नेपाली पूर्व तेक्वान्दो खेलाडीलाई कोरियामा सम्मान

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाका पूर्व अध्यक्ष राजु क्षेत्री त्यहाँको न्याय मन्त्रालयबाट सम्मानित हुनुभएको छ ।

अपराध रोकथाम र स्थानीय समूदायमा युवालाई सही मार्गदर्शन दिन महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै मन्त्रालयले क्षेत्रीलाई हालै सम्मान गरेको हो । कोरियाको न्याय मन्त्रालयमा सम्मानित हुने क्षेत्री सम्भवतः पहिलो नेपाली हुनुहुन्छ ।

सम्मानित भएपछि प्रतिक्रिया दिदै क्षेत्रीले कोरियाको दुई दशक लामो बसाईमा एकपछि अर्को सम्मान पाउनु, आफू र नेपालीका लागि पनि गौरवको विषय भएको बताउनुभयो । कानुन मन्त्रालयका निर्देशक जङ्गसङले सम्मानपत्र प्रदान गरी क्षेत्रीलाई बधाई र असल कोरियन समाज निर्माणमा सहकार्यकोे अपेक्षा प्रकट गर्नुभयो । नेपाली व्यवसायी क्षेत्रीलाई यस अघि पनि पोचान महानगरपालिकाले मानार्थ राजदूतमा नियुक्त गरेर सम्मान गरेको थियो ।

उहाँलाई सन् २०१३ मा सिउल नगरपालिकाले तेक्वान्दो खेलको विकासमा उत्कृष्ट योगदान गरेको भन्दै मानार्थ नागरिकता प्रदान गरेको थियो । कोरियन माझ नेपाली व्यावसायी भन्दा तेक्वान्दो खेलाडी, प्रशिक्षक र रेफ्रीबाट अझ बढी चिनिएका क्षेत्री छैठौ डान ब्याल्क बेल्टधारी हुनुहुन्छ । क्षेत्रीले सन् २०१४मा इन्चुनमा आयोजित १७ औ एशियन खेलमामा नेपालको तर्फबाट सहभागिता जनाउनु भएको थियो ।

खेल जीवनमा उहाँले अन्य दर्जनौ खेल प्रतियोगितामा प्रतिस्पर्धा गरेर अवार्ड र सम्मान हात पार्नु भएको छ । विश्व तेक्वान्दो महासंघले उहाँलाई अन्तर्राष्ट्रिय प्रशिक्षक र रेफ्रीका रुपमा मान्यता र सम्मान गरेको छ ।

कोरियामा स्थापित क्षेत्रीले नेपालको खेलकूद विकासका लागि बर्षेनी दर्जनौं तेक्वान्दो क्लब, एकेडेमीलगायतलाई खेल सामग्री तथा आर्थिक सहयोग गर्दै आउनु भएको छ ।