भनिदेउ मेकियाभेली, जनता हिंश्रक हुन्छन
“शासकले नागरिकसंग सम्बन्धको आधार छनौट गर्नुपर्दा प्रेमको साटो डर उपयुक्त हुन्छ।” (निकोलो मेकियाभेली, “द प्रिन्स, सन् १५१३)
-राजेश मिश्र
पन्ध्रौँ शताब्दीमा इटालीको फ्लोरेंसमा जन्मिएका मेकियाभेली, जसलाई युरोपका बुद्दिजीवीहरुले “आधुनिक राजनीतिशास्त्रका पिता” को पगरी लगाईदिए, वास्तवमै सहि रहेछन। उनले सन् १५२७ मा मर्नुभन्दा चौध बर्ष अघि बाहिर ल्याएको पुस्तक “द प्रीन्स”मा लेखेको यो कुरा आज पनि सान्दर्भिक छ। उनी जन्मिंदा उत्कर्षमा रहेको ग्रीसको संसदीय गणतन्त्र उनी मर्नेबेला सम्म ओटोमान साम्राज्यको अधिनस्थ भैसकेको थियो। कारण थियो डर। सत्तामा जतिसुकै सम्भ्रान्तको हालीमुहाली भएपनि जनतामा जागृति आएकै थिएन। ग्रीसको उम्दा शिक्षा प्रणाली मुट्ठीभरिका शासकको पहुँच भन्दा बाहिर पुग्ने सकेको थिएन। आमजनता खेती गर्थे, सत्तालाई कूत बुझाउंथे। सन्तान जन्माउँथे, सत्ताको सेवामा सेनालाई सुम्पिदिन्थे। ग्रीसको कथित प्रजातन्त्र आज किताबमा सीमित हुनगयो, त्यो आजसम्म जनतामा पुग्नै सकेको छैन।
अरिस्टोटल, प्लेटो, लियोनार्दो दा भिन्ची र अलिगेर दाँते जस्ता दार्शनिकहरुबाट प्रभावित मेकियाभेलीले पछि फ्रेडरिक नित्से र ज्याँ रुसो जस्ता विचारकहरूलाई पनि प्रभावित गरेकै हुन्। तर उनीहरुको ब्याख्या गर्ने भाषा समय अनुसार परिवर्तन मात्र भयो, गुदी जस्ताको तस्तै। जहां उनीहरु प्रजातन्त्रको कुरा गर्छन् , डरको कुरा गर्न छोड्दैनन्।
पुराना जमाना एकछिन छोडिदिउँ।
यसबीचमा प्राकृतिक बिनास कति भयो, प्राविधिक बिकास के के भयो? यो बहसको छुट्टै पाटो हो।
लेखमा अहिलेसम्म उल्लिखित कसैले पनि एकदिन यो धरतीमा तेल हालेर मोटर गाडी चल्छ भन्ने कुराको कल्पना पनि गरेका थिएनन्। उनीहरुको घोडा हराउँदा उनीहरु किञ्चित समस्यामा पर्थे होलान्। जसरी हिजोआज मान्छे आफ्नो नयाँ मोटर हराउँदा चिन्तित हुन्छ। हिजो घोडा हराउँदा खोज्न जानेहरु घोडै चढेर जान्थे। आज मोटरकारमा जान्छन्। प्रविधि परिवर्तन भयो। समस्या उही छ। कुनैपनि कुरा गुमाउनुको डर, चिन्ता, क्रोध अनि त्यसपछिका परिस्थितिहरु !
रोबर्ट हिग्ग्स एक्काईसौं शताब्दीका एक गतिला सामाजिक अर्थशास्त्री हुन्। सन् २००५ मे महिनाको १७ मा उनले “इण्डिपेण्डेण्ट फाउन्डेसन”को एउटा अंकमा मेकियाभेलीलाई उद्दृत गर्दै लेखेका छन्, ” हरेक जनावरले डर देख्छ। तर मान्छे सबैभन्दा डरपोक प्राणी हो।”
जनावर तत्कालको संकटबाट डराउँछ। बाघ वा चितुवाको खेदाईमा परेको एउटा हरिण बाँच्यो भने उसले एकदिन मर्नुपर्छ भन्ने कुरा सोच्दैन। आक्रान्ताबाट बच्नु उसको विजय हो, जीवन हो। मान्छे मृत्यु आउनु अघिनै मृत्युका ’boutमा सोच्न वा चिन्तित हुन अभिशप्त छ। शायद यो चेतना भन्ने कुरा अभिशाप हो।
लेख्ने मान्छेको अर्को लेख्ने मान्छे संगको सम्बन्ध गजब हुन्छ। उनीहरुले एक अर्कालाई भेट्नै पर्दैन। म “द पोलिटिक्स अफ फियर” बिषयमा अनलाईन बहस गर्दैथिएँ। चर्काचर्की भयो। म संग बहस गर्ने एउटा छद्मभेषीले सीटी जर्नल डट् कम नामको लिंक पठायो। लेख्ने मान्छेको नाम जोन टर्नी रहेछ। उ मलाई रोबर्ट हिग्ग्सको उदाहरण दिन्छ।
“राज्यले अनाहक थोपरेको डरका ’boutमा म संग थुप्रै अनुभव छन्। तर यसपटकको यो कोभिड १९ भयंकर छ। यो भाईरस विलुप्त भएपनि, यसले मानवजातिको बिकासमा एउटा गहीरो खत छोडेर जानेछ, (मैले नेपालीमा अनुवाद गरेको)।
एकछिन पछि छद्मभेषी मलाई भन्छ, “संकट र महामारीका बेला राज्यले आफ्नो नियन्त्रणको पन्जा बेस्सरी फ़िजाउंछ। तर संकट टरेपछि, त्यो खुम्चिंदैन, झन् कडा हुन्छ।”
कुरा ठीक गर्यो त्यसले। चीनले शुरुमा कोभिड १९ को सूचना बाहिर जानै दिएन। बिदेशी समाचार संस्थाका सम्वाददाताहरुलाई देश निकाला गर्यो। आफ्नै देशका पत्रकारलाई त थुनि नै दियो।
कम्बोडिया, बंगलादेश ,भेनेजुएला, टर्की आदिले कोभिड १९ को समाचार दिनेलाई जेल हालिदिए। ईजिप्टका राष्ट्रपति अब्दुल फताह अल सिसिले आफ्नो मुलुकमा फैलिएको कोरोना संक्रमणको समाचार लुकाएर राखे। उनलाई गर्मी याममा आउने पर्यटक घट्लान भन्ने चिन्ता थियो। थाईल्याण्डका प्रधानमन्त्री प्रयुत चुनावात्राले त कोभीड १९ का ’boutमा सरकारी सूचना बाहेक अरु केही नलेख्नु भन्दै सबै मेडियालाई उर्दी नै जारी गरे।
भारतमा मुसलमानलाई नागरिकता नदिने मोदी सरकारको निर्णयले उफान ल्याउंदैथियो। कोरोनाका कारण उनले त्यस आन्दोलन माथि थप बलजफ्ती गर्नै परेन। ईजरायलमा प्रधानमन्त्री बेञ्ज्यामिन नेतान्ह्याहू माथि घूस खाएको मुद्दा चल्दैथियो। कोरोनाको बहानामा अदालत नै बन्द भयो।
नेपाल देश रमाईलो छ। जहाँ सारा विश्व कोरोना संग कसरी भिड्ने भन्ने चिन्तामा थिए, नेपाल सरकार आफैमा भिड्दै थियो। बिषयको गाम्भीर्य नबुझ्दा शुरुमा त चीनको कोरोना केन्द्रबिन्दु बुहानमा तेह्र जना लिन हवाजहाज नै पठायो। चीनमा पढ्ने अधिकांश विद्यार्थी नेकपाकै नेताका सन्तान वा आसेपासेका खलक हुन्। संक्रमण बढ्दै गयो। ईण्डियामा काम गर्ने नेपाली स्वदेश फर्किन थाले। ओलीको सातो गयो। डर देखाउनेलाई पनि डर लाग्छ। उनले भनिदिए, “भारतको कोरोना खतरनाक छ।” त्यसलाई व्यवस्थापन गर्नेतिर चासो दिएनन्।
मनोविज्ञानका विद्यार्थीहरुले पढ्नुपर्ने एउटा “फ्रेज” छ। डन एण्ड क्रुगर सिन्ड्रोम । मूर्खहरुको आत्मविश्वास अलि बढीनै हुन्छ। ओलीजी त्यसका साक्षात उदाहरण हुन्। तपसीलमा नजाउँ, उनी आफै डरको खेती गर्दैछन। जनतालाई तर्साउंदैछन। स्वास्थ्य मन्त्री मातहत उर्दी जारी गरिसके, भेन्टिलेटर र आई सी यू को सुविधा लिन अब सरकारको स्वीकृति चाहिन्छ रे!
जनता तर्सिएका छन्। शासक झन् तर्सिएका छन्। जनता तर्सिने कारण एउटा छ। शासक तर्सिने कारण अर्कै।
कथित कार्यदलले गराईदिएको मिलाप अरिङ्गालको आत्मरति हो। खुँडा तरवार उज्याउने कसरत जारी छ। नेता डराएका छन्। जनताको के कुरा भो र?
जागेको जनता हिंश्रक हुन्छ। मेकियाभेलीले यो कुरा लेख्न किन बिर्सेको?