि थापाको मनस्थिति बदलियो । उनी ओली कित्तामै उभिए । थापासहित टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणी थापाले पनि दाहाललाई साथ दिएनन् । 

ओली किन प्रिय ?
एमाले अध्यक्ष केपी ओली र थापाको राजनीतिक पृष्ठभूमि र प्रशिक्षण बिलकुल भिन्न छ । ‘जनयुद्ध’ताका ओली माओवादीका कट्टर आलोचक थिए । थापाले केही महिनाअघिसम्म अँगालेको वैचारिक र सैद्धान्तिक मूल्य र मान्यतासँग एमालेले हाल अँगालेको लाइन पटक्कै मिल्दैन । थापाको अगुवाईमा चलेको हिंसात्मक विद्रोहका क्रममा माओवादीले एमालेका नेता-कार्यकर्तालाई गाउँबाट सदरमुकाममा र सदरमुकामबाट ठूला शहरसम्म लखेटेको थियो । एमालेका धेरै नेता कार्यकर्ता माओवादीको तारो बनिरहँदा अध्यक्ष ओली नै ‘माओवादी ज्यादती’को विरोधमा शसक्त रुपमा उभिएका थिए ।  र यही कारण एमाले पंक्तिमा ओली लोकप्रिय पनि भएका थिए । 

ओली र थापाको साइनो कतैबाट पनि जोडिदैन । थापा नेकपा(मशाल)को हाँगोबाट फैलिएका, ओली नेकपा(माले)को हाँगोबाट । वैचारिक रुपमा त दुवै भिन्न किनारका । 

एमालेको नवौं महाधिवेशनले समेत असान्दर्भिक ठहर गरिसकेको ‘जनताको बहुदलीय जनवाद’लाई ओलीको हालै प्रस्तुत राजनीतिक प्रतिवेदनमा ‘अझै सान्दर्भिक’ भनिएको छ ।   ‘प्रचण्डपथ’ लागू गर्न फौजी मोर्चाको नेतृत्व गरिरहँदा थापाले ‘जबज’लाई सामन्तवादसँग सम्झौता गर्ने दक्षिणपन्थी दलदलमा भासिएको कार्यक्रम भन्ने गर्थे । एमालेलाई थापा र उनका कार्यकर्ता ‘घाँसमा लुकेको हरियो सर्प’ भन्थे । 

अचेल थापाका शब्दमा ओली अग्रगामी हुन् भने दाहाल प्रतिक्रान्तिका मतियार । थापाको वैचारिक चेतमा आएको यो ‘गुणात्मक फड्को’ स्वभाविक देखिदैन । ओलीसँग थापा निकट हुनुमा वैचारिक र सैद्धान्तिक भन्दा पनि राजनीतिक अस्तित्व रक्षाकै स्वार्थ देखिन्छ । अर्को कारण के हो भने, गृहमन्त्री हुँदा दाहालको सक्दो सहयोग नपाएको थापाको गुनासो रहँदै आएको थियो । गृहमन्त्री हुँदा थापाले निर्धारित समयमै निर्माण कार्य पुरा नगर्ने ठेकेदारहरुमाथि कार्वाही थालेका थिए । यसक्रममा कलंकी–नागढुंगा सडक निर्माणमा ढिलासुस्ती गर्ने शारदा अधिकारी पनि ‘ब्ल्याक लिस्ट’मा परेका थिए । दाहाल बस्दै आएको खुमलटारस्थित निवासका घरबेटी शारदा अधिकारीमाथि कार्वाही प्रकृया अघि बढ्ने भयो । एकदिन दाहालले गृहमन्त्री थापालाई आफ्नो निवासमा बोलाएर भने, ‘तपाईं सिंघम हुन खोज्दै हुनुहुन्छ, धेरै आक्रामक हुनु जरुरी छैन ।’

आफ्नो काममा हस्तक्षेप महसुस गरेपछि तात्कालीन गृहमन्त्री थापा अध्यक्ष दाहालसँग रुष्ट भए । दाहालसँग उनको भेटघाट पातलिदै गयो । बिगतमा मोहन वैद्यसँग मिलेर आफ्नो साथ छाडेका थापालाई ‘भरपर्ने मान्छे हैन रैछन्’ भन्दै दाहालले गृहमन्त्रीबाटै हटाउने तयारी गरे । यसमा प्रधानमन्त्री ओली पनि सहमत थिए । यसैवीच नेकपामा अध्यक्षद्वय ओली र दाहालबीच अन्तरविरोध चर्कियो । यो अन्तरविरोधमा थापाले भित्रभित्रै ओलीलाई साथ दिए, दाहालसँग उनको दूरी बढ्दै गयो । 

दाहाललाई थापादेखि ‘एलर्जी’ 
चुनवाङ बैठकमा अंकमाल गरेर आन्दोलनमा होमिएका यी सहयात्रीको सम्बन्ध अचेल ‘एक्सन’बाट ‘एलर्जी’मा आइपुगेको छ । थापालाई देख्दा दाहाललाई एलर्जी हुन थालेको छ । 

माके अध्यक्ष दाहालले काभ्रेमा बिहीबार आयोजित वाइसिएलको पाँचखाल नगर सम्मेलनलाई संबोधन गर्दै भने, ‘त्यो बादल हिजोको साथी, अहिले त सम्झदा पनि तैट, एलर्जी हुन्छ । तानेर ल्याएर गृहमन्त्री बनाएँ, सरकारको नेतृत्व गर्न लगाएँ । तर, जो जति माथि आएको छ, त्यो त्यति बिग्रिएको छ ।’दाहालले थापाप्रति इंगीत गर्दै जसलाई धेरै पटक मन्त्री बनायो, उही धेरै भगौडा भएको पनि बताए । 

‘मन्त्री बनाएका नै धोकेबाज निस्किए, कोही कोहीलाई मन्त्री बनाएपछि ठीक हुन्छ भन्ठानेको, केको हुन्थ्यो । अचेल त नाम सुन्दै एलर्जी हुन्छ’, दाहालको भनाइ थियो । 

विचार र सिद्धान्तभन्दा अस्तित्व रक्षाको स्वार्थ हावी भएको नेपाली राजनीतिमा एमालेका पूर्वमहासचिव मदन भण्डारीले भने झैं, कोही पनि स्थायी शत्रू र स्थायी मित्र नहुँदोरहेछ । 

कम्युनिष्ट नेताहरु पिपलको पात झैं पलटा फेरिरहन्छन् । अहिले देख्दै एलर्जी हुने थापा कुनै दिन दाहालका पुनः प्रिय नहोलान् भन्न सकिन्न । स्वार्थ मिले कमरेड, स्वार्थ नमिले ‘लाल गद्दार’ हुने प्रवृत्ति कम्युनिष्ट आन्दोलनको पुरानै ‘रोग’ हो ।