बिथोलिएका दाहाल र ओली: उपचारको सुझाव
जब मानिस आफुलाई कमजोर ठान्न थाल्छ, तब उसले या त ‘म कमजोर भएँ, निरीह भएँ’ भन्दै लघुताभाष प्रकट गर्छ, जस्तो कि दाहाल गरिरहेका छन् । या उसले कमजोरी ढाक्न अस्वाभाविक हाउभाउ देखाउँछ, जस्तो कि ओलीले विधान महाधिवेशनमा तामझाममार्फत प्रकट गरे ।

काठमाडौं । नेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली परस्पर विरोधी कित्तामा रहे पनि दुबैको मनोदशा यतिबेला समानस्तरमा विथोलिएको छ ।
ओली र दाहाल केही महिनाअघिसम्म एउटा ठूलो दल नेकपा (नेकपा) का अध्यक्ष थिए । दुबैलाई दुइ तिहाइ बहुमतको सरकार रुपी जहाजका क्याप्टेन भनिएको थियो ।
संयमित र खासै समस्यामा नपार्ने प्रमुख प्रतिपक्षी कांग्रेस । कसैले हल्लाउन नसक्ने दुइ तिहाइको सरकार । ओलीमा प्रधानमन्त्री हुनुको गर्व, दाहालमा अढाइ वर्षपछि आफु प्रधानमन्त्री हुने खुसी । दुबैको विचार र भावमा सन्तुलन थियो । ओलीले गरेका धेरै गलत निर्णयलाई पनि दाहालले ‘सरकारलाई काम गर्न दिउँ’ भन्दै समर्थन नै गरेका थिए ।
‘आलोपालो प्रधानमन्त्री’ वाला सम्झौताको विषय जब सार्वजनिक भयो, तब ओलीको मनमा तरंग उब्जियो । उनले सांकेतिक भाषामा ‘भारतको इशारामा सरकार ढाल्न पार्टीभित्रैबाट चलखेल प्रारम्भ भएको’ बताउन थाले । ओलीका सल्लाहकार विष्णु रिमालले ‘छौंडाहरु चलखेल गर्न थाले’ भन्दै नेकपाभित्रको कलहलाई छताछुल्ल पारे ।
दाहालकै शब्दमा ओलीमाथि व्यापक प्रहार गरिएको दस्तावेजमार्फत उनले ओलीमाथि अर्थात् ‘हेडक्वार्टरमाथि बम’ हाने । त्यसयताका घटनाक्रम यसरी विकसित भए कि अन्ततः एमाले र माकेको एकिकरण रध्द भयो, एमाले पनि विभाजित भयो, माकेका रामबहादुर थापालगायतका केही नेता एमालेतिर लागे ।
भीमकाय दलका दुइ अध्यक्ष यतिबेला आकार घटेका दुइ दलका अध्यक्ष छन् । दुइ तिहाइको दम्भ पनि चकनाचूर भइसकेको छ । ओलीले माधवको साथ गुमाए, दाहालले रामबहादुर थापाहरुको । केही महिनाअघिसम्मको जुन गर्व र खुसीको मनस्थिति थियो, त्यो न त ओलीसँग छ, न दाहालसँग ।
परिस्थिति बदलिँदा मनस्थिति पनि बदलिन्छ । मनस्थिति बदलिने प्रकृया चाहिँ व्यक्तिको स्वभाव अनुसार अघि बढ्छ । दाहाल अलि भावुक छन् । ओली चाहिँ दम्भी । दाहाल र ओलीको मनस्थिति यतिबेला उनीहरुको स्वभाव अनुसार सार्वजनिक रुपमा प्रकट भइरहेको देखिन्छ ।
भावुक दाहाल कार्यकर्तामाझ बडो गम्भीर भाव प्रकट गर्दै ‘आत्महत्या गर्ने अवस्थामा पुगेको’ भनिरहेका छन् । ओली चाहिँ पोलदेखि स्वागतद्वार र मिनरल वाटरका बोतलसम्म आफ्नो तस्वीर राखेर बदलिएको मनस्थिति प्रदर्शन गरिरहेका छन् ।
जब मानिस आफुलाई कमजोर ठान्न थाल्छ, तब उसले या त ‘म कमजोर भएँ, निरीह भएँ’ भन्दै लघुताभाष प्रकट गर्छ, जस्तो कि दाहाल गरिरहेका छन् । या उसले कमजोरी ढाक्न अस्वाभाविक हाउभाउ देखाउँछ, जस्तो कि ओलीले विधान महाधिवेशनमा तामझाममार्फत प्रकट गरे ।
दाहालको लघुताभाष र ओलीको उच्चताभाष दुबै कमजोर मानसिकताको प्रकटीकरण हो ।
कम्युनिष्टले प्रयोग गर्दै आएको शब्द ‘वस्तुगत विश्लेषण’ कै दृष्टिले हेर्ने हो भने न त दाहाल यतिबेला आत्महत्या नै गर्नुपर्ने हदसम्मको मानसिक विरामी हुन्, न त ओली पोलदेखि बोतलसम्म तस्वीर छाप्नुपर्ने हैसियतका महानायक या महान नेता हुन् ।
आत्महत्या मनोरोगको चरम उत्कर्ष हो । अवसाद (डिप्रेशन) जब क्रोनिक हुन्छ, त्यसबेला बल्ल मानिस आत्महत्याको मनोदशामा पुग्ने हो ।
माके अध्यक्ष दाहालको राजनीतिक जीवन पक्कै पनि यतिबेला जटील मोडमा आइपुगेको छ । कम्युनिष्ट केन्द्र निर्माण भइसकेर पनि छिन्नभिन्न भएको छ । ‘जनयुद्ध’ का उनका सहयात्री मोहन बैद्य, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द, रामबहादुर थापा आदि कोही पनि यतिबेला उनको साथमा छैनन् ।
नजिकका नेता एवं सम्धी पोष्टबहादुर बोगटी उहिल्यै बितिसके । हरघडी साथमा रहेर सघाउने पुत्र प्रकाश दाहालको पनि निधन भयो । पत्नी सिता दाहाल विरामी छिन् । पार्टीभित्र मन्त्री हुन खोज्ने, लाभका पद चाहने अनि पद नपाए आफंैलाई छाड्ने प्रवृत्ति मौलाएको देख्दा दाहाल दिक्क छन् ।
उनलाई दरिलो साथ दिँदै आएका धर्मपुत्र सरहका वर्षमान पुन जण्डीसको पुरानो रोग बल्झिएर यतिबेला विदेशमा उपचारार्थ छन् । अर्का नेता जनार्दन शर्मा प्रभाकर आफ्नो अलग्गै गुट निर्माणमा भित्रभित्र भिडिरहेका छन् । दाहालको उत्तराधिकारी बन्ने होडले माके नेताहरुवीच आपसी कटुता बढदैछ ।
जसलाई मन्त्री बनायो, अगाडी बढायो उसैले धोका दिएको तिक्त अनुभव गरेका दाहाल पक्कै तनावमा त छन्, तर राजनीतिमा यो स्वभाविकै हो । हिंसात्मक विद्रोहका कहालीलाग्दा दिन बिताएर आएका दाहालले यतिबेला एक्कासी आत्महत्याको जिकिर गर्नु स्वभाविक हैन । यो खासमा परिस्थिति बदलिएपछि उनको मनस्थितिमा आएको परिवर्तन हो । उनमा हौसला ग्रन्थी हैन, हिन ग्रन्थी जागृत भएको छ ।
ओलीको हकमा पनि यही कुरा लागू हुन्छ । अस्तीसम्म दुइ तिहाइको बहुमतको दुहाइ दिने ओलीका ति सारा दम्भ र अहंकार पानीको फोका सरह फुटे । माधव नेपाल आदिले छाडेर गएपछि एमाले सानो आकारमा खुम्चियो । गत निर्वाचनमा पो सग्लो माके र सग्लो एमालेवीच गठबन्धन हुँदा बहुमत आएको थियो । अब फुटेको एमाले चुनावमा जाँदा त्यो हैसियत प्राप्त हुने अवस्था छैन ।
दुइ तिहाइ बहुमतको सरकारको प्रधानमन्त्री हुँदा पनि जनतामा डेलिभरी दिन, एकिकृत नेकपालाई जोगाउन र एमालेलाई एकताबद्ध राख्न नसकेकोमा मुख्य दोष ओलीमाथि नै खप्टिएको छ । इतिहासले मौका दिएर पनि केही गर्न नसकेको अक्षम प्रधानमन्त्रीको सूचीमा ओलीको नाम पनि दरिएको छ । भ्रष्टाचार पनि उनकै पालामा व्यापक भएको अर्को कलंक पनि टाउकोमा छ । अझ, लोकतान्त्रिक मूल्य मान्यता कुल्चेर संसद, संविधान र पद्धतिमाथि नै धावा बोल्ने अधिनायकवादी पात्रका रुपमा उनको आलोचना भइरहेकै छ ।
ओलीको छवि धुमील भइसकेको छ । तर, यो सत्य स्वीकार गर्न ओलीको दम्भ ग्रन्थीले मानिरहेको छैन । अनुहारको खत छोप्न नायक÷नायिकाहरु मेकअप गर्छन् । बलिउडमा अभिनेता ऋत्विक रोशनका पिता एवं एक जमानाका नायक राकेश रोशनको टाउकोमा युवा अवस्थादेखि नै कपाल थिएन । नक्कली कपाल लगाएर राकेशले धेरै चलचित्रमा बकाइदा नायकको भूमिका निर्वाह गरेका छन् । आम दर्शकलाई त्यसको अत्तोपत्तो भएन ।
कपाल नहुनेले नै हो, नक्कली कपाल लगाउने । बदनामी छोप्न नै हो, तामझाम गर्नुपर्ने । मानिस आफु जुन विषयमा कमजोर छ, उसले त्यो विषयमा आफु बलियो छु भनेर समाजलाई देखाउन अनेक माथापिच्ची गर्छ । उदाहरणका लागि, नेकपा सरकारका मन्त्रीहरु भ्रष्टाचारमा चुर्लुम्म डुबिसकेका थिए, त्यसलाई छोप्नु जरुरी थियो । प्रधानमन्त्री ओलीले भने, ‘म आफु पनि भ्रष्टाचार गर्दिन, अरुलाई पनि भ्रष्टाचार गर्न दिन्न ।’
एमालेको विधान महाधिवेशनमा अध्यक्ष ओलीलाई चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओत्से तुङ या उत्तर कोरियाली नेता किम इल सुङजस्तै ‘महान’ देखाउन खोजियो । ओलीको बुख्याँचा (डमी) सेल्फी सेन्टर बन्न पुग्यो ।
हुन त, कुनै व्यक्तिको त्यति ठूलो फोटो त्यसअघि एमालेका कार्यकर्ताले देखेका पनि थिएनन् । जसरी बनेपा छिर्नुअघिको साँगा डाँडोमा रहेको महादेवको अग्लो मुर्ती सामु सेल्फी खिचाउनेहरुको भीड लाग्छ, त्यसैगरी ओलीको आकर्षक डमीले सबैको ध्यान तान्यो ।
मिनरल वाटरमा ओली । पोल र पर्खालमा ओली । ‘जता हे¥यो उतै मेरा नजरमा राम प्यारा छन्’ भने झैं जता हे¥यो उतै ओली ‘प्यारा’ छन् । कणकणमा भगवान भने झैं विधान अधिवेशन परिसरका गौंडा गौंडामा ओली । सर्वव्यापी ओली । सर्वप्रिय ओली । सर्वमान्य ओली ।
वस्तुगत अवस्था भिन्न छ । ओलीले एमालेका अन्य कुनै पनि नेतासँग गम्भीर छलफल नगरी दाहालसँग मिलेर हठात गरेको माकेसँगको एकता असफल भएको छ । दुइ–दुइ पटक संसद विघटनको उनको कदम असफल भएको छ । संसदले विश्वासको मत दिएन । सरकार टिकाउन असफल भए । एमालेलाई एकढिक्का राख्न असफल अध्यक्षमा दरिए । स्थीरता, सुशासन र समृद्धिको एमाले घोषणापत्रका नारा फजुल सावित भए ।
कोरोना कहरले संकटपूर्ण मुलुकमा आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक अन्तरसम्बन्धहरु खलबलिएको बेला नयाँ विचार, नयाँ सोच र कार्यदिशा अघि सार्ने दूरदर्शी नेता उनी पक्कै हैनन् ।
मदन भण्डारीले जस्तो नयाँ कार्यक्रम पनि ओलीले ल्याउन सकेका छैनन्, न त जनतामा उत्साह जगाउने कुनै सोच उनको मुखारबिन्दुबाट सुन्न सकिन्छ ।
आखिर नेपाली राजनीतिमा ओलीको मौजुदा उपस्थितिको औचित्य के ? उनी राजनीतिमा सक्रिय हुनु र नहुनुमा के अन्तर छ ? ओलीले त्यस्तो युगान्तकारी के भूमिका निर्वाह गरे, जसका लागि पानी पिउँदासमेत एमाले कार्यकर्ताले उनको मुहार हेर्नुपर्ने ? राजनीतिका उनी कुन स्तरका सेलीब्रेटी हुन्, जसको विशाल डमी सामु उभिएर नेता कार्यकर्ताले सेल्फी खिच्नुपर्ने ?
खासमा त्यस्तो कुनै महान योगदान ओलीबाट भएको देखिँदैन । बरु, ओलीको उपस्थितिले राजनीतिलाई गालीगलौज, असभ्य आलोचना र तिक्तताको दिशामा अग्रसर गराइरहेको छ । असफल पात्र जब जर्बजस्ती आफ्नो औचित्य साबित गर्न थाल्छ, तब विधान महाधिवेशनको जस्तै आडम्बर र तामझामका नमूना देख्न पाइन्छ ।
शहरमा निर्वस्त्र परिक्रमा गरिरहँदा पनि मूर्ख सम्राटलाई उनका अनुचरहरुले ‘महाराज तपाईंले लगाएको पोशाक त बडा राम्रो सुहाएको छ’ भनिरहन्छन् ।
दाहालले आत्महत्याको कुरा गर्दा थपडी बजाउने हुन् या ओलीको देवत्वकरण गर्नेहरु नै किन नहुन्, दुबै खासमा सम्राटलाई निर्वस्त्र शहर परिक्रमा गराउने अनुचर हुन् ।
जब कुनै बालकले ‘महाराज तपाईं त नांगै हुनुहुन्छ’ भन्नेछ, अनि दाहालको लघुताभाष र ओलीको उच्चताभाष दुबै फजुल सावित हुनेछ ।
नेता भनेको स्थीतप्रज्ञ हुनुपर्छ । अकम्पित हुनुपर्छ । संकटमा दाहाल झैं आत्तिने र ओली झैं खोक्रो शान झार्ने दुबै प्रवृत्ति नेतालाई सुहाउँदैन ।
कांग्रेस नेता कृष्णप्रसाद भट्टराई या कम्युनिष्ट नेता मनमोहन अधिकारी दुबै संकटमा आत्तिएको र सफलतामा मात्तिएको देखिएन । गिरिजाप्रसाद कोइरालाले त २०४७ सालको परिवर्तनपछिको सभामा ‘यो पञ्चको पनि जीत हो’ भनेर विजयमा पनि उदार भाव प्रकट गरेका थिए ।
दाहाल जब विजय मुद्रामा हुन्छन्, तब ‘माओबादीलाई कसैले हल्लाउन सक्दैन’ भन्न थाल्छन् । जब आफ्नो चाहना बमोजिम राजनीति चल्दैन, तब ‘मृत्यु या मुक्तिको घडी आयो, आत्महत्या गर्ने कि आत्मसमर्पण ?’ भन्न थाल्छन् । अझ, एक कदम अघि बढेर आफ्नो हत्याको षड्यन्त्र भइरहेको समेत भन्न चुक्दैनन् ।
ओली पनि जब विजयी मुद्रामा हुन्छन्, तब रेलदेखि पानीजहाज, घरघरमा ग्याँसका गफ दिन्छन्, जब राजनीति सोचेजस्तो हुँदैन, तब भारत नै आफुविरुद्ध लाग्यो भन्दै कुर्लिन थाल्छन् ।
अहिले दाहाल र ओली दुबैको मनस्थिति खलबलिएको छ । दाहाल रुन्चे भाषा बोल्दैछन्, ओली खोक्रो आडम्बर प्रदर्शन गर्दैछन् ।
वास्तवमा दुबैले सोचेजस्तो भएन, अब सोचेजस्तो हुने निश्चितता पनि छैन । सँघारमै निर्वाचन रुपी फलामका च्यूरा चपाउनुपर्नेछ ।
यो उहापोहमा दाहाल र ओली दुबैलाई यतिबेला ध्यान, सत्संग र मनोरेचन (क्याथरसिस) अपरिहार्य छ । समयको छोटो अन्तरालमै एकाएक परिस्थितिमा परिवर्तन आउँदा दुबैको मनमा हडकम्प मच्चिएकाले कम्पित मनलाई शान्त पार्नु जरुरी छ । ध्यान त्यो उपाय हो ।