MENU
‘म श्रीमतीको तेस्रो सन्तान’
 : [views]
  Mar 13, 2019

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा आफूलाई श्रीमती कविताको तेस्रो सन्तानजस्तो ठान्छन्। राजनीतिदेखि जीवनका हरेक क्षेत्रमा उनले श्रीमतीको भरपूर साथ र समर्थन पाएका छन्।


मेरो जन्म २०२७ सालमा झापामा भएको हो। हजुरआमा–हजुरबुबासहितको हाम्रो ठूलो परिवार थियो। मेरो बिहे ३० वर्षको उमेरमा कविता शर्मासँग भयो। हामीले विवाहअघि नै एकअर्कालाई चिनेका थियौँ।

 

आमाबुबा बितिसक्नुभयो। अहिले मेरो श्रीमती, छोरी स्वीकृति र छोरा शीर्षकको सानो परिवार छ। छोरी १४ वर्षकी छिन्, छोरो छ वर्षको छ।

 

मैले झापाको मेची क्याम्पसबाट अर्थशास्त्र र इतिहासमा स्नातक गरेँ। त्यसबेला स्कुल, परिवार, समाज तीनटै ठाउँको वातावरण र मनोविज्ञान पञ्चायतविरोधी थियोे। २०३६ सालमा जनमत संग्रह भयो। जनमत संग्रहको प्रभावले बहुदल र निर्दल छुट्टिसकेको थियो। त्यतिखेर म कक्षा आठमा पढ्थेँ।

 

मभन्दा माथिल्लो कक्षामा पढ्ने दाइदिदीहरूले मलाई स्कुलको सभापति बनाउनुभएको थियो। यसरी मैले विद्यार्थी जीवनमा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेको हुँ। मेरो परिवार पनि राजनीतिक थियो।

 

बुबा कांग्रेसको कार्यकर्ता हुनुहुन्थ्यो। पञ्चायतकालमा उहाँले तीन वर्ष जेलमा बिताउनुभयो। २०४०÷४२ सालतिर मेरा कान्छा काका चन्द्र भण्डारी अनेरास्ववियुका राष्ट्रिय अध्यक्ष हुनुभएको थियो। अर्का काका याम भण्डारी पनि कांग्रेसको कार्यकर्ता भएर लामो समय जेलमा बस्नुभएको थियो। हाम्रो पारिवारिक वातावरण राजनीतिक थियो।

 

सामाजिक वातावरण पनि त्यस्तै थियो। झन् स्कुलको चेतनशील वातावरणको प्रभावले पञ्चायत ढाल्ने चेतना ममा भरिएको थियो। यो व्यवस्था रहँदासम्म हाम्रो देश, गाउँ, समाज राम्रो हुँदैन भन्ने लाग्यो। प्रजातन्त्र चाहिन्छ भन्ने कलिलो मनोविज्ञान थियो। त्यही मनोविज्ञानबाट राजनीतिमा प्रवेश गरेँ।

 

परिवारमा कोही कांग्रेस थियौँ, कोही कम्युनिस्ट। तर, हामी सबैमा समाज बदल्नुपर्छ भन्ने भावना थियो। प्रजातन्त्र स्थापित हुनुपर्छ, जनताले अधिकार पाउनुपर्छ भन्नेमा हामी एकमत थियौँ। मेरा परिवारका प्रायः अग्रज जेल बस्नुभयो। यसले पनि मलाई राजनीतिमा लाग्न प्रेरित गर्‍यो।

 

परिवारलाई समय दिन्छु

कतिपय राजनीतिकर्मी साथी चाडपर्व, जन्मदिनमा परिवारलाई समय दिन नसकेको गुनासो गर्छन्। म चाहिँ त्यस कुरालाई गलत भन्छु। पञ्चायतकालमा पो प्रवासमा बस्नुपथ्र्यो, जेलमा लामो समय बस्नुपथ्र्यो। विवाह गर्न भ्याइँदैन थियो होला।

 

परिवारलाई समय दिन भ्याइँदैन थियो होला। तर, अहिले त्यो अवस्था छैन। जिम्मेवार राजनीतिकर्मीले परिवारलाई समय दिनुपर्छ। म मेरो परिवारलाई एकदमै समय दिन्छु। राजनीतिकर्मी भएपछि सामाजिक काममा बढी कुद्नुपर्छ। समय व्यवस्थापन गरेर परिवारलाई समय दिने गरेको छु।

 

काठमाडौँ बस्ने भए पनि छोराको जन्मदिनमा घर पुग्छु। प्रेम दिवस परिवारसँग मनाउँछु। चाडपर्वमा परिवारसँग हुन्छु। समस्या वा अप्ठ्यारो पर्दा परिवारलाई साथ दिन्छु।

 

परिवारसँग घुमघाम

समय निकालेर हामी विभिन्न ठाउँ घुम्न जान्छौँ। परिवारसँग विभिन्न जिल्ला घुम्न गएको छु। सोलुखुम्बु, ताप्लेजुङ, पोखरा, बाग्लुङलगायत ठाउँ परिवारसँगै पुगेको छु। परिवारको साथमा विदेश पनि घुम्न जाने गरेको छु।

 

अमेरिकाको राष्ट्रपतिको निर्वाचन अवलोकन भ्रमण गर्न जाँदा कवितालाई पनि सँगै घुमाउन लगेको थिएँ। वर्षमा एक पटक कुनै न कुनै ठाउँमा योजना बनाएर घुम्न जान्छौँ नै। सिक्किम, दार्जिलिङ, दोहा आदि ठाउँमा पुगेका छौँ।

 

परिवारको महत्त्व राजनीतिमा रहेका मानिसले मात्र नभई समाजका हरेक मान्छेले बुझ्नु जरुरी छ भन्ने लाग्छ। मानिसको शक्तिको महत्त्वपूर्ण आधार नै परिवार हो। पारिवारिक प्रेम, एकता र उत्साहले उसलाई ऊर्जा दिन्छ।4

 

मेरी सरल–सबल श्रीमती

मेरी श्रीमती बिहेअघि राजनीतिमा लागेकी थिइनन्। विवाहपछि पनि उनले राजनीतिमा चासो देखाइनन्। विवाह गर्दा उनी शुद्ध काँचो माटोजस्ती थिइन्। उनलाई राम्रो मूर्ति बनाउन सकिन्छ भन्ने मैले कल्पना गरेको थिएँ। उनी राजनीतिमा नभए पनि उनलाई राजनीतिमा चासो छ। राजनीति बुभ्mछिन्।

 

राजनीति गर्ने व्यक्तिलाई पर्ने अप्ठ्यारा बुझ्छिन्। काम परेपछि कुनै पनि समय घरबाट बाहिर जानुपर्ने हुन्छ। कहिले ढिलो घर आइन्छ, कहिले घर आउन सकिँदैन, कहिले दर्जनौँ साथीसँग आउन सकिन्छ। यी र यस्ता कुरा उनले बुझ्छिन्। सहजतापूर्वक लिन्छिन्।

 

हामीबीच खासै झगडा हुँदैन। विवाह गर्नुअघि नै उनले मलाई राम्रोसँग बुझेकी थिइन्। मेरो व्यस्तता बुझेकी थिइन्। त्यही व्यस्तताको बीचबाट मैले मेरो परिवारलाई समेट्नुपर्छ भन्ने प्रतिबद्धता र जिम्मेवारीबोध मसँग भएकाले परिवारमा राजनीतिक व्यस्तताले असमझदारी सिर्जना गर्दैन। म श्रीमतीलाई घरको काममा पनि सहयोग गर्छु।

 

पाँचछ वर्षअघि उनी मेचीनगर लेडिज जेसिसकी संस्थापक अध्यक्ष भइन्। त्यतिखेर उनीसँग आठनौ महिनाको काखे बालक थियो। उनी दिनभरि आफ्ना कार्यक्रम र छलफलमा जान्थिन्। सानो बालक बोकी–बोकी कार्यक्रममा जान कति गाह्रो हुन्थ्यो होला। उनको समस्या बुझेर त्यो बेला म बच्चा हेरेर दिनभरि घरमा बस्थेँ।

 

घरका सानातिना काममा पनि उनलाई सहयोग गर्छु। घरको काम होस् वा बच्चा हुर्काउने काम, उनलाई सघाउनका लागि मात्र होइन यो दुवैको कर्तव्य हो भन्ने लाग्छ। उनी बाहिर जाँदा घरमा मैले गर्नुपर्ने कर्तव्य गरिरहेको छु। म घरमा नहुँदा उनले आफ्नो कर्तव्य गर्छिन्।

 

कविता सरल र सबल छिन्। उनलाई म सामाजिक हुँ भन्ने बोध छ। पारिवारिक रूपमा उनी जिम्मेवार छिन्। उनी ममताले भरिएकी आमा हुन्। आफ्ना दुई सन्तानजस्तै मेरो पनि ख्याल गर्छिन्। कहिलेकाहीँ लाग्छ म उनको तेस्रो सन्तान हुँ। म पनि उनलाई त्यति नै माया र सम्मान गर्छु। उनको ख्याल राख्छु।

 

हिजो मलाई राजनीतिमा सफल हुन जसरी आमाबुबाले सहयोग गर्नुभएको थियो, त्यसरी नै आज कविताको साथ, समर्थन र सहयोग पाएको छु। कक्षा चारमा पढ्दाताका मेरी छोरी र उसका साथीहरूले मिलेर एफएममा बालकार्यक्रम चलाउँथे। छोरी लेख्न र बोल्नमा निकै सिपालु छिन्। उनले आफ्नो प्रतिभामा निखार ल्याइरहेकी छिन्। त्यसमा मेरी श्रीमतीको ठूलो हात छ।

 

-उपेन्द्र अर्याल,अन्नपूर्ण,सम्पूर्णबाट

Comments

NIC Asia