कन्हैयाकुमार कांग्रेसमा, घनश्यामहरु कता ?

यो एकले अर्कालाई धपाउने र लखेटने होडमा कतै जनतामा कम्युनिष्टहरुलाई नै धपाउने सोच त पलाइरहेको छैन ? भन्ने प्रश्न सोचनीय छ । नेपालका कम्युनिष्ट पार्टी ‘महेश बस्नेत’हरुका लागि त अनुकुल होला, तर लोकतान्त्रिक मूल्य मान्यता र उदारबादमा विश्वास गर्ने युवाका लागि अफाप साबित हुँदै गएको त हैन ?


-कुसुम भट्टराई



काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले घनश्याम भुषाल र भीम रावल आदि तेश्रो धारका नेतालाई बुधबार कडै निर्देशन दिए ।

ओलीले दश बुँदे सम्झौताको एकतारे बजाएर नबस्न र पार्टीको काममा लाग्न हुकुमी शैलीमै आदेश दिए ।

‘अब कति बजाउने दश बुँदे टयान्डयाङ टयान्डयाङ, माधव आउँछन् कि पार्टी फुटाउँदैनन् कि भनेर पो दश बुँदे गरिएको थियो’, ओलीले भनेका छन् ।

दश बुँदेकै आधारमा माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजबादी)तिर नलागी एमालेमै रहेका घनश्याम भुषाललगायतका दर्जन नेतालाई अध्यक्ष ओलीले यसरी नै ‘जिरो रेस्पोन्स’ गर्दै आएका छन् । यसबाट तेश्रो धारका भनिने नेताहरुलाई एमालेमा रहीरहन झनझन सकस हुँदैछ ।

ओलीको यो पछिल्लो भनाइ तेश्रो धारमाथि उनको उर्दी सरह हो । ओलीको सन्देश हो, अब दश बुँदेको गनगन हैन, तेश्रो धारले मेरो कुरा सुनोस् र खुरुक्क पार्टी काममा जुटोस् ।

अध्यक्ष ओलीको पूर्ण प्राधिकारमा संचालित एमालेभित्र अब घनश्याम, योगेश भट्टराई, गोकर्ण बिष्टजस्ता युवा नेताका लागि स्थान साँघुरो हुँदैछ भन्ने यसबाट स्पष्ट हुन्छ ।

के ‘घनश्यामहरु’का लागि योग्य कम्युनिष्ट पार्टी नेपालमा दुर्लभ हुन लागेको हो त ?

एमाले मात्र हैन, बुढा नेताहरुको हैकमबादी प्राधिकारले थिचिएका नेपालका हरेक कम्युनिष्ट पार्टीमा यस्तै हालत छ । ‘कम्युनिष्ट पार्टी’को लगाव बोकेर टाँसीरहने अवस्था कुनै पनि कम्युनिष्ट पार्टीमा अव रहेन ।

नेकपा(एस)मा माधव नेपाललाई पूर्ण प्राधिकार सुम्पीएको छ । माधवको एकल सोच र निर्णयमै एस अघि बढीरहेको देखिन्छ । अध्यक्ष नेपाल आफ्ना मन्त्रीहरुलाई बोलाएर ‘पाँचतारे होटलमा जाँड रक्सी खाएको सुन्नु नपरोस्’ भन्दै खबरदारी गर्छन् । एसका मन्त्रीहरुमाथि माधवको पूर्ण नियन्त्रण छ, मन्त्रीहरुले हरेक कदम माधवकै इशारा बुझेर गर्नुपर्ने अवस्था छ ।

नेकपा (माओबादी केन्द्र)मा पुष्पकमल दाहाल नै पूर्ण प्राधिकार छन् । उनको ‘हेडक्वार्टर’बाटै माकेको सँगठन चल्छ । हिंशात्मक विद्रोहकालीन माओवादीका थुप्रै सहयात्रीले दाहाललाई छाडिसकेका छन् र अचेल उनी आफ्ना अति निकट नेताहरुको कोटरीमा एकछत्र अध्यक्ष छन् ।

नेपालका कम्युनिष्टहरुमा एकातिर लोकतान्त्रिक प्रकृया खण्डित भइ व्यक्तिबाद हावी हुँदैछ भने अर्कोतिर भ्रष्टीकरण, माफीयासँगको हिमचिम, निजी सम्पत्ति थुपार्ने होड र निम्न पुँजीबादी सोच हवात्तै बढेको गुनासो सर्वत्र सुनीन्छ । नेताहरु नै यो तथ्य स्वीकार्छन् ।

विश्वबाटै असान्दर्भीक भइसकेको कम्युनिष्ट आन्दोलनलाई रक्षात्मक अवस्थाबाट आक्रामक अवस्थातर्फ उकास्ने ठोस नीति, विचार, सिद्धान्त र कार्यक्रम नेपालका कुनै पनि कम्युनिष्ट पार्टीसँग छैन । विचार, सँगठन मात्र हैन, आशलाग्दो सर्वप्रिय र सर्वमान्य नेता पनि नेपाली कम्युनिष्ट आन्दोलनमा देखिदैन । पहिलो, दोश्रो र तेश्रो पुस्तासम्मका नेता ‘कानै चिरेका जोगी’ झैं देखिनु कम्युनिष्ट आन्दोलनको बिडम्बना हो ।

बढदो मोह भंग
बुढा नेताहरुकै हैकम र संकिर्ण सोचबाट चलेका कम्युनिष्ट पार्टीमा केही वर्ष यता युवा आकर्षण घटेको छ । भारत या नेपालको कम्युनिष्ट आन्दोलनमा उनीहरुकै शब्दमा ‘जुझारुपन’ या ‘चे ग्वे भारा जोश’ अब रहेन । न त कम्युनिष्ट पार्टी पूर्ण लोकतान्त्रिक हुनसके ।

सोभियत संघको विघटन र शितयुद्ध समाप्तीपछि विश्वमै साम्यबादी विचारधाराको सान्दर्भीकता समाप्त हुँदै गयो । ट्रेडमार्कका रुपमा कम्युनिष्ट नाम र हँसिया हथौडा झण्डाको उपयोग गर्दै आएका नेपालका कम्युनिष्टहरुमा कहिले जडशूत्रबादी कट्टरता त कहिले पूर्ण पुँजीबादी दलालीकरणको रोग हावी हुने गरेको देखिन्छ ।

विचौलीया दलालको विरोध गर्दागर्दै आफै विचौलीयाको चँगुलमा फस्न पुगेका ठूला कम्युनिष्ट पार्टीसँग विश्वभक्त दुलाल ‘आहुती’का शब्दमा नयाँ विचारकै अभाव छ । ‘जनयुद्ध’ हाँकेका पुष्पकमल दाहाल विचारकै अभावमा समर्पणबादी लाइनमा लागेको आहुतीको तर्क छ ।

विचार र जुझारु सँगठनको अभावमा अचेल तिसको दशकको नेकपा (माले) या पचासको दशकको नेकपा (माओबादी)को जस्तो युवा आकर्षण पटक्कै छैन । कम्युनिष्ट पार्टीभित्र आवद्ध युवामा प िनक्रान्तिकारी धार भुत्ते बन्दैछ, लोकतान्त्रिक लचकताको साटो मुढे बल विकसीत हुँदैछ ।

जग्गा दलाली, सरुवा बढुवादेखि ठेक्का पट्टा र बालुवा कारोबारमा एमाले र माकेका युवा नेताहरुविच प्रतिश्पर्धा हुन थालेको छ । श्रम, उत्पादन र समान वितरणको मर्म भुलेर उनीहरु ‘इजी मनी’तिर आकर्षित छन्, जुन संस्कार अगुवा नेताले नै तिनलाई सिकाएका हुन् । यसबाहेक दलप्रति सिर्जनात्मक र रचनात्मक आकर्षण छैन ।

आम सर्वसाधारण युवामा आफ्नो करीअर र भविश्यको चिन्ता छ । स्वदेशमा उनीहरुले आफ्नो भविश्य सुनिश्चित देख्न सकिरहेका छैनन् । उनीहरु धमाधम विदेश पलायन भइरहेका छन् । साठी लाख बढी युवा विदेशमा छन् । ति युवामा आशा र सम्भावना जगाउनसक्ने ल्याकत भारत र नेपाल दुबै मुलुकका कम्युनिष्टमा देखिदैन ।

केही समययता यो ‘लाल भ्रम’बाट नेपाली युवा मुक्त हुँदैछन् । आफ्नो भविश्य सुनिश्चीत हुने आधार कम्युनिष्ट आन्दोलनमा नदेखेका कारण पूर्व लडाकूदेखि लाखौं कम्युनिष्ट समर्थक युवा विदेशीएका छन् । स्वदेशमा रहेका युवा पनि विदेशीने ताकमै छन् ।

घनश्याम भुषालले भने झैं ‘गाउँमा कृषि क्षेत्रमा रोजगारी नदेखिएपछि भौंतारिदै शहर पसेको सिमान्त श्रमजिवी बर्ग शहरमा पनि रोजगारी नपाएपछि विदेशीन बाध्य’ छ । यी युवालाई स्वदेशमै अडयाएर राख्नसक्ने विचार, कार्यक्रम र अभियान नेपालका कम्युनिष्टहरुसँग नभएकाले विदेशीनुको विकल्प रहेन ।

यसर्थ, अब पहिला झैं गायक रामेश श्रेष्ठहरुले ‘गाउँ गाउँबाट उठ’ भन्दैमा आजको युवा उठनेवाला छैनन् । कम्युनिष्ट रोमांच या बर्गीय चिन्तनको ओज पनि घटिसकेको छ । कम्युनिष्ट पार्टीभित्रै ‘लुटने र लुटिने बर्ग’ निर्माण भइसकेको छ ।

वैचारीक विचलन, चारित्रिक ह«ास, अवसरवादी भडकाउ र निम्न पुँजीबादी सोचको दलदलमा भासिदै गएका नेपालका कम्युनिष्ट न त शुद्ध क्रान्तिकारी कम्युनिष्ट हुन सके, न पूर्ण प्रतिबद्ध लोकतान्त्रिक शक्ति ।

संसदीय राजनीतिक खेलमा अभ्यस्त हुन नसकेका र सदनभित्र गैर संसदिय आचरण देखाउँदै आएका कम्युनिष्ट नेताहरु सत्ता स्वार्थ, गुटगत लाभ र हुँदाहुँदा नाताबाद र परिवारबादमा डुबेका छन्, जसले गर्दा कम्युनिष्ट आन्दोलन अब आन्दोलन नभइ ‘खोक्रो नारा’मा मात्र सिमित भएको छ र युवामा कम्युनिष्ट पार्टीप्रतिको आकर्षण व्यापक मात्रामा घटेको छ ।

युवा बर्गमा कम्युनिष्ट पार्टीप्रतिको रुची घटदै गएकाले आम जनतामा पनि कम्युनिष्ट पार्टीले केही गर्ला भन्ने आश घटदै गएको छ । भारतमा बढदै गएको भाजपाको राष्ट्रबादी धारलाई चुनौती दिन त्यहाँका कम्युनिष्ट पूर्ण असफल छन् भने नेपालका म्युनिष्टहरु आफै ‘समस्या’ भएका छन् ।

यही कारण भारतका कम्युनिष्टहरु भुरे टाकुरे दलमा परिणत भइसकेका छन् भने नेपालका कम्युनिष्टहरु अस्तीत्व रक्षाको तनावबिच फूट र विभाजनको दूश्चक्रमा फँसेर ‘यदुवंशी बिनास’को बाटोमा देखिन्छन् ।

सन् १९६४ मा भारतीय कम्युनिष्ट पार्टीकै केही नेताहरुले दल विभाजन गरेर भाकपा (माक्र्सबादी) गठन गरेका थिए । माक्र्सबादी कम्युनिष्ट पार्टीले सन् २००४ को लोकसभा चुनावमा विभिन्न राज्यमा कूल ४३ स्थानमा विजय हासिल गरेको थियो । तर, सन् २००९ मा आइपुग्दा यो दलको अवस्था धेरै खस्कीयो र लोकसभाका १६ सिटमै खुम्चीयो । सन् २०१४ मा ९ र सन् २०१९ को च्ुनावमा ३ स्थानमै सिमित भाकपा(माक्र्सबादी)को पुरानो साख अब रहेन ।

भारतीय कम्युनिष्ट पार्टी अर्था भाकपाको त झन ‘हालत पतला’ नै छ । सन् २००४ मा लोकसभामा १० स्थान जितेको भाकपा सन् २०१९ को चुनावसम्म आइपुग्दा एक स्थानमै सिमित भयो । राष्ट्रिय पार्टीको दर्जा कायम राख्ने मात्र हैन, अस्तीत्व रक्षाकै चुनौती विच भाकपा गुज्रीरहेको छ ।

यही पृष्ठभूमिविच केही साताअघि भारतीय कम्युनिष्ट पार्टीका जोशीला युवा नेता कन्हैयाकुमार भारतीय कांग्रेस पार्टीमा प्रवेश गरेको खबरले कम्युनिष्ट राजनीतिक बृत्तमा तरंग उत्पन्न गर्यो । जवाहरलाल नेहरु विश्वविद्यालय छात्र संघका पूर्व अध्यक्ष कन्हैयाकुमार सन् २०१९ को लोकसभा चुनावअघि भाकपामा आबद्ध भएका थिए । बिहारको बेगुसराय निर्वाचन क्षेत्रमा भाकपाकै उम्मेदबार बनेका उनले चुनाव भने जित्न सकेनन् ।

यता दुइ तिहाइ बहुमत ल्याएर सत्तामा पुगेका नेपाली कम्युनिष्टले पनि आफ्ले पाएको अवसरको सदुपयोग गर्न सकेनन् । केपी ओली नेतृत्वको नेकपा सरकारको असफलताले एउटा तथ्य स्पष्ट गरेको छ, नेपालका कम्युनिष्टहरु ध्वंश मात्र गर्न सक्छन्, निर्माणको कला उनीहरुमा छैन ।

ठोस वैचारिक दिशाको अभावमा दुइ तिहाइको कम्युनिष्ट सरकार अढाइ वर्षमै ढल्यो र सिमित संख्या भएको प्रतिपक्षी नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेको छ । सग्लो नेकपा अहिले केपी अ‍ोली, माधव नेपाल र पुष्पकमल दाहालमा विभाजित छ ।

यति मात्र हैन, एकिकृत नेकपाभित्रकै बामदेव गौतम अचेल विरक्तिएर आफुलाई हिजोका पदमरत्न तुलाधरले झैं ‘स्वतन्त्र बाम’ भन्दैछन् । एमालेको दरिलो सँगठनमा धाँजा फाटेको छ । बिगतमा एकसाथ सडकमा नारा लगाएका नेता–कार्यकर्ता अचेल एकअर्कालाई कटु शब्द बाँण हान्दैछन् ।

माके अध्यक्ष दाहाल भन्दैछन्, ‘महेश बस्नेतलाई भक्तपुरबाटै लखेटनुपर्छ ।’

महेश बस्नेत भन्दैछन्, ‘प्रचण्डलाई मनहरा खोलाबाटै धपाउनुपर्छ ।’

यो एकले अर्कालाई धपाउने र लखेटने होडमा कतै जनतामा कम्युनिष्टहरुलाई नै धपाउने सोच त पलाइरहेको छैन ? भन्ने प्रश्न सोचनीय छ । नेपालका कम्युनिष्ट पार्टी ‘महेश बस्नेत’हरुका लागि त अनुकुल होला, तर लोकतान्त्रिक मूल्य मान्यता र उदारबादमा विश्वास गर्ने युवाका लागि अफाप साबित हुँदै गएको त हैन ?

कन्हैयाकुमारहरुको बाध्यता
भारतको कम्युनिष्ट पार्टीमा कन्हैयाकुमारजस्ता जोशीला र प्रखर युवा नेतालाई धान्ने शक्ति नै रहेन । कन्हैयाकुमारको व्यक्तित्वले ठूलो छहारी खोजिरहेको थियो, कम्युनिष्टहरुको छाता सँकुचित थियो ।

भारत र नेपाल दुबै मुलुकका कम्युनिष्ट पार्टीहरुले अब ‘कन्हैयाकुमार’हरुलाई थाम्न सक्दैनन् । बिखण्डन र विचलनको दूश्चक्रमा फँसीसकेका कम्युनिष्ट पार्टी छाडेर काँग्रेसमा प्रवेश गर्नु कन्हैयाकुमारको बाध्यता हो ।

किनकी, कम्युनिष्ट स्कुलीङमा हुर्किएका कन्हैयाकुमार भारतीय जनता पार्टीमा सामेल हुन सक्दैनन् । तत्काल स्थापित दरिलो शक्तिको चर्को विरोधबाटै नयाँ विचार र नेता जन्मीन्छ भने झैं कन्हैयाकुमार स्थापित हुने आधार भनेकै भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीको चर्को विरोध नै हो, अतः उनी भाजपामा जान सक्दैनथे ।

भाजपाको अति हिन्द्ुबादी राजनीतिलाई काउन्टर दिन समाजबादको पनि दुहाइ दिदै आएको काँग्रेस पार्टी कन्हैयाकुमारका लागि उत्तम विकल्प नै हो र लोकतान्त्रिक विचारधाराका पक्षपातीका लागि पनि बढी भरपर्दो काँग्रेस नै हो ।

भारतभरी वृहत सँगठन भएको काँग्रेसबाहेक भाजपालाइ चुनौती दिनसक्नके शक्ति अर्को छैन । सत्तरी वर्षको बिबादास्पद इतिहास या परिवारबादको आरोप आफ्नो ठाउँमा होला, कम्युनिष्ट नालायक भएको बेला कम्युनिष्ट पृष्ठभूमिका युवाको आश्रय थलो काँग्रेसबाहेक अर्को छैन ।

घनश्यामहरु कता ?
के नेपालमा घनश्याम भुषाल, भीम रावल या गोकर्ण बिष्टजस्ता नेताहरु पनि कन्हैयाकुमारकै अवस्थामा पुगेका हुन् ? के नेपालका कम्युनिष्ट पार्टीमा अब यी नेताको स्थान या भविश्य सँकटमा परेको हो ?

एमालेका पुराना नेता एवं साहित्यकार नारायण ढकाल कन्हैयाकुमारको काँग्रेस प्रवेशको आलोचनात्मक समर्थन गर्दै भन्छन्, ‘कन्हैया कुमार कांग्रेसमा प्रवेश गर्नु नै उनका लागि सर्वोत्तम विकल्प हो । लामो समयदेखि पुनर्गठन नै नभएको कम्युनिष्ट पार्टीभित्र उनिजस्ता व्यक्ति कसरी रहनसक्छन् ? भारतको लोकतन्त्रलाई बचाउन आफू कांग्रेस पार्टीमा बस्नु परेको उनका तर्कमा धेरै सत्यता पनि छन् ।’

‘नेपाल रिडर्स’सँगको कुराकानीमा ढकालले नेपालको कम्युनिष्ट आन्दोलन कि सँसदबादतिर कि कट्टरपन्थतिर गएको स्पष्ट पारेका छन् ।

‘कुनै एउटा समय थियो, जतिबेला कम्युनिष्ट पार्टीमा मानिसहरुको आशा र भरोसा थियो । यस आन्दोलनमा ठूलो सहभागिता पनि थियो’, ढकालले भनेका छन्, ‘तर यो आन्दोलनले आफूलाई समयअनुसार परिमार्जित गर्न सकेन । यसरी कम्युनिष्ट पार्टीको सँसदबाद तथा कट्टरपन्थविचको धरापमा विलक्षण क्षमता भएका, बक्तृत्व कलामा पोख्त र नैतिक रुपमा पनि राम्रा व्यक्ति कसरी अटाउन सक्छन् ?’

के आगामी दिनमा एमालेका ‘घनश्यामहरु’ कम्य्ुनिष्ट पार्टीबाट मुक्ति खोज्दै कुनै नयाँ दल गठनतिर लाग्लान् त ? या उनीहरु एमालेकै प्राधिकारयुक्त एमालेभित्र दमित, अपहेलित हुँदै सिद्धान्तका अर्थहीन तथा कोरा गफ चुटदै बस्नेछन् ?

कन्हैयाकुमारले गुणात्मक फडको मारे, घनश्यामहरु चाहिँ ओलीकै मुख कहिलेसम्म बस्ने ?