योगेश भट्टराई, झड्केलो सन्तान र ‘अवैध’ सोच

योगेशजस्ता नेताको वाणीमा किन यति तिक्तता र असंगती देखियो भन्ने पक्ष खोतल्दा नेपालका कम्युनिष्टहरुको मौजुदा शैली, संस्कार र सँगतमै खोट देखिन्छ ।  योगेश त्यस्तो दलमा छन्, जसका नेता केपी ओली छन् र ओलीको बोलीले नै यस्तो संस्कार आफु मातहतका नेता कार्यकर्तालाई सिकाइरहेको छ । योगेशको बोली असम्यक हुनुको कारण के पनि हो भने उनी ओलीको सँगतमा छन् । 


कुसुम भट्टराई


काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी ओलीले ‘१० बुँदे’ सम्झौताको रटान लगाइरहेका योगेश भट्टराइलगायतका ‘तेश्रो धार’का नेताहरुमाथि ‘झडकेलो सन्तान’कै जस्तो व्यवहार देखाइरहेका छन् । ‘योगेशहरु’को कुरा ओलीले पटक्कै सुनेका छैनन् । ओली आफ्नै एकल दम्भले एमालेमा हैकम जमाइरहेका छन् । 

ओलीलाई थाहा छ, योगेश र तिनका साथीहरु राजनीतिक रुपमा माधव नेपालका सन्तान हुन् । बिगतमा आफुविरुद्ध माधव कित्तामा लागेर उनीहरुले जे जति बबण्डर मच्चाए, त्यो ओलीले यति चाँडै भुल्ने कुरा पनि आएन । 

माधवलाई उचाल्ने, ओली सरकारविरुद्ध धावा बोल्ने, पार्टीमा माधव गुटलाई मलजल गर्ने योगेश सम्मिलित समूह नै हो । यो समूहले नै माधवमा महत्वकांक्षा र नयाँ पार्टी गठनसम्मको साहस जगाइदिएको हो । 

यही समूहको समर्थनका आधारमा माधवको अभ्यन्तरमा ओलीविरुद्ध ‘विद्रोह’ गर्ने र शेरबहादुर देउवा र पुष्पकमल दाहालसँग सहकार्य गर्ने सोचको उदय भएको हो । र, नेकपा एकिकृत समाजबादी जन्माउन जरोकिलोबाटै उत्प्रेरकको भूमिका निर्वाह गर्ने पनि यही समूह हो ।  

ओलीले अस्तीसम्म यो भोगिसकेकै हुन्, यसर्थ उनी योगेश र उनको समूहका नेतालाई झड्केलो सन्तान सरह व्यवहार गरिरहेका छन् । ओलीको भेदभावपूर्ण व्यवहारका कारण उनीहरु न यता, न उताको अवस्थामा छन् । 

पँक्तिकारले यहाँ ‘झड्केलो सन्तान’ शब्द उल्लेख गर्नुको कारण के हो भने एमाले सचिव योगेश भट्टराईले १७ कार्तिकमा अस्तीसम्म आफैले काँधमा बोकेका नेता माधव नेपाल अध्यक्ष रहेको नेकपा (एस)लाई ‘अबैध सन्तान’ भनेका छन् । 

योगेशको मुखारबिन्दुबाट प्रकट शब्द यस्ता छन्, ‘नेकपा एमालेको १० औं महाधिवेशनमा प्रमुख राजनीतिक दलहरुलाई हामीले निमन्त्रणा गर्ने हो, कतिपय राजनीतिक दलको पहिचान र ठेगाना नै स्पष्ट छैन । अवैध सम्बन्ध, अवैध गर्भाधारणबाट बनेका पार्टीहरुछन् । त्यस्ता पार्टीहरुलाई महाधिवेशनमा बोलाइरहनुपर्छ जस्तो लाग्दैन ।’

नेपाली राजनीतिमा प्रायः शिष्ट र हार्दिक स्वभावका मानिने योगेशजस्ता नेताबाट संविधानतः दर्ता भइसकेको दललाई ‘अवैध सन्तान’को टिप्पणी सोभनिय हैन, जसको चौतर्फी आलोचना भइरहेको छ । 



‘अवैध सन्तान’ आफैमा अवैध शब्द हो । जन्म दिने आमा या सन्तान दुबै अवैध हुँदैनन् । बाबुको ठेगान छैन भने पनि जन्मिएको सन्तान अवैध हुँदैन । जिवन्त प्राणी जुन प्रकृति निशृत छ, उ कहिल्यै अवैध हुँदैन ।  

योगेशजस्ता आफुलाई कम्युनिष्ट, समाजबादी र क्रान्तिकारी दाबी गर्ने नेतामा अझै पनि पितृसत्तात्मक सोच हटेको रहेनछ । बाबु ठेगान भएको सन्तान मात्र वैध मानिन्छन् भन्ने भाव उनले उच्चारण गरेको शब्दबाट झल्कीन्छ । 

योगेशजस्ता नेताको वाणीमा किन यति तिक्तता र असंगती देखियो भन्ने पक्ष खोतल्दा नेपालका कम्युनिष्टहरुको मौजुदा शैली, संस्कार र सँगतमै खोट देखिन्छ ।  योगेश त्यस्तो दलमा छन्, जसका नेता केपी ओली छन् र ओलीको बोलीले नै यस्तो संस्कार आफु मातहतका नेता कार्यकर्तालाई सिकाइरहेको छ । योगेशको बोली असम्यक हुनुको कारण के पनि हो भने उनी ओलीको सँगतमा छन् । 

योगेशले उच्चारण गरेको ‘अवैध सन्तान’ शब्द वर्तमान परिदृश्यमा उनको मौलिक भने हैन । ओलीकै ‘धर्मपुत्र’ मानिने पूर्वमन्त्री गोकुल बाँसकोटाले यसअघि नै माधव नेपालका हकमा यो शब्दको उच्चारण गरिसकेका छन् । 

५ असोजमा प्रेस चौतारी नेपालले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलना गोकुल बासकोटाले भनेका थिए, ‘के माधव नेपाल अवैध सन्तान हुन ? आफैलाई जन्माउने बाबुआमा नचिन्ने कुपुत्र हुन् ? कहाँबाट जन्मिए माधव नेपाल ?’

गोकुल त उसै पनि रुखो बोलीका कारण चर्चित छन् । तर, उनले पनि त्यसबेला किटेर नभइ, प्रश्नबाचक शैलीमा मात्र ‘अवैध सन्तान’ शब्द बोलेका थिए । योगेशले चाहिँ एककदम अघि बढेर ठाडै भनिदिए । 

नेता माधवलाई उचाल्नु उचालेर अन्तिममा ओलीतिरै लागे पनि एमालेमा योगेश र उनको समूहप्रतिको व्यवहार ‘झडकेलै’ छ । यीनै योगेशलाई ‘बैगुनी केटो’ संज्ञा दिदै ओलीले पार्टी विभाजनताका भनेका थिए, ‘दौडी दौडी गएर भोट मागिदिएर मन्त्री बनाएँ । उसका लागि अनेकथोक गरियो । एकदिन पुक्क लात्ताले हानेर भाग्यो, को रहेछ भने यसो हेरेको त त्यही केटो पो रहेछ ।’

ओलीको भनाइ स्तरहीन भएको दाबी गर्दै योगेशले सामाजिक संजालमा जवाफ फर्काएका थिए, ‘केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको व्यवस्थामै यहाँले कुर्सी प्राप्त गर्नुभएको हो । केटो भनिपाउँदा मलाई दुःख छैन । तपाइको स्तर थाहा पाएर खुसी लाग्यो ।’

बिडम्बना, ओलीलाई यसरी ‘स्तर’को पाठ पढाउने योगेश पनि त्यही स्तरमा झरेछन् । 

‘ओली सिन्ड्रोम’को संक्रमण
एमाले अध्यक्ष केपी ओलीले कतै भाषण गर्दैछन् भने उनका विरोधी पनि चाख मानेर सुन्छन् । टोलमा दुइ छिमेकीबिच बाझाबाझ हुँदा जेजस्ता गालीगलौज सुनीन्छ, त्यो सुन्न सरोकार नभएका मानिस पनि झुम्मीने गर्छन् । गालीगलौज सुन्दा रमीतेलाई रमाइलो लाग्छ, मनोबिनोद हुन्छ । 

ओलीको भाषणमा जुन तिब्र र तुच्छ कटाक्ष अनि परपिडक भाव व्यक्त हुन्छ, त्यसलाई नै मिडियाले समाचारको शिर्षक बनाएर किन प्रस्तुत गर्छन् भने त्यसमा मनोरंजन छ, हासपरिहास र उपहास छ अनि त्यो बिकाउ छ । 

लगातारको लेखनबाट पटयारलाग्दा पँक्तिकार पनि यूटयूबमा ओलीका भाषण सुनेर ‘मुड फ्रेस’ बनाउने गर्छ । ओलीको भाषण पँक्तिकारलाई औधी मनपर्छ यस अर्थमा कि त्यसबाट ज्ञान, विवेक, बुद्धी या उन्नत चेत जागृत गराउन हैन, बस मश्तिष्कमा ‘डोपामाइन’ या ‘सेराटिनीन’ हर्मोन जगाएर फिस्स हाँस्न । 

भारतमा बिहारका पूर्व मुख्यमन्त्री लालु यादवको भाषण सुन्दा जुन मजा आउँछ, त्यस्तै मजा नेपालका केपी ओलीका कुरा सुन्दा आउँछ । 
 
‘बाले आज कसलाई के भनेर खिल्ली उडाउने भए’ भन्ने आम जिज्ञासा सदा रहने भएकाले ओलीले पनि आफ्नो विशिष्ठ वाणी पहिचानलाई निरन्तरता दिदै हरेक भाषणमा कुनै न कुनै उटपटयाङ कुरा भनिहाल्छन् र मिडियाको जन्ती त्यसकै पछि दगुर्छ । कुनै त्यस्तो भाषण सायदै होला, जहाँ ओलीले कसैलाई प्याच्च नभनेका हुन् । 
 
नेकपा विभाजनपछिका हरेक भाषणमा ओलीले नेकपा (एस) अध्यक्ष माधव नेपालप्रति कटाक्ष गरेका छन् । उनले नेपाललाई ‘हरियो साँप’, ‘कुपात्र’, ‘उम्रीन नसकेको प्यूसो’, ‘कुहिएको फर्सी’, ‘फोहोरको झिंगा सरह’, ‘महत्वकांक्षी’, ‘स्वार्थ इगो, इश्र्या भाव र कुन्ठाबाट ग्रसीत’ र ‘घरमा आगो लगाई खरानी घसेर तीर्थयात्रामा हिंडेको मानिस’सम्म भनेका छन् । 



वाणीको यो ‘ओली सिन्ड्रोम’ले उनका थुप्रै कार्यकर्तालाई गाँजेको छ । ओलीकै शैलीलाई बडा उम्दा ढँगले पछयाउन सूर्य थापा अग्रपँक्तिमा छन् । विरोधीका लागि उनको बोली मानौं ‘एसीड अटयाक’ हो । नेकपा (एस)का अध्यक्ष नेपाललाई थापाले ‘शेरबहादुर देउवाको नोकर हुन गएको’सम्म भनिदिए । नेता नेपाललाई ‘धुन्धुकारी’, ‘प्रचण्डको मतियार’, ‘देउवाको टाङमुनी छिरेको’ त उनले बारम्बार भन्दै आएका छन् ।
 
थापापछि आउँछन्, गोकुल बासकोटा । यिनको कटाक्ष मात्र हैन, बोलीको टोन नै विरोधीलाई झोंक चल्ने खालको छ । शिष्ट, शालिन, मर्यादित र सम्यक शब्द त यिनका मुखारबिन्दुबाट सुन्नै सकिन्न । 

गोकुलले गत ५ असोजमा पोखरामा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा माधव नेपाललाई ‘लोभी बाहुन’ नै भनिदिए । 

‘विद्रोह गर्नेले छोडनुपथ्र्यो । माधव नेपालले हामी एमाले होइनौं भनेर पद  छाडी अर्को पार्टी बनाएको भए सलाम नै  गर्थें । यो त लोभी बाहुन हो । २२ जना समेत नछाडने, अदालत जाने अनि एमालेलाई गाली गर्ने’, गोकुलले भनेका थिए । नेता नेपाललाई ‘महा–प्रतिगमनकारी’, ‘पार्टीद्रोही’, ‘देशद्रोही’, ‘घाम नुझील्कीदासम्मको शित’सम्म भन्न पनि उनी चुकेनन् । 

‘ओली सिन्ड्रोम’को संक्रमण अचेल हरेक कम्युनिष्ट नेतामा छ । मोहनविक्रमको पालामा ‘पुष्पलाल गद्दार’का रुपमा हल्काफुल्का देखा परेको यो ‘कटाक्ष भाइरस’ रुप बदलेर अहिले ‘ओली सिन्ड्रोम’ भएको छ । 

नेकपा(एस)का अध्यक्ष नेपाल पनि ओलीमाथि कटाक्ष गर्ने मामिलामा उत्तिकै उग्र देखिन्छन् । नेपालले त आफ्नो राजनीतिक प्रस्तावमै ओलीलाई निरंकुश, स्वेच्छाचारी, दम्भी, अहंकारी, घमण्डी, षडयन्त्रकारी, विखण्डनकारी, दक्षिणपन्थी, सत्तालिप्सा भएको, सर्वसत्ताबादी, गफाडीसम्म भनेका छन् । 

सम्यक वाणीको अपेक्षा
काग र कोइली दुबै काला हुन्छन् । तैपनि मानिसहरु किन कागलाई भन्दा कोइलीलाई बढि मन पराउँछन् ?

जवाफ स्पष्ट छ, कागको बोली रुखो छ, कोइलीको बोली संगीतमय छ । काग कराएको सुन्दा झर्को लाग्छ, कोइलीको ‘कुहु कुहु’ सुनीरहुँ झैं लाग्छ । 

वाणी नै हो, मानिसको पनि आकर्षणको आधार । वाणी यस्तो आभूषण हो, जसबाट मानिसको व्यक्तित्व प्रकट हुन्छ । कोही रुपले जतिसुकै कुरुप किन नहोस्, वाणी मधुर छ भने उसले सबैलाई रिझाउनसक्छ । वाणी शालिन, शितल, सम्यक र कर्णप्रिय हुने व्यक्तिसँग सबै झिम्मीन्छन् । सुल्झीन नसकेको समस्या पनि मधुर वाणीले सुल्झाउनसक्छ । कन्जुस मानिसलाई पनि दानी बनाइदिन्छ, क्रोधीलाई प्रेमल बनाइदिन्छ । 

ध्यान शूत्रमा जुन सात चक्रको वर्णन गरिएको हुन्छ, त्यसमा एउटा विशुद्धी चक्र भन्ने हुन्छ । यो चक्र जागृत भएको मानिसको बोली नै कति मिठो हुन्छ भने सुन्नेहरु सम्मोहित हुन्छन् । 

भगवान कृष्णको वाणीमा मिठास हुँदैनथ्यो भने त्यत्रो श्रीमदभगवत गिता सुनाइरहँदा अर्जुनलाई झर्को लागिसक्थ्यो । भगवान बुद्धको वाणी मधुर हुँदैनथ्यो भने अंगुलीमालले उनिमाथि सायद आक्रमण गर्थे । ओशोको प्रवचन जति पटक सुन्दा पनि मजा आउने कारकतत्व उनको वाणीको संगीत नै हो । 



कटु वाणीले झगडा मात्र निम्त्याउँछ । समस्या बल्झाउँछ । बनिसकेको काम पनि बिगार्छ । कसैले कसैलाई ‘चोर’ भन्यो भने अर्कोले उसलाई ‘डाँका’ भनिहाल्छ । यस्तो प्रत्यूत्पादक हुन्छ, कटु वाणी । 

नेपाली राजनीतिमा यतिबेला कटु वाणीकै क्रकश कोलाहल सुनीन्छ । हरेक नेता एक–अर्काप्रति अशिष्ट, अर्मादित, अभद्र र अराजक टिप्पणीमा उत्रिएका छन् । र, यही दौडमा युवा नेता योगेश भट्टराई पनि मिसिन पुग्नु बिडम्बना हो । 

श्रीमदभगवत गितामा साधकहरुका लागि तिनवटा तपको व्याख्या गरिएको छ–शारिरीक तप, मानसिक तप र वाचिक तप । शारिरिक तप भनेको आफ्नो वाणीमा संयम धारण गर्नु हो । कसैले केही भन्यो भने तत्काल प्याच्च जवाफ दिइहाल्ने आम मानिसको स्वभाव हुन्छ । विशिष्ठ मानिसले भने आफ्नो वाणीमा संयम अपनाउँछ । अनावश्यक, अतिबादी, अभद्र र अमर्यादित टिप्पणी गरेर हिंडनुको साटो सफल मानिसले आफ्नो काममा ध्यान दिन्छ । 

प्याच्च प्याच्च अरुका ’boutमा जथाभावि बोल्दै हिंडने मानिस असलमा ‘प्रतिक्रियाबादी’ हो, जो विरोधीका हरेक कुरामा प्रतिक्रिया दिदै हिंडछ । अनावश्यक विषयमा पनि प्रतिक्रिया दिदै हिंडने मानिसको वाणीको शक्ति क्षय हुन्छ । मौन रहनु या सम्यक वचनमा रहनु भनेको वाणीको शक्ति संचय गर्नु हो । भगवान बुद्धले सम्यक वाणीको शील अघि सारेको कारण नै के हो भने जथाभावि नबोल्नु, बोल्दा यसरी बोल्नु जुन अमृत समान होस् । 

राजनीतिक नेता रिजर्भ रहन सक्नुपर्छ । सैद्धान्तिक, वैचारिक, कार्यक्रमिक र देशको उत्थान गर्ने एजेन्डामा सारगर्भित धारणा राख्नुपर्छ । तर, झिना मसिना विषयमा हरेक दिन बोल्दै हिंडने, तुच्छ टिप्पणी गर्ने र आफ्नै मुख दुर्गन्धित बनाउने खालका शब्द चयन गर्ने नेता सफल हुन सक्दैन । 

योगेश भट्टराईजस्ता उदाउदा र अपेक्षा गरिएका नेताले आगामी दिनमा यस्ता पक्षमा ध्यान दिनु जरुरी छ । वाणीमा संयम अपनाउँ, विरोधीलाई पनि सम्यक शब्दमा आलोचना गरौं र आफ्नो वाणीबाट आफ्नो छवीको परिचय दिउँ । साभार: www.drishyatv.com