मान्छे, देउता फेरि मान्छे

सामान्य जीवनतर्फ पूर्वकुमारी 

शब्द/तस्विर : सुनिल शर्मा 
गणतन्त्र नेपालकी पहिलो कुमारी मतिना शाक्य २०६५ असोज २१ गते जीवित देवी कुमारी घोषणा गरिए पश्चात ९ बर्ष हनुमान ढोकास्थित कुमारी घरमा बस्नु भई देशमा नयाँ कुमारी तृष्णा शाक्यको आगमन भएपछि उनी २०७४ असोज १२ गते इतुम्बहालस्थित आफनो जन्मघर फर्किएकी छिन् ।
मतिना अचेल गणबहालको ग्रिनपिस को–एड स्कुलमा कक्षा ७ पढ्न थालेकी छिन् । कुमारी हुंदा केवल खट (पालकी) र रथमा यात्रा गर्ने उनी आजकल आफनो बुबा प्रताप शाक्यसंग स्कुटरमा स्कुल जाने गर्छिन् । सामान्य जीवनमा फर्केपछि समाजमा घुलमिल गर्न गाह्रो हुन्छ कि? भन्ने सबैको जिज्ञासालाई विद्यालय जान शुरु गरेको एक हप्ता वित्न नपाउदैं उनले गलत साबित गरिदिएकी छिन् ।

दिदी निजलाको अमूल्य साथ ,परिवारको हौसला र विद्यालयमा शिक्षक शिक्षिका, साथीहरुको सद्भावले उनी पढाइलेखाइदेखि लिएर समाजमा घुलमिल भएर एक जीवित देवीको जीवन भन्दा फरक जीवन तर्फ अग्रसर भएकी छिन् ।
मानिसहरुमा उनी प्रति जीवित देवीको श्रद्वा र आदरभाव रहेका कारण अहिले टोल छरछिमेकमा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा उनी प्रमुख अतिथी वा अतिथीको रुपमा सहभागी हुने गरेकी छिन् । निवर्तमान कुमारीको पहिलो सार्वजनिक कार्यक्रमको रुपमा नयाँ वर्ष नेपाल सम्वत ११३८ को उपलक्ष्यमा भिंतुना गुथिबाट पं. हेमराज शाक्यको चित्र अंकित चाँदिको सिक्काको विमोचन मतिनाले गत शनिवार गरेकी छिन् ।
शान्त र जिज्ञासु स्वभावकी मतिना शाक्य नृत्य र गितारमा रुचि राख्दै पढाई तर्फ विस्तारै प्रगति गर्दै समाजमा घुलमिल भएर सामान्य जीवन तर्फ अग्रसर हुंदै छिन् ।