बाटैमा हरायो बजेट र ‘ड्रइङ डिजाइन’
काठमाडौँ, २३ फागुन : बाग्मती नदीको तीरमा चार शिवालय लहरै उभिएका छन् । एउटा शिवालय ढल्किएर लड्न लागेको छ । अर्को मन्दिर चिरा चिरा परेको छ । मन्दिरको ढोकामाथिबाट पातीको बोट उम्रिएको छ ।
यो विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित गौरीघाटको चार शिवालयको अवस्था हो । भूकम्प अघि नै जीर्ण भएर पुनःनिर्माण कुरिरहेको चार शिवालय अझै यस्तो दुरवस्थाबाट मुक्त हुन सकेको छैन । चार शिवालयसँगै जोडिएको सत्तलको अवस्था पनि उस्तै जीर्ण छ ।
जीर्ण सत्तलमा प्रहरी बिट राखिएको छ । पवित्र पशुपति क्षेत्रको बाग्मती किनारमा रहेको चार शिवालय र सत्तल परिसरको खाली ठाउँमा फोहरको डंगुर छ । सँगैको श्वेत सत्तल परिसरको अवस्था पनि यो भन्दा भिन्न छैन । मन्दिर परिसरमुनिको बाग्मतीमा चार दिनदेखि मरेको गाईको बाच्छाको बस्न नसकिने गरी दुर्गन्ध फैलिएको छ ।
विश्वका हिन्दूको आस्था र अन्य धर्मावलम्बीको आकर्षणको केन्द्र पशुपति क्षेत्रका सम्पदाको यस्तो अवस्थामा सरोकार भएका निकायको ध्यान जान सकेको छैन । मन्दिर जीर्ण र परिसर प्रदूषणले भरिएपछि गौरीनगर सुधार समितिले चार वर्ष अघि नै पशुपति क्षेत्र विकास कोषसँग पुनःनिर्माण एवम् सरसफाइको माग गरेको थियो ।
समितिको मागलाई कोषले बेवास्ता गरेको अध्यक्ष मोतीलाल उदासले बताउनुभयो । “समितिको मागपछि कोषले बजेट छुट्याएको थियो, काम भएन, छुट्याइएको बजेट कहाँ गयो, थाहा छैन” – उहाँले भन्नुभयो ।
चार शिवालय सत्तलको पनि जस्ता झरेको छ । ठाउँ ठाउँमा भत्किएर उदाङ्गो बनेको छ । टुँडाल झरेका छन् । यस्तो भवनमा यो क्षेत्रको सुरक्षामा खटिएका छ जना प्रहरी प्रहरी सहायक निरीक्षक सोमबहादुर सिजालीको नेतृत्वमा आफैँ भने असुरक्षाको सामना गर्दै बसेका छन् ।
महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख प्रहरी उपरीक्षक अनुप श्रेष्ठ भवन जीर्ण भएपछि सत्तलमा भान्सामात्र सञ्चालन गरेको बताउनुहुन्छ । खाना खाने बेलामा भने प्रहरीले नै असुरक्षाको अनुभव गर्नुपरेको छ । ब्यारेक र कार्यालय अर्को भवनमा सारिएको उहाँले सुनाउनुभयो ।
सत्तलमा समितिका सफाइ कर्मचारी प्रदीप थापा र एक सन्त पनि जीर्ण भवनलाई चुनौती दिँदै बसेका छन् । विसं २०७२ वैशाख १२ को भूकम्पले जीर्ण भवनमा थप क्षति पुग्यो । पुनःनिर्माणका लागि कोषले दातालाई अनुरोध ग¥यो । रबिन्द्र पुरीले चार शिवालय र सँगैको सत्तल पुनःनिर्माण गर्ने जिम्मेवारी लिनुभयो । तर, काम भने अझै शुरु हुन सकेको छैन ।
दाता पुरी कोषले तयार पारेको चार शिवालय र सत्तल पुनःनिर्माणको ‘ड्रइङ डिजाइन’ पुरातत्व विभागले स्वीकृत नगरेका कारण काम गर्न नसकिएको बताउनुहुन्छ । विभागका अधिकृत देवेन्द्र भट्टराई भने चार शिवालय र सत्तलको ‘ड्रइङ डिजाइन’ स्वीकृतिका लागि अहिलेसम्म नआएको दावी गर्नुहुन्छ ।
स्थानीयवासी सीता थापा धेरै वर्षदेखि जीर्ण बनेको चार शिवालय बनाउने भनेको पाँच वर्ष नाघे पनि बन्न नसकेको सुनाउनुहुन्छ । पशुपति क्षेत्रमा रहेका ५१८ स्मारकमध्ये ९५ वटामा भूकम्पले क्षति पु¥याएको थियो । पन्ध्र सम्पदा पूर्ण रुपमा क्षति भएका थिए ।
पूर्ण क्षति भएका सम्पदामध्ये हालसम्म एक र आंशिक क्षति भएकामध्ये चार सम्पदा बनाइएको कोषका निर्देशक भरत मरासिनीले बताउनुभयो । हाल १५ सम्पदाको पुनःनिर्माण भइरहेको छ । भूकम्पले क्षति भएका पशुपति क्षेत्रका ७५ सम्पदा अझै अलपत्र छन् ।
भूकम्पले देशभर ७५३ सम्पदामा क्षति पुगेको थियो । तीमध्ये हालसम्म ८० वटाको मात्र पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।
गौरीको प्रस्तर मूर्ति रहेको गौरीघाटमा माघ महिनाभर मेला लाग्छ । बाग्मती सफा हुञ्जेल पशुपति दर्शन गर्न आउने भक्तजन यहाँ स्नान गर्न आउँथे । बाग्मती प्रदूषित बनेपछि यो तीर्थ छायामा प¥यो ।
यो स्थानमा आउने भक्तजनका लागि जंगबहादुरका भाइ कृष्णबहादुर कुँवरले विसं १९२० मा चार शिवालय र सत्तल निर्माण गरे । बुद्धि भक्तेश्वर, देव भक्तेश्वर, राम भक्तेश्वर र पद्म भक्तेश्वर नामका चार शिवालय सञ्चालनका लागि निजीस्तरबाट गुठी जग्गाको पनि व्यवस्था गरिएको थियो । पहिले निजी गुठीका रुपमा रहेको चार शिवालय जग्गा मासिएपछि कोषले हेर्न थालेको पूर्व सदस्य सचिव डा गोविन्द टण्डन बताउनुहुन्छ ।
“मेरो कार्यकालमा सम्पदा संरक्षणविद् पुरीसँग तीन वर्षमा पुनःनिर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको हो, पुनःनिर्माणपछि १२ वर्षसम्म उहाँले चार शिवालयमा संगीत केन्द्र चलाउनुहुनेछ, १२ वर्षपछि कोषलाई हस्तान्तरण हुनेछ”–उहाँले भन्नुभयो ।
सम्झौतामा ‘ड्रइङ डिजाइन’ दोस्रो पक्ष अर्थात् दाताले नै गर्ने उल्लेख गरिएको पूर्व सदस्य सचिव डा टण्डनले बताउनुभयो ।–पूर्णप्रसाद मिश्र(रासस)