चैते छठ

 

 

 

जनकपुरधाम, ९ चैत : चैते छठअन्तर्गत व्रतालुले आज यहाँ अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी पूजाअर्चना गरेका छन् ।

 

व्रतालुहरू यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर, अरगजालगायत पोखरीमा अघ्र्य सामग्री लिई सूर्यलाई पूजा अर्चना गरेका हुन् । अघ्र्य सामग्रीमा ठकुवा, कसार, केरा, उखु, मेवा– मिष्ठान, गेडागुडी, कन्दमूल र विभिन्न वनस्पति राख्ने परम्परा रहेको छ ।

 

यस पर्वमा भुसवा र कृषिजन्य अन्नको पीठोबाट बनाइएका पकवानसँगै केराको घरी, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटो आदि सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अघ्र्य दिइन्छ ।

 

छठ पर्व नै यस्तो पर्व हो जसमा अस्ताउँदो सूर्यलाई पनि पूजा गर्ने परम्परा रहेको छ । यो पर्व वर्षभरमा दुईपटक मनाउने गरिएको छ । शरद् ऋतुको कार्तिक पष्ठीका दिन र अर्को वसन्त लागेको चैत महिनाको षष्ठीका दिन मनाइन्छ । सङ्ख्यात्मक दृष्टिले चैते छठ पर्वमा व्रत गर्नेको संख्या अपेक्षाकृत कम हुने गरेको छ ।

 

षष्ठी तिथिलाई विशेष खगोलीय अवसर मानिएको छ । सम्भाव्य कूप्रभावबाट रक्षा गर्ने सन्दर्भमा षष्ठी तिथिले रक्षाको सामथ्र्यका साथै अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएमा यसको किरणको प्रभावले चर्मरोग नहुने र पुत्र प्राप्त हुने विश्वास गरिन्छ ।

 

छठको विधि विधानले शरीर र मनलाई सौर्य ऊर्जा अवशोषणका लागि तयार गर्दछ । छठ पूजाको यही प्रक्रियाका लागि प्राचीन ऋषिमुनिले खानपीन नगरी कठोर तपस्याको ऊर्जा प्राप्त गरेका थिए । सूर्यको उपासनाले पाचन तन्त्रका लागि लाभदायक र आरोग्य क्षमतामा वृद्धि हुने तथ्य रहेको पनि बताइन्छ । सूर्यलाई आदि देवता पनि भनिन्छ । मानवलाई उज्यालो दिने, जिउमा गर्मी उत्पन्न गर्ने र रोगव्याधिबाट जोगाउने सूर्य नै भएको मान्यता पाइन्छ । त्यसैले सूर्यलाई एउटा अभीष्ट देवताका रूपमा वैदिक कालदेखि नै पूजिएको छ ।

 

 

 

वैदिक साहित्यको मुख्य सार नै सूर्य उपासना रहेको छ । वेदमा सूर्यलाई ऐश्वर्यका रूपमा मानिएको छ भने ऋग्वेदमा सूर्यलाई नै सबै देवताको स्रोत मानिएको छ । छठ पर्वमा सूर्यलाई ‘छठिमाई’को रूपमा पूजा गर्ने चलन छ जसलाई वैदिक अनुष्ठानमा तान्त्रिक अनुष्ठानको सम्मिश्रण मानिएको छ । यस पर्वको सम्पादन षष्ठी तिथिमा हुने भएकाले यसको तद्भव रूप छठले ‘परमेश्वरी’ को रूप लोकमानसमा ठाउँ पाएको हुनसक्ने विश्वास पाइन्छ ।

 

छठ पर्वमा अघ्र्य दिइने सामग्रीमा बाँसले वंशवृद्धि, उखुले आरोग्य, ठकुवाले समृद्धि, मौसमी फलफूल प्रकृतिप्रति कृतज्ञता र केरामा भगवान विष्णुको बास रहेको मान्यताले ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुन् भन्ने सन्देश पनि दिन्छ ।

 

त्यस्तै, यस पर्वमा चमार जातिले ढोल बजाउने, मालीले फूल, बरइले पानको पात, कुम्हारले माटोको सामग्रीको व्यवस्थान गर्ने र डोम जातिले बनाएको बाँसको सामानको प्रयोगले श्रम विभाजनको वैज्ञानिक तथ्य पनि झल्किन्छ । (रासस)