नेपाल थ्री नेसन्सकपको फाइनलमा

काठमाडौं, चैत १४ : गोलरहित बराबरी खेल्दा पनि नेपाल थ्री नेसन्सकपको फाइनलमा प्रवेश गरेको छ।

शनिबार दशरथ रंगशालामा भएको खेलमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेले। योसँगै पछिल्लो ६ प्रतियोगितामा नेपालले गोल गर्न सकेको छैन।

नेपाल बंगलादेशविरुद्धका लगातार पछिल्ला तीन खेलमा पनि गोल गर्न सकेको छैन। किर्गिस्तान यू २३ टिमविरुद्ध पनि गोलरहित बराबरी खेलेको थियो।

शनिबार बराबरी खेलेपछि नेपाल दुई अंकसहित दोस्रो स्थानमा रहेर फाइनलमा प्रवेश गरेको हो। बंगलादेश भने चार अंकसहित शीर्षस्थानमा रहेको छ।

बंगलादेशले पहिलो खेलमा किर्गिस्तानलाई हराएको थियो। नेपालले किर्गिस्तानसँगको खेल पनि बराबरीमा टुंग्याएको थियो।

दुई खेल बराबरी हुँदा नेपालले दुई अंक पाएको हो। त्यस्तै, नेपालसँग बराबरी खेलेको किर्गिस्तानले एक अंक मात्रै पाएको थियो।

नेपालले फाइनलमा प्रवेश गर्न बराबरी खेल्नुपर्ने थियो। नेपालले त्यसलाई आत्मसाथ गर्दै खेलेको थियो।

पहिलो हाफमा आक्रमक खेल खेलेको थियो। दोस्रो हाफमा भने रक्षात्मक बनेको थियो।

अब फाइनल खेल पनि नेपाल र बंगलादेशबीच हुनेछ।