भीमसेन थापाको मुख्तियारी काल

 

 

सुनिल उलक 

 

 

 

 

थापाहरूको ऐतिहासिक उपस्थिती बि.सं. १२४६ मा डोटीको कांडामालिका राज्यको राजा कालु थापाबाट भएको देखिन्छ । पछि उनका जेठा छोरा पून्याखर पुलाचौर, म्याग्दीका राजा भए, माहिला तारापति ताकम, म्याग्दीका राजा भए, साहिला विरू थापा रूकुमकोटका राजा भए, कान्छा जशोधर ज्यामरूककोट, म्याग्दीका राजा भए । यि राज्यहरूमा करिव ३०० वर्ष राज्य गरेको देखिन्छ । यसपछि राज्यमा हार पछि बिभिन्न स्थान गएर बसोबास गर्न थालेका थिए ।

 

 

थापामा गोदार थापा, बगाले थापा र पुँवर थापाहरू प्रमुख मानिन्छ । कालु थापा कै वंशका वीरभद्र थापा गोरखामा पुगेको देखिन्छ । पृथ्वीनारायण शाहको भारदारको रूपमा रहेका वीरभद्र थापाको नाती भीमसेन थापाको जन्म गोरखाको बोर्लाङ, पिपल थोकमा बि.सं. १८३२ भदाै ९ गते सानुकाजी अमरसिंह थापा र सत्यरूपा मायाको पहिलो सन्तानको रूपमा भएको थियो ।

 

 

मात्र १० वर्षको उमेरमा ब्रतबन्धको समय राजा रणबहादुर शाहसंग भेट हुदा मित्रता गाँसेका उनले पहिलो पटक बि.सं. १८५७ जेठ १७ मा राजासंग बनारस पुगे । यसरी उनकै साथ नेपाल फर्कि मन्त्रीको रूपमा मुख्तियार रणबहादुरका सल्लाहकार बने । पछि फागुन १७, १८६२ मा काजी बनाइए । बैशाख १४, १८६३ मा रणबहादुरको मृत्यु पछि भीमसेन मुख्तियार बने । बडामहारानी त्रीपुरासुन्दरीले नायवी चलाउन थाले ।

 

 

बाघ दरबार 

 

आफ्नो परिवारको वासस्थानको लागी कालमोचन घाटको ’round बस्ने सबैलाई हटाइ त्यहा दरवार बनाइ बसे । पछि सोही ठाँउमा नैनसिंह थापाले ठूलो दरवार बनाए । थापाहरूको थलो भएकोले त्यो ठाउँलाई थापाथली भन्न थालियो । तर भीमसेन थापा भने आफ्ना बाबुको पुरानो घर भएको सुन्धारा दक्षिणमा राजाको दरवार नजिक भएकोले १२० रोपनी जग्गा ओगटी ठूलो दरवार बनाए । दरवारको ’round ठूलो बगैचा बनाए । जसले गर्दा यस दरवारको नाम बागदरवार रहन गयो । तर पछि माथवरसिंह थापाको समयमा पिजडा बनाइ त्यसमा पाटे बाघ राखेर पालेकाले पछि यसलाइ बाघदरवार भन्ने गरियो ।

 

 

भीमसेनको मुख्तियारीमा सबैभन्दा पहिले सेनालाइ राज्य बिस्तारमा पठाए । पश्चिम गढतर्फ बढेको नया पुरानो गोरख गण, बरख गण, रामदल गण तथा रणबमदल गणलाइ खटाए । यसरी निस्केको सेनाले कांगडासम्म गढ बनाएर बसे । लडाइमा नेपाली सेना विजय अभियान संगै राज्य बिस्तार हुदै गयो । नेपाली सेनालाई सुदृधिकरणको लागी फ्रान्सबाट सैनिकहरू ल्याइएको थियो ।

 

 

यसरी राज्य बिस्तार गर्दै जाँदा पनि अंग्रेजबाट बाधा बिरोध भएन । त्यो समय यूरोपमा नेपोलियन बोनापार्टको दवदवा शुरू भएको थियो । अंग्रेजहरू उनलाई चिढाउन चाहन्नथे । एशियामा हुने युद्धले बोनापार्ट अंग्रेज माथि बढि आक्रमक हुन सक्ने आकलन गरिएको थियो, तसर्थ सुषुप्त अवस्थामा बसेको थियो । त्यसको साथै भीमसेन थापाले फ्रान्सिसी सैनिकको सहयोगमा नेपाली सैनिकको तालिमको ब्यबस्था तथा सुदृधिकरण गर्दै थियो । जसले गर्दा नेपाल माथि गरिने आक्रमणको जवाफ अंग्रेजको लागी कठिन हुने सम्भावना बोकेको थियो । जब नेपोलियन बिस्तारै हार्न थाल्यो, त्यसपछि अंग्रेजको नेपाल माथि आक्रमणको सम्भावना बढ्न थाल्यो । नेपालसंग युद्धको बहाना बनाउन थाल्यो ।

 

 

भीमसेन स्तम्भ 

 

 

पृथ्वीनारायणको पहिलो नुवाकोटको आक्रमण बि.सं. १८०० बाट सुगौली सन्धि १८७३ को अधिकांश समय नेपाली शासकहरू युद्धमा नै बिताए । त्यो समय नेपालका शासकहरू बिकासको नाममा सडक बनाउने वा अन्य सामाजिक कार्य गर्नुभन्दा बढी लडाइमा ब्यतित गरिरहेका थिए । कति नेपाली मरे भन्ने कसैले पनि यकिन तथ्यांक दिन सकेका छैनन् । साथै कति आर्थिक क्षति भयो भन्ने पनि यकिन थिएन । १८५९ मा त राष्ट्रिय कोष खालि नै भैसकेको थियो । जसले गर्दा १८६० मा उठाउनु पर्ने कर सबै एक वर्ष अगावै उठाइयो । १८६२ मा अझ संकट पर्न थाल्यो, जसले गर्दा कहिल्यै कर नउठ्ने मन्दिर तथा ब्राम्हणहरूलाई दिइएको विर्ता खोसेर गरि अन्यलाई दिइयो र यसबाट उठेको कर सैनिककोषको लागी खर्च गरियो । जसलाई बासठ्ठीहरण भन्ने गरिन्छ ।

 

 

यसरी युद्धले जर्जर भएको नेपालको आर्थिक संकटको समय बि.सं. १८७१ कार्तिक १८ मा अंग्रेजको तर्फबाट मेजर जनरल अक्टरलोनीले युद्धको घोषणा गरेका थिए । दशैको रमाइलो सकिएर सुस्ताउन नपाउदै युद्ध मैदानमा खटिनु पर्ने बाध्यताको सिर्जना भयो । महाकाली पश्चिममा एकोहोरो रूपमा बिजय गर्दै जाँदा काठमाडौ देखी सम्पर्क गर्न निकै कठिनाइ भएको थियो । जसले गर्दा आबश्यक खर्चको ब्यबस्था गर्न त्यहिका जनतामाथि चर्को कर लगाइएको थियो । सैनिक कमी हुदै जाँदा कुमाउँ र गढवालीलाइ जबर्जस्त भर्ना गरिएको थियो । एक त चर्को कर तिर्नुपर्ने बाध्यता त्यसमा सेनामा भर्ति भएर लडाइ लड्नु पर्ने । यि सबै सैनिक अंग्रेजको आह्वानसंगै सहजै गोरखाली सेनालाइ छोडेर अंग्रेजमा लागी यिनिहरू नै गोर्खाली संग लड्न आए । जसले गर्दा अंग्रेजले सहजै विजय पायो ।

 

 

कालमोचन घाट 

 

 

केहि समय अगाडी भोटमा आक्रमण गरि चीनलाइ समेत दुश्मन बनाएको नेपालले भारतिय साना साना राज्यमा आक्रमण गरि बिस्तार गर्न खोज्दा छिमेकी सबै नेपाललाई दुश्मन मान्न थालेका थिए । इष्ट इण्डिया कम्पनी पनि नेपालको बाटो भोटसंग ब्यापार बढाउन चाहन्थे । त्यसमा पनि नेपालले सहयोग गरेन । भोटसंगको युद्धमा सहजकर्ता बन्न अाएको कर्कपेट्रिकलाई पनि असफलता हात लाग्यो । तसर्थ छोटो बसाइमा नेपालको अन्तरद्वन्द, कमजोर सैनिक ब्यबस्थापन तथा आर्थिक अवस्था निकै कमजोर भएको रिपोर्ट तैयार बनाएर इष्ट इण्डिया कम्पनिलाई बुझाएका थिए ।

 

 

युद्धपछि हामीले धेरै गुमाएको परिचर्चा वारम्वार हुने गर्छ । तर त्यस्तो होइन, कसैको खोसेर ल्याएको सम्पति हामीबाट खोसेर लगिएको हो । ति राज्य सयौ वर्ष देखि हाम्रा थिएनन् । हामीले पनि कसैलाई रूवाएर खोसेर ल्याएका थियौ । हामीले गर्व गर्नुपर्छ, हाम्रा हजारौ वर्षदेखी कायम रहेको राज्य अंग्रेजले खोसेन । हाम्रा जे थिए हामीसंग नै छ जो हाम्रा थिएनन् हामीबाट लगियो ।

 

 

 

 

जेठ ४, १८१५ मा अमरसिंह थापा र अक्टरलोनी बिच पश्चिम नेपालमा भएको समझदारी सन्धि पछि अंग्रेजले नेपाल सन्धि गर्न चाहन्छ भन्ने आकलन गरि सन्धिको बुंदा तैयार बनाउन थाल्यो । जसको कारण ६ महिना पछि ले.क. ब्राडशाको तर्फवाट मंसिर १९, १८७२ मा सन्धिको प्रस्तावित बुंदाहरू पठायो र कडा शव्दमा १५ दिन भित्र सन्धि गर्ने अन्यथा काठमाडौ आक्रमण गर्ने चेतावनी पठायो । तर नेपाल सरकारले बेवास्ता गरेर बस्यो । सन्धिमा नेपाललाइ केही कमजोर बनाइएको थियो । जसको कारण राजा गिर्वाणको छाप लगाइएको थिएन । नेपाल भित्र निकै विरोधाभास भयो । सन्धिमा राजा गिर्वाणको छाप निकै समयसम्म लगाइएन ।

 

 

अन्तमा अंग्रेजले फेरी युद्धको चेतावनी दियो । यस बिच गजराज मिश्र भारत गइ नेपालले सन्धि नगर्ने युद्ध गर्ने घोषणा गरेको जानकारी गराए । माघ ३० मा अंग्रेज सेना फेरी अगाडी बढ्यो । यसरी बढेको सेना काठमाडौ नजिक पुगेपछि नेपाल सरकार अतालियो । तुरून्त राजाको लालमोहर लगाएको सन्धि पत्र बोकेर चन्द्रशेखर उपाध्याय हेटौडा पुगे । तिन दिनसम्म पछि जितेको चुरिया सम्मको स्थानलाइ सिमा निर्धारण गर्ने जिद्दि गरे अन्तत फागुन २३, १८७२ दिउसो साढे दुइ बजे अंग्रेज प्रतिनिधीलाइ राजाको छाप तथा गजराज मिश्र तथा चन्दशेखर उपाध्यायबाट हस्ताक्षर भएको सन्धिपत्र बुझाए ।

 

 

यसरी सुगौली सन्धि नेपालले नचाहदा नचाहदै पनि बाध्य भएर स्विकार्नु पर्ने अवस्था आयो । आज पत्रकार या इतिहासकारले जे लेखे पनि जे भने पनि सुगौली सन्धिले नेपालको अस्तित्व जोगाएको हो । यदि त्यो समय अडिग भएर सन्धि गर्न नचाहेको भए हामी नेपाली भन्ने गर्वका साथ बाचेका हुदैनथ्यौ । यो वाध्यता थियो तर नेपालको अस्तित्व जोगाएको थियो । संस्कृतमा भनिन्छ
सर्वनाशे समुत्पन्ने ह्यर्धं त्यजति पण्डितः ।
अर्धेन कुरुते कार्यं सर्वनाशः सदुःसहः ॥
सबै गुमाउनु भन्दा आधा गुमाएर आधालाइ राम्रोसंग सम्भाल्नु नै बुद्धिमानी हुन्छ ।

 

 

भीमसेन थापाका केही महत्वपूर्ण कार्यहरू

 

भीमसेन थापा 

 

 

भीमसेन थापाको समयबाट नै मुख्तियार पदको ब्यबस्था भयो । जसलाई पछि माथवरसिंह थापाले प्रधानमन्त्री भनेर नामाकरण गराए ।

१८८१ मंसिरमा धरहरा बनाइ गजुर चढाएका थिए । पछि १८८३ बैशाख ९ मा रानी ललित त्रीपुरासुन्दरीको नाममा अर्को धरहरा तैयार गराएर गजुर चढाइएको थियो । पछि १९९० को भूकम्पले दुवै भत्के पनि रानी ललित त्रीपुरासुन्दरीको नामको धरहरालाई जिंणोद्वार गरइएको थियो । तर नाम भने भीमसेन स्तम्भ भनेर नै चिन्न थालियो ।

१८८१ फागुन २२ मा भक्तपुरको सिद्धपोखरी बनाए ।

१८८२ मंसिर १० मा पोखरा पार्दीमा बाँध बाँधेर सिचाइको ब्यबस्था गराए ।

१८८२ फागुन १० मा सेनाको सुदृढीकरण गर्ने मनसाय स्वरूप सेनाको लागी ब्यारेकको ब्यबस्था गराउन लालमोहर गराए ।

१८८३ मा राहदानीको ब्यबस्था गराउन लगाए ।

१८८५ फागुनमा सबैलाइ सहज रूपमा खाने पानीको ब्यबस्था गराउन सुन्धारा बनाइदिए ।

१८८५ को जेठमा काठमाडौ र पाटन जोड्ने बागमतीको पुल बनाए ।

१८८७ मा जैशीहरूमा चल्दै आएको मामाकी छोरी बिबाहमा बन्देज लगाए ।

१८८८ पाैष १५ मा नेवार जातीको बिभिन्न काममा राखिने दस्तुर तथा सामग्री तोकिदिए ।
सेनामा कर्णेल तथा कप्तानको रूपमा बिदेशी सिको भित्राए ।
१८९३ मा अनिकाल पर्दा अन्नको राम्रो ब्यबस्था मिलाए ।

 

 

भीमसेन थापा  उनकी दुई श्रीमतीका साथ 

 

 

तेश्रो अंशमा अर्को हप्ता भीमसेनको पतन तथा दुखद मृत्युको कारण तथा बिश्लेषण गर्ने कोशिस गर्नेछु । यहा मैले लेखेका सम्पूर्ण तथ्य त्यसबेला उनले लेखेका पत्र, बिभिन्न लालमोहर तथा बिभिन्न इतिहासकारले लेखेका पुस्तकबाट आजको परिवेशमा बिश्लेषण गरि तैयार पारिएको हो । क्रमश :