MENU
एउटा सानो घर
 : [views]
  Nov 19, 2017

 

उसले भनेको कुरा सुनेर मलाई हिन्दी चलचित्र शोलेको एक प्रमुख पात्रको संवादको सम्झना आएको थियो–गाँउ घरमा हामीहरूको विहे चाडो गरिदिन्छन् अनी हाम्रो विहे चाडो भएपछि छोराछोरी पनि चाडो हुन्छन् । अनी छोराछोरीको विहे चाडो गरेपछि नातीनातिना पनि चाडो हुन्छन् ।

 

कुरा उप्क्याउने हो भने यो प्रसङ्ग उसको उमेरसँगै आएको थियो । उसले आफ्नो उमेर जम्मा ३९ वर्ष मात्र भनेपछि घरमा श्रीमती एउटा छोरा एउटी छोरी र नातीनी समेत भएको बताएको थियो ।

 

मैले ’यति कम उमेरमा नाति नातिना !’ भनेपछि उसको त्यो जवाफ आएको थियो ।
उ रङ्ग रोगनको व्यवसायमा थियो, उ मात्र किन उसको श्रीमती र १७ वर्षीय छोरा दुबैले उसलाई त्यस व्यवसायमा सघाइ रहेका थिए ।

 

लाइमाको एक व्यापारिक महत्वको स्थानमा खुल्न लागेको नयाँ स्टोरमा उ आफ्नो श्रीमती र छोरा सहित रङ्ग रोगन गर्न व्यस्त थियो । उसको श्रीमती उभन्दा अली पाकी उमेरकी भएको उसलाई हेर्नासाथ जोकोहीले पनि अनुमान लगाउन सक्थ्यो ।
तर त्यो जोडीले म लगायत त्यहाँ भएका सबैको ध्यान आकर्षित गरेको कारण चाडी दुवैवीच देखिएको आपसी व्यवहार थियो ।

 

दुबैलाई आपसमा जिस्किएको हेर्दा लाग्थ्यो उनीहरू नाति नातिना भइ सकेका दम्पती नभएर प्रेमको अनुभूती भरखरै गरेका किशोर किशोरी हुन । कहिले काम गर्दा गर्दै श्रीमतीले उसको गालामा रङ्ग लगाइ दिन्थी त कहिले उसले एक्कासी आफ्नी श्रीमतीको चुल्ठो तानेर भाग्थ्यो । त्यसपछि उसको श्रीमतीले नक्कली क्रोध देखाउदै उसको पछी दुगुर्थी । केही वेरको भागदौडपछि दुबैले एकअर्कालाई अंगालो मार्दै वस्थे । यो दृश्य हामीसँग उसको छोराले पनि वडो आनन्द लिएर हेर्ने गथ्र्यो । अनी विश्रामको वेलामा दुबैले एक अर्काको पिठ्यूमा अडेस लगाएर आराम गर्थे । दुबैमा देखिने चञ्चलता भरखरै हृदयको ढुकढुकीमा रमाउन सिकेका किशोर किशोरीमा देखिनेभन्दा कम थिएन । मलाई त किशोर किशोरीवीचको प्रेममा आधारिक कुनै चलचित्र हेरी रहेको जस्तो भान भएको थियो ।
दुबैवीचको प्रेम देखेर उनीहरूसँग कुरा गर्न तम्सिएको थिए ।

 

‘के गर्ने उ पहिलो ग्रेडमा हुदा म सातौँ ग्रेडमा थिए’ उसकी श्रीमती भन्दै थिइ–पहिला केटाकेटी भनेर मायाँ लागेर स्कुल आउदा जाँदा ख्याल गर्थेँ पछि खै कुन वेला हो माँया वसि सकेछ आफैलाई थाहा भएन ।

 

‘हामी छिमेकी पनि थियौँ’ चेप (उसको श्रीमान)ले भन्यो–उनको र मेरो घर साँधमा थियो । आउने जाने त सानै देखि थियो । तर मेरो जीवनको एक मात्र ‘क्रश’ उनी नै थिइन् ।

 

त्यसपछि त विशेषगरी चेपले आफू नजिक आउन वहाना मात्र खोज्ने गरेको उसले वताइ । के गर्ने पहिला पहिला त केटाकेटीको कौतुहल हो जस्तो लाग्यो, पछि कुरा स्पष्ट हुदासम्म त मेरो हालत पनि उसको जस्तै भइ सकेको थियो ।

 

उनीहरूको प्रेमवीच न त उमेरको फरक आयो न त दुवैको घर परिवार नै ।
उनीहरूले विधिवत विहे गरेको १२ वर्ष भए पनि धेरै अगाडिबाटै सँगै वस्दै आएका थिए ।

 

‘पहिला त मलाई निकै अप्ठेरो जस्तो लागेको थियो । उमेरको फरकसँगै विचारको फरक नहोस भनेर निकै प्रार्थना गरेको थिए ।’ कोठाको भित्तामा रङ्ग पोती रहेको आफ्नो श्रीमान तर्फ निकै प्रेम पुर्वक हेर्दै उसले भनी–हुन त मैले निकै पहिले देखी नै चिनको मान्छे हो, तर पनि सँगै वसेका त थिएनौ नी हामी, त्यसैले सम्बन्धको भविश्यलाई लिएर मनमा एक किसिमको डर भने थियो ।

 

अहिले आफ्नो निर्णय ठीक भए जस्तो लाग्छ की लाग्दैन भन्ने मेरो प्रश्नको जवाफमा उसले मुस्कुराउदै भनी–एकापसमा प्रेम भएपछि सँगै वस्ने भन्ने कुरा कुनै ‘निर्णय’ होइन, त्यसलाई निर्णय भन्न मिल्दैन । किनभने निर्णय गर्नका लागि त विकल्प हुनु पर्छ यो वा त्यो । तर प्रेम भइसकेपछि हामीसँग सँगै वस्नु वाहेकको विकल्प नै थिएन ।
त्यो सबै त अघिल्लो दिनको कुरा थियो । त्यस दिन म ति दम्पत्तीसँग कुरा गर्दा दुबै निकै गम्भिर थिए ।

 

‘हाम्रो चिन्ता भनेकै हाम्री छोरी हो ।’ चेप भन्दै थियो–२१ वर्षकी मेरी छोरीको अनुहारबाट हाँसो हराएको छ ।
उसकी छोरी भारी जीउकी भएपछि व्वायफ्रेन्डले छाडेर गएको रहेछ । अहिले उ पनि आफ्नी आमा वावुसँग वस्दी रहिछे ।

 

‘हामीले त भनी रहेका छौँ । अब आफ्नो जीवनमा अगाडि बढ भनेर । तर मान्ने हो र’ चेपले भन्यो–उ त आफ्नो व्वायफ्रेन्ड वाहेक अरुको वारेमा सोँच्न पनि सक्दिन रे !
‘उसको भनाइ अरुका लागि अनौठो लागे पनि हामीलाई भने लाग्दैन ।’ यसो भन्दा चेपको श्रीमतीको आँखा रसाएका आएका थिए ।

 

‘जव कसैसँग सच्चा प्रेम हुन्छ नी, त्यतिवेला संसारमा अरुको अस्तित्वसँग मतलव हुदैन, आफूलाई मन परेको मानिसको हजार गल्ति माफ !’ उसले अगाडि भनी ।
छोरीको स्थिति देखेर वेला वेलामा आफूहरू रुने गरेको उनीहरूले वताए ।

 

‘तर रुन पनि हामी पालै पालो रुन्छौँ ।’ चेप तिर फर्केर रुञ्चे हाँसो हास्दै उसकी श्रीमतीले भनी–एक जना सम्झाउने मानिस पनि त चाहियो नी हैन ।

 

ओहायो राज्यमा जन्मे पनि चेप हुर्केको भने फ्लोरिडामा रहेछ । त्यसेले आफूर्लाइ ओहायोको जाडो मन नपर्ने उसले बताएको थियो ।

 

‘फ्लोरिडामा एउटा सानो घर वनाउने मेरो सपना छ ।’ उसले कुरैकुरामा त्यस दिन भनेको थियो–मैले कहिले पनि ठूलो महल किन्ने सपना पालीन । मानिस जव एउटा सानो घरमा खुसी हुन सक्छ भने ठूलो भवनको कुनै आवश्यकता छैन ।

 

वडो दार्शनीक पारामा उसले भनेको थियो–खुसी ठूलो कुरा हो । मेरा सपना पनि धेरै छैनने त्यसैले मलाई खुसी हुन त्यति गहारो छैन ।
‘तर पहिला छोरीको केही टुंगो लागोस त्यसपछि छोरा १८ वर्षभएपछि उ आफ्नो वाटो लाग्छ । अनी हामी वुढावुढीले फ्लोरिडामा एउटा सानो घर किनेर वस्ने योजना वनाएका छौँ ।’

 

Comments

NIC Asia