नेकपाको मेटामोर्फोसिसः अन्देखा गर्ने कि स्विकार्ने ?
अहिले भारत, चीन अमेरिका, आइसी, एमसिसीसी, बिआरआई आदिका रङ्ग जवर्जस्ती पोतिएपनि सारभूत रुपमा आफ्नै रुप र गुणमा आएको परिवर्तन अर्थात “रुप-गुणान्तरण” अर्थात मेटामोर्फोसिसलाई आत्मसात गर्न नसकेका कारण नेकपा सङ्कटमा छ। यो मेरो बुझाई प्राङ्गारिक हो, प्राकृतिक हो। कुनै राजनैतिक वा सैद्धान्तिक होइन।

मैले ठ्याक्कै तिथि मिति चाहिँ टिपोट गरिनँ तर जनआन्दोलन पछि अन्तरिम संसद भर्खरै गठन भएको थियो । बैठक शुरु हुनु अघि संसद सचिवालयका छाप्रामा नवप्रवेशी महिला सभासद खरानी रङ्गको कोट ह्याङ्गरमा झुण्डाइएको जस्तो शरीर लिएर झुण्ड झुण्डमा ओल्लो टहरो र पल्लो टहरो गरिरहन्थे, कोही कानमा खासखुस गर्थे र झुण्डमै शौचालय जान्थे, झुण्डमै फर्किन्थे | र कोही थोरै ढिलो भए खुरुरु दौडिन्थे, फटाफट हिँड्ने होइन।
त्यस्तै कुनै दिन नियमित संसद जाने पत्रकारको एउटा समूह चौरमा घेरा हालेर बसेको थियो। चौरका गफ समाचार बन्दैनथे, त्यो हाम्रो अनुशासन थियो, र नेताले जीब्रो चपाउँदैनथे, त्यो उनीहरूको इमान्दारिता थियो। हाम्रो समूहमा जोडिएर खुल्ला गफ गर्ने केही स्थायी सदस्यमा गन्ने मान्ने नै सांसद हुन्थे, सुबास नेम्बाङ्ग, हृदयेश त्रिपाठी, बिरोध खतिवडा लगायतका। तर त्यो दिन त्यहाँ हुनुहुन्थ्यो प्रदिप नेपाल र अरू कोही एक दुई नेता।
झुण्डमै शौचालय जाने नवप्रवेशी सांसदको गतिबिधि देखेर प्रदिप नेपालले गरेको टिप्पणी म सम्झन्छु, “गर गर, हामी पनि पहिले संसद पस्दा तिमिहरू भन्दा फरक कहाँ थियौँ र? पार्टीले व्यवस्था गरेको एउटै घरमा २० जना बस्थ्यौँ आफ्नो एउटा ट्याङ्का, ओछ्यान र कपडा लिएर । कुनै कामरेडको ढाड दुख्न थाल्यो कसैको के…..दशैँसम्म आइपुग्दा हामी आ-आफ्नो डेरा खोजेर एक्लै बस्न थाल्यौँ । “
प्रदिप नेपालको अनुभूतिमा इङ्गित गरिएको मिति पार्टी कार्यकर्ताको साम्यवादी जीवनशैलीको महाप्रस्थानको पहिलो पाइला थियो। त्यसपछि नेकपा नामको खोलोमा धेरै पानी बगिसक्यो। दलले सिलाईदिएका एउटै रङ्गका नाना लगाउने, पार्टीले पकाइदिएको एउटै भाँडोको खाना खाने र पार्टीले लेखिदिएको एकै खाले गाना गाउने समूहको अहिलेको रूची, स्वाद, जीवन शैली र व्यवहार हेर्यो भने मलाई आफू २५० वर्ष बाँचेको अनुभूति हुन्छ।
अहिलेको दलको आन्तरिक किचलोलाई टुप्पीबाट मात्रै हेर्दा देखिने तस्वीरमात्रै अहिलेका विश्लेषणमा आएका छन । आफ्नो दिमाग र शरीरमा आएको रूपान्तरण र आफ्नो गाँस-बास-कपास-शिक्षा-स्वास्थ्य र सुरक्षा जस्ता आधारभूत आवस्यकतामा आएका परिवर्नतलाई पूर्ण रुपमा वेवास्ता गरेर आफ्नो अस्थित्वको सारभूतीकरण भएका छन। नेकपाका धेरै नेताले र नेकपा नजिकका विश्लेषकहरूले यो परिवर्तनलाई अङ्ग्रेजी शब्द “चेन्ज”, “ट्रान्स्फर्मेशन”, “ट्रान्स्फिगरेशन” आदिमा समेट्न खोजेका छन तर रुपमा यो “मेटामोर्फोसिस” र गुणमा “म्युटेशन” हो। मेटामोर्फोसिसमा पहिलेको कुनै रुपै रहन्न र म्युटेशनमा पहिलेको गुणै रहन्न, शुरुताका चीनमा भेटिएको र अहिलेको कोरोना भाइरसमा जस्तै।
पहिले रुपको कुरा गरौँ । मेरो गाउँ नक्सलवादीहरूको सबै भन्दा ठूलो राजनैतिक अखडा हो, भलै धनकुटा र इलाम तिरका जस्ता हत्या त्यहाँ भएनन। मेरो माथिल्लो टोलका आर्थिक रुपमा सबै भन्दा कमजोर हामीले “लुङ्ते बडाबाऊ” नामले बोलाउने एकजना राई बुढाको घरमा नक्सालवादीहरूको नियमित भोज चल्थ्यो, बनिबुतो गरेर ल्याएको कोदोको ढिँडो र प्रायःनून खुर्सानी र यदाकदा गोलभेँडाको चट्नीका साथ। मैले ९-१० वर्षको हुँदा त्यहाँ देखेका केही अनुहार सांसद भए, कोही जिविसमा गए। केही राजनीतिक रुपमा अझै सकृय छन, केही पलायन भए।
मैले मेरो ४९ वर्षे जीवनमा ति कार्यकर्ता देखि राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री, सांसदसम्मको संगत गरेँ वा उनीहरूलाई नजीकबाट देखेँ । ती कार्यकर्तामा आफ्नो अभियान प्रति अदम्य साहस थियो, गरीव-असहाय-बालबालिका प्रति आगाध श्रद्धा र माया थियो र आफ्ना सहयोद्धा प्रति अनुपम भरोसा थियो, र सवै भन्दा ठूलो कुरा उनीहरूमा सामुहिकताको गहिरो भावना थियो। एकजनाले दुई माना कोदोको पीठोको ढिँडो ओराल्दै गर्दा अरू मादल र गितारमा जनताका गीतको अभ्यास गर्दै गर्थे, त्यो ढिँडो भान्सेले सबै खायो कि वा उसको नजीककोलाई बढि दियो कि भन्ने एक रत्ति शक तिनमा थिएन । म तिनका सङ्गठनका नजिक रहेँ तर कहिल्यै सामेल भइनँ। त्यै पनि मैले त्यो समूहलाई बुझेको त्यसरी हो, मेरो फर्स्ट इम्प्रेशन यही हो।
माथि उल्लेखित प्रदिप नेपालको अनुभूतिमा इङ्गित गरिएको मिति पार्टी कार्यकर्ताको साम्यवादी जीवनशैलीको महाप्रस्थानको पहिलो पाइला थियो। तर ति पाइलाले गरेको यात्रा वयान गरिनसक्नु लामो छ। न लुङ्ते बडाबाऊ तिनका नियमित भेट्ने मान्छेमा छन, न ढिँडो तिनको नियमित भोजन, न बाँडिखाने संस्कृति तिनको नैसर्गिक बानी। धेरै कार्यकर्ता “सफल”नेताहरूमा अझै त्यो बानी खोज्छन र “सफल नेताहरू” ति दिन सम्झनु आत्मग्लानी ठान्छन। जीवनशैलीमा आएको परिवर्तन, जीवन र जगतलाई हेर्ने दृष्टिकोणमा आएको परिवर्तन, त्यो दृष्टिकोणले सिर्जना गरेका आवस्यकताका सूचीमा आएको परिवर्तन र ति आवस्यकता पूरा गर्न बनेका कार्यसूचीमा आएको परिवर्तन….. फेहरिस्त लामै हुन्छ नेकपाका कार्यकार्यकर्तालाई एउटा वैयक्तिक जीव मानेर सूचिकृत गर्दै जाने हो भने।
अहिले भारत, चीन अमेरिका, आइसी, एमसिसीसी, बिआरआई आदिका रङ्ग जवर्जस्ती पोतिएपनि सारभूत रुपमा आफ्नै रुप र गुणमा आएको परिवर्तन अर्थात “रुप-गुणान्तरण” अर्थात मेटामोर्फोसिसलाई आत्मसात गर्न नसकेका कारण नेकपा सङ्कटमा छ। यो मेरो बुझाई प्राङ्गारिक हो, प्राकृतिक हो। कुनै राजनैतिक वा सैद्धान्तिक होइन।
नेकपाका अभ्यासको ताजा इतिहास हेरे हुन्छ। राज्यको स्रोतको पार्टीकोषमा फनेलिङ्ग यसको प्राथमिक ध्येय थियो | शुरु-शुरुका सरकारमा भएका यसका गतिविधि हेरे हुन्छ। पार्टीले एकमुष्ठ सङ्कलन गरेर खटाई-खटाई नेतालाई दिन्थ्यो । लेवी तिर्ने, लेवी उठाउने, पूर्णकालिनहरूलाई तलव दिने, पार्टीले खटाएका चन्दा सङ्कलक सबै अहिले सक्रिय राजनीतिमै छन। तिनै लेबीवाल मध्ये केही एउटा आयुर्वेदिक औषधी बनाएर बेच्ने वैद्यकोमा नाफाको हिस्सा खोज्न समेत पुगिसकेका छन, ठूल्ठूला औषधी र मेडिकल ईक्वीपमेन्टको खरीदको त कुरै छोडौँ । यो सबै नजिकबाट हर्ने र देखाई देखाई खानेहरूको बीचको झगडामा प्रधानमन्त्री ओलीको नेतृत्वदायी भूमिका रह्यो। वहाँको भक्तिगानमा एउटा लेख लेख्ने देखि वहाँको अस्पताल बसाइमा एकपल्ट पिसावको थैली बाथरूम लगेर फ्याँकिदिनेसम्मले सत्ताको गतिलो रसस्वादन गरेको टुलुटुलु हेरेर बस्ने समूहले ३ वर्ष सह्यो । सहनशीलताको एउटा सीमा हुन्छ, ओलीले बुझ्नु भएन। उल्टै तिम्रो पालो यो प्रतिनिधिसभाको कार्यकालभरि आउँदैन भनेर पटक पटक सन्देश दिनु भयो।
धेरैले नेकपालाई एउटा दल मात्रै भन्ठान्छन। यो आफैँमा एउटा राज्य हो अर्थात प्यारालल स्टेट । यसको अलग्गै कर प्रणाली छ, कसलाई छुट दिने, कसबाट असूल गर्ने, कहाँ लगानी गर्ने, कसलाई करछलीमा समाउने, कसलाई उन्मुक्ति दिने भन्ने देखि प्राकृतिक स्रोत-जङ्गल, खोला, खोलाको गिट्टि बालुवा, सरुवा-बढुवा, तिनबाट हुने आम्दानी… यस्ता अनगिन्ति गतिबिधिको समग्र सञ्चालन भन्नु नै अहिलेको नेकपा सञ्चालन हो। यिसँग जोडिएका व्यापारी, काला-बजारी, तस्कर, कर्मचारी आदिको व्यवस्थापन र खटन-पटनले दलको काममा ठूलो हिस्सा ओघटेको छ। त्यसैले यो दल भन्दा बढि राज्य र राज्य भन्दा बढि आर्थिक साम्राज्य हो। यति कुरा बुझ्न नसक्ने कार्यकर्ताको ठूलो पङ्ति छ जसले अझै सामुहिकतामा विश्वास गर्छ, यो सबैलाई चलाकीपूर्ण ढाकछोपमार्फत आफ्नो कमरेडरी व्यवहार देखाउन विवस नेताहरूको ठूलै पङ्ति छ जसले वैयक्तिक सुखसुबिधामा कुनै कसर बाँकि राखेको छैन, र तिनका छोराछोरी अहिले सहरका ठूला मदिरालय, नर्तकीशालाका गौरवशाली सञ्चालक वा साइलेन्ट पार्ट्नर छन। सहरका अश्वेत व्यापारी र अर्बौको ठेक्का लिएर म्याद थप्दै वर्षौँ टार्ने ठेकेदारहरूको उचित व्यवस्थापनमा दलको ठूलो समय खर्च भएको छ। यि दुई सोच, व्यवहार र अवस्थालाई सन्तुलनमा राख्न नेताहरूले कोशिस गरे सकेनन। अर्थात आफूमा आएको मेटामोर्फोसिस वा रुप-गुणान्तरणलाई स्विकार गर्नै सकेनन।
खरानीरङ्गको कोट ह्याङ्गरमा झुण्ड्याइएको जस्तो शरीर लिएर संसद सचिवालयको छाप्रोमा झुण्ड-झुण्डमा यता उता गर्ने नेता-नेतृहरूले आफ्नै शरिर ऐनामा हेरे पनि यो तस्वीर छर्लङ्गै देखिन्छ। तर उनीहरू उषा मङ्गेश्करले जयदेवको सङ्गीतमा गाएको गीतमा भने जस्तै “झल्झली आँखामा….नयाँ नयाँ जवानी छन नयाँ नयाँ रङ्ग, आफ्नो रुप हेरी हेरी आफैँ हुन्छु दङ्ग” भएका छन। अहिलेको दुर्घटनाको कारक यही हो, हार्डवेयर र सफ्ट वेयरको बीचको कम्प्याटिबिलिटी प्रोब्लम।