भित्र जानुहोस्पागल
आज विश्व काव्य दिवसको उपलक्ष्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘पागल’ कविता प्रस्तुत गरेका छौँ -सम्पादक
-लक्ष्मीप्रसाद देवकोटा
पागल
- जरूर साथी म पागल !
- यस्तै छ मेरो हाल।
- म शब्दलाई देख्दछु !
- दृश्यलाई सुन्दछु !
- बासनालाई स्वाद लिन्छु।
- आकाशभन्दा पातला कुरालाई छुन्छु।
- ती कुरा,
- जसको अस्तित्व लोक मान्दैंन
- जसको आकार संसार जान्दैन !
- म देख्दछु, ढुङ्गालाई फूल !
- जब, जलकिनारका जल चिप्ला ती,
- कोमलाकार, पाषाण,
- चाँदनीमा,
- स्वर्गकी जादूगर्नी मतिर हाँस्दा,
- पत्रिएर, नर्मिएर, झल्किएर,
- बल्किएर, उठ्दछन् मूक पागलझैँ,
- फूलझैँ- एक किसिमका चकोर फूल !
- म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग
- एक भाषा, साथी !
- जो लेखिन्न, छापिन्न, बोलिन्न,
- बुझाइन्न, सुनाइन्न।
- जुनेली गङ्गा-किनार छाल आउँछ तिनको भाषा
- साथी ! छाल छाल !
- जरुर साथी म पागल !
- यस्तै छ मेरो हाल !
- तिमी चतुर छौ, म वाचाल !
- तिम्रो शुद्ध गणित सूत्र हरहमेशा चलिरहेको छ
- मेरो गणितमा एकबाट एक झिके
- एकै बाँकी रहन्छ !
- तिमी पाँच इन्द्रियले काम गर्छौ,
- म छैटौँले !
- तिम्रो गिदी छ साथी !
- मेरो मुटु।
- तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ,
- म उसमा हेलेन र पद्मिनी पाउँछु,
- तिमी बलिया गद्य छौ !
- म तरल पद्य छु !
- तिमी जम्दछौ जब म पग्लन्छु,
- तिमी सँग्लन्छौ जब म धमिलो बन्छु,
- र ठीक त्यसैका उल्टो !
- तिम्रो संसार ठोस छ।
- मेरो बाफ !
- तिम्रो बाक्लो, मेरो पातलो !
- तिमी ढुङ्गालाई वस्तु ठान्दछौ,
- ठोस कठोरता तिम्रो यथार्थ छ।
- म सपनालाई समात्न खोज्दछु,
- जस्तो तिमी, त्यो चिसो, मीठो अक्षर काटेको
- पान्ढीकीको बाटुलो सत्यलाई !
- मेरो छ वेग काँडाको साथी !
- तिम्रो सुनको र हीराको !
- तिमी पहाडलाई लाटा भन्दछौ,
- म भन्छु वाचाल।
- जरुर साथी।
- मेरो एक नशा ढिलो छ।
- यस्तै छ मेरो हाल !