अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी सुटआउटमा हरायो, फाइनलमा ब्राजिलसँग भिडन्त

कोपा अमेरिका अन्तर्गत आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ।

खेलको ७ औं लौटरो मार्टिनेजले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। पहिलो हाफमा अर्जेन्टिना एक गोलले अघि रहेको पनि दोस्रो हाफमा कोलम्बियाका लागि लुइस डियाजले ६१ औं मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए। त्यसपछि दुबै टीमले निर्धारित समयसम्म गोल फर्काउन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुग्यो।

पेनाल्टीमा ३-२ गोलअन्तरले अर्जेन्टिनाले जित्यो। अर्जेन्टिनाका लियोनल मेस्सी, लियोनार्डो परेडेज र लौटरो मार्टिनेजले गोल गर्दा रोड्रिगो डी पउल चुकेका थिए। उता कोलम्बियाका जुआन कुआड्राडोले र मिगुएल बोर्जाले गोल गर्दा येरी मिना र डेभिन्सन स्यान्चेज र एडविन कार्डोना पेनाल्टीमा चुकेका थिए।

जितसँगै अर्जेन्टिनाले फाइनलमा आयोजक ब्राजिलसँगको भेट सुनिश्चित गरेको छ। ब्राजिलले यसअघि नै सेमिफाइनलमा पेरुलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

कोपा अमेरिकाको फाइनल खेल आइतवार बिहान पौन ६ बजे सुरु हुनेछ।