दशैं भनेकै मासु खाने चाड हो ! तर मासुको स्वाद कति महंगो र घातक हुन्छ ? –शरच्चन्द्र वस्ती

 

 

गंगा पार तरि मिर्ग मारि पकुवा तारेर खाया तहाँ…’
–आदिकवि भानुभक्त आचार्य

 

 

 

चौध वर्षको वनवासका लागि अयोध्या छाडेको तेस्रो दिन रामचन्द्रकोे खानपिनको खुलासा गर्दै आदिकवि भानुभक्त आचार्य यसो भन्छन् । आफ्नो रामायणमा लेख्छन्, मिर्गको तारेको पकुवा खाएर उनीहरु त्यो रात रुखमुनि सुते, ‘तेस्रो वास रघुनाथको तहिँं भयो एक् बृक्षका तलमहाँ ।’

 

लेख्न त लेखे आदिकविले, तर जुन अध्यात्म रामायणको अनुवाद उनले गरेका थिए, त्यसमा रामचन्द्रले मासु खाएको कहीं उल्लेख छैन । वनवासको अवधिभरि कन्दमूल र फलफूलको सहारामा गुजारेका छन् रामचन्द्रहरुले । समालोचकहरुले भनेका छन्, मासु भनेपछि हुरुक्क हुने बाहुनचरीले रामचन्द्रको मुखमा पनि मासु कोच्याइदिएछन् ।

 

भानुभक्तलाई मात्रै के भन्नु, अधिकांश नेपालीको त्यही हालत छ । मीठो खाने भनेपछि मासु, त्यो पनि पकुवाकै कल्पना गर्न पुग्छन् नेपालीहरु । चाडपर्व, भोजभतेर, सफलता खुशीयाली, बहाना फरक होलान् तर टन्न मासु खाने प्रलोभन सबैसंग अभिन्न रुपमा गाँसिएको हुन्छ । मासु नभए के चाडपर्व, के खुशीयाली ! देवदेवीका नाममा बलि दिएर मांसभक्षण गर्नु त आम संस्कृति नै भयो, अहिंसाका प्रतिमूर्ति गौतम बुद्धका अनुयायी पनि मासु भनेपछि मरिहत्ते गर्छन् हामीकहाँ ।

 

 

आफैंले पो हिंसा गर्न हुँदैन, अर्काले ढालेको राँगाको मासु खान त के दोष रे ! प्राणीको हिंशा नगरीकन कहिल्यै मासुको उत्पादन हुन सक्दैन भन्ने अति सामान्य ज्ञानलाई पनि ढाकछोप गर्न खोज्ने कस्तो उदेकलाग्दो तर्क ? स्वयं बुद्ध पुनर्जन्म लिएर एकचोटि यहाँ आउदा हुन् त आफ्ना अनुयायीको तर्क र मांसलुब्ध स्वभाव देखेर कति दुखी हुँदा होलान् । कुरै चलेपछि २०३५ सालको एउटा घटना पनि सुनाइहालुँ, दांगको बिजौरी क्याम्पसमा पढाउन बसेको बेला एउटा ब्रतबन्धमा पुगेको थिएँ, जहाँ एक जना पण्डितजी भान्सेसँग नेहारा गर्दैथिए–‘आज मेरो वर्त छ, लसुन् प्याज नहालिकन घिउको भुटुनमा अलिकति चोखो मासु पकाइदेउ है !’

 

भानुभक्त अथवा नेपालीको मात्र कुरा होइन, सारा संसार नै मासुका पछाडि पागलजस्तो देखिन्छ । समाज विकासका क्रममा मानिसले जब आगोमाथि नियन्त्रण गर्न सिक्यो, हरेक बिजय र खुशीयालीसंग मासुको भोज अभिन्न रुपले गाँसिदै आएको छ । अल्पविकसित देश विकसित अवस्थामा पुग्नुको एउटा मुख्य परिसूचक हुन्छ–खानामा कृषिजन्य उत्पादनको अंश घटेर मासुको अंश अत्यधिक बढ्नु ।

 

अमेरिकास्थित वल्र्डवाच इन्स्टिच्युटको संपादकीय निर्देशक एड आयर्स भन्छन्, पचास वर्षयता विश्वमा प्रतिब्यक्ति मासुको उपभोग दोब्बरभन्दा बढी भैसकेको छ । मासु खाने कि नखाने भन्नेवारे धार्मिक, सांस्कृतिक अथवा मनोवैज्ञानिक तर्क र उपपत्तिहरु आफ्नै ठाँउमा होलान्, तिनलाई एकछिन बिर्सिदिउँ, तर प्रश्न उठ्छ मासुको आर्थिक, वातावरणीय र सामाजिक मूल्यलाई कतिन्जेल थेग्न सक्ला यो विश्वले ?

 

 

हाम्रा गाउघरमा कतैकतै जंगलको घाँस मात्र खाएर पनि खसी बोका हुर्कंदा होलान् तर व्यवस्थित रुपमा प्रतिदिन अर्बौं किलो मासु उत्पादन गर्न विश्वमा जति खाद्यान्न खर्च हुन्छ, त्यसका लागि जति ताजा पानी उपयोग हुन्छ, पाल्तु जनावरबाट जति प्रदूषण उत्पन्न हुन्छ, त्यसनिम्ति जति जंगल फडानी हुन्छ अनि मासुका कारणले रोगहरु जसरी बढिरहेका छन् त्यसको समग्र हिसाव मिलान गर्ने हो भने थाहा हुन्छ, मानव जाति र यस पृथ्वीका लागि मासु कति महँगो र घातक छ ।

 

‘ हामी अझै मासु खाइरहन सकौंला त ?’ शीर्षक सामग्रीमा टाइम खबरपत्रिका (नोभेम्वर ८, १९९९) लेख्छ, एक किलो मासु (गाईको) उत्पादन गर्न सात किलो अन्न खर्च हुन्छ । त्यो सात किलो अन्न उत्पादन हुन सात हजार लिटर ताजा पानी चाहिन्छ । अमेरिकाभरि जति गहँु, मकै आदि अन्न उत्पादन हुन्छ, त्यसको सत्तरी प्रतिशत मासुका लागि पालिने जनावरलाई ख्वाएर सकिन्छ । अनि त्यो देशका २६ करोड मानिसले जति फोहोर मैला उत्पादन गर्छन्, त्यसको १३० गुणा बढी फोहोर त्यस्ता जनावरहरुबाट उत्पादन भैराखेको छ ।

 

त्यसमाथि, इन्डोनेशीयादेखि अमेजनसम्म उष्णकटिबन्धीय जंगल कटानीको सबैभन्दा ठूलो कारण कृषिका लागि जमीन विस्तार गर्नु हो भने मासुको माग बढ्दै जानुचाँहि कृषियोग्य जमीनको विस्तारको सबैभन्दा सवल कारण हो । तपाईले एउटा ह्याम्वर्गर खाँदा ७९० ग्राम अन्न र ७९५ लिटर ताजा पानी सिद्धिइसकेको हुन्छ, जसले पाँच वर्गमिटर जंगल फडानीमा योगदान दिइसकेको हुन्छ र साँढे पाँच किलो फोहोरमैला उत्पादन गर्न सघाइसकेको हुन्छ ।

 

 

एकछिन बिचार गरी हेरौं, छ अर्वबाट उकालो लागेको मानिसका बीच विश्वमा एक दिनमा एक अर्ब किलोमात्र मासु खपत भैरहेको मान्ने हो भने पनि –त्यो न्यूनतम हो ) दैनिक सात अर्ब किलो अन्न मासुका लागि खेर गैरहेको छ । मासुको सट्टा मानिसले अन्न खाइदिने हो भने दैनिक ५ अर्व किलो अन्न जोगिन्छ । यसप्रकार वर्षदिन भरिमा झण्डै २२ सय अर्ब किलो अन्न बचत हुनसक्छ । वर्सेनी यति अन्न बचाउन सकिएमा एशिया र अफ्रिकाको अपराजेय अनिकाल सदाका लागि समाप्त हुनसक्छ र एउटा अर्कै खालको विश्वको उदय हुनसक्छ । त्यस्तो गर्दा वर्षेनी बच्ने २२ हजार अर्व लिटर ताजा पिउने पानी, लाखौं हेक्टर जंगल र यस ग्रहले अथाह फोहोरमैलाबाट छुटकारा पाउने तथ्य त आफ्नो ठाउमा छँदैछ । एउटाले दर्जनौं मानिसको अन्नपानी खाइदिने र वातावरण बिगारिदिने राक्षसहरुको प्रतिकात्मक वर्णन पुराण र दन्त्यकथाहरुमा पाइन्छ । तिनले यस्तै प्रवृत्तितिर संकेत गरेको त होइन ?

 

यहाँनिर दुइटा कुरा उठ्न सक्छन् । एक, मासु नखाए प्रोटिन र अन्य पौष्टिक तत्वको कमी हुन सक्छ । दुई, हाम्रा पुर्खाले हजारौं वर्ष मासु खाएर विताए, हामीले खाँदा के बिग्रन्छ ? तर अन्न, दाल, गेडागुडी र तरकारीमा मानिसलाई चाहिने प्रोटिन र पौष्टिक तत्व पर्याप्त छ । अनि पुर्खाले शिकार गरेर खाने जंगली जनावर र आजभोलि फ्याक्ट्रीमा हुर्काइएका, अनेकौं केमिकलमा चुर्लुम्म डुबेका, रोगका घरहरुका बीच कुनै तुलना हुन सक्दैन ।

 

 

टाढा किन जाने, हालै खुला बजारमा प्रवेश गरेर खानामा मासुको अंश बढाएपछि चीनमा मुटुको रोग, छाती र अन्य भागको क्यान्सर आदिमा पनि निकै बृद्धि भएको छ । स्मृतिभ्रंश, भ्रम र कडाखाले छालाका रोग मासुका कारण वारम्वार देखापरेका अत्याउने खबर पनि हामीले सुनिराखेकै छौं ।

 

आफ्नो, मानवजातिको र पृथ्वीको भविष्यप्रति हामी अलिकति पनि संबेदनशील छौं भने यी कठोर सत्यहरुलाई कसरी वेवास्ता गर्न सक्छौं ? मासु खाने नाममा हामी अरुको गाँस खोसिरहेछौं, ठूलाठूला रोग निम्त्याइरहेछौं, प्रदूषण बढाइरहेछौं, पानीको दुरुपयोग गरिरहेछौं, वन विनाश गरिरहेछौं र पर्यावरणमा ठूलो क्षति पु¥याइरहेछौं । यति महंगो र विनाशकारी भोजन कत्तिको विवेकसंगत छ ? मानवजातिले यसैगरी मासु खाइरहन सक्ला त ?

 

एड आयर्स भन्छन्, कुरा बुझ्दै गएपछि मानिसले मासु खाने बानी छोड्दै जानेछ । यति महंगो र विनाशकारी खाना खाइरहन भविष्यमा शायद संभव हुने छैन । थोरै पानी र जमिनले पुग्ने, रोग नथप्ने र प्रदूषण एकदमै कम गर्ने कृषिजन्य खाना नै भविष्यमा मानिसको प्राथमिकतामा पर्नेछ । मासुखान पूरै बन्द नभए पनि यस शताब्दिको उत्तरार्धतिर पुग्दा कि त असाध्य धनी मानिसले कि विशेष चाडपर्वमा परंपराको निर्वाहका लागि मात्र मासु खाने अवस्था बाँकि रहनेछ ।

 

उनले जेसुकै भनुन्, हाम्रा लागि त अहिले मासु खाने मौसम आएको छ । हामी दशैं भनेकै मासु खाने चाड भन्ने बुझ्छौं । मासु खान छोडेर अरु कुरा सुन्ने फुर्सत कसलाई ? तर, हामीले पनि आफ्नो स्वादे जिब्रोलाई विवेकमाथि हावी हुन दिएनौं र मानवजाति तथा हामी बसेको ग्रहप्रति अलिकति पनि ममता र जिम्मेवारी महसूस गर्न थाल्यौं भने मासु खाने बानी घटेको छिट्टै देख्न सक्नेछौं । त्यसबेला कुनै पौराणिक पात्रले ‘गंगा पार तरि मिर्ग मारी पकुवा तारेर’ खाएको वर्णन कुनै कविले आफ्नै तर्फबाट नथप्लान् पनि !