MENU
लोप हुँदै मोरङका सिमसार
 : [views]
  Feb 16, 2019

 

विराटनगर, ४ फागुन : जलवायु परिवर्तनका कारण मोरङलगायतका तराईका जिल्लामा रहेका सिमसारहरु लोप हुँदै गएका छन् । भौतिक विकासको तीव्र माग र अदूरदर्शी योजना कार्यान्वयनले गर्दा यी पोखरीको महत्व घट्दै, पोखरी पुरिँदै, सुक्दै, अन्य उपयोगमा जाँदै मासिँदै गरेका छन् ।

मोरङमा हाल १९ वटा सिमसारको पहिचान भइसकेको छ । तिनमा सुन्दरहरैंचाको हसिना र वागदेवी सिमसार, उर्लावारीमा रहेका सालबारी, वेतेनी र सुनझोडा सामुदायिक वन सिमसार, पथरीमा रहेका भुल्के, जालपादेवी, श्रीजङ्गा, बाघेखाडी र सुन्दर सामुदायिक वन सिमसार पर्दछन् । मधुमल्लाका कतले बेतिनी र देवीथान सिमसार रहेका छन् । त्यसैगरी वेतना सिमसार (बेलवारी), झलझली सिमसार (डाँगीहाट), कानेपोखरी भलुवा सिमसार (वयरवन), धनपाल गढी सिमसार (कसैनी) रहेका छन् । यसबाहेक बजरङ सिमसार (ग्रामथान तेतरिया), सिमसार (पथरी), राजारानी सिमसार (लेटाङ), र गरापानी सिमसार लेटाङ छन् ।

दिगो संरक्षणका लागि यी क्षेत्र वरिपरिको वन जङ्गल र प्राकृतिक भू–उपयोगलाई विनाश एवं परिवर्तन नगरी हामीले गर्ने भौतिक विकासका क्रियाकलापलाई वातावरणमैत्री कायम गर्दै सिमसारको संरक्षण गरिनु अपरिहार्य भएको छ । विद्यमान कुवा, दह, पोखरी र सिमसारमा जम्मा हुने पानीको मुख्य स्रोतको रुपमा रहेका बेतना सिमसार, हसिना सिमसार, धनपालथान ऐतिहासिक पोखरीलगायतका जिल्लाभरि रहेको सानाठूला पानीका महत्व बोकेका सिमसार क्षेत्रको वरपरको वन जङ्गलको दिगोे संरक्षण र व्यवस्थापनको खाँचो औँल्याइएको छ ।

मोरङ जिल्लाअन्तर्गत रहेका सिमसारको संरक्षण र प्रवद्र्धन गर्नका लागि डम्बर बस्नेतको अध्यक्षतामा १९ सदस्यीय सिमसार संरक्षण तदर्थ समिति निर्माण भएको छ ।

वेतना सिमसार क्षेत्रका अध्यक्ष डम्बर बस्नेतले १७४ दशमलव ९१ हेक्टर जग्गा रहेको यो सिमसारलाई व्यवस्थित गर्न तत्काल रु १५ करोड खर्च गर्न सकियो भने यसैको माध्यमबाट आयआर्जन गरी २० वर्षे गुरुयोजना बनाई व्यवस्थित, सुन्दर र राम्रो बनाउन करीब रु दुई अर्ब खर्च गर्न सकिन्छ ।

उहाँका अनुसार यस सिमसारबाट अहिले वार्षिक रु एक करोड भन्दा बढी आम्दानी भइरहेको छ । मानिसलाई मनोरञ्जन दिनुका साथै आम्दानी स्रोत बनाउन सकिने र प्राकृतिक सम्पदाको संरक्षण गर्न मद्दत पुग्ने उहाँको रहेको छ ।

बजरङ सिमसार क्षेत्रका सचिव राम विश्वासले लगभग १० बिगाहा जग्गामा रहेको यो सिमसारलाई तत्काल संरक्षणका काम गर्नुपर्ने आंैल्याउनुभयो । उहाँले जिल्ला वन कार्यालयबाट यसवर्ष खाली जग्गामा छ हजार बोटबिरुवा रोपिएको जानकारी दिँदै अब मन्दिर बनाउन, घेराबार लगाउन र नजिकैको नदीमा तटबन्ध गर्नुपर्ने खाँचो रहेको छ भन्नुभयो ।

डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले कमै मुलुकमा पाइने सिमसार हाम्रो देशमा प्रशस्त रहेकाले यसलाई समयमै संरक्षण, सम्बद्र्धन, व्यवस्थित गर्न सकियो भने सुन्दर र दिगो पर्यावरणीय भविष्यमा सुनिश्चिताका लागि बुद्धिमत्ता हुने छ भन्नुभयो ।

पूर्ण रुपमा पानीले भिजेको क्षेत्र, प्राकृतिक रुपले बनेको तथा कृत्रिम रुपले बनाइएको, स्थायी वा अस्थायी रुपले जमेको पानी, जमीनमुनिको पानी वा वर्षाले जमेको अथवा बगेको पानीको क्षेत्र नै सिमसार हो । सिमसारले पानीको भण्डारण र सफाइ, जैविक विविधताको आश्रय स्थल, खाद्यान्न औषधि र जडीबुटी, दैनिक उपभोग्य वस्तु, सांस्कृतिक धार्मिक र ऐतिहासिक पर्यटकीय स्थल आदिको उपयोगिता प्रदान गरेको हुन्छ ।

मानव र यो विश्वकै लागि सिमसारको महत्वको बारेमा विश्वव्यापी सचेतना जगाउनका लागि प्रत्येक वर्ष फेब्रुवरी २ मा ‘विश्व सिमसार दिवस” मनाउने गरिन्छ । यस वर्षको ‘हामी जलवायु परिवर्तनविरुद्ध शक्तिहीन छैनौं’ नाराले मानव जीवन र जलवायु परिवर्तनमा सिमसारको महत्वको बारेमा उजागर गर्न खोजेको छ । जलवायु परिवर्तनको असर कम गर्न सिमसारको महत्वपूर्ण योगदान रहेको हुन्छ ।

सिमसारमा हुने बिरुवा र वनस्पतिले घरायसी तथा औद्योगिक फोहर छान्ने फिल्टरको काम गरी पानीको गुणस्तर सफा राख्न मद्दत गर्दछ । सिमसारले पर्यावरणलाई अझ वातावरणमैत्री बनाई बस्नयोग्य बनाउँछ र हराभरा स्थान दिएर मनोरञ्जन प्रदान गरेको हुन्छ ।

विभिन्न पक्षी, उभयचर, किरा, माछा र जनावरको वासस्थान प्रदान गरेर सिमसारले जैविक विविधता संरक्षणमा पनि ठूलो मद्दत गरेको छ । जनसङ्ख्या वृद्धिसँगै भइरहेको जलवायु परिवर्तनले सिमसारमाथिको अतिक्रमण पनि बढिरहेको छ ।

सिमसारलाई फोहर वस्तु र पानी विसर्जन स्थल, गौचरन, खेर गएको र अन्य उपयोगको जग्गाको रुपमा लिने गरिएको छ । उपयुक्त मर्मतसम्भार र संरक्षण गरिएमा सिमसारले जलवायु परिवर्तनलाई निरुत्साहित गरी यसबाट हुने जोखिमबाट बची वसोवास क्षेत्रलाई बहुउपयोगी आर्थिक, सामाजिक, सांस्कृतिक, मनोरन्जनात्मक, शैक्षिक, अनुसन्धानात्मक लाभ दिन सक्दछ ।

अवको मानवले जलवायु परिवर्तन र यसबाट हुने जोखिमको बारेमा बुझ्न जरुरी छ र जलवायु परिवर्तन न्यूनीकरण हुने खालका नीति र क्रियाकलाप अवलम्बन गर्न सङ्घीय सरकार, स्थानीय तह र प्रदेश सरकार लागि पर्नुपर्दछ ।

सिमसार संरक्षणमा प्रतिबद्धता जनाउँदै नेपाल सरकारले विश्वका सिमसार संरक्षण गर्ने सम्बन्धी इरानको रामसार भन्ने स्थानमा सन् १९७१ मा सम्पन्न विश्व सम्मेलनबाट पारित “रामसार महासन्धि” लाई सन् १९८८ मा अनुमोदन गरेको थियो । यस महासन्धिका १६९ वटा पक्ष राष्ट्र छन् र जम्मा दुई हजार २९३ वटा सिमसार सूचीकृत छन् ।

हाल विश्वको जमीनको ४ देखि ६ प्रतिशत भू–भाग सिमसारले ढाकेको छ । नेपालमा जम्मा जमीनको करीब ५ प्रतिशत क्षेत्र सिमसारले ढाकेको छ । नेपालका १० वटा महत्वका ताल, पोखरी र सिमसार क्षेत्र हालसम्म रामसार सूचीमा सूचीकृत छन् भने त्यसमध्ये तीन वटा सोलुखुम्बुको गोक्यो ताल, इलामको माइपोखरी र सुनसरीको कोशी टप्पु प्रदेश नं १ मा रहेका छन् ।

सन् २०१४ मा राष्ट्रिय सिमसार नीति २०६९ जारी भएपछि नेपालमै पनि सिमसार क्षेत्रबाट पानी संरक्षण, वनस्पति, माछा, उभयचर, अन्य जनावरको वासस्थान, जनजातिका लागि खाद्यान्न, दैनिक जीविकोपार्जनको लागि आम्दानी, रोजगारी, सांस्कृतिक र धार्मिक महत्व, पर्यटन प्रवद्र्धन, कार्बन सञ्चितीकरण लगायतका महत्वपूर्ण लाभ प्राप्त गर्न राज्यस्तरबाट विभिन्न कामहरू भइरहेका छन् । –मोहम्मद सदरुल (रासस) 

Comments

NIC Asia