फुटबल खेलाडीमा कोरोना


काठमाडौँ, ३० साउन : राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाइएका एक फुटबल खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित रहेको पाइएको छ। क्वारेन्टिनमा बसेका एक खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिए।

एन्फाले गत सोमबार र मङ्गलबार विश्वकप फुटबल छनोट तथा एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टोलीका ३४ खेलाडी, १२ कर्मचारी र आठ अफिसियलको स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गराएको थियो। परीक्षण गराएकामध्ये ५३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको राईले बताए। एक खेलाडीे पुनः पिसिआर परीक्षण गराउँदा पोजेटिभ आएको हो।

एन्फाले सोमबार ११ खेलाडीसहित २५ को तथा मङ्गलबार २८ जनाको स्वाब परीक्षण गराएको थियो। ती खेलाडीलाई घरमै आइसोलेसनमा राख्ने वा अस्पताल लैजाने भन्ने’bout एन्फाले छलफल गरिरहेको छ। नेपालमा यसअघि एक क्रिकेट खेलाडी तथा स्क्वास खेलका प्रशिक्षकमा कोरोना पुष्टि भएको थियो। फुटबल खेलाडीमा भने पहिलोपटक कोरोना सङ्क्रमण देखिएको हो।

पाटन अस्पतालमा गरिएको परीक्षणमा फुटबल खेलाडीमा कोरोना देखिएको हो। एन्फाले काठमाडौँ बाहिरबाट आएका ११ खेलाडीलाई क्वारेन्टिन र होटलमा राखेको थियो भने अरूलाई घरमै आइसोलेसनमा बस्न भनेको थियो। बिहीबार उनको पिसिआर रिपोर्ट पोजिटिभ आएपछि आज फेरि परीक्षण गर्दा पनि पोजिटिभ नै आएको एन्फाले जनाएको छ। विश्व फुटबल महासङ्घ (फिफा)ले

सन् २०२० मा विश्वकप छनोट प्रतियोगिताका बाँकी कुनै पनि खेल नखेलाउने निर्णय गरेपछि आगामी भदौ १ गतेदेखि हुने भनिएको बन्द प्रशिक्षण एन्फाले हाललाई स्थगित गरेको प्रवक्ता राईले बताए। दोस्रो चरणको विश्वकप छनोटअन्तर्गत नेपालले तीन खेल खेल्न बाँकी थियो। नेपालले खेल्न बाँकी रहेका चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसितको खेल नेपालमै खेलाउने तयारी गरिएको थियो।

सन् २०२२ मा कतारमा विश्वकप तथा सन् २०२३ मा चीनमा एसियन कपको छनोटका लागि नेपालले प्रशिक्षण थाल्ने योजना बनाएको थियो। हालसम्म नेपालको पाँच खेलबाट तीन अङ्क छ। चाइनिज ताइपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ। यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ।