थरिथरिका घोडचढी सालिकहरू


-सुनिल उलक
घोड चढी सालिकको कुरा गर्दा यसको इतिहास ग्रीसबाट आएको देखिन्छ । विश्वको पहिलो घोड चढी सालिक रोमन सम्राट मार्कस ओरलसको भन्ने बुझिन्छ । यो सालिक तैयार हुदा घोडामा राखिने काठीको पनि आविष्कार भइसकेको थिएन । तसर्थ सम्राटको दुवै खुट्टा लट्कीएको देख्न सकिन्छ ।
नेपालको प्रसंगमा कुरा गर्नुपर्दा राणा प्रधानमन्त्री जङ्गबहादुरको सालिक वि.सं. १९४१ चैत १४ मा सुन्धाराबाट पूर्व रहेको चोकमा राखिएको थियो । यो सालिक अंग्रेज मुर्तिकार थोमस ब्रकले बि.सं. १९३८ मा नै लण्डनमा बनाइसकेका थिए । यसरि हेर्दा जंगबहादुरको सालिक जंगबहादुर जीवित हुदै उनका छोरा कमाण्डर इन चिफ जीतजंगले बनाउन दिएको बुझिन्छ । सो मुर्ति लण्डनबाट पानीजहाजमा कलकत्ता र कलकत्ताबाट काठमाडौ सम्म पुर्याउन झण्डै ६ महिना लागेको थियो । काठमाडौमा सो मुर्ति आइपुगेपछि पनि २ वर्ष भन्दा बढी स्थान निश्चित नहुदा स्थापना गर्न सकिएको थिएन । पछि रणोद्वीप सिंह कुंवरले दाजु जंगको इच्छा अनुरुप टुडिखेल पश्चिमको सडक चौडा बनाए । यसै बिच आफ्नो सालिक पनि काठमाडौ आइपुगेपछि दुवै सालिक एकैदिन अनावरण गर्ने साइत जुराइएको थियो ।

त्यो बेला नै सत्तरी हजार नेपाली रूपैया खर्च भएको जंगबहादुरको सालिक काठमाडौ आइ पुगेपछि नै काठमाडौका जनताहरू सो सालिक हेर्न निकै आतुर थिए । अन्तमा सालिक अनावरण गर्ने दिन ठूलो भिडको बिच अनावरण भयो । त्यस पछि पनि करिव २ वर्ष सम्म बिभिन्न स्थानबाट आएका जनताहरूको मुर्ति हेर्ने भिड कम भएन । जंगबहादुरको सालिक बि.सं. १९०७ भाद्र १० गते फ्रान्सको सर्टरी मैदानमा नेपोलियनले जंगलाइ एकलाख सैनिकको परेड देखाउदा जंगले घोडामा चढी उछिनेर परेड कहाँ पुग्यो भनि फर्केर हेर्दा खिचिएको तस्विरलाइ नै हेरेर बनाइएको थियो । यो सालिकमा जंगको चातुर्यता पनि झल्किन्छ । उनि सधै अगाडी मात्र हेर्दैनथे पछाडी पनि उसको निगरानी सदा रहन्थ्यो । उसको मान्यता थियो सफलता अगाडी हेर्दा प्राप्त हुन्छ भने असफल पछाडी नहेर्दा हुन्छ भन्ने थियो ।
सो सालिक उद्घाटन गरे लगत्तै रणोद्वीप सिंहले बागबजार चोकमा राखिएको आफ्नो सालिक पनि उद्घाटन गरेका थिए । रणोद्वीप सिंह कुंवरको घोडचढी सालिक पनि तिनै मुर्तिकार थोमस ब्रकले नै बनाएका थिए । रणोद्वीपको सालिक भोट युद्धमा तरवारले भोटका सैनिकको छालाको टोप एकैचोटीमा काटेको वीरतामा बनाइएको थियो । हाल यो सालिक टुडिखेलको दक्षिण पश्चिम कुनामा स्थानान्तरण गरिएको छ ।
यि दुइ सालिक पछि अरू पनि सालिकको क्रम चल्यो । बि.सं. १९५० फागुन २८ गते प्रधानमन्त्री वीरशम्शेरले आफ्नो बुबा धीरशम्शेर राणाको घोडचढी सालिक न्यूरोड ठूलो ढोकाको ठीक अगाडी स्थापना गराएका थिए । यो सालिकलाइ पनि राजा महेन्द्रले २०१७ सालमा यस स्थानबाट टुडिखेलको उत्तरपश्चिम कुना (महांकालको उत्तर) मा सारिएको थियो ।

बि.सं. १९६४ बैशाख १६ गते चन्द्रशम्शेरले आफ्ना ठूला दाजु वीरशम्शेरको घोडचढी सालिक वीर अस्पतालको ठीक अगाडी स्थापना गराएका थिए । पछि यो सालिकलाइ टुडिखेलको उत्तर पूर्वी कुनामा बिद्धयुत कार्यालय अगाडी स्थानान्तरण गराइएको थियो ।
धीरशम्शेर र वीरशम्शेरको घोडचढी सालिक कसले बनाएको थियो भन्ने तथ्य भेटिएको छैन । तर त्यस पछिका सालिकहरू भने डोमनिक एन्टोनियो टोनेलिले बनाएको भन्ने देखिन्छ । राजा पृथ्वी वीर बिक्रम शाहको घोडचढी सालिक बि.सं. १९८६ फागुन २ गते भद्रकाली मन्दिरको पूर्वतर्फ सिंहदरवार तर्फ स्थापना गरिएको थियो । जसलाइ राजा त्रिभुवनले अनावरण गरेका थिए । यो सालिकलाइ भने राजा महेन्द्रले हटाउनु पर्ने आवश्यकता देखेन । पहिलो त यो आफ्नै वंशजको एकमात्र सालिक थियो भने दोश्रो यसले बाटो छेक्ने सम्भावना एकदम थोरै थियो ।
प्रधानमन्त्री चन्द्रशम्शेर राणाले अन्य सालिक झै अाफ्नो सालिक पनि आफ्नै जीवनकालमा बनाउन लगाएका थिए । तर दुर्भाग्य उनको सालिक ल्याएको पानीजहाज समुन्द्रमा डुबेर सालिक नष्ट भयो । पछि सोही कम्पनीले अर्को सालिक बनाएर पठाउदा सम्म चन्द्रशम्शेरको मृत्यु भई सकेको थियो । तसर्थ उनका भाइ भिमशम्शेरले उनका घोडचढी सालिक बि.सं. १९८६ का अन्त तिर हालको न्युरोड अगाडीको चोकमा स्थापना गराएका थिए । यो सालिक पनि डोमनिक एन्टोनियो टोनेलिले बनाएका थिए ।

बि.सं. २००५ जेठ ३१ गते जावलाखेल चोकमा प्रधानमन्त्री मोहनशम्शेरले जुद्धशम्शेर राणाको घोडचढी सालिक अनावरण गरेका थिए । यो सालिकलाइ पनि २०१७ सालमा स्थानान्तरण गराइएको थियो । यो सालिक पनि डोमनिक एन्टोनियो टोनेलिले बनाएका थिए ।
पछि राजा महेन्द्रले जननिर्वाचीत सरकारलाइ हटाइ पंचायती ब्यबस्था ल्याए पछि रानी एलिजाबेथको नेपाल भ्रमण पूर्व २०१७ सालको फागुनमा सडकको बिचमा निकै शोभा दिइएका यस्ता मुर्तिहरूलाइ पुरानो स्थानबाट अन्यत्र सारेका थिए ।
विश्वभर घोडचढी सालिकलाइ निकै महत्वपूर्ण मानिन्छ । यसको सुरक्षा तथा सम्भार निकै गर्ने गरिन्छ । तर हाम्रो देश नेपालमा यस किसिमको सालिकलाइ सम्पदा होइन कि राणा शासनको चिनोको रूपमा हेला गरिन्छ । सर्वसाधारणको दृष्टी नपर्ने ठाउमा ओझेल पार्ने कोशिस गरिन्छ । राणा गए पनि राणाको भुत देखी अझै सत्ता डराएको जस्तो लाग्छ । अचेल फेरि नव राजाहरु शाह र राणा दुवैका भुतहरुबाट तर्सिएका छन् ।


