माथिल्लो तामाकोशीः उहिलेदेखि अहिलेसम्म(तस्विरहरु)
शव्द/तस्विरः शम्भु गौतम
दोलखा, मंसिर २: माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले अहिले पूर्ण क्षमता अर्थात ४५६ मेगावाट जलविद्युत उत्पादन गरिरहेको छ ।
यो आयोजनाले गत भदौ २४ गतेदेखि पूर्णक्षमतामा उत्पादन सुरु गरिरहेको छ । यो आयोजनाले गत भदौ ४ गतेबाट नै परीक्षण उत्पादन सकाएर व्यापारिक उत्पादन सुरु गरेको हो ।
विभिन्न कारणहरुले थुप्रै आरोहअवरोह व्यहोर्नु परे पनि अहिले यो आयोजनाले निरन्तर रुपमा जडित क्षमता अनुसारको ४५६ मेगावाट विद्युत उत्पादन गरिरहेको अपर तामाकोशी जलविद्युत लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले सगर्व जानकारी गराए ।
नेपालमा निर्माण सम्पन्न सबैभन्दा ठुलो यो आयोजनाले आफ्नो करिब ११ वर्षे निर्माण इतिहासमा धेरै आरोहअवरोह पार गरेको छ । तथापि त्यही उतारचढावको परिणामस्वरुप मुलुकलाई उज्यालो पार्ने काममा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
५ वर्षमा निर्माण सम्पन्न गर्ने कार्ययोजना रहेको भए पनि प्रवेश मार्ग निर्माणमा भएको ढिलाइ, आयोजना निर्माण कम्पनीबाट भएको ढिलाइ, विनासकारी भूकम्प, भारतीय नाकाबन्दी, खाडीचौर–चरिकोट सडक निर्माणको ढिलासुस्ती, विश्वव्यापी कोभिड महामारी लगायतका कारण आयोजना निर्माणले झण्डै दोब्बर समय लिन पुग्यो ।
निर्माण कार्यमा भएको ढिलाइका कारण सुरुमा प्रक्षेपण गरिएको ३५ अर्ब २९ लागत बढेर दोब्बर भन्दा बढी हुन पुग्यो ।
जे होस्, पूर्ण रुपमा स्वदेशी पूँजी तथा नेपाली प्रविधि र प्राविधिकहरुबाट निर्माण सम्पन्न भएको यो आयोजनाले अरु जलविद्युत आयोजना निर्माणको ढोका खोलेको छ । त्यसकारण पनि यो आयोजना नेपालको लागि कोशेढुङ्गा सावित हुन सक्छ ।
त्यसकारण यो आयोजना निर्माणको क्रममा व्यहोरेको आरोहअवरोहहरुलाई तस्विरमार्फत प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
साभार: www.drishyatv.com














































