के सिक्यो फेरी जुटेको राप्रपाले ?


-गजेन्द्र प्रधान

काठमाडौं । राप्रपा र राप्रपा (संयुक्त)को पुनःएकीकरणलाई शुभचिन्तकले स्वागत गरेका छन् । तर एकतासँगै व्यक्तिवादी चरित्रका नेताहरु फेरी त फुट्दैनन् भनेर शंका पनि गरेका छन् । पार्टी इतिहासमा सबैभन्दा कमजोर अवस्थामा पुगेको राप्रपा कहाँबाट ओरालो लाग्यो भन्ने लेखाजोखा त्यसकारण महत्वपूर्ण हुन्छ ।

यस अघि जुटेको राप्रपाले कमल थापालाई अध्यक्ष बनायो । त्यहीबाट राप्रपाको एकछिनको उकालो तर लामो ओरालो यात्रा आरम्भ भयो । महाधिवेशनले जन्माएको नेतृत्वले पार्टीलाई एकजुट राख्न सकेन । डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जबरा एकपछि अर्को गर्दै पार्टी छाडे । संगठनमात्र नभएर सिद्धान्त पनि सुरक्षित राख्न नेतृत्व सक्षम रहेन ।

पद र कुर्सीको लागि सरकारमा गएर गणतन्त्रमा काँध मिलाउदै ‘उत्कृष्ट संविधान’ भनेपछि जनताले थापालाई पत्याएन । त्यसपछि राप्रपाको ठाडो ओरालो यात्रा सुरु भयो । ढिलो भए पनि तीन अध्यक्षको नयाँ प्रयोगबाट राप्रपा एक भएको छ, तैपनि अवसरवादी नेतालाई जनताले किन विश्वास गर्ने भन्ने अवस्था छ । एक भएको राप्रपाले भरपर्दो बनेर जनताको विश्वास कसरी जित्छ भन्ने परीक्षणको घडी छ ।

पार्टी एकीकरणका लागि प्रभावकारी भूमिका खेलेका नेता बुद्धिमान तामाङले भने, ‘धेरै मिहेनत गरेर पार्टी एकता सफल भएको छ । अब पार्टी फुट्दैन । राष्ट्रवादी, प्रजातन्त्रवादी शक्तिको रुपमा राप्रपाले गति लिन्छ ।’ पूर्वमन्त्री तामाङ पूर्वराजाले दमकमा २०७४ चैत्रमा भेटेका नेतामध्येका एक हुन् । राप्रपाहरुको एकता’bout छलफल भएको उक्त भेटमा प्रल्हाद शाह, सगुनसुन्दर लावती, राजाराम श्रेष्ठ, सुरेश आचार्य, तारानाथ लुइटेल र भाष्कर भद्रालगायतका नेताहरुको उपस्थिति थियो ।

अहिले एकीकरणको क्रममा राप्रपाले नयाँ प्रयोग गरेको छ । राप्रपा (संयुक्त)तर्फका दुई अध्यक्ष र राप्रपाको एक अध्यक्षको सामुहिक नेतृत्व प्रयोगमा छ । तीनजना अध्यक्षहरुको सहमतिमा सम्पूर्ण नियुक्ति, पार्टी परीचालन र विवाद निरुपण गर्ने संझौता छ । यस अवस्थामा राणा र लोहनीको गठजोड बहुमतमा छ ।

अन्तिम समयसम्म एक वा अर्को बहानामा एकता प्रक्रिया पर सर्दै आएका थियो । तथापि ‘विश्वास गुमाएका’ थापा परिस्थितिजन्य बाध्यताबाट भाग्न सकेनन् । उनकै पार्टीभित्र दिपक बोहरा, बुद्धिमान तामाङ, धवलशमशेर राणा जस्ता नेताहरुको एकताका लागि ठूलो दवाब थियो । पार्टी मिलाउन बोहरा र तामाङ कम्मर कसेरै लागेका थिए । अर्कोतर्फ हरीबहादुर बस्नेत र श्याम तिमिल्सिनाको भूमिका पनि कम महत्वपूर्ण थिएन ।

पार्टी एकीकरणसम्बन्धी आधारपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम राती ढिलो गरेर सम्पन्न भयो । सो अवसरमा राणा, लोहनीलगायत सबै नेताहरुले माला लगाएका थिए । सबै नेताहरु खुशी देखिएका थिए, थापाले मात्र माला लगाएनन् । त्यसैले उनको मनमा के असहजता थियो भन्ने चर्चाको विषय बनेको छ । नेपाली सँस्कृतिमा फूलमालालाई सफलताको शुभसंकेत मान्ने मान्यता छ ।

हस्ताक्षर गरेपछि राणा, लोहनी र थापा सबैले एकैस्वरमा राप्रपा एकीकरणले राष्ट्रवादी शक्तिको अभाव पूरा गर्ने, सुढृद प्रजातन्त्र र विकास प्राप्त हुने दावी गरे । एकता महाधिवेशन पछिका दिनमा राप्रपा र राप्रपा (संयक्त) दुवै पार्टीले गति लिन नसकेको प्रष्ट छ । त्यसैले सामूहिक नेतृत्वबाट टुटफुटको श्रृङ्खला दोहारिन्छ कि सफलताको सिंडी चढ्छ भन्ने हेर्न बाँकि छ ।

नेता जगत गौचन एकता’bout शंका गर्न नहुने बताउछन् । पार्टी एकतासँगै खुशीको दिन सुरु भएको बताउदै उनी भन्छन्– राजसंस्था सहितको लक्ष्य प्राप्त गर्न राप्रपाले अब सडक संघर्ष संचालन गर्नेछ ।

नेकपा र नेपाली कांग्रेस उपर जनताको अविश्वास र वितृष्णा जागेको समय छ । राजसंस्थाको लोकप्रियता बढ्दो छ । त्यसकारण राप्रपाले सही गति लिन सके तीन अध्यक्षका अतिरिक्त हरीबहादुर बस्नेत, दिपक बोहरा, बुद्धिमान तामाङ, धवलशमशेर राणा, विक्रम पाण्डे, जयन्त चन्द, रामकुमार सुब्बा, ध्रुव प्रधान, राजेन्द्र लिङ्देन, सुनिल थापा, सगुनसुन्दर लावती, रवीन्द्रप्रताप शाह, मनोज मल्लहरुले चुनाव जित्न सक्ने संभावना रहन्छ ।

राप्रपा एकीकरणको घोषणा सभा फागुन २८ गतेलाई तय भएको छ । राप्रपाको इतिहासमा त्यहीबाट नयाँ अध्याय आरम्भ हुने दावी छ । तर अहिलेको अहम प्रश्न, फेरी जुटेको राप्रपाले पाठ सिक्यो कि सिकेन भन्नेनै छ।