क्रिकेट संघको निर्वाचन : अध्यक्षमा चन्द, अन्तराष्ट्रिय निलम्बन फुकुवा हुन आशा

काठमाडौँ, ११ असोज । साढे तीन वर्ष लामो अन्तर्रा्ष्ट्रिय निलम्बन भोगिरहेको नेपाल क्रिकेट सङ्घ (क्यान) को शनिवार सम्पन्न निर्वाचनमा चतुरबहादुर चन्द अध्यक्षमा विजयी भएका छन् ।

अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् आइसीसीले २०७२ सालमा क्यानलाई निलम्बन गर्दाका अध्यक्ष चन्दले पूर्वअध्यक्ष समेत रहिसकेका विनयराज पाण्डेलाई २९ मतको भारी अन्तरले पराजित गरेका हुन् ।

चन्दले ४४ मत प्राप्त गर्दा पाण्डेले जम्मा १५ मत मात्र प्राप्त गर्न सक्यो । सत्र सदस्यीय केन्द्रीय कार्यकारिणी समितिका लागि भएको निर्वाचनमा चन्द समूहको प्यानलले बहुमत प्राप्त गरेको बताइएको छ । निर्वाचनमा जिल्ला क्रिकेट सङ्घको ३९ र प्रदेशबाट २० प्रतिनिधि गरी ५९ जनाले मतदान गरेका थिए ।

कसको कति मत ?

चन्दको समूहबाट निर्वाचनमा सहभागी भएकाहरू उपाध्यक्षमा राजुबाबु श्रेष्ठ, सचिवमा अशोकनाथ प्याकुर्‍याल र कोषाध्यक्षमा रोशनकुमार सिंह विजयी भएका छन् ।

उपाध्यक्षमा श्रेष्ठले मिङ्मा डुण्डु शेर्पालाई ४१(१७ मतले, सचिवमा प्याकुर्‍यालले विनोद मैनालीलाई ४३(१५ मतले तथा कोषाध्यक्षमा सिंहले उपेन्द्र भट्टराईलाई ४५(१२ मतले पराजित गरेका हुन् ।

आईसीसीले खडा गरेको स्वतन्त्र समितिले राष्ट्रिय खेलकुद परिषद्‌को रोहबरमा क्यानको निर्वाचन गरेको हो । निर्वाचन पर्यवेक्षण गर्न आईसीसीका प्रतिनिधि काठमान्डूमा छन् ।

निर्वाचनपश्चात् नयाँ कार्यसमिति गठन भएपछि आईसीसीले नेपाल क्रिकेट सङ्घमाथि लगाँउदै आएको निलम्बन फुकुवा हुने भनिएकोले यो निर्वाचनलाई निकै महत्त्वका साथ हेरिएको छ ।

निर्विरोध

चार पदाधिकारीबाहेक १३ सदस्य पदका लागि भएको निर्वाचनमा भने ६ जना सदस्य निर्विरोध भएका छन् ।

प्रत्येक प्रदेशबाट एकजना सदस्य निर्वा्चित हुने प्रावधान अनुसार प्रदेश २ मा दाउद अन्सारी, प्रदेश ४ मा ऋषि गौतम, प्रदेश ५ मा प्रशान्त विक्रम मल्ल, प्रदेश ६ मा पदम खड्का र प्रदेश ७ विक्रम विष्टको एकल उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् ।

त्यस्तै एक महिला सदस्य पदमा जयन्ती भट्ट एक मात्र महिला सदस्य भएपछि उनी स्वतः निर्विरोध भइन् । प्रदेश १ र ३ मा भने दुई(दुई जनाको उम्मेदवारी परेको थियो ।

जसमा प्रदेश १ सदस्यमा कैलाश विष्ट ३७ मत प्राप्त गर्दा पराजित लाक्पा लामाले २१ मत पाए । प्रदेश ३ मा अमितवीर पाण्डे ३९ मत पाएर विजयी भए भने पराजित कैलाश प्रधानले १९ मत पाएका थिए ।

प्रदेशका उम्मेदवारलाई पनि ५९ जना प्रतिनिधिले मतदान गरेका थिए । खुला सदस्यहरूबाट ५ जना चुनिनेमा ११ जनाको उम्मेदवारी परेको थियो ।

जसमा वीरेन्द्रबहादुर चन्दले ३६, दुर्गाराज पाठकले ४२, करण महोत्रा क्षेत्रीले ३०, माधव कुमार कर्माचार्यले ३५ र संजयराज सिंहले ३४ मत पाइ विजयी भएका छन् ।

आईसीसीको नयाँ रोडम्याप अनुसार जिल्ला क्रिकेट सङ्घ, प्रदेश कमिटी र केन्द्रीय समितिको नयाँ ढङ्गबाट निर्वाचन भएको हो । निर्वाचन गर्नका निम्ति गठित पाँच सदस्यीय स्वतन्त्र समितिमा आईसीसीको तर्फबाट ३ तथा खेलकुद परिषद् र क्यानका तर्फबाट एकजना प्रतिनिधि छन् ।  

नयाँ निर्वाचनपछि क्रिकेटको निलम्बन फुकुवा हुने र पछिल्ला सबै समस्याको समाधान हुने क्रिकेट प्रेमीहरूले विश्वास गरेका छन् । बीवीसी