भीमसेन थापाको अन्त्य

 

 

सुनिल उलक

 

 

   बगाले थापाको वंशावली

 

 

हामी गर्व गर्छौ सदा हामी सार्वभौमसत्ता सम्पन्न राज्यका बासिन्दा हौ । तर हामीलाई वारम्वार यहाँका शासकहरू तथा प्रधानमन्त्रीहरूले लजास्पद बनाउने गर्छ । जसले गर्दा हामी कसैको दासको आभास गराउने गर्छ । यति मात्र होइन हामी कहाँ इतिहासकार हु भनेर इतिहास लेख्नेहरूले पनि दास प्रवृत्ति देखाउने गर्दछ । एनजिओ तथा आइएनजिओ तथा बिभिन्न राजदुतावासबाट प्राप्त रकमले इतिहास लेख्दछन् र नेपालका महान सपुत युगपुरूषहरूलाई गाली गर्न थाल्दछन् । एकलाई माथी उठाउन अर्कोलाई नै निकै तल झार्ने गर्दछन् ।

 

 

यसर्थ मलाई लाग्दैन नेपालका इतिहासकारहरू पनि निष्कलङ्कित छन् । यहि क्रममा भीमसेन थापालाई पनि तल्लो स्तरमा तुलना गर्ने इतिहासकारहरू छन् । काजी भीम मल्लकी रानीले आफ्ना पतिले राज्य विस्तार गरि कुतीसम्म पुर्याएर खुशीको खवर दरवारमा सुनाउन आउँदा दरवारको ढोकामा नै काटिएका थिए । पतिको मृत्यु पछि सति जाने बेलामा सरापेका थिए, “यो राज्यमा विवेक नरहोस्” । आज सम्म पनि यो देशको अवस्था त्यस्तै छ, यो देशमा केवल शासकको मात्र होइन जनताको पनि विवेक छैन ।

 

सुगौली सन्धि पछि एक पटक फेरी अंग्रेजहरू नेपालमा सलबलाउन थाले । दामोदर पाण्डेको अंग्रेजसंगको ब्यापारिक सन्धि पछि पहिलो पटक बि.सं. १८५८ मा अंग्रेजले काठमाडौमा ब्रिटिस रेसिडेन्ट राख्ने अवसर पाए । विलियम हन्टर डगलस नक्स नेपाल आए, तर नेपाल सरकारले राम्रो साथ दिएन, भोटसंग ब्यापारको कुटनिती पनि सफल भएन । वनारसमा रणबहादुरलाई सहयोग गरेको बहानामा १७ महिनामा नै नेपालबाट निकालेर पठाए । यस पछि नेपाल छिर्न नपाएको अंग्रेज सुगौली सन्धि पछि खुशीले रेसिडेन्ट राख्न आइपुग्यो । सुगौली सन्धिको तैयारी गरिरहदा नै गजराज मिश्रलाई अक्टरलोनीले भनेका थिए । सम्झौतामा कुनै पनि बुंदामा बिचार गर्न सकिन्छ तर रेसिडेन्टको बिषयमा कुनै प्रश्नचिन्ह राख्न पाइदैन ।

 

भीमसेन थापा

 

 

अंग्रेजको मुल उद्देश्य रेसिडेन्टबाट नै देशको स्वतन्त्रतामा खलल पुर्याउन सकिन्छ भन्ने मान्यता थियो । सुगौली सन्धि पछि रेसिडेन्टको रूपमा एडवार्ड गार्डनरको नियुक्ति भयो तर उनि समयमा आउन सकेनन् । जसले गर्दा केही समय अस्थाइ रूपमा रेसिडेन्टको रूपमा जोँन पिटर बोलिउ बसे भने त्यसको केही समयमा नै एडवार्ड गार्डनर आए । जसले नेपालमा १३ वर्ष बिताए, तर भीमसेन थापाले ब्रिटिस रेसिडेन्टलाई त्यति स्वतन्त्रता दिइएको थिएन । रेसिडेन्टले मुख्तियार भन्दा अन्यसंग भेट्न पाइदैनथ्यो । तसर्थ जति षडयन्त्रको चाहना बोकेका थिए । त्यो पुरा हुन दिइएन, त्यसैले उनिहरू भीमसेन थापालाई नै सत्ताबाट हटाउने षडयन्त्रमा लागे । १८८२ मा सहायक रेसिडेन्टको रूपमा काठमाडौ छिरेका हगसन १८८६ मा गार्डनरको बिदाइ पछि रेसिडेन्ट भए ।

 

 

तर अंग्रेजलाई त्यसपछि पनि भीमसेन थापाले हस्तक्षेप गर्न दिएनन् । गार्डनर केही नरम भए पनि हगसन केही कठोर थिए, तसर्थ दरवारको नजिक हुने कोशिस थालिहाले । भीमसेन थापाका दुश्मन दामोदर पाण्डेका छोरा रणजित पाण्डेको नजिक हुन पनि कोशिस गरे । हगसनको एउटै कोशिस भीमसेनलाई सत्ताबाट कसरी हटाउने सकिन्छ भनेर लागे ।

 

 

हगसन निकै पढेलेखेका ब्यक्ति थिए । नेपालको संस्कृति एवं संस्कृतका पुस्तकहरूको निकै अध्ययन तथा संकलन गर्दथे । उनको नेपालको पशुपंछि, बनस्पती तथा संस्कृतीको अध्ययनको साथ नेपालीहरूको आनीबानीको पनि अध्ययन गर्न सक्षम भए । तर दरवारमा नायवी रानी ललितत्रिपुरासुन्दरी भीमसेनका भतिजी थिए । यसर्थ भीमसेन दरवारबाट ढुक्क थिए । तर राजेन्द्रका रानीहरू जो १८८० माघ २५ मा गोरखपुरबाट बिबाह गरि पसेका थिए । शुरूमा त मात्र १० वर्षका थिए, उनिहरूलाई राजकाजसंग कुनै चासो रहेन तर पछि बिस्तारै राजकाजमा चासो लिन थाले ।

 

 

१८८८ चैत्र २७ मा अचानक रानी ललितत्रिपुरासुन्दरीको मृत्यु भए पछि अंग्रेज र पाण्डेहरुले छिट्टै नै दरवारलाई आफ्नो प्रभावमा पार्न सफल भए । बिस्तारै रानीहरूको राजनितीमा रूचि बढ्यो, जसले गर्दा अंग्रेजको चाहना पुरा हुन थाल्यो । रानीहरूको साथ साथ रेसिडेन्ट पनि सलबलाउन थाले । भीमसेन थापालाई हटाउन तीन शक्ति लागे । रेसिडेन्ट, पाण्डे तथा जेठी महारानी साम्राज्य लक्ष्मी तीनै शक्ति थापाको बिरूद्ध थिए । यस्तैमा अचानक १८९४ सावन १ गते पजनीको बहानामा भीमसेन थापाको सेना प्रमुखको पद खोसियो । अव केवल मुख्तियार मात्र रहे ।

 

रंगनाथ पौडेल

 

 

१८९४ को सावन ११ मा युवराज देवेन्द्रको मृत्युलाई भीमसेनले बिष खुलाएको आरोप लाग्यो । यसपछि भीमसेनको पतन शुरू भयो । उनलाई सर्बश्व सहित नेल र हटकडी लगाएर जेलमा राखियो । ३१ वर्षसम्म अनवरत देशको सेवा गरेका भीमसेन केवल शंकाको भरमा जेलनेल तथा सर्वश्व गराइयो । बिद्रोहीहरू सफल भएकोमा खुशी हुन थाले र मुख्तियारको रूपमा रणजङ्ग पाण्डे बनाइयो । तर अनुभवहिन रणजङ्गलाई भारदारहरूले सहयोग नगरे पछि तीन महिनामा नै निस्काशित गरिए र उनको स्थानमा राजगुरू पं. रङ्गनाथ पौड्याललाई मुख्तियार बनाइयो ।

 

 

अन्तत १८९४ को अन्तमा भीमसेन थापा माथि लागेको आरोप फिर्ता भयो । पुरानो घर बोर्लाङ जाने अनुमति पाए पछि भीमसेन थापा गोरखा फर्केर गए । यता राजनितिमा फेरी चलखेल शुरू भयो । १८९५ को असोजमा साम्राज्ञलक्ष्मीका बिश्वासपात्र रणजङ्ग फेरी एकचोटी मुख्तियार बन्न सफल भए । १८९६ को बैशाखमा भीमसेन थापालाई काठमाडौ बोलाइयो । राजा राजेन्द्रका सल्लाहकार बने । रानी साम्राज्ञलक्ष्मीबाट असारमा फेरी उनि माथीको आरोप उल्टाइयो र फेरी नजरवन्दमा राखियो ।

 

 

भीमसेन थापा माथी मानसिक दवाव यस्तो बनाइयो कि उनको मन टुट्यो । नजरबन्दमा रहेका उनलाई गलत समाचार सुनाइयो, “उनको दुइ पत्नीलाई नाङ्गो बनाएर बजार घुमाइदैछ” । यो खवरले उनको मन टुट्यो, यस्तो सुन्नु अगाडी किन मेरो मृत्यु भएन भन्दै १८९६ सावन ८ गते आफ्नै दरवारको एक कोठामा झ्यालको शिशा फुटालेर त्यहि शिशाले गला काटे । चोटले छटपटाएका उनको मृत्यु भएन । यो खवर छिट्टै दरवार पुग्यो । राजा राजेन्द्र र रानी साम्राज्ञलक्ष्मीले भीमसेनलाई घिसारेर बिष्णुमती लैजान लगाए । उपचारको सत्ता उनको शरिर घिसार्दै बिष्णुमती किनारमा फेकियो । आज जहा भीममुक्तेश्वरको मन्दिर छ, त्यहि त्रीपुरेश्वर नजिकै फेकियो ।

 

रानी त्रिपुरासुन्दरीको शालिक

 

 

केही आठपहरियालाई कसैलाई पनि नजिक जान नदिने उर्दि लगाइयो । वर्षातको महिना रातभर पानीले भिज्दथ्यो, चोटले चिच्याउथ्यो तर कसैलाई पनि जान दिइदैनथ्यो । अन्तमा नवौ दिन भीमसेन थापाको छटपटाउदा छटपटाउदै मृत्यु भयो । देशका एक सच्चा सेवक जसले अंग्रेज सामु कहिल्यै झुक्न चाहेन उसको दर्दनाक मृत्यु भयो । भनिन्छ मृत्यु पछि पनि लाश उठाउन तथा सद्गति गर्न दिइएन । लाशलाई कुकुर, स्याल र गिद्धले चिथोरेर खान दिइयो । निकै समय पछि एउटा हल्ला फैलियो, लाशमा टाउको र दाहिने हात थिएन । धेरै पछि केही ब्यक्तिले वयान दिए, लाशको टाउको हगसनले लण्डन पुर्याएका थिए भने दाहिने हात चौतरिया फत्तेजङ्ग शाहले लगेका थिए ।

 

 

यसरी एक देशभक्त पुरूषको अन्त्य भयो । आज केहि इतिहासकारहरू उनको अन्तलाइ उनको आफ्नै कर्तुतले गर्दा भएको भन्ने गर्दछन् । राजनितीकर्मीहरू एक अर्काको गल्ती खोज्दै हिड्छन् । तर सच्चा जनता उनको योगदान सम्झने गर्दछन् । पृथ्वीनारायणले एकिकरणको क्रममा कति हत्या गरे भनेर होइन हामी उनले नेपाल भन्ने सिङ्गो राज्य बनाएकोमा मान्दछौ, अहिले देशमा माओवादीले द्वन्दकालमा कति मारे भन्नु भन्दा देशको राजनितीमा साथ लागेर शान्ती ल्याएकोमा सन्तुष्टी मान्दछौ । सधै उसको गल्तीमात्र औल्याउन थाल्यो भने फेरी देश द्वन्दकालमा फर्केर जान्छ ।

 

 

तसर्थ भीमसेनको मुख्तियारी कालमा देशले के के पायो भन्ने महत्वपूर्ण छ । उसको कारणले मृत्यु भएका केही ब्यक्तिलाई सम्झनु भन्दा उनको योगदानलाई सम्झनु पर्छ । त्यो बेलाको राजनिती हत्याको राजनिती थियो । एकलाई माथी पुग्न अर्कोको हत्या गर्ने अवस्था थियो । कसले कति मारे होइन कसले देशको लागी के दिए भनेर उनको योगदानको कदर गर्न सक्नुपर्छ । इतिहास कसैको दवाव वा समर्थनमा होइन सत्यता बोकेको हुनुपर्छ । समाप्त

 

 

तस्वीरहरु: सुनिल उलक                                                             भीमसेन थापाले लगाएको कपडा