नेपालीको खोजीमा -राजेन्द्र ज्ञवाली

‘आर यु गाइज फ्रम नेपाल ?’ हो, ठ्याक्कै मैले अपेक्षा गरे अनुसार नै प्रश्न आएको थियो । हामी त्यतिबेला ओहायोको एउटा स्यानो नगर फिण्ड्ले स्थित भारतीय रेष्टुराँमा थियौँ । त्यहाँ काम गर्ने युवतिलाई नेपाली जस्तो देखेपछि उनको ध्यान आकर्षित गर्न मैले युगांङ्कसँग अली ठूलो स्वरमा नेपालीमा कुरा गरेको थिए ।
विदेशमा नेपालीलाई भेट्दाको खुसी नै अर्को हुन्छ । अझ विशेषगरी नेपालीको संख्या निकै कम भएको स्थानमा भेट्दा झन खुसी लागेर आउछ । यसको अनुभव मैले धेरै पटक गरेको छु । नेपालगंजमा वस्दा त्यहाँ वाटोमा धेरै मानिसँग जम्काभेट भए पनि वोलचाल भने हुदैनथ्यो । तर काम विशेषले अथवा घुम्नका लागि नजिकैको भारतीय सहर लखनउ, वहराइच गएका वेला नेपालगंजमा कहिल्यै नवोलेका तिनै मानिस भेट्दा वोलीचाली मात्र होइन मित्रता नै कायम हुन्थ्यो ।
तर अमेरिका जस्तो विश्वका हरेक देशका मानिस भएको ठाउमा भने नेपालीको पहिचान गर्नमा पनि कहिले काही झुक्किइदो रहेछ । विशेष गरी मेक्सिको, भारत, र पाकिस्तान जस्ता मुलुकका मानिसहरू हामी जस्तै देखिने भएकोले सोझै ‘तपाइ नेपाली हो’ भनेर सोध्न अप्ठेरो लाग्नु स्वाभाविक नै हो ।
‘दाइ मैले त नेपाली जस्तो देखे भने अली ठूलो स्वरमा नेपाली गित गुनगुनाउछु ।’ शरद धितालले एक पटक नेपाली पहिचानका लागि आफूले अपनाएको उपाय बताएका थिए । एक्लै हिड्दा कोही नेपाली जस्तो देखिएको खण्डमा त्यो उपाय पनि मैले न अपनाएको होइन ।
ति वैनी नेपाली नै रहिछन् । फिण्ड्ले विश्वविद्यालयमा अध्यन गर्ने र खाली समयमा काम गर्ने । अनी अहिले त फिण्डले विश्वविद्यालयमा पनि थुप्रै नेपाली विद्यार्थी भएको जानकारी उनले गराइन् ।
तर चार वर्ष अघिसम्म पनि स्थिति त्यस्तो थिएन । सन् २०१२मा म त्यतिबेला फिण्ड्लेमा वस्दै गर्नुभएको मेरो काकालाई भेट्न आएको थिए । एक दिन कुरै कुरामा फिण्ड्लेमा नेपालीहरूको संख्याको ’boutमा सोध्दा उहाँले ठटयौली पारामा भन्नु भएको थियो–कुरै नगर ! यहाँ त नेपालीमा वोल्न रहर लाग्यो भने ऐना अगाडि उभिएर कुरा गर्नु पर्छ !
हुन पनि मेरो १७ दिनको वसाइमा फिण्ड्लेमा कुनै नेपाली भएको सुइको पाइएन ।
त्यस ठाउका मानिसहरू खरिददारीका लागि प्राय काकाले काम गर्ने फिण्ड्ले भिलेज मलमै आउने गर्थे । तर कहिल्यै कुनै नेपाली अनुहार देखिएन ।
अनी एक दिन वेलुका एक जना फिलिपिनो महिलाले हामी नेपाली भएको थाहा पाएपछि डाउन टाउनमा रहेको एउटा ग्रोसरी पसलमा नेपाली विद्यार्थीले काम गर्ने बताइन् ।
त्यसको अर्को विहान नै हामी काका भतिज ति विद्यार्थीको खोजीमा पैदलै डाउन टाउन तिर लाग्यौँ । तर वाटो त्यती लामो होला भन्ने कल्पना त काकाले समेत गर्नु भएको रहेन छ ।
हिड्दा हिड्दै यस अघि पनि यसरी हिड्ने क्रममा भोगेका रमाइला प्रसङ्गहरूको ’boutमा एक अर्कालाई वताउदै थियौँ । मेरो त त्यस्तो खास केही थिएन । नेपालगंज वस्दा भारतीय सिमावर्ती सहर रुपैडिहामा नयाँ नयाँ चलचित्र लाग्ने गथ्र्यो । अनी त्यही हेर्न एक पटक म र नातामा मेरो भाइ ठूलो वुवाको छोरासँगै गएका थियौँ ।
सिनेमा त हेरियो तर फर्कदा टाँगालाई दिने पैसा नभएका कारण राती लगभग ७ किलोमिटर हामी पैदल हिडेर घर पुगेको स्मृतिमा ताजै थियो ।
तर काकाले भोगेको घटना भने अली रमाइलो रहेछ । किशोरा अवस्थामा उहाँ र अर्को एक जना काकाले हाम्रो पुखौली थलो गुल्मी मानकोटबाट रिडी वजार घुम्न जाने निधो गर्नु भए छ ।
अनी घरमा कसैलाई नबताइ किन दुवै जना हिड््नु भएछ । नातामा दुबै जना दाजु भाइ भए पनि उमेरको फरक धेरै नभएका कारण दुबैबीच सम्बन्ध भने साथी भाइको जस्तो थियो ।
वाटोमा खोला तर्दा भने समस्या भएछ । पानीको सतह अली ठूलो झै लागेपछि नजिकै घाँस काटि रहेका एक जनासँग सहयोग माग्नु भएछ । त्यसका लागि पैसा दिने प्रस्तावपछि उसले दुबैलाई पालै पाले खोला तारि दिएछ । कपडालाई भिज्नबाट जोगाउन लगभग सबै कपडा फुकालेर खोला तार्ने मान्छेलाई जिम्मा लगाउनु भएको थियो रे दुबैले । अर्को काकालाई पनि तारे पछि पैसा दिन खोज्दा केही पैसा कम भएछ । अनी त्यो मान्छेले पैसा नदिने भए आफूले पनि कपडा नदिने भने पछि स्थिति अली अनौठो र अप्ठेरो भएको थियो रे !
‘म पहिले खोला तरेको हुनाले आफ्नो कपडा लिइ सकेको थिए । तर उहाँको कपडा भने अझ उसकै हातमा थियो ।’ काका भन्दै हुनुहुन्थ्यो ।
उसले पैसा नदिए कपडा दिन्न भने पछि केही वेर अर्को काका विना कपडा नै वस्नु परेको र निकै अनुरोध गरेपछि उसले पनि हास्दै ‘मैले त एकै छिन् रमाइलो पो गरेको ! भन्दै कपडा फर्काएको प्रसङ्ग सुनाउदा हामी दुबै निकै हाँसेका थियौँ ।
‘अहिले पो हासो लाग्छ तर त्यतिबेला एकै छिन् त वडो अप्ठेरो स्थितिमा थियौँ हामी, अझ दाइको त कुरै नगर !’ उहाँले हास्दै भन्नु भएको थियो ।
हामी हिडेको लगभग १ घण्टा जति भइसकदा पनि डाउन टाउन अझ आएको थिएन । वाटोमा हामीले भेटिएका मान्छेलाई सोध्दै पनि गयौँ । लगभग थप १५ मिनटको हिडाइपछि त्यो पसल पनि भेटियो । तर पसल त्यस दिन वन्द थियो ।
काकालाई स्टोर खोल्न अवेर भइ सकेको थियो । यतिका लामो वाटो हिडेर त्यहाँसम्म पुग्नुको कुनै फाइदा भएन । हामी दुबै थाकेर लखतरान भएका फेरी एक घण्टाभन्दा अली वढीको हिडाइका लागि जाँगर नलागी नलागी तयार भएका थियौँ ।