नेताजीको बिज्ञप्ति

 

बिजय पोखरेल

 

आफूले मत दिएको नेताले नै चुनावमा जितेपछि गाउँलेहरु पनि फुरुक्क परे । चुनाव ताका ती नेताले खुब आश्वासन बाँडेका थिए । नेताले बाँडेको सपना पुरा हुनेमा गाउंले ढुक्क थिए । आफ्नो जन्मथलोलाई चुनावी कार्यक्षेत्र बनाउने अठोटका साथ राजधानीदेखि आएका नेतामाथि अविश्वास गर्नु पर्ने कुनै ठाउँ पनि थिएन । समय बित्दै गयो। चुनावमा बाँडेको कुनै पनि आश्वासन कार्यान्वयनमा आउन सकेन । बरु ति नेताको रहनसहनमा ठूलै परिवर्तन आउन थाल्यो । गाँउमा न त कुनै सेवा सुविधा नै थपियो न त गाँउलेहरुले आफ्नो दैनिक जीवनमा कुनै फरक अनुभूति नै गर्नसके । चुनाव जितेर गएपछि गाउँमा कहिल्यै पाइला टेकेनन् । नेताप्रति जनताको असन्तुष्टी बढ्दै गयो ।

 

फेरी अर्कों चुनावको मिति घोषणा भयो । ती नेता गाउँ छिरे । एक पटक फेरी मौका दिएमा गाउँको मुहार नै कायापलट गरिदिने वाचा गरे । अब जनताले जिताए गाउँलाई नगरपालिका घोषणा गराएरै छाड्ने उद्घोष गरे । नगरपालिका भएपछि विकास बजेट ओइरो लाग्ने र घरडेरीको भाउ बढेर सबैलाई फाइदा हुने तिनको तर्कमा सबै गाउँले दंग परे । नेताजीले अत्यधिक मतले चुनाव जिते। पुर्वाधार विहीन गाउँलाई नगरपालिका घोषणा गराइ छाडे । नगरवासीहरुले धुमधामका साथ खुसियाली मनाए ।

 

नगरमा दुईचारवटा सरकारी कार्यालयहरु खुले । जग्गा दलालहरु पनि छिरे । हिजोसम्म हलो र ट्रेक्टर जोतिने खेतमा डोजरहरु कुद्न थाले । खेतीयोग्य जग्गाहरु धमाधम प्लटिगं हुन थाले । नेताजीले पनि आफ्नो पुर्खौली जग्गा प्लटिगं गराए । सहरमा नयाँनयाँ अनुहारहरु थपिन थाले ।

 

पक्कि घरहरु धमाधम बन्न थाले । एकआध कच्ची र ग्रेभल सडक विस्तार भयो । सडकमा थोत्रा भाडाका सवारी र नीजि तथा सरकारी गाडीहरु गुड्न थाले । सीमित ब्यक्तिहरु रातारात धनाढ़्य हुनपुगे भने अधिकांशलाई दुई छाक टार्न पनि झन धौधौ हुन थाल्यो ।

 

धुलोधँुवा र फोहरले वाक्क बनायो । सरकारी अस्पताल खुले पनि न त ब्यवस्थित हुन सक्यो न त डाक्टर नै देखा परे । खानेपानीको समस्या विकराल बन्दै गयो । न्यूनतम सरकारी सेवा सुविधा प्राप्त गर्न पनि झन सकस पर्यो ।

 

विकास निर्माणको लागि प्राप्त बजेट सदुपयोग भएको पाउनै कठिन भयो । भ्रष्टाचार र बेतिथिले आक्रान्त बनाएपछि आम मानिसले नेताज्यूलाई धिकार्न थाले । नेताज्यू भने सहरमा देखा पर्नै छाडे ।

 

देशका आधा दर्जन नगरपालिकालाई सरकारले उपमहानगरपालिका घोषणा गर्यो । आफ्नो नगरलाई सरकारले उपेक्षा गरेको देखि रन्थनिदै हेलिकप्टर चार्टर गरी राजधानीबाट गृहनगर पुगे । तुरुन्त आसेपासेलाई आमसभा डाक्न लगाए ।

 

आमसभालाई सम्बोधन गर्दै उनले भने, आदरणीय जनसमुदाÞयहरु, हाम्रो भन्दा गएगुज्रेको सहरलाई सरकारले उपमहानगरपालिका घोषणा गर्यो तर हाम्रो सहरलाई उपेक्षा गरेर सरासर गÞद्दारी गरेको छ । हाम्रो नगरलाई उपमहानगर घोषणा नगरेसम्म जिल्ला बन्दको घोषणा गर्दछौं ।

 

परर सबैले तालि पड्काए । जिल्ला बन्दले पूर्वपश्चिम राजमार्ग पनि ठप्प भयो । सरकार एक अर्को उपमहानगरको संख्या थप्न बाध्य भयो । उपमहानगरमा विजय जुलूस निस्कियो । नेताज्यूलाई १०८ केजीको माला पहिर्याइ रथारोहण गराइयो । बेलुकी भब्य दिपावली भयो ।

उपमहानगरवासी भए पनि भोग्दै आएको समस्या भने जिउँका तिउँ रह्यो । अब्यवस्थित ढल, कमजÞोर फोहर ब्यवस्थापन, निरन्तरको धुलोधुँवाले सहरको वातावरण निसासिदो भयो । रुष्ठ उपमहानगरवासीले ती नेतालाई अबदेखि कुनै हालतमा मत नदिने निधो गरे ।

 

देशमा अर्कों निर्वाचनको मिति तय भयो । आफ्नो पार्टीबाट फेरी टिकट हात पार्न नेताजी सफल पनि भए । सदा झै बिना कुनै संकोच आफ्नो उपमहानगरमा छिरे । उपमहानगरमा आयोजित चुनावी सभामा भाषण ठोके— “मेरा आदरणीय मतदाताहरु, तपाईहरुले यसपटक पनि आफ्नो अमुल्य मत दिएर मलाई बिजयी गराउनु हुनेछ भन्ने कुरामा म विश्वस्त छुँ । हाम्रो यो गाँउलाई मैले उपमहानगरसम्म बनाएँ । अब म निर्वाचित भएँ भने तपाईहरु सबै प्रादेशिक राजधानीको वासी वन्नु हुनेछ । यस कुरामा तपाईहरु ढुक्क हुनुहोस ।

 

उपस्थित जनसमुदाÞयले एकअर्काको मुखामुख गर्दै कर्तलध्वनीका साथ नेताजीको जयजयकार गर्यो । निर्वाचनमा नेताजी पुनः अत्यधिक मतले विजयी भए ।

 

केही समयपछि प्रादेशिक राजधानीको घोषणा भयो । नेताजीको आश्वासन बमोजिम उक्त सूचिमा आफ्नो कार्यक्षेत्रको उपमहानगर परेन । यसको आक्रोश आफ्नो दलका शीर्षस्थ नेताहरु समक्ष पोखे र तत्कालै हेलिकप्टर चार्टर गरी निर्वाचन क्षेत्रतर्फ हुइँकिए ।

 

नेताजीले एक कार्यक्रमको आयोजना गरी अनिश्चितकालिन आन्दोलनको घोषणा गरे । सरकारले आफ्नो उपमहानगरलाई प्रादेशिक राजधानी नबनाए थप कडा संघर्षको कार्यक्रम ल्याउने चेतावनी दिए । सहर आन्दोलित भयो ।

 

एकत्रित भिडले नगर परिक्रमा गर्ने क्रममा सरकारी कार्यालयहरुमा तोडफोड तथा आगजनी गर्यो । दुईचार सरकारी गाडी जलाइयो । प्रहरीले अराजक भिड नियन्त्रण गर्ने क्रममा गरेको फÞायरिंगबाट दुई जनाको तत्कालै मृत्यु भयो भने कैÞयौ गम्भिर घाइते भए । सहरमा थप क्षति हुन नदिन जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गर्यो ।

 

नेताजीले राजधानीबाट एक बिज्ञप्ति जारी गरे —मृतकलाई शहिद र उपमहानगरलाई प्रादेशिक राजधानी घोषणा नगरेसम्म आन्दोलन जारी रहने छ ।