MENU
लोकभाकाको बर्ष २०७५
 : [views]
  Apr 12, 2019
  • 15
    Shares

‘सालको पात टपरी हुनी हे बरै नहुनी सल्लैको
तिम्रो माया कति छ कति नलाउ पछि हल्लैको’

 

नवराज पन्तको शब्द र वसन्त थापाको संगीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीले गाएको लोकभाकाको गीत यो वर्ष सर्वाधिक चर्चामा रह्यो। छ महिनाअघि सार्वजनिक भएको दोहोरी शैलीको यो गीत अहिले पनि पूर्वदेखि पश्चिमसम्मका विवाह, पार्टी, पिकनिकमा घन्किरहेको हुन्छ।

 

अभिनेत्री मरिष्का पोखरेल, गायक कुलेन्द्र र वसन्त थापाले अभिनय गरेको भिडियो २०७५ असोज १मा वसन्तको युट्युब च्यानलबाट सार्वजनिक भएको थियो। त्यसयता यो भिडियो लगभग चार करोडले हेरिसके।

फनफनी घुम्याको कम्मरमा

बैना माग्ने धेरै आए पहिलो नम्बरमा

फिल्म ‘छक्का पञ्जा–३’ का लागि राजेन्द्र थापाको शब्द र दीपक शर्माको संगीतमा डेविड शंकर र बिन्दु परियारले गाएको गीत पनि यस वर्ष विभिन्न पार्टी र रमाइलो जमघटमा खूब बज्यो। लोकभाकामा तयार पारिएको मायाप्रेम झल्काउने यो गीतमा फिल्मका मुख्य कलाकार देखिएका थिए। २०७५ को साउन १४मा युट्युबमा सार्वजनिक भएको गीतको भिडियो साढे तीन करोडभन्दा बढीले हेरिसकेका छन्।

दाह्री फुले बैँसमा चस्मा लाउँछौ पावर
दुई दिन गाउँमा बस्दैनौ सुइँकिहाल्छौ लाउर

 

बैँसमा मायालुलाई छाडेर लाहुर जाने युवाको कथा भन्ने लोकभाकाको गीत ‘पिरिम नलाउने’ यो वर्ष धेरै युवायुवतीले मन पराए। दीपक शर्माको शब्द÷संगीतमा आशिष गौतम ‘सचिन’ र मेलिना राईले गाएको गीत चर्चित रह्यो। ‘आरोही’ एल्बमको यो गीतको भिडियो २०७५ असोज २३मा सार्वजनिक भएको थियो। सुव्रत आचार्यको निर्देशनमा वर्षा राउत, गायक आशिषको अभिनय रहेको भिडियोलाई पनि साढे तीन करोडभन्दा बढीले हेरिसकेका छन्।

बोल माया एक वचन बोल
तिम्रै बोली छ मलाई अनमोल

परिवार र आफ्नो जीविकोपार्जनका लागि परदेश जान बाध्य धेरै नेपालीको दुःखको कथा बोकेको लोकभाकाको गीत ‘बोल माया’ पनि यो वर्ष नेपालीले रुचाए। गायक प्रकाश सपुतको शब्द÷संगीत रहेको गीतमा प्रकाशसँगै नारायण रायमाझी र शान्तिश्री परियारले स्वर दिएका छन्। २०७५ जेठ ३मा सार्वजनिक भएको गीतको भिडियो हालसम्म एक करोडभन्दा बढी पटक युट्युबमा हेरिएको छ।

 

२०७५ सालभित्र सार्वजनिक भएका केही गीतलाई हेर्दा थाहा हुन्छ, यो वर्ष लोकभाकाको वर्चस्व रह्यो। संगीतकर्मीले मायाप्रेम, दुःखपीडा, व्यंग्यात्मक गीतलगायत सबैमा लोकभाका मिसाए। लोकभाकाका गीतका भिडियो पनि अत्यधिक हेरिए। लोकभाकाप्रति स्रोता÷दर्शकको चासो बढेकैले यस वर्ष फिल्मका गीत मात्र होइन, एल्बमका गीत, सिंगल ट्र्याक गीत सबैतिर लोकभाका छायो।

 

फिल्ममा पनि लोकभाका

लोकभाका अहिलेका फिल्मकर्मीको रोजाइ बनेको छ। यो वर्ष निर्माताहरूले लोकभाकाका गीतलाई दर्शक तान्ने अस्त्रका रूपमा प्रयोग गरे। कतिपयले फिल्मको सुटिङ सुरु हुनुअघि नै लोकभाकाको एउटा गीतको भिडियोसमेत रिलिज गरे। २०७५ सालमा रिलिज भएका ९६ नेपाली फिल्ममध्ये धेरैमा एउटा न एउटा लोकभाकाको गीत अटायो। राम्रै खर्च गरेर तामझाम सहितको भिडियो बनाएर, त्यसलाई फिल्मको प्रचार गर्ने माध्यम बनाए निर्माताले। त्यही एक गीत हेरेको भरमा हलसम्म पुग्ने दर्शक पनि रहे।

 

२०७५को वैशाखमा रिलिज फिल्म ‘कोहलपुर एक्सप्रेस’को गीत ‘सीओडब्लू काउ’ दुई महिनाअघि नै रिलिज गरिएको थियो। असोजमा रिलिज फिल्म ‘जय भोले’का लागि राजनराज सिवाकोटी र मेलिना राईले गाएको ‘उम्लियो भने पोखिन्छ’ जेठमै सार्वजनिक भएको थियो।

 

यो वर्ष सार्वजनिक भएको फिल्म ‘चंगाचेट’का लागि राजनराज शिवाकोटी, मेलिना राई र गृष्मा शिवाकोटीले गाएको ‘गोजीमा दाम छैन’, रेखा थापाको फिल्म ‘मालिका’का लागि नारा कार्कीको शब्द, सुरेश अधिकारीको संगीत र अञ्जु पन्तको स्वर रहेको गीत ‘हल्का माया’, फिल्म ‘सुश्री सम्पत्ति’का लागि सुरेश अधिकारीको शब्द,संगीतमा मेलिना राई र विशाल राईले गाएको ‘हुकुम बक्सियोस्’ सबै लोकभाकामै आधारित थिए।

 

धेरै फिल्मका लागि लोकभाकाका गीत बनाएका र गाएका राजनराज शिवाकोटी लोकभाकाले सबैको भावना छुने भएकाले स्रोताले मन पराएको बताउँछन्। ‘पहिला लोकभाकालाई वास्ता गरिएको थिएन,’ उनी भन्छन्, ‘अहिले लोकलाई आधार बनाएर गाउन थालिएपछि सबैले मन पराएका हुन्।’

 

लोकभाकाका एउटै गीतका लागि निर्माताहरू लाखौँ खर्च गर्न तयार हुन्छन्। फिल्ममा लोकभाकाको माग बढेपछि गायक÷संगीतकारको आम्दानी पनि बढ्यो। यस्ता गीत तयार पार्नका लागि चलेका गायक÷संगीतकारले एउटा लोकभाकाको गीत बनाएको दुई लाख रुपैयाँसम्म लिने गरेका छन्।

 

तर, एकै किसिमका गीत आइरहँदा स्रोता दिक्क भएर अरू गीततिर आकर्षित हुने सम्भावना पनि बढ्दै गएको कतिपय फिल्मकर्मीको भनाइ छ। संगीतकार वसन्त सापकोटा सबैले एकै किसिमका गीत राख्न खोज्दा समस्या आउन सक्ने बताउँछन्। भन्छन्, ‘अरू फरक शैलीका गीत आउनु आवश्यक छ,’ उनी भन्छन्, ‘संगीतको बजारमा विविधता भए मात्र बजार दिगो हुन्छ।’

 

लोकमा र्‍याप

अहिले बजारमा प्रकाश सपुत र प्रीति आलेको ‘दोहोरी ब्याटल–२’ चर्चामा छ। युट्युब ट्रेन्डिङमा केही दिनदेखि पहिलो नम्बरमा रहँदै आएको यो गीत र्या‍प ब्याटलको शैलीमा गाइएको छ। यसअघि पनि प्रकाश र प्रीतिले ‘दोहोरी ब्याटल’ भनेर ‘सररर’ बोलको गीत ल्याएका थिए। त्यसै बेला धेरैले लोकदोहोरी क्षेत्रमा विकृति ल्याएको भन्दै गाली गरे। दोहोरी भन्नेबित्तिकै लोकदोहोरी बुझिने गरेकाले यो गीतको विरोध भयो। विकृति निम्तिएको कुरा उठेपछि गायक प्रकाश सपुतले आफ्नो युट्युब च्यानलमा लेखेका थिए, ‘यो लोकदोहोरी गीत होइन। दोहोरीको शैलीबाट प्रभावित भए पनि यसमा लोकदोहोरीको जस्तो थेगो (रहनी) र बाजा प्रयोग गरिएका छैनन्। त्यसैले यसलाई दोहोरी ब्याटल नाम दिइएको हो।’

 

लोक र दोहोरीका नाममा विभिन्न प्रकारका गीत सार्वजनिक भइरहँदा वरिष्ठ लोकगायक कुमार बस्नेत चाहिँ चिन्तित छन्। उनी अहिले लोक भनेर बजारमा आएका अधिकांश गीतमा लोकको भाव नै नरहेको बताउँछन्। भन्छन्, ‘जस्तो गीत गाए पनि लोकगीत भनिन थालिएको छ। त्यस्ता गीतले लोकको मर्म बोक्दैनन्।’

 

खर्चिलो भिडियो, महँगा मोडल

यो वर्ष नेपाली गीत र तिनका भिडियोमा खर्च गर्ने क्रम पनि बढेको देखियो। यो वर्ष एउटा भिडियोका लागि १५ लाख रुपैयाँसम्म खर्च भयो। सचिन रौनियारको गीत ‘ए मान्छे’को भिडियोमा करिब १५ लाख रुपैयाँ खर्च गरिएको थियो। यो भिडियोका निर्देशक सुव्रत आचार्य अहिले बजारमा खर्च अनुसारका भिडियो बन्ने गरेको बताउँछन्। ‘ए मान्छे’मा हेलिकप्टरको सुट गर्नुपरेकाले खर्च बढेको उनी बताउँछन्। भन्छन्, ‘अहिले कलाकारको पारिश्रमिक महँगो छ। राम्रो भिडियो बनाउन त्यही अनुसारको खर्च गर्नुपर्छ। त्यसले कलाकारलाई फाइदा पु¥याएको छ।’

 

भिडियोमा चलेका मोडलले यो वर्ष एक लाख रुपैयाँभन्दा माथि पारिश्रमिक लिए। त्यसरी पारिश्रमिक लिनेमा एलिशा राई, प्रियंका कार्की, पुष्प खड्का, पल शाह, निराजन प्रधानलगायत पर्छन्। मोडल निराजन प्रधान आफूले यो वर्ष एउटा गीतको ८० हजारदेखि १ लाख २० हजार रुपैयाँसम्म लिएको बताउँछन्। ‘महिनामा करिब १० वटा भिडियोको अफर आउँछ,’ उनी भन्छन्, ‘त्यसमध्ये छानेर दुईतीन वटामा काम गर्छु। यो क्षेत्रमा धेरै वर्ष मेहनत गरिएको छ। सधँै पहिलेकै रेटमा काम गर्न सकिँदैन।’

 

केही कलाकारले एउटा भिडियोको १ लाख ५० हजार रुपैयाँसम्म लिएका छन्। कलाकारको पारिश्रमिक बढेसँगै भिडियोको लगानी बढेको बताउँछन् निर्देशक शान थापा। कलाकारले एउटा भिडियोको चार लाख रुपैयाँसम्म लिएको उनी बताउँछन्। भन्छन्, ‘मेकिङमा करिब दुई लाख खर्च हुन्छ, अरू खर्च कलाकारको पारिश्रमिकमा जान्छ।’

 

यो वर्ष ३ लाख ५० हजार रुपैयाँसम्म खर्च भएका भिडियो धेरै बने। अहिले नेपालमा दैनिक छ÷सात वटासम्म भिडियो बनिरहेको निर्देशकहरू बताउँछन्। त्यसमध्ये रहरले यो क्षेत्रमा लगानी गर्नेको संख्या ठूलो छ। पछिल्लो समय दीपक वज्राचार्यको ‘मन मगन’, आशिष सचिनको ‘पिरिम नलाउने’ जस्ता गीतको भिडियो निर्देशन गरेका सुव्रत ती भिडियोले चर्चा पाएपछि चर्चा सेलाइसकेका दीपक र सचिन अहिले व्यस्त बनेको दाबी गर्छन्। भन्छन्, ‘खर्च धेरै गर्दैमा भिडियो राम्रो हुन्छ भन्ने चाहिँ हुँदैन। गीतले मागेअनुसार खर्च गर्न सक्नुपर्छ।’
-अन्नपूर्ण -सम्पूर्ण


  • 15
    Shares
  •  
    15
    Shares
  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

NIC Asia