काङ्ग्रेसी अझै आतिनु पर्दैन, किङ्ग-मेकर हुने चान्स छ

काङ्ग्रेसले अहिले  अघोषित रुपमा दल-शत्रु घोषणा गरेको अख्तियार सदुपयोग आयोगमा समेत काँग्रेसले जे गर्यो त्यही गरेको रे नेकपाले। आफू सत्तामा हुँदा तो्री-तेल बोकेर निवास धाउने र भ्रष्टाचार कहाँ-कहाँ हुन्छ भनेर देखीजान्ने, भोगीजान्ने राष्ट्र-सेवक बाहेक अरूलाई आउन दिनु हुन्न भन्ने काङ्ग्रेसकै पद चिह्नमा हिँडेको हो नेकपा।  

जनताले झापु र अख्तियारले लात हानेको काङ्ग्रेस नेतृत्वलाई खुशीको खबर लिएर आएको छु । आशा छ पढिसक्दा तिनको शरीरमा नयाँ ऊर्ज्जाको प्रवाह हुनेछ र फुर्ति बढ्ने छ।

काङ्ग्रेस हिङ्ग नभए पनि हिङ्ग बाँधेको टालो हो। यो सबैले मानेको तथ्य हो। २००७ देखिका हरेक राजनीतिक आन्दोलनको नेतृत्व उसैले गरेको छ र आन्दोलन लगत्तैको सर्वशक्तिमान सरकारको नेतृत्व पनि ।  पछि सत्ता चलाउन अरू आए होला थिति त उसैले बाँध्ने मौका पाएको छ  सँधै।  बीपी, गिरिजा र सुशील, सबै कोइराला बन्धु आन्दोलनको मात्रै होइन जनमतको समेतका आडमा थिति बसाल्ने हैसियतमा पुगेका सरकार प्रमुख हुन। कृष्ण प्रसाद भट्टराई नेतृत्वमा २०४७को संबिधान बने पनि खास पुनर्स्थापित बहुदलको थिति बाँध्न गिरिजा प्रसाद आइपुगेका हुन।

यो थिति भनेको राजनैतिक संरचना, संस्था र संस्कारको अन्तरघुलनलाई प्रतिनिधित्व गर्ने एउटा सरल शब्द लाग्छ मलाई । त्यसैले अहिले पनि नेकपा  जे गर्दै छ सबै काङ्ग्रेसले बाँधेकै थिति भित्र गर्दैछ । सगर्व नेकपा नेताले सार्वजनिक रुपमै काँग्रेसलाई जस दिएका छन ।

काँग्रेसले जग्गा लिजमा दिएको  घराना रैछ यती होल्डिङ्ग्स, पक्कै माथवर होला भनेर ज्ञानेन्द्रका लागि छुट्याएर बचेखुचेको श्री ५ महेन्द्रको सबै सम्पत्ति  यतीलाई जिम्मा लगाएको, नेकपा नेताले पटक पटक घुमाउरो पाराले स्वीकारेको कुरा हो। 

२०४६ पछिका सरकारमा कुनै सरकारमा नछुटेका एकजना अनुभवी मन्त्रीले कच्चा काम गरेर आफैँ फस्ने काम त गरेनन होला भनेर आँखा चिम्लेर सही धस्काई दियौँ ललिता निवासको जग्गा प्रकरणमा, अख्तियारको बल्छीमा नफसेका ठूला माछारुपी नेकपा नेताहरू खुलमखुल्ला भन्दैछन ।

वाइडबडीमा त्यसै भन्दैछन उनीहरू । ४-५ पल्ट प्रधानमन्त्री भैसकेका काँग्रेस नेताले थालेको प्रकृया पक्कै कच्चा नहोला भनेर हामीले पनि चौडा-शरीर वाला जहाज किन्ने भनेर निर्णय ठोकि दियौँ  भन्दैछन।

राजदूतमा पनि साख्यै सासु-ससुरा नियुक्त गर्दा लामो समय सम्म टिक्ने उदाहरण काङ्ग्रेसले देखाएकोले नाबालक मितछोरीलाई राजदूत बनाइदियौँ, उमेर छ लामो समय देशसेवा गर्न सक्छिन भनेर, घुमाउरो पाराले नेकपाका नेताले त्यस्तै सन्देश दिएका छन। नेकपा नेताहरू अझै भाषण नै गर्दैछन, ” काङ्ग्रेसले उद्योग धन्दा कौडीका भाऊमा निजिकरण गरेकाले हामीले पनि पैसा छाप्ने उद्योग्रुपी  केवलकार, रिसोर्ट र दरवार अगाडीका घडेरी कौडीकै भाऊमा निजीकरण गर्दियौँ ।

उदाहरण सूचि लामै हुन्छ, यहाँ उल्लेख गरी साध्य हुन्न के के कुरा नेकपाले काङ्ग्रेसबाट हुबहु नक्कल गरेको छ भनेर।

काङ्ग्रेसले अहिले  अघोषित रुपमा दल-शत्रु घोषणा गरेको अख्तियार सदुपयोग आयोगमा समेत काँग्रेसले जे गर्यो त्यही गरेको रे नेकपाले। आफू सत्तामा हुँदा तो्री-तेल बोकेर निवास धाउने र भ्रष्टाचार कहाँ-कहाँ हुन्छ भनेर देखीजान्ने, भोगीजान्ने राष्ट्र-सेवक बाहेक अरूलाई आउन दिनु हुन्न भन्ने काङ्ग्रेसकै पद चिह्नमा हिँडेको हो नेकपा।  

सबै कुरामा नेकपा ठ्याक्कै नेपाली काङ्ग्रेसको एकलब्य नै हो। काङ्ग्रेसले जानीजानी नसिकाएको भए पनि कुशको नेकालाई गुरु थापेर सबै काम गर्ने आफ्नो सच्चा चेला जन्मिनु भनेको नेकाको जीवन त्यसै सार्थक भै सक्यो। नेकाले त्यसैमा गर्व गर्नु पर्छ, गणितीय रुपमा सानो भए पनि नैतिक जीत नेकाकै भएको छ।

अझ गर्व गर्ने कुरो त नेका शासनमा हुँदा जसरी दलै किन्दिने हैसियत भएका केही नेता जन्माउन नेका सफल भएथ्यो, नेकपा पनि त्यस्तै नेता जन्माउने कसरतमा छ। भन्न त छुच्चा मिडिया र असहिष्णु प्रतिपक्षीले गुटतन्त्र मौलायो, दुई नेताका धर्मपुत्ररुपी केहीले मात्रै सत्ताको रसस्वादन गरि रहे भन्लान तर  सुन देखि नून सम्म, जलविद्युत देखि विद्युतीय वस सम्म, गिट्टी ढुङ्गा देखि अलकत्रा सम्म, अस्पताल देखि स्कूल सम्म, सहकारी देखि सामुदायिक वन सम्म,  सरूवा बढुवा देखि  फाँट तोक्ने सम्मका सबै काम र प्रक्रियामाथि राम्रो समन्वय र नियन्त्रण गर्ने हैसियत राख्ने नेता नजन्माई देश बन्दैन भन्ने काङ्ग्रेसको भित्री बुझाई थियो । त्यसैलाई जस्ताको तस्तै नक्कल गर्ने नेकपा त काङ्ग्रेसको अत्यन्त बफादार चेला नै भयो। आफ्नै तौड-तरिका सिकेका खाँटी चेलाहरूले झण्डै दुई-तिहाइ ल्याउनु भनेको झन महा-गर्वको विषय हो काङ्ग्रेसका लागि।

दिर्घकालीन सोचका साथ हिँडेको दलका लागि चुनावी हार कुनै ठूलो कुरा होइन। भारतमा काङ्ग्रेस  प्रतिपक्षको हैसियतमा पुग्ने १०% सीट समेत नभएर संसदमा उपस्थित “एउटा दल” भएको छ । त्यही पनि तिनको हैसियतमा कमी आएको छैन। दश-आठ वर्ष अघि सम्म शासन गरेको दिल्लीमा सानदार शून्य सीट र करीव ४% जन समर्थन पाएको भारतीय राष्ट्रिय काङ्ग्रेसका नेता आज टिभिमा सगर्व उपस्थित छन । आफू जित्न नसके पनि बिजेपीलाई हराउन सकेको भित्री गौरव घरि-घरि तिनका अनुहारमा झल्किन्छ । त्यसैले सन्तुष्टी मिल्न जित्नै पर्छ भन्ने छैन । कहिलेकाहिँ आफू जित्दा भन्दा अर्को हार्दा बढि खुशी मिल्छ ।

भारतको सबैभन्दा बौद्धिक जमात भएको र झण्डै पूरै नेपालका जति मतदाता रहेको  दिल्लीमा नेहरू गान्धीको नामैले एक सीट सम्म त आउनु पर्ने तर काङ्ग्रेसीले नै एक सीट पनि काङ्ग्रेसलाई दिएनन,  बिजीपीका डरले । सबैलाई थाहा छ काङ्ग्रेसकै कार्यकर्ताले काङ्ग्रेसकै उमेदवारलाई भोट हालेका भए पनि बिजेपीको दोहोरो अङ्कको उपस्त्थिति हुन्थ्यो दिल्ली विधान सभामा।

 हाम्रोमा पनि उताको काङ्ग्रेसको सिको गर्ने काङ्ग्रेस छ । नेताका छोरा-नातीलाई उत्तराधिकारी तोक्ने, भाषण गर्न सिकाउने, चुनावी ऱ्यालीएमा अघि लगाउने र  बेलुका हिङ्ग बाँधेको टालो गोजीबाट सुँघेर निदाउने सिको यत नि गर्न सक्छन। उताकालाई आम आदमीसङ्ग तालमेल गर्न हिनताबोध भए झैँ यताकालाई पनि मधेशी दलसङ्ग तालमेल गर्न हिच्किचाहट आएथ्यो। त्यसबाट पक्कै सिकेका होलान। हात मिलाउन गोजीबाट हात झिक्न के खोजेको हुन्छ हिङ्ग बाँधेको रुमालमा दलिएको हालमा हिङ्ग गन्हाइहाल्छ, फेरि हात भित्रै कोच्नु पर्छ ।

अव हिङ्ग सुँघ्नेहरूले पनि व्यवाहारिक राजनीति थाल्लान अर्को चुनाव आउने बेला सम्म। थप केही नेता भ्रष्टाचारको ठोस प्रमाण नै नभए पनि हैसियत भन्दा बढि सम्पत्ति भएको वा हैसियत भन्दा ठूलो पेट भएकै आरोपमा प्रधानमन्त्री मातहतका कुनै अङ्गको ्छानवीनमा तानिए भने त्यस बिरुद्ध उत्रिँदा एकहप्तामा अहिलेको जनमत आधा खस्कने छ। त्यसपछि काङ्ग्रेस यता पनि गौरवशाली किङ्ग-मेकर बन्ने छ। नेकपाबाट आजित भएका कार्यकर्ताले नेकपालाई हराउन नेताको भर पर्न छोड्ने छन र आफ्नै निर्णय लिनेछन । त्यो निर्णय दिल्लीका काङ्ग्रेसको जस्तो हुन्छ । कार्यकर्ताले पहाडमा समाजवादी पार्टी र मधेसमा कि समाजवादी कि राजपालाई मत दिएर प्रतिशोध लिने बेला आउन सक्छ जसलाई काङ्ग्रेसका नेताले आफू किङ्ग-मेकर भएको गर्विलो क्षणका रुपमा लिने छन । हारे पनि काङ्ग्रेस खुशी हुने दिन आउँने छ ।