जङ्गबहादुरको संझना

 

जंगबहादुर राणाको मृत्यु भएको आज १४१ वर्ष हुँदै छ । उनैको सम्झनामा यो प्रस्तुति ।

 

जङ्गबहादुर भाई र छोराहरुकासाथ 

जङ्गबहादुरको निधन सन् १८७७ फेब्रवरी २५ अर्थात बि.सं. १९३३ फागुन १६ आइतवार भएको थियो । जङ्गबहादुर हालको सर्लाही जिल्लामा शिकार खेल्न गएका थिए । पत्थरघट्टा क्षेत्रको बागमती नदी किनारमा उनको मृत्यु भयो ।

 

बालनरसिंहकी कान्छी पत्नीबाट जन्मेका जेठा छोरा वीरनरसिंह कुँवर नै जङ्गबहादुर हुन् । नेपालको इतिहासमा चर्चित बलभद्र कुँवर भने जङ्गबहादुरका जिजु बाजे रामकृष्णका भाइ जयकृष्णका नाति तथा चन्द्रविर कुँवरका छोरा हुन् । नाताले बलभद्र जङ्गबहादुरका काका पर्छन् ।

 

 

 –सुनिल उलक

 

शाह राजाहरूको पुर्खा झै जङ्गबहादुरका पुर्खा पनि भारत चित्तौदगढबाट नेपाल प्रवेश गरेको विवरण इतिहासमा पाइन्छ ।

 

हालै भारतमा रिलिज भएको पद्मावत फिल्म कतिले हेरे होलान् । मैले फिल्म त हेर्न पाइन कथावस्तुमा फिल्मिकरण हुन सक्छ । तर इतिहासमा १३०३ मा अलाउद्दिन खिलजीले रानी पद्मावतीलाई पाउनको लागी आक्रमण गरेका थिए । तर रानी पद्मावतीले मुस्लिम शासकको पत्नी हुनु भन्दा अग्नीदाह गरेर मर्नुलाई उचित ठानिन् । दरवारका सम्पूर्ण महिलालाई पनि अग्नीदाह गर्न प्रेरित गरे । युद्ध समाप्ती पछि अलाउद्दिन खिलजीले चित्तौडगढमा केवल खरानी मात्र भेटे ।

 

अलाउद्दिनको आक्रमणको पछि नेपालको राजपरिवारका पुर्खा बिभिन्न ठाउँ हुदै नेपालको पहाडी राज्यमा पुगेको देखिन्छ । त्यसरी नै तेश्रो ठूलो आक्रमण अकवरले पनि गरेका थिए । यो युद्ध पछि धेरैको मृत्यु भयो । केही भागेर लुकिछिपि धेरै ठाउँ पुगे । राणाका पूर्वज भने यहि आक्रमण पछि लुकिछिपि नेपाल प्रवेश गरेका थिए भन्ने अनुमान गर्न सकिन्छ ।

 

भाई जगत शमशेर 

 

चित्तौडगढका तत्ता राणाका भतिजा फकतसिंहका छोरा रामसिंह केही साथीहरूको साथ निकै लामो यात्रा पछि नेपालको पहाडी भूभागमा प्रवेश गरेका थिए । पहाडी राजाको आतिथ्यमा बसेका रामसिंहको आनीवानीबाट प्रभावित भइ राजाले आफ्नो छोरीको बिबाह रामसिंहसंग गरिदिए । बगाले क्षत्री राजाकी छोरीसंग बिबाह गरे पछि ६ छोराहरूको जन्म भयो । राजाले रामसिंहका छोराहरू जवान भए पछि कुँवर खडकाको उपाधी दिए ।

 

छ जना मध्ये एक राउत कुँवरलाइ सेनापती बनाए । यिनै राउत कुँवरका छोरा अहिराम कुँवरलाइ कास्कीका राजाले ससम्मान भारदारको पद दिए । साथै पोखराको ढुङ्गेसाँघुको सिङ्गै गाँउ बिर्तामा दिए । अहिराम कुँवर परिवार सहित कास्कीमा बस्न थाले । अहिरामका दुइ छोरा रामकृष्ण तथा जयकृष्ण र एउटी छोरी थिए ।

 

बुढो राजाले एक दिन कलश थापेर अहिरामकी कलिली छोरी बिबाहको लागी मागे । अहिरामले अस्विकार गरे पछि राजासंग बिवाद भयो । त्यसपछि सम्पूर्ण बिर्ता तथा जागीर त्यागेर कास्कीबाट पलायन भए । दुइ छोरा र छोरीलाई साथ लिइ अहिराम लमजुङ हुदै गोरखा पुगे ।

 

गोरखाका राजा पृथ्वीनारायण शाहले रामकृष्ण कुँवरलाइ आफ्नो सेनाको सेनापती नियुक्त गरे । राज्य बिस्तारको क्रममा पूर्व बिजय समाप्त भए पछि रामकृष्ण कुँवर प्युठान पठाइएका थिए । त्यहि उनको मृत्यु भयो । उनका १८ वर्षका छोरा रणजित कुँवरलाइ जुम्लाको हाकिम बनाइयो, पछि काजीमा पदोन्नती गराइए । रणजितका तीन छोरा मध्य बालनरसिंह कुँवरलाइ रणबहादुर शाहका हत्यारा शेरबहादुरलाइ काटेकोले पुरस्कार स्वरूप काजी बनाइए ।

 

छोरी बदन कुमारी र ज्वाईं गजराज सिंह थापा 

 

यिनै बालनरसिंहकी कान्छी पत्नीबाट जन्मेका जेठा छोरा वीरनरसिंह कुँवर नै जङ्गबहादुर हुन् । नेपालको इतिहासमा चर्चित बलभद्र कुँवर भने जङ्गबहादुरका जिजु बाजे रामकृष्णका भाइ जयकृष्णका नाति तथा चन्द्रविर कुँवरका छोरा हुन् । यसर्थ बलभद्र जङ्गबहादुरका काका पर्छन् ।

 

बि.सं. १८७४ असार ७ गते बुधवारका दिन सैनिक परिवारमा जन्मेका वीरनरसिंहले पढ्न भने धेरै पाएनन् । तर मूर्ख र जिराहा थिए, उनका मामा माथवरसिंह थापाले उनलाई जङ्गे भनेर बोलाउथे । पछि उनी यहि नामले नै प्रख्यात भए । बि.सं. १८८५ बैशाख २१ मा मात्र ११ वर्षको उमेरमा उनको बिबाह भयो । बिबाहको केही समयमा नै बाबुको साथमा धनकुटा पुगे । त्यसपछि डडेलधुरा पुगे । यहि क्रममा घोडा चढेर बिभिन्न करतुत गर्न सिपालु हुदै गए ।

 

भण्डारखाल पर्व पछि मामा भीमसेन थापाले सत्ता पाएको सुनेका जङ्गबहादुर पनि सत्ताको स्वाद चाख्ने इच्छा जाग्यो । तर १८९४ मा भीमसेन थापाको पतन भए पछि पाण्डेहरूले थापा मात्र होइन जङ्गको परिवारलाइ पनि लखेटे । यसरी हरतरहबाट दुखित भएका जङ्गबहादुर जुवाको लतमा फसे । चारैतिरबाट दुखले घेरिएकोलाइ केहीले पनि साथ दिदैन ।

 

जङ्गेलाइ पनि त्यस्तै भयो । उनले जुवामा धेरै हारे तर तिर्ने रकम थिएन । यस्तैमा राँगो ब्यापारी धनसुन्दर साहुले रू ११०० सापट दिएकोले ऋण तिरे । बिरक्तिएर बनारस पुगेका उनले त्यहाँ पनि जागीर पाएनन् । फेरी काठमाडौ फर्के, यता श्रीमतीको सुत्केरी ब्यथाले मृत्यु भएको खवर पाए । साली बिबाहको लागी माग्न गएका उनलाइ ससुराले बचन लगाएर फर्काए ।

 

 

छोरी ललित राजेश्वरी ( त्रैलोक्य विक्रमकी श्रीमती )

 

 

अत्यन्त दुखी जंगबहादुरले नन्दकुमारीसंग बिबाह गरे । दाइजोमा ल्याएको पैसाले धनसुन्दरको ऋण तिरे । नन्दकुमारीसंगको बिबाह पछि भने उनको भाग्य चम्कियो ।

 

बि.सं. १९०३ भाद्र ३१ मा गगनसिंहको हत्या गरेका उनले सोही राती कोटमा हत्याको अवस्था सिर्जना गरि सत्ता प्राप्त गरे । प्रधानमन्त्री बनेका जङ्ग १९०७ जेठ १५ मा लण्डन पुगे । भाद्र ७ मा पेरिस पुगे । नेपोलियन बोनापार्टसंग भेट गरे । जङ्गबहादुर स्वदेश फर्कदा यूरोपको काइदा कानुनको साथमा त्यहा रहेका ठूला ठूला महलका सिर्जना पनि हेरेर आए । नेपालमा ठूला ठूला दरवारहरू बनाउने शुरुवात गरे ।

 

बि.सं. १९१० मा जङ्गबहादुरले पहिलो पटक नेपालको जनगणना गराए । ऐतिहासिक दस्तावेज निकै नौलो थियो । तर पछि बुझ्दै जाँदा जङ्गले भोट युद्धको लागि युवाहरूको संख्या लिने उद्देश्यले जनगणना लिइएको थियो । यहि क्रममा जङ्गबहादुरले लिएको जनगणनामा मेरो “उलक“ पुर्खाको नामावली मैले भेट्टाएँ ।

 

जङ्गबहादुरले बि.सं. १९१० मा नेपालको पहिलो ऐन बनाए । कानुनी रूपले यो ऐन कति परिपक्व थियो, यो विवादकै विषय होला तर सबै कानूनलाई लिपिबद्ध पार्ने उनको प्रयासलाई भने मान्नै पर्छ ।

 

१९१३ श्रावण १९ देखि १९१४ असार १६ सम्म करिव १ वर्ष भाइहरूलाई अख्तियारी दिए । पछि पञ्जा छाप सहित श्री ३ पाए पछि आफै सत्तामा फर्किए ।

 

बि.सं. १९२५ चैत्र २६ गते अट्कोनारायणमा ठूलो आगलागी भयो । साहु धर्मनारायणको घर जलेर ध्वस्त भयो । आगलागी १३ महिनासम्म भैरह्यो । जङ्गले साहु धर्मनारायणलाई लाखौ सहयोग गरे । घर बनाउन र पछि भोटको ब्यापार गर्न पनि सघाए ।

 

 

छोरी ताराकुमारी ( त्रैलोक्य विक्रमकी श्रीमती )

 

 

बि.सं. १९२६ सालबाट नेपालको नक्सा बनाउन शुरू गरियो । यो काम १९३२ मा गएर मात्र पूरा भयो ।

 

१८७७ फेब्रवरी २५ अर्थात बि.सं. १९३३ फागुन १६ आइतवार द्वादशी शुक्ल पक्षको दिन जङ्गबहादुरको पत्थरघट्टामा बागमती किनारमा मृत्यु भयो । तीन महिना देखि शिकारमा निस्किएका उनको मृत्युलाई इतिहासमा बिभिन्न कोणले लेखिएको छ । कसै कसैको भनाइमा उनको मृत्यु २१ वर्षे तामाङ केटोको खुकुरी प्रहारबाट भएको थियो भनिन्छ ।

 

केटोले आफ्नो श्रीमती जङ्गबहादुरको साथमा भेटेपछि आवेशमा आएर हानेको खुकुरीको चोटले नै चार दिन पछि जङ्गबहादुरको मृत्यु भएको थियो भन्ने गरिन्छ । जङ्गको शवलाई चार दिन सम्म तेलमा डुबाएर राखिएको थियो । मृत्युको चौथो दिन जङ्गको दाहसस्कार भयो । उनको मृत्युसँगै तीन रानी सती गएर प्राण त्याग गरे ।

 

जङ्गबहादुरको संपूर्ण कथा छोटो रुपमा लेख्न निकै कठिन छ । तसर्थ धेरै लेख्नैपर्ने कुरा पनि छुट्न सक्छ, नलेखे पनि हुने लेखिए जस्तो पनि लाग्न सक्छ । संक्षेपमा जङ्गबहादुरको कथा यही हो ।

 

 

 

 

 

तस्विरहरु उलकको संग्रहबाट