रामनवमीमा रामजस्तै आदर्श शासकको कामना
काठमाडौँ, १० चैत : चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ ।
आइतबार बिहान ७ बजेर ३४ मिनेटसम्म अष्टमी र त्यसपछि नवमी तिथि लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । अष्टमी तिथिमा सूर्योदय भएका दिन चैते दशैँ र मध्याह्नमा नवमी परेका दिन रामनवमी पर्व मनाउनुपर्ने शास्त्रीय वचन रहेकाले दुवै पर्व यस वर्ष आइतबार नै परेको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।
त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने उहाँको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो ।
भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो । वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मनुभएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गर्नुभयो ।
समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा गौतम रामनवमी पर्व मनाउनुको महत्व रामजस्तै मर्यादित, अनुशासित र नियन्त्रित राज्य सञ्चालकको आशा गर्नुभएको बताउनुहुन्छ ।
“जसलाई अहिले पनि रामराज्य भनिन्छ, रामको राज्यबाट जसरी सारा मानिस खुशी थिए, अहिलेका शासकले त्यस्तै बन्न सक्नुपर्छ, त्यसबेला जनता पनि अनुशासित, मर्यादित र नियन्त्रित थिए, यसैले रामलाई मर्यादा पुरुषोत्तम भनिन्छ, हामीले यसलाई अनुशरण गर्न सके मात्र यो पर्व मनाउनुको अर्थ हुन्छ”, उहाँले भन्नुभयो ।
रामनवमीको महत्वका विषयमा गाग्र्यतन्त्र कृष्ण वचनअनुसार चैत्र अष्टमीका दिन अष्ट मातृकाको पूजा गरेर नवमीका दिन रामचन्द्रको पूजा गरी जप, पाठ र ध्यान गर्नाले मनले चिताएको काम सफल हुने उल्लेख छ ।
यस अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ । रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजा, पाठ एवं आराधना गरेमा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ । यसैगरी बत्तीसपुतलीस्थित श्री रामचन्द्र मन्दिरलगायत देशभरका राम मन्दिरमा पनि आज पूजा आराधना गर्ने भक्तजनको भीड लाग्छ ।
परापूर्वकालमा वासन्तीय नवरात्रलाई नै मूल दशैँ मानिन्थ्यो । चैतको गर्मीका कारण असोजको नवरात्रमा मनाउन थालिएको भनाइ छ । चैत र असोजको नवरात्रलाई जाग्रत दशैँका रुपमा महत्वका साथ मनाइन्छ भने पुस र असारको नवरात्रलाई सुप्त दशैँ भनिन्छ ।
यसैगरी व्रतार्क नामक ग्रन्थको अगस्त्य संहितामा चैत्र शुक्ल नवमीमा व्रत उपवास बसी श्रद्धा भक्तिपूर्वक रामचन्द्रको पूजा गर्नाले अनेक जन्मका पाप नाश भई वैकुण्ठ वास प्राप्त हुने उल्लेख छ ।
असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । आज जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लाग्छ ।
त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा भगवान् श्रीरामको जन्म भएको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकिय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।
आजका दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा वैकुण्ठ वास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ ।
अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मनुभएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गर्नुभयो । आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी श्रीरामचन्द्रले मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिनुभयो । यही सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।
सेतो मत्स्येन्द्रनाथ रथ यात्रा
चैत्र शुक्ल अष्टमीका दिन सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथ यात्रा पनि शुरु गरिन्छ । आजैका दिन तीनधारा पाठशालाबाट शुरु हुने रथयात्रालाई असनसम्म, दोस्रो दिन असनबाट कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म पु¥याइन्छ । चौथो दिन अर्थात् चैत्र शुक्ल एकादशीका दिन मूर्तिलाई सानो रथमा राखी लगनटोलबाट मत्स्येन्द्रबहालसम्म यात्रा चलाइन्छ ।
मत्स्येन्द्रबहालमा रथ ल्याएपछि पूजा गरी प्रसाद खाइन्छ । यसपछि घर घरमा भोज खाने चलन छ । यो विधि अपनाएमा देशमा अनिकाल हटी सहकाल आउँछ भन्ने स्वयम्भू पुराणको बुद्धवचनमा उल्लेख छ ।
आइतबार बिहान अष्टमी हुँदा नै सूर्योदय हुने भएकाले सेतो मत्स्येन्द्रनाथको रथयात्रा पनि आजै शुरु हुने समितिका अध्यक्ष गौतमले बताउनुभयो ।
– पूर्णप्रसाद मिश्र(रासस)